मेडिसिटीले सम्पन्न गर्याे ४ दिने प्रशिक्षण कार्यक्रम

काठमाडाैं । नेपाल मेडिसिटी अस्पतालका नर्सहरुले बालबालिकाको सघन उपचार गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा चार दिने प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका छन् । श्रावण १८ देखी २१ गतेसम्म अस्पतालमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा २० जना बालरोग विभागमा कार्यरत नर्सहरुले विभिन्न विषयमा प्रशिक्षण लिएका हुन् । बाल सघन उपचारमा आवश्यक पर्ने सैद्धान्तिक तथा व्यवहारीक ज्ञान प्रदान गर्न प्रशिक्षण कार्यक्रममा आईसियु सेवा, मेकानिकल भेन्टिलेटर, संक्रमण न्युनिकरण, बिरामी सुरक्षा तथा गुणस्तरिय उपचार, स्तनपानबारे जनचेतना, खानपान सन्तुलन, फिजियोथेरापी, तथा अन्य नैतिकताका विषयहरुलाई समेटिएको थियो । नेपाल मेडिसिटी अस्पतालको बालरोग विभाग प्रमुख डा. आना शर्मा तथा नवजात शिशुरोग विभाग प्रमुख डा. सुचिता श्रेष्ठ जोशीले नेतृत्व गरेकाे प्रशिक्षण कार्यक्रममा गुणस्तर तथा बिरामी सुरक्षा, प्रशिक्षण विभाग, पोषण विभाग, नर्सीङ एडुकेटर लगायतको टोली संलग्नता रहेको थियो । सघन उपचारका हरेक विषयलाई समेटेको प्रशिक्षण कार्यक्रमबाट सहभागि नर्सहरुले आफ्नो क्षमता अभिवृद्धि गरी कुनैपनि आपत्कालिन अवस्थामा बालबालिकाहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने डा. आना शर्माले अपेक्षा गरेकाे बताइन् । उनले यस किसिमका प्रशिक्षण कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिइने बताइन् । नेपाल सरकारले तेश्रो भेरियन्टको प्रभाव बालबालिकामा पर्न सक्नेबारे सु–सुचित गरिरहेको अवस्थामा यस किसिमको प्रशिक्षणले त्यस्तो परिस्थिती आइहाले तयारी अवस्थामा रहन सहयोग पुर्याउन आशा राखिएको अस्पतालले जनाएकाे छ ।

साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह

काठमाडौं । सरकारले एक साता खोप सप्ताह मनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको हो । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने तयारी भएको बताएका हुन । उनका अनुसार खोप सप्ताह अभियानमा जापानबाट आउन लागेको ८ लाख र भुटानबाट आउन लागेको ३ लाख गरी ११ लाख कोरोना विरुद्धको खोप लगाईनेछ । दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने जनाईएको छ । आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउने पनि उनले बताए । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिए ।

छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित

काठमाडाैं ।  कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ कार्यपालिका बैठकले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएका कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरेको हो । ‘अहिले अन्य अस्पतालमा बिरामीले सहजै उपचार गराउन पाउने भएकाले आइसोलेसनमा भर्ना हुन आउनेको सङ्ख्या कम छ, आगामी दिनमा आवश्यक परे सेवालाई निरन्तरता दिने गरी हाललाई सेवा स्थगन गरिएको छ’, कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने । उनका अनुसार राधास्वामी आइसोलेसन सेन्टरलाई अहिले भएका जनशक्तिमध्ये एकतिहाइले सञ्चालन गर्ने गरी निरन्तरता दिइएको छ । ‘सेवा बन्द होइन, स्थगन हो । आवश्यक परेका बेला यसलाई पुनः सञ्चालन गर्न सकिन्छ’ उनले भने । दोस्रो लहरको उत्कर्षको समयमा कामपाले विभिन्न १२ अस्पतालसँग सम्झौता गरी सङ्क्रमित बिरामीको उपचारमा सहजिकरण गरेको थियो ।’ त्यसैगरी बैठकले बन्दाबन्दीका कारण समयमा सम्पन्न हुन नसकेका योजनाको म्याद थप गर्ने, वडा १२ मा रुद्र विनायक नाय्खिँ गणेश निर्माण गर्न जग्गा प्राप्तिका लागि नेपाल सरकारलाई सिफारिस गर्नेलगायत निर्णय गरेको छ । यसैगरी नेपाल भाषा प्रशिक्षण व्यवस्थासम्बन्धी कार्यविधि, २०७७ मा केही संशोधन गरेर नेपाल भाषाका सहायक प्रशिक्षकलाई प्राथमिक तह तृतीय श्रेणीसरह बनाएको छ । यस्तै बैठकले नेपाल भाषा सहजीकरण तथा अनुगमन समिति र नेपाल भाषा समन्वय समितिका पदाधिकारीलाई काम गरेका दिनमा खाना, खाजा र यातायातबापत एक हजार ५०० रकम उपलब्ध गराउने निर्णय गरेको छ ।