कास्कीमा ८७ हजार ८३० जनाले लगाए कोरोनाविरुद्धको खोप

कास्की । जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन् । कोरोना निवारणका लागि कार्यस्थलमा खटेका, लक्षित वर्ग र विभिन्न उमेर समूहका व्यक्तिलाई प्राथमिकता दिएर खोप लगाइएको कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए । एक मात्रामात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप २५ हजार जनाले लगाएका छन् । उक्त खोप २५ हजार १५० मात्रा प्राप्त भएकामा १५० खोप वैदेशिक रोजगारीमा जानेहरुका लागि लक्ष्य गरी सुरक्षित राखिएको छ । यसैगरी भेरोसेलको पहिलो मात्रा लगाउने ४६ हजार ५०० रहेकामा ४६ हजार ९६० ले दोस्रो मात्रा लगाइसकेका छन् । अन्यत्र पहिलो मात्रा लगाएका ४६० जनालाई पनि दोस्रो मात्रा लगाइएको थियो । पाँच महिनापछि कोभिशिल्डको दोस्रो मात्रा जिल्लामा गत फागुनको अन्तिम साता कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका ३२ हजारलाई पाँच महिनापछि दोस्रो मात्राको खोप दिन लागिएको छ । दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्ष र सोभन्दा माथिका उमेर समूहका लागि अस्ट्राजेनिकाको खोप दिइने उनले जानकारी दिए । कार्यालय प्रमुख आचार्यले भने, ‘हामीलाई अस्ट्राजेनिकाको ३२ हजार मात्रा खोप प्राप्त भइसकेको छ । अहिले भेरोसेलको दोस्रो डोज लगाउने कार्यक्रम चलिरहेकाले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई केही दिनमै दोस्रो डोज दिन शुरु गर्दैछौँँ ।’

कर्णालीको स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्लुएचओ

काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ । सङ्गठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ । डब्लुएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन मङ्गलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत डब्लुएचओका नेपाल प्रमुख डा राजेश पाण्डवले स्वास्थ्य अवस्थामा देखिएको कमजोरीलाई सुधार गर्न डब्लुएचओले विशेष गृहकार्य गरिरहेको बताए । यसका लागि कर्णालीको कार्ययोजना अनुरूप अघि बढ्ने जनाउँदै नेपाल प्रमुख डा पाण्डवले अन्य प्रदेशको तुलनामा कर्णालीको स्वास्थ्य अवस्था कमजोर रहेकाले अहिले यो प्रदेशमा कोरोना खोप, स्वास्थ्य सामग्रीलगायतको उपलब्धता र आगामी दिनमा थाल्नुपर्ने रणनीतिका विषयमा जानकारी लिन सुर्खेत आएको जनाए । ‘हरेक वर्गका नागरिकको स्वास्थ्य राम्रो हुनुपर्दछ भन्ने मान्यता विश्व स्वास्थ्य सङ्गठनले राख्दछ । यहाँका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी हातेमालो गर्न तयार छौँ’, प्रमुख डा पाण्डवले भने, ‘यसका लागि सङ्घ र प्रदेश सरकारबाट यहाँको स्वास्थ्य अवस्था र कस्तो ठाउँमा सहयोग गर्दा प्रभावकारी हुन्छ भन्ने तथ्याङ्कसहितको प्रतिवेदन हामीले पाउँदा काम गर्न सहज हुनेछ ।’ कर्णालीका नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउनका लागि नजिकबाट त्यो अवस्था नियालिरहेको र आउने दिनमा सङ्गठनले स्वास्थ्य क्षेत्रको प्रगतिका निम्ति सहयोग गर्ने भन्दै उनले कोरोना महामारीको जोखिम कायमै रहेकाले यसबाट बच्न सबै पक्ष गम्भीर भएर लाग्न अनुरोध गरे । डब्लुएचओले सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई १७५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको थियो । रासस

एक कराेड १० लाख लगानीमा चौरजहारी अस्पतालमा अक्सिजन उत्पादन सुरु

जाजरकाेट । तीन जिल्लालाई लक्ष्य गरी रुकुम पश्चिमको चौरजहारी अस्पलातमा अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ । चौरजहारी नगरपालिका–१ मा रहेको अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएपछि त्यसबाट अक्सिजन उत्पादन सुरु भएको अस्पतालले जनाएको छ । एक करोड १० लाखमा प्लान्ट जडान भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए । अस्पताल परिसरमा प्लान्ट जडानका लागि झण्डै साढे दुई लाख लगानी अस्पतालले गरेको छ । नगरपालिकाले सो प्लान्ट खरिद गरेर अस्पताललाई उपलब्ध गराएको हो । तीन जिल्लाका स्वास्थ्य संस्था तथा स्थानीय तहहरुले नेपालगञ्ज गएर अक्सिजन भरेर आपूर्ति गर्दै आएका थिए । अब नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको बताइएको छ । यो प्लान्टले दैनिक ३२ देखि ३६ वटासम्म ४० लिटरका सिलिण्डर भर्न सक्ने क्षमता राख्दछ । हाल अक्सिजन प्लान्ट जेनेरेटरमार्फत सञ्चालन भइरहेको छ । विद्युत् नियमित नहुँदा अस्पतालले जेनेरेटरको सहायताले अक्सिजन उत्पादन गरिरहेको हो । विद्युत् हुँदा त्यसैबाट उत्पादन गरे पनि विद्युत् नहुँदा भने जेनेरेटरको सहायताले अक्सिजन उत्पादन भइरहेको छ । अक्सिजन उत्पादनका लागि नियमित विद्युत् आपूर्तिको पहल भइरहेको नगरपालिकाले जनाएको छ । जाजरकोटको ५० शय्याको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिद प्रक्रिया नहुँदा बजेट फ्रिज भएको छ । बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढाए पनि ठेकेदारले खरिदमा ढिलाइ गर्दा सम्झौता रद्द गरिएको थियो । पटक–पटक प्लान्ट ल्याउन म्याद थप्दा पनि ठेकेदारले प्लान्ट नल्याएपछि सम्झौता रद्द गरिएको व्यवस्थापक टीकाराम जैशीले बताए । त्यस्तै छिमेकी जिल्ला डोल्पामा समेत अक्सिजन प्लान्ट भन्दै नक्कली कन्सन्ट्रेटर ल्याएर बुझाएपछि सो ठेक्का रद्द भएको छ । रुकुम पश्चिम, सल्यानलगायतका जिल्लामा प्लान्टको नाममा कन्सन्ट्रेटर खरिद गरिएको सूचना चुहिएपछि छानबिनसमेत गरिएको थियो । रासस