६५८ जनामा देखियो कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौं । एकैदिन ६५८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६ हजार ६४३ जनामा परिक्षण गर्दा ६५८ जनामा संक्रमण देखिएको छ । आज ४५६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २९६ पुगेको छ भने ३८ हजार १५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण १ जनाको मृत्यु भएको छ ।
फिलिपिन्समा कोरोनाबाट एकै दिन ४९ जनाको मृत्यु
काठमाडौ । फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ । यहाँ २४ घन्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र तीन हजार छ सय ४३ जनामा कोरोना सङ्क्रमण भएकोे छ । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ । यहाँ कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ एकै दिन गएको जनवरी १५ मात्र ३९ हजार भन्दा बढीमा सङ्क्रमण रहेको थियो । त्यसका तुलनामा पछिल्लो समयमा यहाँ सङ्क्रमितहरु घटेका भए पनि केही हप्तायता भने सङ्क्रमण बढ्दै गएको देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस
तोकिएको समयसम्म अस्पताल नबस्ने स्वास्थ्यकर्मीलाई कारबाही हुन्छ : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री भवानीप्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन् । कोसी अस्पतालमा पाँच करोड ४७ लाख सात हजारको लागतमा नवनिर्मित ३६ शय्याको बच्चा वार्ड, दुई शल्यक्र्रिया कक्षसहित ४० शय्याको वार्डको आज उद्घाटन गर्दै उनले सरकारले तोकेको समयसम्म चिकित्सकले अस्पतालमा बसी बिरामी उपचार गर्नुपर्नेमा जोड दिए । मन्त्री खापुङले कोसीसहित मुलुकका सरकारी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी अभावलाई समाधान गर्ने सम्बन्धमा मन्त्रालयमा छलफल गरी दरबन्दी सिर्जना गरेर पदपूर्तिको व्यवस्था गर्ने जानकारी दिए । उनले निजी अस्पतालले स्वास्थ्य बीमा बन्द गर्नाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको उल्लेख गर्दै यो समस्या चाँडै समाधान हुने धारणा राखे । उनले बजेट भाषणमा सरकारी तथा सामुदायिक अस्पतालमा मात्र स्वास्थ्य बीमा लागू हुने आएकाले यसले अन्याैलमा सिर्जना भएको भन्दै स्वास्थ्य बीमालाई आम जनतासमक्ष व्यवस्थित रुपमा पु¥याउन एउटा कार्यदल निर्माण गरिएको जानकारी दिए । मन्त्री खापुङले स्वास्थ्य बीमा सम्बन्धमा छुट्टै ऐन रहेको जनाउँदै मोरङबाहेक अन्य क्षेत्रमा निजी अस्पतालले बीमा लागू गरेको र यस क्षेत्रमा निजी अस्पताले बीमा लागू गर्ने सम्बन्धमा कुराकानी अगाडि बढेकाले चाँडै समाधान हुने बताए । उनले स्वास्थ्य बीमा बोर्डले अस्पतालको बीमा रकमको दाबी सम्बन्धमा कार्य गरिरहेकाले चाँडै बीमा रकम भक्तानी गर्ने बताए । उनले अस्पतालको निरीक्षणका क्रममा प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादव, अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेललगायत थिए ।