प्रादेशिक उडान विस्तार गर्दै बुद्ध एयर, पोखराबाट सिमरा उडान सुरु
फाइल फोटो काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले प्रादेशिक उडानलाई विस्तार गर्दै आएको छ । यसअघि काठमाडौं विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले पछिल्लो समय अन्तरप्रदेश समेत उडान विस्तार सुरु गरेको छ । काठमाडौं बाहेक पोखराबाट पनि देशको विभिन्न प्रदेशहरुसँग सिधा उडान थालेको हो । पोखराबाट भैरहवा र भरतपुर (चितवन) मा सिधा उडान विस्तार गरेको बुद्ध एयरले जानकारी दिएको छ। यो वायुसेवाले केही साता अगाडि मात्रै नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो । आउँदो १ सेप्टेम्बर अर्थात भदौ १६ गतेबाट बुध्द एयरले पोखराबाट सिमरा (वीरगञ्ज) मा सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ । शुरुवातमा साताको ३ दिन अर्थात आईतबार, बुधबार र शुक्रवार उडान भर्नेछन् । यात्रुको माग अनुसार उडान विस्तार गर्ने जनाएको छ । पोखराबाट-सिमरा १२ः२० र सिमराबाट-पोखराको उडान १३ः१५ बजे तोकिएको छ । यस उडानबाट दुबै प्रदेश तथा शहरका जनता लभान्वित हुनेछन् । यसबाट यी दुबै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताए । उनका अनुसार सिमरारवीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा चहलपहल बढ्नेछन् । सिमरारवीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकोले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने बुध्द एयरको विश्वास रहेको छ । सिमरारवीरगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् । यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय शहरहरु पटना, दरभंगा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटकहरु पनि आकर्षित हुने बुध्द एयरले विज्ञप्तिमा जनाएको छ । बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु प्नि ल्याएको छ । सिमरा-पोखरा प्याकेजका लागि १० हजार ९९९ मा २ रात ३ दिनको प्याकेज, जसमा दुईतर्फि हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ । बुध्द एयर संक्रमणरहित उडानका लागि प्रतिवद्ध छ । कम्पनीले शुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पिपिई प्रदान, विमा र त्यसै अनुरुपको हवाईसेवा जुन अहिले पनि पछ्याईरहेको छ । बुध्द एयरसँग ७२ सिटे एटीआर-७२ जहाज १० वटा, ४२ सिटे एटीआर-४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु रहेका छन् ।
नर्भिकमा मधुमेहपीडित ८१ वर्षीया महिलाको दूरबिनबाट सफल शल्यक्रिया
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया बृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीवार विहान बिराटनगरकी बिद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो । छातिसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दुरबिन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले बताइन् । बढी उमेर समूह र मोटोपन भएका बिरामीको दुरविन प्रविधिबाट शल्यक्रिया सम्भव हु“दैन कि भन्ने धारणा कतिपय बिरामीमा हुने गरेको भन्दै डा. शर्माले भनिन्- ‘नर्भिक हस्पिटलमा दुवै उच्च जोखिम समूहका बिरामीको सफल रुपमा दूरबिनबाट शल्यक्रिया गरिसकेका छौं ।’ यसअघि १३४ किलो तौल समूहको महिलाको पनि डा.शर्मा नेतृत्वको टिमले दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको थियो । पेट चिरेर गरिनेभन्दा दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया बिरामीका लागि सुविधायुक्त र लाभदायक हुने गर्दछ । सामान्यतः बृद्धा अवस्थामा विभिन्न स्वास्थ्य समस्या भएका महिलाको दूरबिनबाट पाठेघरको अप्रेशन गर्नु जटिल मानिए पनि आफ्ना दक्ष चिकित्सकसहितको टिमले सफल उपचार गरेको नर्भिक अस्पतालले जनाएको छ । ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीको अस्पताल बसाई पनि कम हुने र छिट्टै रिकभर भई नियमित दैनिकीमा फर्किनसक्ने डा. शर्माले बताइन् । शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेको र भोलि शनिवार बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
शनिबार नर्भिकमा स्पाइनल र हाडजोर्नी रोगको फ्री ओपीडी सेवा
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत शनिवार हाडजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जनले सेवा दिने भएको छ । नर्भिकमा कार्यरत हार्डजोनी विशेषज्ञ तथा स्पाइनल सर्जन डा. राजेश चौधरीले फ्री ओपिडी सेवा दिन लागेका हुन । मेरुदण्ड भाँचिएका, मेरुदण्डमा इन्फेक्सन भएका, मेरुदण्ड सरेका, मेरुदण्डको नशा च्यापिएका लगायतका स्पाइनल समस्या भएका र हाडजोर्नीसँग सम्बन्धित विभिन्न समस्या भएकाले डा. चौधरीको क्याम्पसमा सहभागी भई निःशुल्क सेवा लिनसक्नेछन् । नर्भिकले तीन साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । सोही क्रममा शनिबार (भोलि) डा. चौधरीले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।