गर्भवतीलाई गाउँमा भिडियो एक्सरे सेवा

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य इकाईमा अल्ट्रासाउण्ड भिडियो एक्सले मेसिन सहयोग उपलब्ध भएपछि यहाँका गर्भवती महिलाको परीक्षणमा सहयोग पुगेको छ । लायन्स क्लब अफ स्वीन्डोन चौतारी युके तथा युकेमा बस्ने नेपालीले सङ्कलन गरेको सहयोगले युकेमै खरिद गरिएको अल्ट्रासाउण्ड मेसिन भिडियो एक्सरे धम्जा सामुदायिक स्वास्थ्य इकाईलाई सहयोग गरिएको हो । गाउँमै गर्भवती महिलाको स्वास्थ्यपरीक्षणका लागि निकै उपयोगी मानिएको भिडियो एक्सले मेसिन धम्जा सामुदायिक स्वास्थ्य एकाईलाई सहयोग प्राप्त भएको धम्जा सामुदायिक स्वास्थ्य एकाइका अनमी कृष्णमाया पुनले जानकारी दिइन् । दुर्गम गाउँमा भिडियो एक्सरे सेवाले गाँउका महिला अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि सहयोग गरिएको सहयोगकर्ता देवेन्द्र पौडेलले जानकारी दिए । भिडियो एक्सरे सञ्चालनका लागि काठेखोला गाउँपालिकामा एक जना जनशक्तिको माग गरिएको काठेखोला गाउँपालिका–३ धम्जाका वडाध्यक्ष कुलबहादुर विकले जानकारी दिए । ‘यहाँका जनताको माग अनुसार अत्यन्त आवश्यक उपकरण प्राप्त भएको छ, यसको सञ्चालनका लागि जनशक्तिको व्यवस्थापनका लागि पालिकासँग कुरा भइरहेको छ’, अध्यक्ष बिकले भने, ‘यहाँका गर्भवती महिला भिडियो एक्सले गर्नकै लागि बागलुङ बजार पुग्नुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य एकाइका अनमी पुनले भिडियो एक्सरेका लागि तालिम प्राप्त गरेकाले हाललाई भिडियो एक्सरे सेवा सुरु गरेपनि पुनसँगै एक कार्यालय सहयोगीको भरमा चलेको इकाइलाई जनशक्तिको भने अभाव रहेको छ । रासस

दक्षिण कोरियामा कोभिड-१९ का ३३ हजार नयाँ सङ्क्रमित थपिए

सोल । दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड–१९ नयाँ सङक्रमित देखिएका छन् । हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसिए० का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो । एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो । गत हप्ताको पुष्टि भएका केसहरुको दैनिक औसत सङ्ख्या २४ हजार दुई सय ३६ थियो । नयाँ केसहरू मध्ये, ८७ विदेशबाट आयात भएका छन् । गम्भिर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा एकले घटेर दुई सय ४७ पुगेको छ । यस प्रकोपको कारण थप छ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार आठ सय ५६ पुगेको जनाइएको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ ।

विराटनगरमा आँखा शिविरमा चार हजारको जाँच गरिने

मोरङ । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा विराटनगरमा निः शुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ । नगरका १९ वटै वडामा आजदेखि निःशुल्क आँखा शिविर आयोजना गरिएको हो । महानगरका प्रमुख नागेश कोइरालले नागरिकको स्वास्थ्यप्रति महानगर सचेत रहेको छ भन्दै आगामी दिनमा नगरका अन्य अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए । वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेत, अस्पताल प्रतिष्ठानका महासचिव सुरेन्द्र गोल्छा, अस्पतालका प्रशासन प्रमुख विन्देश्वर महतोले नागरिकमा सचेतना जगाउन सके आँखा रोगबाट बच्न सकिने विचार राखे । शिविरमा महानगरका चार हजार नागरिकको आँखा जाँच गर्नुका साथै चार सयको निःशुल्क शल्यक्रियासहित चस्मा, औषधि र लेन्स प्रदान गर्ने योजना रहेको महानगरले जनाएको छ । महानगरका १९ वडामा ४८ वटा शिविर सञ्चालन गर्ने समेत योजना रहेको छ । रासस