निक्षेपमा राखेको १० करोड झिकेर कर्मचारी पाल्ने अवस्थामा सिंहदरबार बैद्यखाना, चुलियो आर्थिक संकट

काठमाडौं । सिंहदरबार बैद्यखानाले झण्डै ४ सय वर्षको इतिहास बोकेको छ । नेपालका जिवित संस्थाहरुमध्ये लामो इतिहास बोकेको मध्येमा पर्छ वैद्यखाना । तर, पछिल्लो समयभने बैद्यखाना निकै ठूलो संकटको बीचबाट गुज्रिरहेको छ । सिंहदरबारको उत्तरी क्षेत्रमा रहेको नेपाल सरकारको स्वामित्वमा रहेको जमिन र भौतिक संरचनाको भोगचलन बैद्यखानाले गर्दै आएको छ । गठन आदेशमा सञ्चालन भएको बैद्यखानाको तालुकदार निकाय स्वास्थ्य मन्त्रालय हो । तर, पछिल्लो समयमा बैद्यखाना अभिभावक बिहिन जस्तै बनेको छ । विगतमा १ सय ६० प्रकारका औषधी उत्पादन गरेको यो संस्था पछिल्लो समयमा जम्मा ५ प्रकारका औषधीमा सीमित भएको छ । दैनिक १ लाख भन्दा धेरैको औषधी आफ्नै काउन्टरबाट बिक्री गर्दै आएको बैद्यखानाले यतिबेला दैनिक ५र६ हजारको मात्रै बिक्री गर्ने गरेको छ । वैद्यखानामा नेपाल सरकारका २ जना, समितिका ४२ जना र एक जना करार सेवामा काम गर्ने कर्मचारी छन् । पैसाको अभावको कारण उनीहरुले २ महिना यता तलब खाने विषय नै अनिश्चय बनेको छ । साथै कर्मचारीहरुले वर्षमा एकपटक नियमअनुसार पाउनुपर्ने पोषाक भत्ता समेत पाएका छैनन् । बैद्यखानाका निमित्त कार्यकारी निर्देशक डा. रामदेव यादवका अनुसार संस्थाको तर्फबाट अहिले मुद्दती निक्षेपमा १० करोड रुपैयाँ बैंक ब्यालेन्स रहेको छ भने १०/१२ लाख मात्रै चालू खर्च वापतको पैसा छ । वैद्यखानाले स्वास्थ्य मन्त्रालयसँग कर्मचारीको तलब भत्ताको लागि पैसा निकासा गर्न माग गरेको छ । तर, त्यसको अहिलेसम्म सुनुवाई भएको छैन् । मन्त्रालयले पैसा निकासाको पहल नगरेमा मुद्दती निक्षेपको पैसा निकालेर प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको डा. यादवले विकासन्युजसँग बताए । गत असारदेखि यता वैद्यखानाले ५ प्रकारका औषधी तयार गरेको छ । नियमअनुसार तयार गरिएको औषधी बिक्री गर्नका लागि मूल्यांकन समितिले त्यसको मूल्य निर्धारण गर्नुपर्छ । औषधी उत्पादन भएको ४ महिनापछि अर्थात गत सोमबार मात्रै मूल्यांकन समितिले औषधीको मूल्य निर्धारण गरेको डा. यादवले बताए । ‘मूल्यांकन समितिको बैठक बस्न नसक्दा उत्पादन भएको औषधीको मूल्य निर्धारण गर्ने र लेबलिङ गर्ने काममा ढिलाई भयो, बल्ल सोमबार त्यो काम सकिएको छ’, उनले भने ।  अब बैद्यखानाले थोरै मात्रामा उत्पादन भएको औषधीको लेबलिङ गर्ने कामलाई अगाडि बढाएको छ । त्यसको बिक्री पश्चात आर्जन हुने पैसाले पनि वैद्यखानालाई केही सहज हुनेछ । डा. यादवका अनुसार जडिबुटी खरिदको मूल्य बढेको कारणले गर्दा उत्पादित औषधीको मूल्य झण्डै १० प्रतिशत बढ्न पुगेको छ । तर, पैसाको अभावमा वैद्यखानाले चालु आर्थिक वर्षमा जडिबुटी खरिद प्रकृयाको प्रारम्भ नै गर्न सकेको छैन । गत असारमा झण्डै डेढ करोड बराबरको जडिबुटी खरिदको आह्वान गरेको टेण्डरमा अहिलेसम्म ५० लाख बराबरको पनि नआएको वैद्यखानाका उत्पादन अधिकृत डा.हरिदेव यादव बताउँछन् । आर्थिक वर्ष ०७४/७५ मा करिब साढे ५ करोडको व्यवसाय गरेको वैद्यखानाको त्यस यताको कारोबार निरन्तर ओरालो लागेको छ ।  समस्या के हो ? वैद्यखाना विकास समिति गठन आदेश २०७७ अनुसार सञ्चालनको अवस्थामा रहेको वैद्यखाना आफैमा स्वायत्त निकाय होइन । त्यसैले वैद्यखानाले सञ्चालन गर्ने मुख्य क्रियाकलापमा बोर्डको निर्णय हुन्छ भने नेतृत्वको विषयमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्ने काम गर्छ । तालुकदार निकायले वैद्यखाना सञ्चालनको विषयमा आवश्यक ध्यान नदिनु र वैद्यखाना आफैमा स्वायत्त नबन्ने विषय नै नीतिगत हिसाबले मुख्य समस्या बनेको बैद्यखानाका डा. हरिदेव यादव बताउँछन् । ‘वैद्यखाना सञ्चालनको लागि मुख्य रुपमा नीतिगत समस्या बनेको छ, न त मन्त्रालयले राम्रो सँग सञ्चालन गर्ने इच्छा देखाउँछ, न त स्वायत्त बनाउने विषयमा नै पहल गर्छ’, डा. यादवले भने । पछिल्लो समयमा धेरै सरकार मातहतमा रहेका संस्थाहरुको लागि समायानुकुल नीति बनाइएकोमा वैद्यखानाको विषयमा भने कुनै पहल नभएको उनको भनाइ छ । मन्त्रालयमा आउने मन्त्री र सचिवहरु वैद्यखानाको विषयमा जिम्मेवार नबनेको उनको आरोप छ । डा. यादव वैद्यखानामा स्थायी दरबन्दीमा कार्यरत ९० प्रतिशतभन्दा धेरै कर्मचारीको वृत्ति विकास नै भएको छैन, अर्थात अधिकांश कर्मचारीको लामो समयदेखि बढुवा नै भएको छैन । जसले गर्दा काम गर्ने सन्दर्भमा मनोविज्ञानमा प्रभाव पारेको छ । ‘मैले एमडी गरेर यहाँ जागिर खाएको १० वर्ष भन्दा धेरै भयो, अहिलेसम्म म अधिकृत सरह नै छु, जबकी राज्यकै अन्य निकायमा जागिर खाएको भए म कम्तिमा सहसचिव सरहको भैसकेको हुने थिएँ’, उनले भने, ‘यहाँ सबैको यस्तै समस्या छ, जसले गर्दा काम गर्ने मनोविज्ञानमा उत्साह छैन ।’ लामो इतिहास बोकेको वैद्यखानामा पछिल्लो समयमा उत्पादन र प्रशासनका लागि भवन नयाँ भवनहरु निर्माण भएका छन् । तर, औषधी उत्पादन गर्ने मेशिनरी सामग्री र विधि भने पुरानै रहेको छ । जसका कारणले आधुनिकता अनुसारको गुणस्तरीय उत्पादन र प्याकेजिङमा वैद्यखानाले आफूलाई स्तरोन्नती गर्न सकेको छैन । निमित्त कार्यकारी निर्देशक डा।यादवले वैद्यखानाको समयानुकुल विकासको लागि उत्पादन गर्ने मेशिनरी सामग्री र उत्पादन विधिमा स्तरोन्नती गर्न आवश्यक रहेको बताए । त्यस्तै, वैद्यखानासँग जडिबुटी उत्पादन गर्ने आफ्नै उत्पादन केन्द्रहरु नभएको अवस्था छ । जसकारणले गर्दा समयमा गुणस्तरीय जडिबुटी प्राप्त गर्ने कुरामा पनि समस्या हुने गरेको र नियमित उत्पादनको प्रकृया रोकिने गरेको अधिकृत डा. यादव बताउँछन् । ‘हामीले औषधी उत्पादनको लागि धेरै वर्ष अगाडि देखि अपनाउँदै आएको विधि र पुराना सामग्रीहरुलाई प्रयोग गरिरहेका छौं, भारतमा नै सञ्चालनमा रहेका उद्योगहरुलाई हेर्दा उनीहरुले आधुनिक मेसिनको प्रयोग गरेका छन्’, उनले भने, ‘अब हामीले त्यता पनि ध्यान दिनुपर्छ ।’ आफू निमित्त निर्देशकको जिम्मेवारीमा आएको केही समय मात्रै भएको र आगामी दिनमा वैद्यखानाको मेसिनरी स्तरोन्नती गर्ने विषयमा पनि अगाडि बढ्ने उनले बताए । उनका अनुसार वैद्यखानामा नयाँ प्रविधिको विकास गरेपछि श्रम लागत घट्ने, गुणस्तर बढ्ने र ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ । वैद्यखानाका कार्यरत कर्मचारीहरुका अनुसार वैद्यखानाको निरन्तर ओरालो लाग्नुको कारण तालुकदार निकायको अनावश्यक हस्तक्षेप पनि हो । पछिल्लो ५ वर्षमा वैद्यखानामा एक दर्जन नेतृत्व फेरिएका छन् । चालू आर्थिक वर्षको साउन महिना यता मात्रै ३ जना नेतृत्व परिवर्तन भएका छन् । यसैबाट पनि देख्न सकिन्छ की वैद्यखाना कसरी सञ्चालन भइरहेको छ । राजनीतिक क्षमता र आवश्यकताको आधारमा समझदारीपूर्वक टिकाउ निर्णय लिनेभन्दा पनि सरकारले राजनीतिक स्वार्थका आधारमा नियुक्ति गर्ने र अदालतमा मुद्दा पर्ने चक्रमा वैद्यखाना लामो समयदेखि फस्दै आएको छ । जसले गर्दा वैद्यखानामा योजना निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने विषय प्रभावकारी बन्न सकेको छैन । पछिल्लो समय वैद्यखानामा कार्यरत कर्मचारीहरुले आफ्नो भविष्य निरन्तर अन्यौलमा परेको देख्न थालेपछि आफूहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नै समायोजन गर्न सामूहिक रुपमा माग गरेर २ पटक सम्म अनुरोध गरेका छन् । यादवले गत साउन र भदौमा आफूहरुले समायोजनको सामूहिक निवेदन दिएको बताए । सम्भव छ वैद्यखानाको उपचार ? निमित्त कार्यकारी निर्देशकको भूमिकामा रहेका डा. यादव नरदेवी अस्पतालबाट झण्डै १ महिना अगाडि मात्रै वैद्यखानाको जिम्मेवारीमा आएका हुन् । अहिलेसम्मको अवस्थामा वैद्यखानामा काम गर्ने कर्मचारीको सेवा सुविधाको लागि मासिक रुपमा २० लाख भन्दा धेरै रकम खर्च हुने गर्छ । डा।यादवका अनुसार वैद्यखानालाई आत्मनिर्भर हुँदै नाफा आर्जनको स्तरमा विकास गर्न सकिने बताउँछन् । आफू नेतृत्वमा आएपछि त्यसको लागि आवश्यक गृहकार्यमा जुट्न लागेको उनको भनाइ छ । त्यस्तै, अधिकृत डा।हरिदेव यादवले वैद्यखानाले अहिलेकै अवस्थामा पनि वार्षिक रुपमा २५ करोड बराबरको औषधी उत्पादन गर्न सकिने बताउँछन् । कतिपय कर्मचारीहरुले राजनीतिक आस्थाका आधारमा अप्ठयारो परिस्थिति सिर्जना गर्ने गरिरहेकोमा पछिल्लो नेतृत्वले त्यसलाई हल गर्न लागेको डा. हरिदेवको भनाइ छ । नेपालमा आयुर्वेदको क्षेत्रमा भारतीय लगानीकर्ता रामदेवलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्ने गरिएको तर आफ्नै मुलुकमा गौरवको इतिहास बोकेको संस्थालाई होच्याएर टिप्पणी गर्ने गरिएको वैद्यखानाका कर्मचारीहरुको गुनासो छ । नयाँ व्यवस्था स्थापना भएको सन्दर्भमा वैद्यखानाहरुको उत्पादन केन्द्रहरु ७ वटै प्रदेशमा विस्तार गर्नुपर्ने र लगानीको व्यवस्था गरेमा वैद्यखानाको भविष्य राम्रो भएको अधिकृत डा।हरिदेवको भनाइ छ । वैद्यखानाको पछिल्लो अवस्थाको विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुरले बताए । आफै उत्पादन गरेर आत्मनिर्भर हुनुपर्ने र राज्यलाई पनि योगदान गर्नुपर्ने संस्थाको पछिल्लो अवस्था राम्रो नदेखिएकोमा यसको सुधार गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाई । ‘मन्त्रालय चिन्तित बनेको छ, केहीसमय अगाडि तत्कालको समस्याको समाधानको लागि मन्त्रालयले पैसा पनि पठाएको छ, गठन आदेशमा सञ्चालन भएको संस्थाको विषयमा नीतिगत समस्या समाधान कसरी गर्ने र कसरी सस्टेन बनाउने विषयमा आवश्यक कदम चाल्नुपर्छ’, उनले भने । वैद्यखानाका कर्मचारीहरुले समय–समयमा आफ्ना मागहरु राखेर ज्ञापन पत्र बुझाउने तर समस्याको समाधानको लागि सिरियसली विषय नराख्ने गरेकोले पनि समस्या लम्बिदै गएको उनको भनाइ छ । वैद्यखानाले हेल्थ प्लान सहित मन्त्रालयमा आफ्ना विषयवस्तुहरुलाई राख्न आवश्यक रहेको प्रवक्ता डा।सञ्जयकुमारले बताए ।

डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न

काठमाडौं । डिजिटल स्वास्थ्य सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । यही मंसिर १२ र १३ गते गरी दुई दिनसम्म आयोजन भएको सो सम्मेलन नेपालमा पहिलो पटक आयोजना गरिएको हो । वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित ईलर्निङ तथा टेलिमेडिसिन युनिटको आयोजनामा सो सम्मेलन आयोजना भएको थियो । प्रतिष्ठानले स्विजरल्याण्डस्थित जेनेभा विश्वविद्यालय र डिजिटल हेल्थ हबसँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले डिजिटल स्वास्थ्य सेवा मुलुक र जनताका लागि अत्यन्त आवश्यक रहेको र यसको प्रवद्र्धनमा वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गरे । साथै, उनले डिजिटल स्वास्थ्य सेवालाई अझ परिस्कृत र प्रभावकारी बनाउन खाँचो रहेको औँल्याएका थिए । नेपालका लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले यस्ता खालका सम्मेलनले सिकाई आदनप्रदानसँगै भावी कार्ययोजना निर्माणका लागि दिशा निर्देश गर्ने बताए । सम्मेलनमा स्विजरल्याण्ड, जापान, अष्ट्रेलिया र भारतसँगै नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ३० भन्दा बढि कार्यपत्र प्रस्तुत भएको थियो । सम्मेलनको आयोजनाले डिजिटल स्वास्थ्य नीतिलाई सहि मार्गनिर्देश गर्न सहयोग पु¥याउने सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा. डा. नरेन्द्र भट्टले दावी गरे ।

इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन प्रयोग गरिएको औषधि प्रयोग नगर्न आग्रह

काठमाडौं । औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ । बालबालिकामा प्रयोग हुने कतिपय झोल औषधिमा यी दुई विषाक्त रसायन मिसिएको हुनसक्ने भन्दै विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले विज्ञप्ति जारी गरी सचेत रहन आग्रह गरेका छन । जाम्बिया तथा इन्डोनेसियालगायत देशमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसिएको औषधि बालबालिकामा प्रयोग गर्दा उनीहरूको मिर्गौलामा गम्भीर असर परी मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा समेत उल्लेख गरिएको विभागले जनाएको छ । विज्ञप्तिमा विभागले ती दुवै रसायन मिसिएका औषधि भारतको माइडेन फर्मास्युटिकल्स लिमिडेट हरियानाबाट उत्पादन गरिएको प्रोमेथाजिन ओरल सलुसन, कोफेक्सामाइलिन बेबी कफ सिरफ, म्याकअफ वेवी कफ सिरफ र मागरिप एन कोल्ड सिरफ उत्पादन भइरहेको र ती उत्पादन गरिएका औषधि नेपालमा दर्ता नभएको समेत विज्ञप्तिमा विभागले स्पष्ट पारेको छ । विभागले औषधि उत्पादक कम्पनीलाई प्रोपलाइन ग्लाइकोल, पोलिथिनल्याइन ग्लाइकोल, सोरविटोल र ग्लासिरिनरग्लासिरोलजस्ता सहायक कच्चा पदार्थ प्रयोग भई नेपालमा उत्पादन तथा पैठारी हुने विशेष गरी झोल बनावटका औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायनको मिसावट नभएको भनी यकिन गरी मात्र झोल औषधि बिक्री वितरण गर्न आग्रह गरेको छ ।