धुँवा फाल्ने सवारीलाई १ लाख जरिवाना, पुस १ गतेदेखि लागू हुने
काठमाडौं । पुस १ गतेदेखि प्रदुषण पास भएका सवारी साधन मात्रै सञ्चालन गर्न वातावरण विभागले निर्देशन दिएको छ । पुस १ गतेदेखि प्रदुषण जाँच पास हुन नसक्ने सवारी साधनहरु सञ्चालनमा ल्याए १ लाख रुपैयाँ जरिवाना तिराउने वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको वातावरण विभागले बताएको हो । विभागले पछिल्लो समयमा गरेको छड्के जाँचमा काठमाडौं उपत्यकामा सञ्चालन भईरहेका सवारी साधनहरुको धुँवा निस्कासनको अवस्था अत्यन्त दयनीय पाईएको बताएको छ । आगामी दिनमा विभागले सवारी साधनको धुँवा निस्कासनको अवस्थाको परिक्षणलाई सघनताका साथ प्रभावकारी रुपमा गर्ने विभागले बताएको छ । ‘हाल सवारी साधनमा धुँवा परिक्षण गर्दा तोकिएका मापदण्ड भन्दा बढी प्रदुषण गरिरहेका सवारी साधनलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिईएकोमा २०७९ साल पौष १ गते पछी विभागको परिक्षणमा प्रदुषण जाँच पास हुन नसक्ने सवारी साधनहरुलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्म जरिवाना हुने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सिमासम्म मात्र प्रदुषण गर्ने बनाई जाँच पास गराएर मात्र सार्वजनिक स्थानमा सञ्चालनमा ल्याउन हुन सबै यातायात व्यवसायी तथा सम्बन्धित सबैमा आग्रह छ,’ विभागले प्रकाशन गरेको सूचनामा उल्लेख छ । हिउदको मौसममा काठमाण्डौं उपत्यका लगायत देशका धेरै ठाउँहरुमा वायु प्रदुषणको अवस्था विग्रदै गएको विभागले बताएको छ । वायु प्रदुषणका मुख्य कारकहरुमध्ये सवारी साधनबाट निस्कने धुँवा र खुल्ला रुपमा फोहोर जलाउँदा निस्कने धुँवा रहेको छन् । ‘जुनसुकै समयमा वातावरण विभागबाट छड्के जाँच हुन सक्ने र प्रदुषण जाँचपासको रुपमा यसअघि जारी भएको हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदुषण जाँचपास अनुतिर्ण हुने सवारीलाई समेत उल्लिखित व्यवस्था बमोजिम जरिवाना लगायतका कारवाही हुने छ,’ विभागले भन्यो । साथै, आफ्नो टोल, छरछिमेकमा खुला रुपमा कोही कसैले फोहोर जलाउने कार्य गरेमा वातावरण विभागलाई जानकारी गराउन भनेको छ । जानकारी दिनेको परिचय गोप्य राखि दोषीमाथि नियमानुसारको कारवाही हुने विभागले बताएको छ ।
कोका-कोलाको सहयोगमा अक्सिजन प्लान्ट स्थापना
काठमाडौं । कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाई, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्ले, मनमोहन अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, नेपाल र भुटानका लागि कोकाकोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी, क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र र कोकाकोला बोटलर्स नेपाल लिमिटेडका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा हस्तान्तरण समारोह सम्पन्न भएको हो । एक पटकमा ५० जनासम्म विरामीलाई सेवा दिन सकिने यस अक्सिजन प्लान्टबाट प्रति सेकेन्ड २४० लिटर अक्सिजन उत्पादन गर्न सकिन्छ । अक्सिजन प्लान्ट स्थापनाको लागि क्रिएसन र कोका(कोला फाउन्डेसनलाई धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईं भनिन्, ‘कोभिड महामारीले हामीलाई स्वास्थ्यजन्य विपतहरुबाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्छ भन्ने कुराको महसुस गराएको छ । स्वास्थ्य सेवा क्षेत्रमा यस्तो सक्रिय संघसंस्थाहरूको सहयोग पाउँदा हामी निकै खुसी छौं ।’ त्यस्तै, स्वास्थ्य सेवाको महत्वलाई आत्मसात गर्दै सेवाविहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोकाकोला फाउन्डेसनले जनाएको छ ।
सरकारको दियो पोलियो भाइरस खोपको क्लिनीकल ट्रायलको लागि अनुमति
काठमाडौं । सरकारले नगद लेखा प्रणालीमा आधारित वित्तिय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखामान नेपाल पब्लिक सेक्टर अकाउण्टिङ स्ट्याण्डर एनपीएसएएस नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यान्वयनमा ल्याउन स्वीकृति दिएको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १९ मिलियन युरो करिव २ अर्ब ५४ करोड बराबरको अनुदान सहायता स्वीकार गरेको छ । सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वे सरकारबाट प्राप्त करिव २ अर्ब ५७ करोड बराबरको अनुदान सहायता स्वीकार गरेको छ । बुधवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारी सञ्चय कोषको प्रशासक पदमा जितेन्द्र धिताललाई नियुक्ति गरेको बताए । त्यस्तै सरकारले वि.सं. २०७९ मंसिर २० देखि २३ गतेसम्म सिंगापुरमा हुने १७ औँ एशिया तथा प्रशान्त क्षेत्रिय बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव यकनारायण अर्याल नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृत प्रदान गर्ने, तारागाउँ विकास समिति कर्मचारी सेवा र सुविधा नियमावली बनाउन स्वीकृत प्रदान गर्ने, लुम्बिनी विकास कोषको कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले भने, ‘२०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा सफलतापूर्वक सम्पन्न भएको छ । यो निर्वाचनलाई सफल बनाउन आफ्नो आफ्नो क्षेत्रबाट महत्वपूर्ण भुमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा सञ्चारकर्मी, नागरिक समाज, लगायत निर्वाचन कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्याउने सबैलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिने । वि.सं. २०७९ मंसिर १९ देखि २१ गतेसम्म पाकिस्तानको इस्लामावादमा आयोजना हुने शिख साउथ एण्ड द साउथ वेस्ट एशिया फोरममा राष्ट्रिय योजना आयोगका मान्य सदस्य डा. दिलबहादुर गुरुङको नेतृत्वमा भ्रमण टोलीलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने । नगद लेखा प्रणालीमा आधारित वित्तिय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखामान नेपाल पब्लिक सेक्टर एकाउण्टिङ स्ट्याण्डर एनपीएसएएस नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यान्वयनमा ल्याउन स्वीकृति प्रदान गर्ने । प्रवक्ता कार्कीले सरकारले पोलियो भाइरस खोपको क्लिनीकल ट्रायलको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको पनि बताए ।