भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण
भरतपुर । भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण गरिएको छ । उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाका लागि ओपिडी टिकट निःशुल्क गरेको बताइन् । उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारको आगामी वर्षको बजेटमा समावेश गर्नका लागि आफ्नोतर्फबाट पहल गर्ने बताइन् । प्रमुख दाहालले भरतपुर अस्पतालको समग्र विकासका लागि महानगर निरन्तर लागिरहेको भन्दै ढल निकास र बर्थिङ सेन्टरका लागि छलफल भइरहेको जानकारी दिइन् । उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सङ्घीय सरकारलाई देखाउने राम्रो अस्पताल भरतपुर अस्पताल भएको बताए । सङ्घीय अस्पताल भएर पनि भरतपुर अस्पताल सङ्घ र स्थानीय पालिकाको समन्वयमा चलेको भन्दै उनले नवनिर्मित आकस्मिक भवनमा ६० शय्या पुर्याउनुपर्ने बताए । पचास शय्या सञ्चालनको तयारीमा रहेको आकस्मिक कक्षमा थप १० शय्या विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । अस्पतालमा एमआरआइका लागि आवश्यक प्रक्रिया मन्त्रालयले पूरा गरिसकेको उनले जानकारी दिए । अस्पतालको फोहर व्यवस्थापनका लागि दुई करोड ५० लाख रुपैयाँ निकासा गरिने पोखरेलको भनाइ छ । उनले भने, ‘भरतपुर अस्पतालको विकासका लागि आवश्यक काम गर्न हामी तयार छौँ ।’ कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालको बहिरङ्ग सेवा ओपिडीका विषयमा धेरै गुनासो आउने गरेको भन्दै जनशक्ति मुख्य समस्याका रूपमा रहेको बताए । उनले बिमाका कारणले बिरामीको चाप बढेको बताए । उनले दैनिक एक हजार सात सय हाराहारी बिरामीको चाप थेग्नुपरेको उल्लेख गर्दै बिहान १० बजेदेखि नै पेइङ क्लिनिक सञ्चालन गर्ने योजना रहेको बताए । विसं २०१३ मा बनेको अस्पतालमा नयाँ आकस्मिक भवन बनेको हो । नयाँ आकस्मिक भवनमा हाल ३५ शय्या सञ्चालनमा छन् । केही समयपछि नै ५० शय्यामा सञ्चालन गरिने भएको छ । नयाँ भवनमा आकस्मिक प्रयोगशाला, एक्सरे, शल्यक्रिया कक्षसहितको व्यवस्था छ ।
साँझ पैदल यात्रा गर्दा र परिवारलाई समय दिँदा राम्रोसँग निन्द्रा लाग्ने
एजेन्सी । विश्वभर निद्रा एक प्रमुख समस्या बन्दै गएको छ। हरेक ८ मध्ये एक जना अनिद्राबाट पीडित छन् । राति निन्द्रा नपुगेकाले दिन गडबडी हुँदै जानुका साथै काम गर्ने क्षमता समेत घट्दै गएको छ । ‘द स्लीप प्रिस्क्रिप्शन’ पुस्तकका लेखक क्यालिफोर्निया विश्वविद्यालयका मनोवैज्ञानिक डा. एरिक प्राथर भन्छन् कि राम्रो निद्राले मानिसलाई दयालु र रचनात्मक बनाउँछ। यति मात्र होइन यो असल अभिभावक र राम्रो जीवन साथी बनाउन पनि सहयोगी हुन्छ । पुस्तकमा पथरले औषधिबिना राम्रो निन्द्रा लाग्ने धेरै वैज्ञानिक उपाय बताएका छन्। सुत्ने ठाउँलाई अँध्यारो राख्नुहोस्, सुत्ने दिशा बदल्नुहोस् समाधान होइन, समस्या लेखेर पुग्छः दिनको कुनै पनि समयमा वा सुत्नुअघि निश्चित समयमा यसो गर्नाले सुत्ने बेलामा मनमा ती समस्या हावी हुँदैनन् । समस्या लेख्नुहोस्, समाधान लेख्न आवश्यक छैन। सुत्ने कोठाको भित्री भाग बदल्न सकिन्छ : हरेक दिन एउटै ठाउँमा सुत्दा पनि धेरै पटक निन्द्रा लाग्दैन । सुत्ने ठाउँ फेर्न सक्नु हुन्न भने दिशा बदल्नुस् । कोठा को भित्री भागको सजावट परिवर्तन गर्न सकिन्छ। पौष्टिक र हल्का खाना खानुहोस् : बेलुका पौष्टिक र हल्का नास्ता खानुहोस्। हिड्न जानूहोस, गीत सुन्नुहोस् तपाईंको बगैचामा बिरुवाहरूसँग समय बिताउनुहोस्। बुककेसहरू सफा गर्नुहोस्। परिवारका सदस्यहरू वा आफ्ना साथीहरूसँग कुरा गर्नुहोस्। कोठाको तापक्रमको ख्याल गर्नुहोस् : बेडरूममा ल्यापटप-कम्प्युटर नराख्नुहोस्। सुत्दा कोठालाई चिसो र अँध्यारो राख्नुहोस्। उज्यालो प्रकाशले तपाईंलाई सुत्न दिँदैन। स्लीप मास्कको प्रयोग लाभदायक हुन सक्छ। दिमागलाई पनि समय दिनुहोस् मस्तिष्कलाई ल्यापटप जस्तै व्यवहार नगर्नुहोस्। सुत्न मन शान्त हुनुपर्छ । काम सकिएपछि आफैलाई समय दिनुहोस्। आफ्नो मनपर्ने पुराना टिभी कार्यक्रमहरू हेर्नुहोस्। ओछ्यानमा गएको २० मिनेटसम्म सुत्न सक्नुभएन भने उठ्नुहोस्। घरमा वा टेरेसमा हिंड्नुहोस्। किताबहरू पढ्नुहोस् चिया र कफीबाट टाढा रहनुहोस्। सुत्नु भन्दा कम्तिमा ६ घण्टा अगाडि चिया कफी नपिउनुहोस । न्युयोर्क टाइम्सबाट ।
दक्षिण कोरियामा एकैदिन ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित
काठमाडौं । दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि सङ्क्रमितको सङ्ख्ण्या ५४ हजार ७६६ बाट कम भएर ४६ हजा आठ सय ९६ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १३ ले कम भएर २९० पुगेको छ । यस सङ्क्रमणको कारण थप ४१ जनाको मृत्युको पुष्टि भएपछि कोरोना शुरु हालसम्म २९ हजार दुई सय ८० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । रासस