काठमाडौं जिल्लामा आज र भोलि कोभिसिल्डको दोस्रो डोज लगाइँदैं
काठमाडौं । काठमाडौं जिल्लामा आज र भोलि कोभिसिल्डको दोस्रो डोज लगाइँदैं छ । जिल्लामा कोभिशिल्डको पहिलो मात्र लगाएकालाई दोस्रो डोजको रुपमा जापानबाट आएको एस्ट्राजेनेकाको खोप लगाइने भएको हो । यस अघि स्थानीय तहले संचालन गरेको खोप केन्द्रहरुमा नै उक्त खोप लगाइने स्वास्थ्य कार्यलय काठमाडौंले जनाएको छ । महानगरको राधस्वामी आइसोलेसन सेन्टर बालजु, सशस्त्र प्रहरी बल अस्पताल बल्मम्बु, वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगंज, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा पनि दोस्रो खोप लगाइने भएको छ । जापानले नेपाल सरकारलाई अनदान स्वरुप १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको छ जसमध्ये आइतबारसम्म ८ लाख मात्रा नेपाल आइसकेको छ । भारतको सिरम इन्टिच्युटले बनाएको कोभिशिल्ड खोप अक्सफोर्ड(एस्ट्राजेनेकाको खोपको फर्मुला अनुसार बनाइएको हो ।
महाकाली प्रादेशिक अस्पतालमा ५० शय्याकाे बाल चिकित्सा कोभिड अस्पताल बन्ने
कञ्चनपुर । महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष २०७८/७९ मा बालबालिकालाई लक्षित गरी ९० लाखको लागतमा ५० शय्याको अस्पताल भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौताको कार्य भइसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए । उनका अनुसार बालबालिकालाई लक्षित गरी बनाइन लागेको अस्पताल असोज महिनाभित्रै निर्माणका सबै कार्य पूरा हुने समय सीमा निर्धारण गरिएको छ । कोभिडको सङ्क्रमणमा परेका बालबालिकाको निर्माण हुने अस्पतालमा उपचार हुनेछ । उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी, औषधि, आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था हुने बताइएको छ । बाल चिकित्सा अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले विशेष प्राथमिकतामा राखेको छ । बाल चिकित्सा कोभिड अस्पतालको आइतबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले शिलान्यास गरेका छन् । ‘पहिलो चरणको कोरोनाको सङ्क्रमण हुँदा पूर्वसतर्कता अपनाइँदा प्रदेशका ५८ नागरिकको मात्रै ज्यान गएको थियो’, उनले भने, ‘दोस्रो चरणमा कम तयारी हुँदा ५२० ले ज्यान गुमाए । त्यसमा अधिकांश युवा रहेका थिए । तेस्रो चरणमा मानवीय क्षति रोक्नका लागि पूर्वतयारीमा लागेका छौँ ।’ त्रिनगर र गड्डाचौकी सीमा नाकामा भारतबाट फर्कनेको चापलाई मध्यनजर गर्दै एकएक हजार अट्ने होल्डिङ सेन्टर निर्माणको कार्य अगाडि बढिसकेको उनले बताए । महाकाली अस्पतालमा यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ५० शय्याको आइसोलेसन भवन निर्माण गरेको थियो । अस्पतालमा बिरामीको चापको आधारमा १०० शय्या थप गरिएको छ । रासस
आइतबार २ हजार ५४८ जनामा संक्रमण पुष्टि, ५५ जनाको मृत्यु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा ५५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म १० हजार ९३ जनाकाे मृत्यु भएको छ । साथै पछिल्लो २४ घण्टामा २ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।