स्वास्थ्य विज्ञानमा नयाँ विकास : पहिलो पटक प्रयोगशालामा बनेको रगत मानिसमा चढाउन सफल

एजेन्सी । विश्वमा पहिलो पटक प्रयोगशालाबाट उत्पादन भएको रगत मानिसलाई ट्रान्सफ्युज गरिएको छ । बेलायतमा गरिएको क्लिनिकल परीक्षणमा यो सफलता हासिल भएको हो । क्याम्ब्रिज र ब्रिस्टल युनिभर्सिटीलगायत धेरै संस्थाका वैज्ञानिकहरू यस परीक्षणमा संलग्न रहेका थिए। विज्ञहरू भन्छन् कि यसले रक्त विकार र दुर्लभ रक्त समूह भएका मानिसहरूको उपचारमा मद्दत गर्नेछ। कसरी बनाइयो कृत्रिम रगत ? प्रयोगशालामा रगत बनाउने यस प्रक्रियामा रातो रक्त कोशिकाहरूमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। रक्तकोषिकाले फोक्सोबाट अक्सिजन लिएर शरीरको हरेक भागमा पुर्‍याउने काम गर्दछ । वैज्ञानिकहरूले पहिले व्यक्तिमार्फत थोरै मात्रामा रगतको डोनेसन गराउँछन् । यसको मात्रा लगभग ४७० एमएल मात्रै हुन्छ । यसपछि ती स्टिम सेलहरूलाई चुम्बकको माध्यमबाट अलग गरिन्छ, जुन रातो रक्त कोशिका बन्न सक्छ। स्टिम सेलहरू बोनम्यारोमा पाइन्छन्, जसबाट रगतका तीन महत्त्वपूर्ण कोशिकाहरू ( रातो रक्त कोशिका, सेतो रक्त कोशिका र प्लेटसहरु बन्दछन् । त्यसपछि अर्को चरणमा वैज्ञानिकहरूले प्रयोगशालामा ठूलो संख्यामा स्टिम सेलहरूको संख्यालाई वृद्धि गर्छन् । त्यसपछि यी रातो रक्त कोशिकाहरूमा रूपान्तरण हुनको लागि निर्देशित गरिन्छ । यसको सम्पूर्ण प्रक्रिया लगभग ३ हप्ता जति समय लाग्छ । यस अवधिमा ५ लाख स्टिम सेलबाट ५० अर्ब रातो रक्त कोशिका बन्छन् । सो संख्या मध्ये १५ अर्ब रातो रक्त कोशिकालाई छनोट गरिन्छ, जुन मानिसमा प्रत्यारोपण गर्नको लागि योग्य हुन्छ । रगतमा रहेको रेडियोधर्मी पदार्थ अनुसन्धानले बताएअनुसार अनुसन्धानमा अहिलेसम्म २ जना मानिसलाई समावेश गरिएको छ । यद्यपि सम्पूर्ण परीक्षण १० स्वस्थ व्यक्तिहरूमा गरिनेछ। उनीहरुलाई ४ महिनाको अन्तरालमा ५ देखि १० एमएलको दुईवटा रक्तदान दिइनेछ । तीमध्ये एउटा सामान्य रगत र अर्को प्रयोगशालामा बनाइने रगत हुनेछ । प्रयोगशालाको रगतमा रेडियोधर्मी पदार्थ पनि छ, जसबाट यसको कार्यसम्पादन ट्रयाक गरिनेछ। रातो रक्त कोशिकाको आयु १ सय २० दिन हुन्छ सामान्यतया रातो रक्त कोशिकाहरू शरीरमा १ सय २० दिनसम्म रहन्छ। यस पछि नयाँ सेल्सले सो ठाउँ लिन्छ। सामान्य रक्तदानमार्फत प्राप्त हुने रगतमा नयाँ र पुरानो रातो रक्त कोशिकाहरू हुन्छन्। तर प्रयोगशालामा बनाइएका रक्त कोशिकाहरू पूर्णतया नयाँ मात्रै हुन्छन्। त्यसैले वैज्ञानिकहरूले प्रयोगशालाबाट बनाइएको रक्तकोशिकाले शरिरमा पूर्ण रुपमा १ सय २० दिनसम्म काम गर्ने अपेक्षा गरेका छन् । जसका कारण भविश्यमा अहिलेको तुलनामा कम रक्तदान भए पुग्ने अनुमान गर्न सकिन्छ । नयाँ रगतको मूल्य कति पर्ला ? बेलायतको नेशनल हेल्थ सर्भिस ब्लड एण्ड ट्रान्सप्लान्टका अनुसार औसत रक्तदानको लागत १४५ युरो वा १३,६६६ रुपैयाँ पर्छ। प्रयोगशालामा तयार हुने रगतको मूल्य योभन्दा बढी हुनेछ । यस प्रविधिको अहिलेसम्म कुनै मूल्य तोकिएको छैन तर प्रविधिको विकाससँगै यसको लागत घट्दै जान सक्नेछ । भास्कर दैनिकबाट ।

सातै प्रदेशमा विस्तार हुँदै मेडिसिटी अस्पताल, साकार हुँदै डा. महतोको सपना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको लगानीमा ललितपुरको नख्खुमा निर्माण भएको मेडिसिटी अस्पतालले ०७४ असोजदेखि उपचार सेवा शुरु गरेको हो । ३० रोपनी क्षेत्रफलमा १२ अर्ब रुपैयाँ बढी लगानीमा निर्माण भएको अस्पतालले उपचार सेवा प्रारम्भ गरेको ५ वर्ष पुरा गरिसकेको छ । विशाल भौतिक संरचना र क्षेत्रफलमा फैलिएको अस्पतालले सातै प्रदेशमा स्याटेलाईट अस्पताल विस्तारको प्रकृया अगाडि बढाएको छ । अस्पतालका लगानीकर्ता उपेन्द्र महतोले सेवा प्रारम्भको अवसरमा आफ्नी आमाले उपचारको अभावमा ज्यान गुमाउनुपरेको र कयौं नेपालीको सोही स्थिति रहेको  अनुभवमा आफूले सो अस्पताल निर्माण गरेको बताएका थिए । नेपालको स्वास्थ्य क्षेत्रमा एउटै अस्पतालमा धेरै ठूलो लगानीका साथ सुरु गरिएको सो अस्पताललाई दक्षिण एसियाकै राम्रो अस्पताल बनाउने योजना महतोको छ । अस्पतालले उपलब्ध गराउने सेवा ७ सय ५० बेड क्षमता रहेको अस्पतालले ५ वर्ष पुरा गर्दा ३ सय ५० बेडलाई सञ्चालनमा ल्याएको छ । जसमा साधारण, सेमी–प्राइभेट, प्राइभेट र आइसियु बेड रहेका छन् । संरचनात्मक रुपमा हेर्दा अस्पतालले बाँकी अझै ४ सय बेड विस्तार गर्ने क्षमता राख्छ । अस्पतालले आकस्मिक, ओपीडी र रिफरल सेवा उपलब्ध गराउँदै आएको छ । अहिले अस्पतालमा दैनिक रुपमा औसत ६ सय देखि १ हजार सम्मको संख्यामा बिमारीहरु ओपीडी सेवा लिन आउने गरेका छन् । जसको दर्ता शुल्क ८ सय २५ रुपैयाँ लिने गरिएको छ । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुमा संख्या र शुल्कमा यो झण्डै मिल्दोजुल्दो रहेको देखिन्छ । ओपिडी सेवा बिहान ८ बजेदेखि राती ८ बजेसम्म सञ्चालन हुने गरेको छ । ‘एक अस्पताल एक डाक्टर’ को अवधारणालाई मेडिसिटीले अंगिकार गरेको छ । अहिले अस्पतालमा १ सय ५० जना कन्सल्ट्यान्ट डाक्टर, ४ सय जना भन्दा धेरै नर्स र ४ सय भन्दा धेरै कर्मचारीहरुले काम गर्दै आएका छन् । जसमा ८० प्रतिशत भन्दा बढी डाक्टरहरु सोही अस्पतालमा मात्रै कार्यरत रहेर सेवा प्रवाह गर्दै आएको अस्पतालले जनाएको छ । जसले गर्दा अस्पतालमा उपचार गर्न आउने बिमारीहरुले २४सै घण्टा कन्सल्टेन्ट सेवा पाउने अवस्था रहेको छ । तर, केही विषयगत उपचारमा अर्थो, लगायत केही विषयगत कन्सल्टेन्ट भने अस्पतालले पार्ट टाइम रुपमा खरिद गरेको छ । अस्पतालले १७ वटा उपचारका विषयमा केन्द्र तथा विभाग बनाएर उपचार सेवा प्रदान गर्दै आएको छ । जसमा डाइग्नोस्टिक मेडिसिन, न्यूरोसाइन्स, कार्डिया साइन्स, डाइजेस्टिभ डिजेज, अर्थोपेडिक, मदर एण्ड चाइल्ड केयर, रेनल साइन्स, क्यान्सर केयर, इएनटी हेड निक सर्जरी, इन्टरनल मेडिसिन–इन्डोक्राइनोलोजी एण्ड वेलनेस, पेरी अपरेटिभ मेडिसिन, इमर्जेन्सी मेडिसिन एण्ड प्रि–हस्पीटल केयर र साइकोथेरापी एण्ड रिहाबिलेसनलाई उपचार सेन्टरको रुपमा रहेका छन् । त्यस्तै डामार्टोलोजी, डेन्टीस्ट्री, ओप्थोमालोजी र साइकाट्रीलाई अस्पतालले विभागको रुपमा सञ्चालन गर्दै आएको छ । अस्पतालको विशेष सेवा मेडिसिटी अस्पतालले अपेक्षित रुपमा द्रुत गतिमा विकास नगरेको देखिएतापनि केही उपचार सेवाको केही विषयमा तुलनात्मक रुपमा विकसित नयाँ गरेको बताउँछ । एउटै छातामुनी सबै स्पेशियालीटी सुविधा दिने उद्देश्यलाई प्रमुखताकासाथ अवलम्बन गरेर काम गर्दै आएको अस्पतालको दाबी रहेको छ । भर्खर केही समयअगाडि मात्रै अस्पतालले मृगौला प्रत्यारोपण गर्ने अधिकार प्राप्त गरेको छ । तर, अब केही समयमा नै सो सम्बन्धी सेवा सुचारु गर्ने तयारी गरेको छ । मेडिसिटीले ठूलो लगानीमा ‘ए’ लेभलको प्रयोगशाला निर्माण गरेर सञ्चालन गरिरहेको छ । अन्य धेरै सुविधाकासँगै ‘फ्लो साइटोमेट्री’ ल्याब अस्पतालले सञ्चालनमा ल्याएको छ । त्यसको सञ्चालनका लागि अस्पतालले विशेषज्ञहरुको समेत व्यवस्था गरेको छ । यो ल्याबले क्यान्सर रोगबारे अनुसन्धान गर्न सहयोग पुर्याउँछ । अस्पतालले एफ्रेसिस (APHERESIS) प्लाज्मा थेरापी सुविधा सञ्चालनमा गरेको छ । जुन थेरापी गम्भिर रोगहरुको उपचारमा गर्ने गरिन्छ । तत्कालिन प्रधानमन्त्री केपी ओली मृगौलामा समस्या देखिएपछि प्लाज्मा थेरापीको लागि सिंगापुर गएका थिए । अस्पतालले आइसियु उपचारमा अन्तर्राष्ट्रिय उपचार मापदण्डअनुसार सम्पूर्ण केयर गर्ने पद्दतीलाई लागु गरेको छ । जहाँ बिमारीको उपचार, स्याहारसुसार र खानपिनको काम अस्पताल कर्मचारीबाट नै गर्ने गरिन्छ । आइसियु उपचारमा रहेको बिमारीलाई खानाको व्यवस्था समेत अस्पतालले नै गर्ने गर्छ, बाहिरबाट लैजान पाईंदैन । यस्तो सुविधा अन्य केही निजी अस्पतालहरुले पनि गर्ने गरेका छन् । अस्पतालले फेटल मेडिसिनको सञ्चालन गरेको छ । यो सेवामार्फत गर्भमा रहेको शिशुको विकास कसरी भइरहेको छ र स्वास्थ्य कस्तो अवस्थामा छ भन्ने विषयमा अनुसन्धान गरिन्छ । अस्पतालले यसको लागि प्राविधिक र जनशक्तिको व्यवस्था गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट तथा प्रवक्ता जयन्द्र बज्राचार्यका अनुसार यो सुविधा नेपालको हकमा नयाँ हो । दुर्घटना अथवा हेलिकप्टरमार्फत आकस्मिक सेवा लिन पर्ने बिमारीहरुलाई मध्यनजर गरेर अस्पतालले हेलिप्याडलाई सञ्चालनमा ल्याएको छ । यस्तो सुविधा सिमित अस्पतालहरुमा मात्रै पाउने अवस्था रहेको छ । पछिल्लो समय अस्पतालले क्यान्सरका रोगीहरुलाई लक्षित गरेर ‘मेडिसिटी अंकोलोजी सेन्टर’को विकास गरेको छ । जसको लागि भिन्दै फ्ल्याट संरचनाको व्यवस्था गरिएको छ । क्यान्सर रोगीहरुलाई मेडिकल अंकोलोजीको सेवा प्रदान गर्दै आएको अस्पतालले छिट्टै नै बोनम्यारो ट्रान्सप्लान्ट र रेडियोथेरापी प्रविधि सञ्चालनमा ल्याउने तयारी रहेको जनाएको छ । क्यारोप्याट्रिक उपचार पनि मेडिसिटीले शुरुवात गरेको नयाँ उपचार सेवा हो । डा. बज्राचार्यका अनुसार नन रिफरल सेवा नै मेडिसिटीको अन्यको तुलनामा नयाँ विशेषता हो । उनले अस्पतालले सबै कुराको उपचार गर्ने हुँदा बिमारीले सम्पूर्ण उपचार अस्पतालबाट नै प्राप्त गर्न सक्छ । अनुसन्धानमा सहकार्य मेडिसिटीले आफ्नो क्षमता विस्तारको लागि सहकार्यलाई पनि जोड दिँदै आएको छ । त्यसका लागि देशभित्रका विभिन्न मेडिकल कलेज, अनुसन्धानकर्ता र विदेशी विश्वविद्यालयहरुसँग सहकार्य गरिरहेको छ । नेपाल इन्टेन्सिभ केयर फाउन्डेसन’सँग पनि अनुसन्धानमा सहकार्य गर्ने गरेको छ । जसले आइसियुमा आधारित उपचार पद्दतीको विषयमा अनुसन्धान गर्ने गरेको छ । त्यस्तै, अस्पतालले काठमाडौं उपत्यका र बाहिरका केही अस्पताल तथा क्लिनिकहरुमा उपचारको लागि सहकार्य समेत गर्दै आएको छ । बीमा, जेष्ठ नागरिक तथा विपन्न उपचार सेवा अस्पतालले नेपाल सरकारद्वार सञ्चालित स्वास्थ्य बीमा बोर्डको कार्यक्रम सञ्चालन गरेको छैन । तर, घातक रोगहरुमा जेष्ठ नागरिक र विपन्नले उपचारमा पाउने सहुलियत कार्याक्रमलाई भने सञ्चालन गर्दै आएको छ । त्यस्तै अस्पतालले भारतीय सेनाका पूर्व सैनीकहरुको उपचारमा सहुलियत कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रमसँग जोडिएर ठूलो संख्याका बिमारीहरुले अस्पतालबाट सेवा लिने गरेको अस्पतालले जनाएको छ । अस्पतालले उपचार सेवा प्रारम्भको प्रकृयामा प्रिमियर इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेको थियो । तर, सो कार्यक्रम त्यति प्रभावकारी नदेखिएको जनाएको छ । आगामी दिनमा स्वास्थ्य बीमा प्याकेज ल्याउने विषयमा पनि छलफल प्रारम्भ भएको अस्पतालले जनाएको छ । देशव्यापी विस्तार हुँदै मेडिसिटी निजी क्षेत्रबाट सञ्चालन गरिएका अस्पतालहरु पनि एक प्रकारका सेवामुखी व्यवसाय हुन् । नाफा आर्जन नगरी ती व्यवसायहरु लामो समयसम्म सञ्चालन हुन वा टिक्न सक्दैनन् । त्यसमा पनि दक्षणि एसिया स्तरकै अस्पताल बनाउने भनेर शुरु भएको मेडिसिटीले किन तुलनात्मक रुपमा गति लिन सकेन रु भौतिक पूर्वाधार, प्रविधि र जनशक्तिको अनुपातमा मेडिसिटी अस्पतालको व्यवसाय भने मिल्दोजुल्दो देखिँदैन । सेवा प्रारम्भबाट ५ वर्षको अवधिसम्म आइपुग्दा कतिपय प्रविधि सञ्चालन गर्ने कुरामा अस्पतालले ढिलाई गरेको स्वयम् अस्पताल पनि स्वीकार्छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट तथा प्रवक्ता  बज्राचार्यका अनुसार कपितपय प्रविधिको जडानमा लागत धेरै हुने हुँदा पनि ढिलाई भएको हो । अस्पतालले स्थापनाकालदेखि निरन्तर रुपमा प्रविधि र सेवाको पाटोमा विकास गर्दै गएकाले विकास नभएको भन्न नमिल्ने बताए । ‘अस्पताल शुरु गरेपछि धेरै सर्भिस थपेका छौं, ट्रान्सप्लान्ट शुरु गरेका छौं, यो प्रगति नै हो’, डा. बज्राचार्यले बताए । अस्पतालले रेडियोलोजी सेवा थप्ने तयारी गरेको तर ढिलाई हुनुको कारण लागत बढी भएको डा। बज्राचार्यले बताए । ‘रेडियोथेरापीको सञ्चालनका लागि धेरै लगानी लाग्छ, त्यसको लागि सरकारले पनि सुविधा दिनुपर्छ’, उनले भने, ‘लगानी धेरै हुने कारणले नै ढिला भएको हो ।’ रेडियसन कन्ट्रोल हुने ठाउँ सरकारले नै बनाउने वा बनाउनेलाई सहयोग गर्नुपर्ने उनले बताए । संस्थाको आर्थिक पाटोको विषय ‘प्राइभेसी’को कुरा भएकाले सो सँग सम्बन्धित विकासको अवस्थाको विषयमा आँफूले बताउन नमिल्ने उनले बताए । तर, मेडिसिटीले ७ प्रदेशमा आफ्नो स्याटेलाइट अस्पताल विस्तार गर्ने कार्यक्रम अगाडि बढाएको उनले बताए । सोही क्रममा वीरगञ्जको वयोधा अस्पताल प्राप्ति गरिएको डा‍.बज्राचार्यको भनाइ छ ।

जाडो सुरु हुन थालेपछि डेङ्गु सङ्क्रमण ह्वातै घट्यो

काठमाडौं । वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेङ्गुको सङ्क्रमण पनि कम हुदै गएको छ । वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजार भन्दा बढी डेङ्गुका बिरामी भेटिएका थिए । अहिले त्यो सङ्ख्या निकै घटेको छ । गत मङ्गलबार यही कात्तिक १५ देखि कात्तिक २० गते सम्म छ सय २४ जनामा मात्र डेङ्गुका बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । जवकी अंग्रेजी महिना अक्टोबरमा ९गत असोज १५ देखि कात्तिक १५ सम्म मा १७ हजार सात सय १७ जनामा र अङ्ग्रेजी महिना सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले डेङ्गुको सङ्क्रमण विगत दुई हप्तादेखि घटेको बताए । उनले वातावरणको प्रभाव र रोकथाम तथा नियन्त्रणमा गरेको कामको आधारमा डेङ्गुका बिरामी घटेको बताए । महाशाखाकै कीटजन्यरोग शाखाप्रमुख डा गोकर्ण दाहालले जनवरीदेखि ३७औँ हप्तासम्म डेङ्गुको सङ्क्रमण बढेको र त्यसपछि ३८औँ हप्तादेखि घटन सुरु भएको जानकारी दिए । उनका अनुसार ४३औँ हप्तामामा हजारभन्दा कमको सङ्ख्यामा डेङ्गुका बिरामी भेटिएका छन् । ४४औँ हप्तामा आइपुग्दा छ सय २४ जनामा मात्र डेङ्गुको सङ्क्रमण देखिएको छ । उनले अवको १५ दिनभित्र यो सङ्ख्या निकै कम हुने बताए । महाशाखाका निर्देशक डा दासका अनुसार सङ्क्रमण दर उच्च भएको बेला नेपालमा डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ चार प्रकारका देखिएका थिए । महाशाखाका निर्देशक डा दासले सङ्क्रमण अघि गरिएको १२ वटा नमूनामा सात वटामा डेङ्गु–१ र पाँच वटा नमूनामा डेङ्गु–३ देखिएको जानकारी दिए । अहिले फेरि कुन तहको डेङ्गु रहेको छ भनेर पत्ता लगाउनका लागि नमूना परीक्षण गरिएको छ । त्यसको रिर्पोट अझै नआएको उनको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलका अनुसार अहिले अस्पतालमा नौ जना मात्र बिरामी रहेका छन् । तीमध्ये तीन जना सघन उपचार कक्ष आइसियु र छजना साधारण शय्यामा उपचाररत रहेका छन् । अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा बिमल चालिसे विगत १५ दिनदेखि डेङ्गुका बिरामी आउनेको सङ्ख्यामा कमी भएको बताए । उनले जाडो भएसँगै डेङ्गुको सङ्क्रमण गराउने लामुखुट्टेको सक्रियता कम भएको, मानिसले पनि बाक्लो हातखुट्टा छोपिने कपडा लगाउने गरेकोले डेङ्गुका बिरामी घटेको बताउँछन् । उनले अस्पतालको आकस्मिक सेवा, बहिरङ्ग सेवा र परीक्षण गराउने आउने बिरामी घटेको बताउनुहुन्छ । अस्पतालमा पहिले दैनिक एक सय ५० देखि एक सय ७० बिरामी उपचार गर्न आउने गरेपनि अहिले त्यो सङ्ख्या घटेको छ । साँझ–बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण हुने गर्दथ्यो । नेपालमा यसवर्ष सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् । असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका हुन् । यसवर्ष मात्र ५० हजार दुई सय ६३ जना डेङ्गुका बिरामी भेटिएका छन् । तीमध्ये ५४ जनाको डेङ्गुका कारणले निधन भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले डेङ्गुका बिरामी घटेको बताउँछन् । उनका अनुसार अहिले २० जना मात्र डेङ्गुका बिरामी उपचारत रहेका छन् । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेङ्गु बढेको पाइन्छ । तिमध्ये सबैभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेँगुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेङ्गुको सङ्क्रमण कम देखिएको छ । सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेङ्गुका बिरामी देखिएका थिए । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यहीँ लार्भा वयस्क भएपछि टोकेर डेङ्गुको रोग लाग्ने गर्दछ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको थियो ।