बर्दिबास अस्पताललाई साढे तीन लाखका स्वास्थ्य सामग्री
महोत्तरी । महोत्तरीको बर्दिबास अस्पतालले धनतेरसका दिन साढे तीन लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री प्राप्त गरेको छ । पचासभन्दा बढी कोठाको चारतले भवनको अस्पतालले स्वास्थ्य जाँच र उपचारमा आवश्यक उपकरण प्राप्त गरेपछि साधन सम्पन्न बन्दै गएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा समाज विकास केन्द्र महोत्तरीले अस्पताललाई तीन लाख ४७ हजार छ सय ६२ रुपैयाँ मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको थियो । केन्द्रले अस्पताललाई बेबी वार्मर एक थान, इक्जामिनेसन बेड पाँच सेट, इन्स्ट्रयुमेण्ट ट्रली– दुई सेट, ड्रेसिङसेट पाँच, स्ट्रेचर पाँच सेट र ह्वीलचियर पाँच सेट प्रदान गरेको थियो । उपकरण प्राप्त भएपछि प्रसूतिकक्ष सञ्चालनका लागि महत्वपूर्ण सहयोग पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्णा महर्जनले बताए । केन्द्रले कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत सामग्री अस्पताललाई प्रदान गरेको जनाएको छ । कोभिड–१९ सघन सङ्क्रमण बढेका बेला बर्दिबास अस्पतालले कोभिड–१९ जाँच ९पिसीआर र आरडिटी जाँच, क्वारेन्टिन र भेन्टिलेटरसहितको आइसोलेसन सञ्चालन गरी सेवा प्रवाह गरेकाले सहयोग प्रदान गरिएको केन्द्रले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्माले अस्पताललाई युनिसेफ नेपालले पनि उपकरण दिन लागेको बताए । जिल्लाको सुदूरउत्तरवर्ती क्षेत्रअवस्थित यो अस्पतालबाट महोत्तरीका बर्दिबास, भङ्गाहा, औरही र गौशालासहित छिमेकका सर्लाहीको ईश्वरपुर र धनुषाको मिथिला नगरपालिका क्षेत्रका सर्वसाधारणले स्वास्थ्य सेवा पाउँदै आएका छन् । रासस
सेललगायत तारेका रोटी पेटका बिरामीलाई हानिकारक : चिकित्सक
काठमाडौं । हाम्रो घरआँगनमा तिहार सुरु भइसकेको छ । तिहारमा सेललगायत तारेका रोटी धेरै खाने प्रचालन छ । यी रोटीले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन् । चिकित्सकले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र यस्ता परिकार सेवन गर्न सुझाव दिएका छन् । यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलित खाना खान चिकित्सकहरुको सुझाव छ । कतिपय बिरामीले खानै नहुने पनि अवस्था हुन्छ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका ग्यास्ट्रो इन्टरोलोजिष्ट डा. खुशराज देवानले तेल वा घ्यूमा तारेर बनाएका रोटी ग्यास्टिक, अल्सर र मुखमा अमिलो पानी आउने समस्या भएका बिरामीका लागि हानिकारक हुने बताए । उनले भने, ‘यस्ता समस्या भएका बिरामीले रोटी नखाएकै राम्रो हो ।’ महिनौंदेखि औषधि खाएर स्वास्थ्य राम्रो बनिरहेका बेला एउटा दुई वटा रोटीले फेरि समस्या बल्झिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिँदै डा. देवानले भने, ‘त्यस्ता बिरामीले धेरै चिल्लो खाँदा बान्ता भएर रगतसम्म आउन सक्ने भएकाले धेरै चिल्लो भएको मासु र तारेका अन्य कुरा पनि बार्नुपर्छ ।’ सामान्य मानिसले पनि चिल्लो धेरै नखान र फलफूल, सागपातलगायत स्वस्थकर खानामा जोड दिनुपर्नेमा उनको सुझाव थियो । यतिबेला डेंगु, पखालालगायत समस्या रहेकाले उच्च सावधानी अपनाएर पर्व मनाउन र बजारमा मासु किन्दासमेत स्वस्थकर ठाउँ र कम बोसो भएको मासु खान समेत आग्रह गरिएको छ । कलेजो रोग विशेषज्ञ डा रुपेश श्रेष्ठ कलेजोको समस्या भएका बिरामीले तारेका चिज खान नहुने बताए। कलेजो रोग लागेर निको नहुने अवस्थामा पुगेका बिरामीले चिल्लोको सट्टामा धेरै प्रोटिन र कार्बाहाइड्रेड भएका खानामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । डा श्रेष्ठले भने, ‘पर्वमा खानै हुँदैन भन्नुभन्दा पनि आफ्नो स्वास्थ्यलाई हेरेर चिल्लो सकेसम्म कम खानुपर्छ ।’ जण्डिस भएका बिरामीले सेलजस्ता तारेका रोटी खानु हानिकारक हुन्छ । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. कालिदास अधिकारीले तिहारमा सेललगायत रोटी खाने संस्कार पनि भएकाले खानै हुँदैनभन्दा पनि कम खान सुझाव दिए । उनले भने, ‘घ्यू, तेल बढी भएका रोटी मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल भएका बिरामीले कमै खानुपर्छ ।’ ‘चार्ड मनाउनुुपर्छ, शरीर र रोगको अवस्था हेरेर खानपिन गर्नुपर्छ ।’ डा अधिकारीले भने, ‘पित्त थैलीमा पत्थरी भएकाले यस्ता रोटी धेरै खाँदा दुखेर समस्या झन् बढ्न सक्छ ।’ पाचन प्रणाली कमजोर भएकाले पनि रोटी कम खान सुझाउँदै उनले भने, ‘पचाउन गाह्रो हुनेले खाली पेटमा रोटी त खानै हुँदैन ।’ खाली पेटमा बढी चिल्लो खाँदा सामान्य मानिसलाई पनि असर गर्न सक्ने तर युवालाई भने खासै असर गर्दैन । डा. अधिकारीले थपे, ‘शरीर र स्वास्थ्यलाई ध्यान दिएर पर्व मनाऔँ ।’ चाडपर्वको समयमा आजै मात्र त हो भनेर एकै पटक धेरै चिल्लो खाना खाँदा समस्या बल्झिने खतरा हुन्छ । समयमै खानपानमा ध्यान दिन सकेमा समस्या नपर्ने भएकाले सन्तुलित भोजनमा ध्यान दिन उनको सुझाव थियो।
खुसी हुने थेरापी : मुस्कुराउँदा मांसपेशीहरू फैलिन्छन, राम्रो हर्मोन उत्पादन हुन्छ
एजेन्सी । कहिलेकाहीँ तनाव वा उदासीका कारण अनुहारबाट मुस्कान गायब हुन्छ। तर, बल गरेर मुस्कुराउने काम गर्यौ भने भित्रबाट केही समयको लागि मात्र खुसी मिल्छ। वास्तवमा यो अनुहार प्रतिक्रियाको विषयमा लामो समयदेखि विवाद भइरहेको थियो । तर, हालै अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले १९ देशका ४ हजारभन्दा बढी मानिसमाथि गरेको अनुसन्धानमा यो सिद्धान्त सही साबित भएको छ । देखावटी मुस्कानले पनि स्वास्थ्यलाई फाइदा गर्छ यस अनुसन्धानका लागि तीन समूह गठन गरिएको थियो । पहिलो समूहलाई कलमलाई मुखमा समात्न र मुस्कुराउनको लागि ओंठलाई फुकाउन भनियो । दोस्रो समूहलाई कलाकारहरु जस्तै मुस्कुराएर अभिनय गर्न भनिएको थियो भने तेस्रो समुहलाई मुस्कुराउने पोज दिएर मुस्कानको नाटक गर्न भनिएको थियो । यस क्रममा सबैलाई खाली पर्दा, फूल र अन्य फोटोहरू देखाइयो। फेसियल फिडब्याक रेस्पोन्स थ्योरीले बताउँछ कि जब तपाइँ अनुहारको मांसपेशिहरुलाई मुस्कुराउन भन्नुहुन्छ भने मांशपेशी फुक्न थाल्छ । यसो गर्दा शरिरमा हर्मोन पैदा हुन्छ, । मस्तिस्कमा खुसी सञ्चार हुन्छ र मानिस खुसी हुन्छ । मुस्कानले तनाव कम गर्छ अनुसन्धानले देखाएको छ कि मुस्कानको भावना ल्याउनाले सबैको अनुहारमा खुसी ल्याउँछ । वैज्ञानिकहरूले पहिलो समूहमा कम खुसी पाएका थिए भने अन्य दुई समूहका मानिसहरु बढी खुसी भएका थिए । यस अनुसन्धानको प्रभाव थोरै भए पनि यो थेरापीले काम गरिरहेको थियो ।