रुकुमपूर्वमा पहिलो पटक शल्यक्रियामार्फत् शिशुको जन्म
रुकुम । जिल्ला अस्पताल रुकुमपूर्वमा पहिलो पटक एक गर्भवतीको शल्यक्रिया गरिएको छ । अस्पताल स्थापना भएको पाँच वर्षपछि जिल्ला अस्पतालमा पहिलो पटक सुत्केरीले शल्यक्रियामार्फत शिशु जन्माएका छन् । शनिबार अस्पतालमा भूमे गाउँपालिका–८ की सन्तु बुढाको शल्यक्रिया गरिएको डा पूर्णबहादुर पुनले जानकारी दिए । उनी शल्यक्रियाको डा नारायण बरालको टोलीले गरेको हो । सुत्केरी हुने समय नाघेको र सामान्य अवस्थामा शिशु जन्माउन नसकेकाले शल्यक्रिया गर्नुपरेको डा पुनले बताए । ‘आमा र शिशुको स्वास्थ्य सामान्य छ’, उनले भने । विसं २०७४ पुस ७ गते रुकुमकोटस्थित स्वास्थ्य चौकीलाई जिल्ला अस्पतालमा परिणत गरिएको थियो । आवश्यक जनशक्ति र पूर्वाधारको अभावमा जिल्ला अस्पतालले दिने सेवा प्रवाह उल्लेख्य हुन नसकेपछि सांसद विकास कोष र सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा २०७८ असारमा शल्यक्रिया भवन निर्माण गरिएको थियो । सिस्ने गाउँपालिकाको ३५ लाख र तत्कालीन प्रतिनिधिसभा सदस्य कमला रोकाको संसद् विकास कोषको १४ लाख गरेर ४९ लाखको लगानीमा शल्यक्रिया भवन निर्माण गरिएको हो । रासस
डोल्पामा पहिलो पटक पाठेघरको जटिल शल्यक्रिया सम्पन्न
जाजरकोट । डोल्पा अस्पतालमा जटिल खालको शल्यक्रिया भएको छ । आर्थिक रुपमा विपन्न रुकुम पश्चिम आठबीसकोट–४ घर भई डोल्पा सदरमुकाममा दुई वर्षदेखि मजदूरी गर्दै आएकी कमला विकको सफल शल्यक्रिया गरिएको हो । पाठेघरको नलीमा बच्चा बसी, नली फुटेर पेटभित्र रगत जमेपछि उक्त समस्याको लागि डोल्पामै पहिलो पटक शल्यक्रिया गरिएको डा अखण्ड उपाध्ययले बताए । यस्तो खालको शल्यक्रिया तत्काल नगरे आमाको ज्यान जोखिममापर्ने सम्भावना बढी हुने डा उपाध्ययको भनाइ छ । ‘एक्सप्लोरेट्रि ल्याप्सटोमि’ को शल्यक्र्रिया डोल्पामा पहिलो पटक भएको उहाँको भनाइ छ । डाक्टर उपाध्ययले भने, ‘पेट खोलेर पाठेघर भन्दा बाहिर पाठेघरको नली फुटेको पत्ता लगाइ, त्यो फुटेको भाग मिलाएर पेटमा जम्मा भएको रगत सफा गर्ने कामलाई एक्सप्लोरेट्रि ल्यापारोटोमी भन्ने गरिन्छ ।’ बिरामीलाई समयमा जिल्ला बाहिर सिफारिस गरेमा पनि तत्काल सुविधा सम्पन्न अस्पतालमा पु¥याउन मुस्किल हुँदै आएको छ । जुफाल विमानस्थलमा जहाज नियमित नआउने भएकाले पनि बिरामीले भनेको समयमा उपचार पाउन पाउँदैनन् । रगतको अभावमा जिल्लास्थित सुरक्षाकर्मीको सहयोगमा रगत दिने काम हुँदै आएको डा उपाध्यायले जानकारी दिए ।
३५ लाख डलर पर्ने विश्वकै महँगो औषधि, हेमोफिलियाको उपचारमा उपयोगी हुने
एजेन्सी । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले हालै विश्वको सबैभन्दा महँगो औषधिलाई स्वीकृत गरेको छ । हेमजेनिक्स नामको यो औषधिको एक डोजको मूल्य ३५ लाख डलर अर्थात २८ करोड ५८ लाख रुपैयाँ पर्छ । यो ‘हेमोफिलिया बी’ बाट पीडित बिरामीहरूको उपचारमा प्रयोग हुनेछ। हेमोफिलिया रोग के हो ? हेमोफिलिया एक आनुवंशिक रोग हो। यो रोग धेरै प्रकारको हुन्छ, तर हेमोफिलिया बी एकदम दुर्लभ रोगमध्येमा पर्छ । यो रोग लागेको व्यक्तिको रगतमा एक प्रकारको प्रोटिनको कमी हुन्छ, जसले रगत जमाउने काम गर्छ। यो प्रोटिनलाई ‘क्लोटिंग फ्याक्टर’ पनि भनिन्छ। यो रोग लागेका व्यक्तिलाई सानो चोटपटक वा घाउ लागेमा पनि रगत जम्दैन र रगत निरन्तर बगिरहन्छ । अत्याधिक रक्तस्रावका कारण मानिसको ज्यान समेत जान सक्छ । नयाँ औषधिको एक खुराकले नै राहत दिनसक्ने एफडीएका अनुसार हेमजेनिक्स औषधि हेमोफिलिया बी का बिरामीका लागि निकै प्रभावकारी साबित हुनेछ । विज्ञहरूका अनुसार अमेरिकामा एक बिरामीले हेमोफिलियाको उपचारमा २१ देखि २३ मिलियन डलर खर्च गर्छन्। एफडीएले यो रोगबाट बच्न औषधिको कति डोज सक्षम हुनेछ भन्ने जानकारी दिएको छैन। तर, जानकारीका अनुसार यो औषधिको एक डोज धेरै वर्षसम्म सेवन गर्दा रगत बग्ने र रगत जम्ने समस्या बढ्छ । अहिले हेमोफिलियाको उपचार के हो ? अहिले हेमोफिलिया भएका बिरामीले आफ्नो रगतमा जम्ने कारक बदल्नुपर्छ। सामान्यतया यो उपचार सबै ठाउँमा उपलब्ध छ। यस प्रक्रियामा क्लटिंग कारकहरू बिरामीको नसाहरूमा इन्जेक्सन गरिन्छ। यो उपचार जीवनभर रहन्छ। यसका साथै चिकित्सकको सल्लाह लिएर अत्याधिक रक्तश्राव हुनबाट बच्न वा रोक्न पनि सावधानी अपनाइन्छ । हेमोफिलियाबाट पुरुष बढी पीडित एफडीएको अनुसार हेमोफिलियाले प्रत्येक ४० हजार मानिसहरू मध्ये एक जनामा यसको असर देखिन्छ, अर्थात एक अनुमान अनुसार अमेरिकामा करिब ८ हजार पुरुष यो रोगको सिकार भएका छन् ।