कलाकार निशा घिमिरेकाे स्वास्थ्यमा सुधार आएन: नर्भिक अस्पताल
काठमाडौं । कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार नआएको नर्भिक अस्पतालले जानकारी दिएको छ । अस्पतालले एक विज्ञप्ती जारी गर्दै अधिकारीको स्वास्थ्यमा सुरुमा केही सुधार देखिएपनि पछि गएर कुनै पनि प्रकारको सुधार नभएको जानकारी दिएको हो । अस्पतालले उनलाई एउटा राम्रो रिहाब सेन्टरको खाँचो भएको र त्यसमा आफुहरुले विचार गरिरहेको जनाएको छ । नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन् । नर्भिकले सुरुवातदेखि नै उनको उपचारमा डेडिकेटेड स्वास्थ्यकर्मीको टिम नै खटाइदिएको छ । उनको उपचारमा हालसम्म ५० लाख खर्च भएको र सो रकम सबै चौधरीले व्यक्तिगत रुपमा बेहोरेको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालमा एक वर्षमा सात मेडिकल सुपरिटेण्डेण्ट
चितवन । भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् । एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाएकाे हो । हाल अस्पतालमा कार्यरत डा. रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए । अधिकारी अध्यक्ष भएयताको सातौँ मेसु पौडेल भएका हुन् । विसं २०७७ भदौ २८ गते डा श्रीराम तिवारी सरुवालाई सरुवा गरेर डा राजन पाण्डेलाई मेसु बनाइएको थियो । पाण्डे दुुई महिनापछि मङ्सिर ८ गते सरुवा भएसँगै डा जगन्नाथ तिवारी मेसु भएका थिए । त्यसको तीन महिनापछि डा वासुदेव पाण्डेलाई मेसु बनाइएको थियो । गत वैशाख ४ गते पाण्डे निवृत्त भएपछि पुनः डा जगन्नाथ तिवारीलाई मेसु बनाइएको थियो । झण्डै दुई महिनापछि जेठ १३ गते डा रोशन न्यौपानेलाई मेसु बनाइएकोमा तीन महिनामा उनलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको हो । सरकारले आइतबार प्रा डा पौडेललाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेको हो । मेसु अस्थिर हुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै गएको छ । अध्यक्ष अधिकारीले विकास समितिले गरेका निर्णय मेसु अस्थिर हुँदा कार्यान्वयन हुन नसकेको बताए । यसपटक मेसु भइसकेका स्थानीय व्यक्तिले जिम्मेवारी पाएकाले लामो समय काम गर्ने अवसर प्राप्त हुने र विकास समितिले गरेका निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाइ छ । यो सङ्घीय अस्पताल हो । छ सय शै्ययाको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । पटकपटक कार्यकारी प्रमुख परिवर्तन हुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । हरेक विभागमा बिरामीले पाउनुपर्ने सेवा पाउन सकेका छैनन् । रासस
सूर्य नेपालद्वारा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई शव वाहन सहयाेग
काठमाडाैं । सूर्य नेपालले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई शव वहान उपलब्ध गराएको छ । जिल्लामै शववाहन नहुदा शव व्यवस्थापनमा समास्याका साथै सेवाग्राहीले ठूलो रकम खर्च गर्नुपर्ने भएकाले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शववाहन उपलब्ध गराएको हो । प्राप्त शववाहन तनहुँका १० वटै पालिकाहरुले उपयोग गर्नेछन् । सोमबार एक कार्यक्रमकाबीच जिल्ला कोभिड व्यवस्थापन केन्द्र तनहुँका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई कारखाना व्यवस्थापक बाबुराम कार्कीले शववाहनको चाबी हस्तान्तरण गरेका थिए । त्यसलगत्तै अस्पतालका बोर्ड सदस्य समेत रहेका सीडीयो आचार्यले अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्य र निमित्त कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठलाई चाबी हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लाभरनै शववाहन नहुँदा कोभिडबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा समस्या भएपछि सुर्य नेपालसँग सहयोग माग भए बमोजिम हाल उपलब्ध भएको बताए । अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्यले सबैको साथ र सहयोगले जिपीको स्तरोन्नती भइरहेको उल्लेख गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक दिनेशराज मैनाली, कम्पनीका प्रतिनिधि गौतम यादब, अन्जन दुवाडी, हुमनाथ अर्याल लगायतको सहभागिता रहेको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. श्रेष्ठले शव वाहनले नियमित सेवा दिने बताए ।