४ महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुले

काठमाडाैं । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई भनिएको छ । गत वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो भने वैकल्पिक माध्यमबाट अध्ययन/अध्यापन गराइँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको थियो ।

कोरोनाको संक्रमणदर कम हुँदै, २४ घण्टामा ९९४ जनामा संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार ९ हजार ८४० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। त्यस्तै १३६८ संक्रमित निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९३६ जनाको मृत्यु भएको छ। दैनिक काेराेना भाइरसका संक्रमित कम हुँदै गएका छन् ।

करिब ११ हजारकाे परीक्षण गर्दा १ हजार १४६ जनामा सङ्क्रमण पुष्टि

काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार १४६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १० हजार ९१६ जनामा परीक्षण गर्दा एक हजार १४६ जनामा सङ्क्रमण देखिएको हो । नेपालमा सङ्क्रमणको दर १९.३ प्रतिशत पुगेको छ । सक्रिय सङ्क्रमित २७ हजार ९५८ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् । यस्तै आज सङ्क्रमणमुक्त भई एक हजार ६६० जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ३६ हजार ६६६ जना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २१ को ज्यान गएको छ । अहिलेसम्म १० हजार ९२४ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६८.२ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । यस्तै ४५८ सघन उपचार कक्ष (आइसियु), १४५ भेन्टिलेटर, २६ हजार २९६ होम आइसोलेसन, एक हजार ६६२ संस्थागत आइसोलेसन र २५२ कोरोना सङ्क्रमित क्वारेन्टिनमा रहेका छन् । आज २९ हजार २८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै ५७ लाख ४० हजार ३४५ जनाले पहिलो मात्रा र ५१ लाख २० हजार ८७७ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।