थप ३ हजार ४०३ संक्रमित थपिए, ४२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ८३९ नमूनाको पीसीआर परीक्षणमा २ हजार ६१३ जनामा र ४ हजार ९९९ नमूनाको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बुधबार कोरोनाबाट थप ४२ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार २१ सय ४ जना कोरोनामुक्त भएका छन् भने ४० हजार ३३८जना सक्रिय संक्रमित रहेका छन् । यस्तै २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका हुन् ।

काभ्रेमा कोरोनाबाट चार महिनामा १३७ को मृत्यु, दश हजार सङ्क्रमित

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ । गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ सङ्क्रमितको मृत्यु भएको थियो । उक्त अवधिका तीन हजार ४५० मा सङ्क्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को तथ्याङ्कमा उल्लेख छ । गतअसार महिनामा नगन्य मात्रामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भए पनि साउनमा मृत्युदर बढेको थियो । हालसम्म जिल्लाका १३ हजार ६६५ मा सङ्क्रमण देखिएकामा १८२ को मृत्यु भएको छ । यसमध्ये करिब साढे तीन हजार गत सालका सङ्क्रमित हुन् भने १० हजारभन्दा बढी सङ्क्रमणको दोस्रो लहर सुरु भएयताका हुन् । हालसम्मका कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् १२ हजार ९४० सङ्क्रमणमुक्त भइसकेका छन् । पछिल्लो केही हप्तादेखि सङ्क्रमण र मृत्युदर बढ्न थालेपछि गत साउन २५ गतेदेखि यही भदौ ३ गतेसम्म निषेधाज्ञामा थप कडाइ गरिएको छ । हाल दैनिक सङ्क्रमणदर ५० देखि १०० को हाराहारीमा रहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पहिलोपटक विसं २०७७ जेठ १ गते जिल्लाको धुलिखेल अस्पतालमा उपचारार्थ सिनधुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट कारण मृत्यु भएको थियो । नेपालमा यो पहिलो घटना हो । कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा सङ्क्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा सङ्क्रमण र मृत्यु भएको केन्द्रले जनायो । ‘सङ्क्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो’, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भने । उनका अनुसार यसपालिको सङ्क्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट ट्रेसिङ’मा ढिलाइ हुँदा सङ्क्रमण बढेको अनुमान गरिएको छ । सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । सङ्क्रमणदर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो । पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई आवश्यक अक्सिजनसहित पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले स्थानीय तहमा रहेका आइसोलेशन अक्सिजनसहित पुनःसञ्चालनमा ल्याउन निर्देशन दिइएको बताए । उनले भने, ‘सङ्क्रमणदर दैनिक बढ्न थालेपछि स्थानीय तहका आइसोलेशन अक्सिजन सुविधासहित पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छौँ ।’ उनका अनुसार सङ्क्रमण उच्च रहेका केही स्थानीय तहमा भने आइसोलेशन सञ्चालनरत रहेका छन् । आगामी केही महिनामा सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएपछि पनौती नगरले बालबालिकाको लागि गत असारमै आइसोलेशन निर्माण गरेको छ । नगरले ४ नम्बर वडा कार्यालयमा हाललाई ३० शय्याको अक्सिजनसहितको आइसोलेशन बनाएको हो । स्थानीय रोटरी नेपालसँगको सहकार्यमा सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप आइसोलेशन बनाइएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताए । नगरले कोरोनाको दोस्रो लहर सुरु भएपछि वैशाख अन्तिम साता २५ शय्याको अक्सिजनसहितको आइसोलेशन व्यवस्थित गरेको थियो । केन्द्रले गत जेठ अन्तिम साता आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ शय्या छुट्याउन लगाउने निर्णयसमेत गरेको थियो । धुलिखेल अस्पतालले बालबालिकाको लागि १०० शय्या व्यवस्थापन गर्ने सम्झौता भइसकेको प्रजिअ पोखरलले बताए । धुलिखेल, मेथिनकोट, बनेपास्थित शिर मेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणमा २०५ शय्या छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा झाले बताए । उनका अनुसार प्रक्षेपणअनुसार बालबालिकामा सङक्रमण फैलिए स्थानीय तहलाई समेत बालबालिकाका लागि छुट्टै अक्सिजनसहितको आइसोलेशन कक्ष निर्माण गर्न लगाइनेछ । ‘प्रक्षेपित तेस्रो लहरले कस्तो क्षति पु¥याउँछ सोहीअनुसार वयवस्थापनमा लाग्न तयारी अवस्थामै छौँ’, उनले भने । यसैबीच जिल्लामा हाल ५४४ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १२४९, धुलिखेलमा १३७, पनौतीमा ५९, पाँचखालमा ६३, नमोबुद्धमा ७४, मण्डनदेउपुरमा ३४ तथा रोशी गाउँपालिकामा दुई, चौँरीदेउरालीमा दुई, तेमालमा चार, भुम्लुमा चार, खानीखोलामा एक, बेथानचोकमा ११ र महाभारत गाउँपालिकामा चार सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । रासस

के नेपालमै कोरोनाको खोप उत्पादन सम्भव छ ?

काठमाडौं । सरकारले पशुपक्षीमा लगाउने खोप आजभन्दा ६० वर्ष अघिदेखि नै उत्पादन शुरु गरेको हो । राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले सन् १९६१ बाट नै नेपालमा पशुपक्षीलाई लगाइने खोप उत्पादन शुरु गरेको हो । सरकारले पशुपक्षीविरुद्ध खोप उत्पादन गरेको झण्डै ६० वर्षपछि मानिसमा प्रयोग हुने खोप पनि उत्पादन गर्ने प्रक्रिया अगाडि बढाउन थालेको छ । सरकारले साउन २४ गते ल्याएको साझा न्यूनतम कार्यक्रममा खोप प्रयोगशाला स्थापना गर्ने उल्लेख गरेर नेपालमा नै खोप उत्पादनको प्रक्रिया अगाडि बढाएको हो । कोरोना भाइरस महामारी भइरहेको बेला सरकारले नेपालमै कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्न खोप (भ्याक्सिन) प्रयोगशाला स्थापना गर्न पहल गरेको हो । सरकारले राजपत्रमा सूचना प्रकाशन गरी इच्छुक उद्योगलाई कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्न आह्वान गरेर प्रक्रिया समेत अगाडि बढाइसकेको छ । जनस्वास्थ्यविद्ले पनि सरकारले भनेझै नेपालमा नै खोप उत्पादन गर्नका लागि प्रयोगशाला स्थापना गरेर सम्भव रहेको बताएका छन् । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा पनि खोप उत्पादन सम्भव भएकोले सम्भाव्य अध्ययन थालिएको बताउनुभयो । ‘विश्वमा उत्पादन भइरहेको खोप नेपालमा पनि सम्भव हुन्छ’, उनले भने, ‘सबैको सहयोगले खोप उत्पादन गरी नेपालीलाई लगाउने हो ।’ यसअघिको सरकारले पनि नेपालमा खोप उत्पादन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलका सदस्यसमेत रहेका विभागका महानिर्देशक भट्टराईले खोप सरकार आफै वा इच्छुक निजी उद्योगलाई दिन सकिने बताए । उनले खोपका लागि आवश्यक प्रयोगशालाको अध्ययन गरिएको जानकारी दिए । ‘खोपका लागि अहिले भइरहेका प्रयोगशालालाई स्तरोउन्नति गर्ने वा नयाँ प्रयोगशाला ल्याएर उत्पादन गर्ने भन्नेमा पनि हामीले अध्ययन गरिरहेका छौ’, उनले भने, ‘विभागका प्रयोगशाला स्तरोउन्नति गर्ने भन्ने कुरा छ । हेरौं कुन प्रयोगशालाबाट उत्पादन गर्छौं ।’ उनले खोप उत्पादनका लागि प्लान्ट निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्ने समेत बताए । उनले खोप उत्पादन गरेपछि नेपालमा मात्र ती सबै खोप खपत नहुने भएकोले अन्तर्राष्ट्रिय बजारको पनि अध्ययन गर्नुपर्ने बताए । राजपत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खोप उत्पादन गर्ने उद्योगलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउनेदेखि उद्योगका लागि आवश्यक पर्ने मेसिन उपकरणको पैठारीका लागि भन्सार महसुल छुट, मूल्य अभिवृद्धि कर र अन्तशुल्क पूरै छुट दिने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ विरुद्धको खोपका लागि क्लिनिकल ट्रायलसम्बन्धी व्यवस्था गरी खोपको तृतीय चरणको क्लिनिकल ट्रायल पूरा गर्ने अनुमति दिने र खोप स्तरीकरण र गुणस्तर प्रमाणीकरणको कार्यमा औषधि व्यवस्था विभाग र परिषद्ले सहजीकरण गर्ने राजपत्रमा उल्लेख छ । यसरी उत्पादन गरेको खोपको तृतीय चरणको क्लिनिकल ट्रायल भएको, खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्ड भन्दा बढी हुनुपर्ने, डब्लुएचओद्वारा प्रयोगको लागि सूचीकृत र औषधि व्यवस्था विभागबाट स्वीकृत भएको हुनुपर्नेछ । यसरी उत्पादन भएको खोप ६० प्रतिशत सरकारले खरिद गर्नुपर्ने हुन्छ । राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका निर्देशक डा उमेश दाहालले कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने खालको प्रयोगशाला आफूमा नभएको बताए । ‘कोभिड–१९ को खोप उत्पादनका लागि विएसएल–३ नामक प्रयोगशाला चाहिन्छ,’ उनले भने, तर आफूसँग विएसएल–२ मात्र प्रयोगशाला छ । त्यसैले हाम्रो प्रयोगशालाबाट कोभिड–१९ को खोप उत्पादन गर्न सकिँदैन ।’ उहाँले सरकारको नीति तथा कार्यक्रमअनुसार खोप उत्पादन गर्ने सोच बनाएको अनुसार अन्य कुनै प्रयोगशाला स्तरोउन्नति गरी खोप उत्पादन गर्ने बताए । उनका अनुसार प्रयोगशालाले कुकुर, भेडाबाख्रालगायत पशुपक्षीका लागि विभिन्न १३ प्रकारका खोप उत्पादन गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालमा मानिसमा लगाउने खोप उत्पादन गर्ने प्रयोगशाला आवश्यक भएर सरकारले न्यूनतम साझा कार्यक्रममा खोप प्रयोगशाला स्थापना गर्ने कुरा समेटिएको बताए । उनले विदेशबाट कच्चापदार्थ ल्याएर नेपालमा नै कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्न सकिने बताए । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को खोप उत्पादन गर्न सकिने बताए । उनले खोप प्रयोगशाला स्थापना गरेर खोप उत्पादन सम्भव भएको बताए । ‘रेबिज् खोप पनि हामीले किनेर ल्याइरहेका छौँ । खोप उत्पादन गर्ने प्रयोगशाला स्थापना गर्ने हो भने अरु खोप पनि उत्पादन गर्न सजिलो हुन्छ,’ उनले भने, ‘खोप आयात गर्नुभन्दा विस्तारै आफ्नै मुलुकमा खोप उत्पादन ग¥यो भने हामी आत्मनिर्भर पनि हुन्छौँ ।’ औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डे पनि नेपालमा खोप उत्पादन गर्न सकिने बताउँछन् । उनले कच्चापदार्थ र प्राविधिकहरु बाहिरबाट ल्याउन सक्ने हो भने खोप उत्पादन गर्न सकिने बताए । अहिले कोरोना भाइरस विरुद्धको खोप भारतबाट कोभिसिल्ड, चीनबाट भेरोसेल, अमेरिकाबाट ‘जोन्सन एण्ड जोन्सन,’ जापान र भुटानबाट एस्ट्राजेनेकालगायतका खोप ल्याइएका छन् । रासस