बागलुङका चोकचोकमा एन्टिजिन जाँच
बागलुङ । निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो । बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । उनका अनुसार बुधबार उपल्लाचौरमा २५ र सोमबार नारायणचोकमा ५० जनाको एन्टिजिन जाँच गरिएको थियो । त्यसमध्ये नारायणचोकमा गरिएको परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिए पनि बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । “एन्टिजिन परीक्षणलाई हरेक दिन निरन्तरता दिन्छौँ, बाटैमा जाँच गर्दा निषेधाज्ञामा बिनाकाम हिँडडुल गर्ने पनि निरुत्साहित हुन्छन्”, उनले भने । यसअघि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एन्टिजिन परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो । कोरोना परीक्षण गर्न नमान्ने, हिच्किचाउनेलाई पनि सम्झाइबुझाइ गरेर परीक्षण गर्ने गरिएको छ । एन्टिजिन विधिबाट परीक्षण गर्दा तुरुन्त रिपोर्ट आउँछ । लक्षण भएका व्यक्तिमा मात्र एन्टिजिनले पोजेटिभ नतिजा देखाउने गरेको जनस्वास्थ्य अधिकृत खनालले जानकारी दिए । कोरोना सङ्क्रमितको छिटो पहिचान र समुदायमा महामारीको स्थिति पत्ता लगाउन एन्टिजिन विधि उपयुक्त मानिन्छ । जिल्लामा हालसम्म तीन हजार ४५५ को एन्टिजनबाट कोरोना जाँच गरिएको छ भने २२ हजार २८७ को पीसीआर विधिबाट परीक्षण गरिएको छ । कूल परीक्षणमध्ये सात हजार ४२१ मा कोरोना पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३७० मात्र छ । कोरोना सङ्क्रमणका कारण ६५ जनाको ज्यान गएको छ । सङ्क्रमणको जोखिम घटाउन गत साउन २८ गतेदेखि यहाँ कडा निषेधाज्ञा छ ।
भदौ ११ गतेदेखि तीन दिन भेरोसेलको दोस्रो डोज लगाइने
फाइल फाेटाे काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा यही भदौ ११ देखि १३ गतेसम्म काठमाडौँ जिल्लामा लगाउने भएको छ । तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । उनका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप पाउने छन् । सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ । काठमाडौँका सबै स्थानीय तहमा १४६ खोप केन्द्रका राखिएको छ । यस्तै काठमाडौँ महानगरपालिकामा बस्न सर्वसाधारणलाई मध्यनजर गर्दै थप आठ खोप केन्द्र थपिएका छन् । जसअनुसार राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल रहेका छन् ।
मेलम्चीका बाढी प्रभावितका लागि आजदेखि कोरोनाविरुद्धको खोप
काठमाडौं । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा गरी २० लाख डोज खोप तोकिएका खोप केन्द्रमा पठाइसकिएको छ । बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका सुई लगाउन लागिएको हो । खोप नपुगेमा सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ ।