बागलुङमा घट्न थाल्यो कोरोना सङ्क्रमण
बलेवा । निषेधाज्ञामा कडाइ थालेपछि बागलुङमा कोरोना सङ्क्रमणदर घट्न थालेको छ । एक महिना पहिला ८०० जना सक्रिय सङ्क्रमित रहेको बागलुङमा पछिल्लो तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३८८ मा झरेको छ । जिल्लामा सोमबार जम्मा आठमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ भने ४५ ले कोरोनालाई जितेर घर फर्किएका छन् । एन्टिजेन परीक्षणका क्रममा सोमबार बरेङ गाउँपालिकाका २ र गल्कोट नगरपालिकाका ६ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘लक्षण देखिएका बिरामीको निरन्तर जाँच भइरहेको छ, सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको पाएका छौँ’’, कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भने, ‘गत भदौ १० पछि निषेधाज्ञा खुकुलो गर्न दबाब छ, खुकुलो हुँदा जोखिम बढ्न सक्छ ।’ कोरोना सङ्क्रमणका कारण जिल्लामा हालसम्म ६४ ले ज्यान गुमाएका छन् । सोमबार राति बागलुङ नगरपालिका–१२ अमलाचौरका ७२ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको उपचारका क्रममा धौलागिरि अस्पतालमा मृत्यु भएको हो । ‘दोस्रो लहर चल्ने बेला जस्तो अक्सिजनको कमी हुने सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ, अस्पतालमा गम्भीर समस्या लिएर आउने कम छन्’, उनले भने, ‘भेला, सभामा सहभागी हुनेमा बढी सङ्क्रमण देखिन्छ, सजगता अपनाउँदा सङ्क्रमण कम हुन्छ ।’ रासस
झापामा कोरोना विरुद्धको खोपमा चरम लापरवाही
फाइल फाेटाे झापा । बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरवाही भएको ठहर गरेको छ । जिल्ला कोभिड खोप व्यवस्थापन केन्द्रले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई बुझाएको छ । खोपजस्तो मानिसलाई मृत्युको मुखबाट बचाउने संवेदनशील वस्तु होटलजस्तो असम्बन्धित ठाउँमा सरकारी गाडीबाट ढुवानी गरेर पु¥याउनु, तत्काल खोपलाई नगरपालिका पु¥याउने अवस्था रहँदारहँदै होटलका कर्मचारीलाई जिम्मा लगाउनु र होटलमा खोप बुझेर कोभिड फोकलपर्सन अन्यत्र हिँड्नु अत्यन्त गैरजिम्मेवार र चरम लापरवाही भएको प्रतिवेदनमा उल्लेख छ । छानबिन समितिका संयोजक रिमालले खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटि देखिएको हुँदा खोप बुझाउने र बुझ्ने दुवै पक्षका कर्मचारीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्न राय दिइएको बताए । स्वास्थ्य कार्यालय झापाले गत साउन १५ गते भेरोसेल खोपको १०३ भाइल बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखालाई पठाएको तर सो खोप बिर्तामोडका कोभिड फोकलपर्सन खड्काले होटलमै बुझेका थिए । होटलमा खोप लुकाउन खोजेको भनेर विवाद भएपछि छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिले तीन हप्ता छानबिन गरेर प्रतिवेदन बुझाएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले प्रतिवेदन बुझ्दै कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकमा छलफल गरिने र आवश्यक कारबाहीका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइने जानकारी दिए । रासस
अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिइने
काठमाडौं । सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय भएको जनाएका हुन । पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ । ट्वीटमा मन्त्रीले पोलियो खोप लगाउनसमेत सुरु गरिएको बताएका हुन । अफगानिस्तान तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई सरकारले दुई चरणमा स्वदेश ल्याएको थियो । ६५४ नेपालीको उद्धार अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ गरी जम्मा १४९ जना स्वदेश फर्किएका हुन । मन्त्रालयका अनुसार हालसम्म कूल ६५४ नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेका छन् । नेपाली नागरिकको स्वदेश आगमनपश्चात अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा उनिहरुलाई सामाखुशीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्यका मापदण्डानुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौंसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ ।