विपन्न बिरामीलाई सहज बन्दै नारायणी अस्पताल
काठमाडौं । पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ । सङ्घीय सरकारको स्वामित्वमा रहेको अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएपछि उपचारका लागि यहाँ बिरामी बढ्दै गएका छन् । अस्पतालले सिटीस्क्यान, डायलासिस र वृद्धवृद्धालाई उपचार खर्चमा सहुलियतलगायतका सेवा प्रारम्भ गरेपछि बिरामीको अस्पतालमा चाप बढ्दै गएको सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए। अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर जिल्ला र भारतको विहार क्षेत्रका बिरामी उपचारका लागि आउँछन् । अस्पतालमा दैनिक औसतमा एक हजार बिरामीले विविध रोगको उपचार सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । नियमित उपचारमा आउने बिरामीमध्ये करिब १० देखि १५ प्रतिशतसम्म भारतीय बिरामी रहेको जनाइएको छ । अस्पतालको तर्फबाट दुई सय र विकास समितिको तर्फबाट एक सय शय्यामा नियमित उपचार सेवा दिँदै आएको छ । अस्पताललाई विसं २०७५ असार २५ गते सङ्घीय सरकारले मधेस प्रदेशमा विशिष्ट सेवा प्रदान गर्ने उद्देश्यले पाँच सय शय्याको रुपमा स्तरोन्नति गरिसकेको छ । उपचार सेवा थप प्रभावकारी बनाउँदै लगेपछि विशेष गरी गरिब र विपन्न समुदायका बिरामी बढेका अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा वीरेन्द्रबहादुर प्रधानले जानकारी दिए । मेडिकल, सर्जरी, दन्त, आँखा उपचार, छाला रोग, डायलासिस, नाक कान तथा घाँटी, मानसिक, प्रसूति, हाडजोर्नी, बाल रोग, शिशु स्याहार, मुटु रोगसम्बन्धी उपाचार विभाग, सघन र अक्सिजनसहितको उपचार कक्षमार्फत बिरामीलाई अस्पतालले सेवा दिँदै आएको छ । अहिले अस्पतालले दिने सेवालाई थप प्रभावकारी बनाउन प्रशासनले सबैजसो सेवालाई उपचारको प्राथमिकताका आधारमा काम गरिरहेको जनाएको छ । करिब तीन बिघा क्षेत्रफलमा फैलिएको अस्पताल परिसर क्षेत्रमा चार वटा आवास, एक प्रसूति, प्रयोगशाला, भण्डारण, बहिरङ्ग, आकस्मिक सेवा विभाग र एउटा पुरानो आँखा उपचार गरी कूल १३ भवन छन् । अस्पताललाई केन्द्रीय रिफरल अस्पताल र सरकारी मेडिकल कलेजमा स्तरोन्नति गर्न माग गर्दै यस क्षेत्रका सरोकारवालाले पटकपटक सङ्घीय सरकारसँग माग गर्दै आएका छन् । अस्पतालले सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गर्दै आएको छ । गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा शहीद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा सिंहले जानकारी दिए । निःशुल्क उपचारले धेरै नगरिकलाई समयमै उचित उपचार सेवा दिन सहयोग पुगिरहेको डा सिंहको भनाइ छ । अस्पतालमा सरकारी एक सय ६२ र विकास समितिका एक सय २० स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पताल विसं २०५१ मा तत्कालीन महेन्द्र आरोग्य र ऐश्वर्य भवन एकीकरण भई हालको नारायणी अस्पताल नामकरण भएको थियो । रासस
उपत्यकामा डेङ्गुको सङ्क्रमण बढ्दो
काठमाडौं । काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौं उपत्यका, पोखराजस्ता सहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् । यसपटक काठमाडौँमा डेङ्गुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकिय अधिकारी डा भूपेन्द्र बस्नेतले जानकारी दिए । अस्पतालमा चिकित्सकसहित धेरै डेङ्गुका बिरामी भर्ना भएको बताए । ‘यहाँ दैनिक डेङ्गुका बिरामी भर्ना भइरहेका छन्’, उनले भने,’घर वरपर सफा राख्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।’ विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ । नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुको बिरामी फेला परेको थियो । त्यसयता डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेङ्गु बढेको बताउँछन् । त्यसपछि अहिले नै डेङ्गुका बिरामी बढेको उहाँको भनाइ छ । बीचका वर्षमा पनि डेङ्गुका फाट्टफुट्ट बिरामी भेटिइरहे । तराई–मधेशमा बढी देखिने डेङ्गु २०१८ पछि भने पोखरा, काठमाडौँ जस्ता पहाडी सहरमा पनि देखा प¥यो । ‘उपत्यकामा लामखुट्टे बढेको र डेङ्गुका बिरामी पनि उपत्यका प्रवेश गरेका छन्’, उनले भने, ‘ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेङ्गुका बिरामी बढी देखिएका हुन् ।’ निजामति कर्मचारी अस्पतलाका निर्देशक डा विधाननिधि पौडेलले अस्पतालमा अहिलेसम्म १९ बिरामीको उपचार भइसकेको जानकारी दिए । उनका अनुसार आज पनि आठ जना बिरामीको उपचार भइरहेको छ । अस्पतालले डेङ्गुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ । ‘तापक्रम बढेसँगै अहिलेको मौसममा सफा र जमेको पानीमा बस्ने ‘एडिज एजिप्टी’ र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टको टोकाइले डेङ्गु रोग लाग्दछ’, उनले भने, ‘उपत्यकामा पहिले भन्दा अहिले तापक्रम बढेकाले धेरै बिरामी देखिएका हुन ।’ उनका अनुसार साउनदेखि असोजसम्म बढी गर्मी र पानी पर्ने भएकोले डेङ्गुको सङ्क्रमण जोखिम बढी हुने गरेको छ । सरुवा रोग विशेषज्ञ डा बाँस्तोलाका अनुसार समुदायस्तरमा १० हजार मानिस डेङ्गुबाट सङ्क्रमित भए भने एक हजार जनामा लक्षण देखापर्छ । जसमध्ये पाँच सय जना भाइरल ज्वरोले सङ्क्रमित हुन्छन् भने अर्को पाँच सय जनामा डेङ्गु ज्वरोका लक्षण देखिन्छन् । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । डेङ्गु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् । गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा बिमल चालिसेका अनुसार अस्पतालमा अहिले २२ जना डेङ्गुका बिरामीको उपचार भइरहेको छ । उहाँले अहिलेको मौसम नै पानी जम्ने र उक्त पानीमा लामखुट्टे बढी फैलिने भएकोले डेङ्गुको सङ्क्रमण देखिएको बताए । उनले डेङ्गु रोग चार प्रकारका भए पनि अहिले नेपालमा कुन प्रकारको डेङ्गु देखिएको छ भन्नेमा अनुसन्धान भइरहेको जानकारी दिए । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार पुस यता दुई हजार एक सय आठ जनामा डेङ्गुका बिरामी देखिएको छन् । जेठयता काठमाडौँमा दुई सय ३३, ललितपुरमा छ सय २३ र भक्तपुरमा ३८ जना डेङ्गुका बिरामी भेटिएका छन् । साउनमा मात्रै काठमाडौँमा एक सय ९६, भक्तपुरमा ३५ र ललितपुरमा पाँच सय २३ बिरामी भेटिएको उहाँले जानकारी दिनुभयो । अहिलेदेखि फैलिन सुरु भएको डेङ्गुको सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनुपर्दछ । सर्वप्रथमतः हाम्रो घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनुपर्छ । एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुला रुपमा पानी राख्न हुँदैन । डेङ्गुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझा–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्दछ । रासस
नाइजेरियामा कुपोषण बढ्दै, ४० लाखले पाएनन् खाद्यान्न
काठमाडौं । संयुक्तराष्ट्रसङ्घले नाइजेरियामा निकै द्रुत मात्रामा कुपोषणको मात्रा बढ्दै गएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले हालै एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो । खासगरी नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कुपोषणका बालबालिकाको संख्या विगतका तुलनामा बढेकाले सो क्षेत्रमा उपचारका साथै आवश्यक पोषण तत्वको उपलब्धताका लागि संयुक्त राष्टसंघले आग्रह गरेको छ । सन् २०२१ को यो अवधिका तुलनामा यस वर्षको सुरुका सात महिनामा कुपोषित हुने बालबालिकाको संख्या निकै ठूलो सङ्ख्यामा बढेको पाइएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जानकारी दिएको छ । सो क्षेत्रमा अहिले नै कम्तीमा पनि ४० लाख मानिसलाई खाद्यान्नको अभाव भएको छ । साथै यो वर्षभरिमा सो क्षेत्रमा ८० लाख मानिसलाई खाद्यान्न अभाव हुने अनुमान गरिएको पनि बताइएको छ । सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय निकायहरु समेत गरी अन्य विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु गरी ११४ ले खाद्यान्न लगायतका मानवीय सहायताका सामग्रीहरु वितरण गर्दै आएका छन् । अझै पनि सो क्षेत्रमा खाद्यान्नको अभाव रहेको पाइएको पनि समाचारमा जनाइएको छ । खाद्यान्न एवं अत्यावश्यकीय मानवीय आवश्यकताका वस्तुहरुको यहाँ दिन प्रतिदिन खाँचो बढ्दै गएको पनि पाइएको छ । नाइजेरियामा आन्तरिकद्वन्द्व एवं खडेरीका कारण केही वर्ष यतादेखि समस्या उत्पन्न हुदै आएको छ । रासस