आइएमआइएसमा जोडियो कोजेन्ट हेल्थ, अब अस्पताल सफ्टवेयरबाटै बीमा दावी गर्न सकिने

काठमाडौं । कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेचीअञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सँग एकीकृत स्वास्थ्य बीमा व्यवस्थापन प्रणालीको सुरूवात गरेको छ । योसँगै कोजेन्ट हेल्थ स्वास्थ्य बीमा बोर्डद्धारा प्रवद्र्घित आइएमआइएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवा प्रदायक कम्पनी बनेको छ । एकीकृत प्रणालीको सुरुवातसँगै स्वास्थ्य बीमामा आबद्घ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बिरामीहरू स्वास्थ्य बीमा योजनामा आबद्ध भए नभएको जाँच गर्न र आबद्ध भएका बिरामीहरूको हकमा स्वास्थ्य बीमा सम्बन्धी आवश्यक विवरणको जानकारीको लागी कोजेन्ट हेल्थको इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीको उपयोग गर्न सक्नेछन् । साथै, स्वास्थ्य संस्थाहरूले सफ्टवयेरमार्फत् डिजिटल रूपमै बिरामीको बीमा दाबी गर्न सक्षम हुने भएका छन् । योसँगै हालसम्म स्वास्थ्य सेवा प्रदायकले बीमा दावी गर्न बीमीतलाई स्वास्थ्य सेवाप्रवाहको क्रममा दिइएको सेवाको कागजात छुट्टै साइटमा प्रविष्ट गरिरहनुपर्ने दोहोरो र समय खपतहुने अवस्थाको अन्त्य हुने भएको छ । इलेक्ट्रोनिक हेल्थ रेकर्ड र बीमा सूचना प्रणाली जस्ता दुई महत्वपूर्ण प्रणाली एकीकृत हुँदा नेपालमा अत्यावश्यक डिजिटल स्वास्थ्य इकोसिस्टम निर्माणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । कोजेन्ट हेल्थले पहिले नै फिनटेक र भुक्तानी प्रणालीसँग आफ्नो प्रणालीलाई एकीकृत गरीसकेको छ र डिजिटल स्वास्थ्यको क्षेत्रमा आवश्यक पर्ने महत्वपूर्ण प्रविधि निर्माण गर्दै आएको छ । कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक हेल्थ रेकर्ड (ईएचआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ । कोजेन्ट हेल्थद्धारा निर्मित कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब, ई-अपोइन्टमेन्ट र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका ५० भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

ग्राण्डीमा रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालन

काठमाडाैं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा आएको छ । पछिल्लो समय धेरै मानिसमा रिँगटा लाग्ने समस्या हुन थालेपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले शुक्रबारदेखि रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा ल्याएको हो । अस्पतालका प्रशासक हरि खड्काले रिँगटा लाग्ने आम व्यक्तिकोे समस्यालाई मध्यनजर राख्दै ग्राण्डीले उक्त क्लिनिक सञ्चालनमा ल्याएको जानकारी दिए । ‘ग्राण्डीले आगामी दिनमा बिरामीको आवश्यकताअनुसार सेवा विस्तारै गर्दै लैजान्छ’, उनले भने । उक्त सेवा आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म लिन सकिने सो अस्पतालले जनाएको छ । क्लिनिकका रिँगटासम्बन्धी विशेषज्ञ धर्म डङ्गोलले अस्पतालको डाक्टरसँगको सहकार्यमा बिरामीको रोगको निधान गरेर रिँगटासम्बन्धी समस्या उपचार गरिने बताए । ‘कतिपय बिरामीले औषधि सेवन गरे पनि रोग निको नभई रहेको अवस्थामा रोगको निधान गरेर रोगको प्रकृति हेरेर औषधि र थेरापीका माध्यामबाट उपचार गर्छौं’, उनले भने । विसं २०६९ पुसमा स्थापना भएको ग्राण्डी अस्पतालले हाल २०० श्ययामार्फत बिरामीको उपचार गराउँदै आएको छ । रासस

देखिन थाल्याे कोभिड–१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको जनाएका छन् । उनले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेका छन् । कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । उनका अनुसार स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने छ । मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ । स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने बताएका छन् । मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीररुप लिन सक्ने जनाएको छ । बच्ने उपाय किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने जनाइएको छ । रासस