जापानबाट एस्ट्राजेनेकाको ५ लाख मात्रा खोप नेपाल आइपुग्यो

काठमाडाैं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडाैं आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै भोलि थप तीन लाख खोप नेपाल आउनेछ । जापानले दिने भनेको बाँकी खोप एक साताभित्र नेपाल आउने मन्त्रालयले जनाएको छ । शुक्रबार भूटानबाट पनि दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ । नेपालले खरिद गरेको खोप भारतले उपलब्ध नगराउँदा कोभिशिल्ड खोप लगाएका १४ लाख ५० हजार व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन् । जापान र भूटानबाट आएको खोप कोभिशिल्डको दोस्रो मात्रा नपाएका नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ । हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन । यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ । चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ । खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरेको छ । खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै सङ्क्रमण फैलनसक्ने देखिएपछि सरकारले एक हजार ४३३ खोप केन्द्र थप गरेको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकामा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पु¥याइएको छ । काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पु¥याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए । सरकारले आगामी असोज मसान्तभित्र एकतिहाई नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । यस्तै आगामी चैत मसान्तभित्र खोप लगाउने उमेर समूहका सबै नागरिकलाई पूर्ण खोप लगाउने लक्ष्यका साथ सरकार अघि बढेको छ । विसं २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको थियो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ व्यक्तिले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ ले पूर्णमात्रामा खोप लगाइसकेका छन् ।

देशभर एक हजार ४३३ खोप केन्द्र थप

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए । उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पुर्याइएको छ । यस्तै काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरि १४९ पुर्याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए । सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।

बढ्न थाले कोरोना संक्रमित, एकैदिन थपिए ३ हजार ७२९ जना

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्यामा बृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको हो । ९ हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा २५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म १० हजार बढीको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ४७१, ललितपुर १४७ र भक्तपुर ८३ जना संक्रमित थपिएका छन् ।