लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ: स्वास्थ्य मन्त्रालय

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिए । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई सो खोपको पहिलो मात्रा लगाएकामा अहिले करिब पाँच महिनापछि ‘एस्ट्राजेनिका’ खोपको दोस्रो मात्रा दिइएको छ । ‘कोभिशिल्ड/एस्ट्राजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तराल दुईदेखि तीन महिना हुन्छ भनिएकामा अहिले पाँच महिनापछि दोस्रो मात्रा दिएको छ,’ उनले भने, ‘यसबीच भएका अध्ययनले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखिएका छन् ।’ उनले पहिलो मात्रा र दोस्रो मात्राको अन्तराल पाँच महिनाको भए पनि खोपले प्रभावकारी रुपमा काम गर्ने भएकाले ढुक्क भएर ‘एस्ट्राजेनिका’ खोपको दोस्रो मात्र लगाउन अनुरोध गरेका छन् । भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार मात्रा ‘एस्ट्राजेनिका’ खोप आइसकेपछि मन्त्रालयले कोभिशिल्डको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाएको हो । उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने भएकाले कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका लगाइएको जानकारी दिए । हालसम्म ४६ लाख ५९ हजार चार सय १४ पहिलो मात्रा र ३२ लाख २३ हजार ६ सय ९३ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वल जंग पाण्डे

काठमाडाैं । नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन् । आइतबार भएको एपोनको अधिवेशनले अध्यक्षमा पाण्डेलाई सर्वसम्मतिले चयन गरेको हो । यसअघि एपोनको अध्यक्षमा नारायण बहादुर क्षेत्री थिए । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रुंगटा चयन गरेको छ । यस्तै, सदस्यहरुमा सुदर्शन खैगुली, पृथ्वीराज भण्डारी, सुदिप प्रधान, गणेश पाठक र दिपक टिवेडवाल चयन भएका छन् ।

थप ३ हजार ९१५ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १८ हजार ५८२ नमुनामध्ये ११ हजार ७०८ जनाको पिसिआर र ६ हजार ८७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा २ हजार ११८ जना कोरोनामुक्त भएका छन् । यस्तै, कोरोना संक्रमित ३० जनाले ज्यान गुमाएका छन् ।