डेंगी दोहोर्याएर हुन्छ कि हुँदैन ?

काठमाडौं । डेंगीका ४ वटा प्रजाति छन् । एकपटक डेंगी लागेपछि यदि आइजिएम एन्टिबडी बनेको छ भने त्यसले ३ महिना उक्त प्रजातिको लागि काम गर्दछ । यदि आइजिसी एन्टिबोडी बनेको छ भने उक्त प्रजातिको डेंगी भाइरसको लागि केहि वर्ष (कसैलाई आजीवन) एन्टिबडी शरीरमा रहन्छ । नेपालमा अहिले २ वटा डेंगीका प्रजाति छन् । एउटा प्रजातिको लामखुट्टेले टोकेको व्यक्तिलाई पून : अर्को प्रजातिको लामखुट्टेले टोक्यो भने दोहोर्याएर डेंगी हुन्छ । दोहोर्याएर डेंगी भयो भने पहिलेभन्दा निकै गाह्रो हुने, रक्तस्रावजन्य डेंगी हुनसक्ने र जोखिम बढ्ने हुनसक्छ । तसर्थ, डेंगी लागेर निको भएका व्यक्ति पनि लामखुट्टेको टोकाइबाट बच्नु पर्दछ । हाल केहि व्यक्तिहरुमा पून: डेंगी दोहोरिएको छ । डेंगी हुँदैमा सबैकाेमा एन्टिबडी बन्दैन । मलाई डेंगी भयो, निको भएपछि परीक्षण गर्दा एन्टिबोडी बनेन । मलाई जुनसुकै बेला पनि डेंगी हुनसक्छ । डेंगी भएको १० दिनपछि हामीले डेंगी सेरोलोगी अर्थात् आइजिएम आइजिसी परीक्षण गर्यौं भने एन्टिबडी बने/नबनेको थाहा हुन्छ । अहिले सडकमा जतासुकै खाल्डा छन्, झ्यांग छन् । अहिले ती ठाउँमा औषधि छर्ने हो भने डेंगीको लार्भा मरेर अर्को साल समस्या हुँदैन । अन्यथा अर्को साल पनि डेंगी फैलिन सक्छ । स्थानीय निकाय खास गरेर हरेक वडाले हरेक टोलमा औषधि छर्ने, झ्यांग काट्ने अभियान संचालन गर्नुपर्दछ । हामी सबैले घरभित्र पानी जम्ने स्रोत नष्ट गर्नुपर्दछ । (सार्वजनिक स्वास्थ्य विशेषज्ञ डा. पाण्डेकाे फेसबुकबाट)

खानाको गन्धले मानिसको दिमागलाई सक्रिय बनाउँछ, पुराना घटनाहरूलाई पनि ताजा बनाउँछ

एजेन्सी । भनिन्छ कि खाना स्वाद संग सम्बन्धित छ । तर, खानाको गन्ध त्यतिमा मात्रै सिमित छैन्, यो हाम्रो सबै ज्ञानेन्द्रिय संग सम्बन्धित छ। यही कारणले गर्दा कयौं पटक खानाको सुगन्ध आएपछि स्वादका अलावा त्यससँग सम्बन्धित केही विशेष घटनाहरु पनि याद आउँछन् । तिनीहरूको अनुभूति हाम्रो दिमागमा लामो समयसम्म रहन्छ । जबकि घटनाहरू हामीलाई याद हुँदैन। यति मात्र होइन, ज्येष्ठ नागरिकलाई खानाको सुगन्ध प्राप्त भयो भने उनीहरुको मस्तिष्कलाई सक्रिय बनाउँछ । तिनीहरू विगतमा पुग्छन्। वास्तवमा, यो खानेको अनुभूतिसँग सम्बन्धित हालैको अनुसन्धानमा खुलासा भएको हो । यस अनुसन्धानका लागि अन्वेषकहरूले खानाको सुगन्धबाट स-साना गोला बनाएका थिए । जब ती गोलाहरु अनुसन्धानमा प्रयोगमा संलग्न वृद्धहरुकहाँ लगियो, तिनीहरूलाई आफ्ना पुराना यादहरु ताजा भएर आयो । वृद्धहरुले गरेका ती सम्झनाहरू इङ्गल्याण्डको ल्यान्कास्टर विश्वविद्यालयका प्रोफेसर कोरिना सास र डा टम गेलरले थ्रीडी प्रिन्टेड स्वाद-आधारित संकेतहरू प्रयोग गरेर रेकर्ड गरेका थिए। अनुसन्धानमा १२ बुढाबुढीको ७२ स्मरणमा खानाको बारेमा पुरानो भावना बाहिर आएको थियो । यससँगै त्यस अवधिका घटनाहरू पनि बाहिर आए। अन्वेषकहरूले भनेका छन् कि अनुसन्धानमा सहभागी गराइएका केही सहभागीहरूलाई भुल्ने बिमारी थियो। खानेकुराको गन्ध सामु पुगेपछि उनीहरुले पनि आफ्नो समयका खानाको प्रशंसा गर्ने घटना सम्झन थाले । उनीहरुले महसुस गर्न थाले कि यो खानेकुराको विषयमा उसले धेरै पहिले थाहा पाएको थियो।

भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट

चितवन । भरतपुर अस्पतालको आकस्मिक इमर्जेन्स सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सुरु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ड प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार पुरानो र जीर्ण भवनबाट सञ्चालन हुँदै आएको सेवा नयाँ भवनबाट सुरु गरिएको छ । हाल २० शय्याबाट सुरु भएको नयाँ भवनको सेवा केही समयपछि नै ५० शय्यामा सञ्चालन गरिने उनले बताए । नयाँ भवनमा आकस्मिक प्रयोगशाला, एक्सरे, सामान्य शल्यक्रिया कक्षसहितको सेवा हुने उनको भनाइ छ । यी सेवा पूर्णरूपमा सञ्चालन गर्न भने एक–दुई महिना लाग्ने प्रा डा पौडेलले बताए । नयाँ भवनको माथि दुई तला थप्ने अस्पतालको तयारी छ । दुई तला थप गरेपछि ट्रमा सेन्टरसमेत सोही भवनमा सञ्चालन गरिने छ । स्वास्थ्य मन्त्रालयले रु सात करोड लागतमा एकतले भवन बनाएको हो । अस्पतालले दुई तला थप गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको छ । उनले भने, ‘तला थप गर्न मन्त्रालयमा पुनः बजेट माग गर्ने तयारीमा छौँ ।’ विगतमा १२ शय्या सञ्चालन हुँदै आएको पुरानो आकस्मिककक्ष गत वर्षदेखि २० शय्या पु¥याइएको थियो । सोही २० शय्यालाई हाल नयाँ भवनमा सारिएको हो । नयाँ भवनमा पर्याप्त ठाउँ भएकाले उपचारमा सहज हुने छ । नयाँ भवनको आकस्मिक सेवा पूर्णरूपमा सञ्चालन आएसँगै शय्या अभावमा बिरामी बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य हुने मेसु डा पौडेलले बताए । अस्पतालको तथ्याङ्कानुसार वार्षिक झण्डै एक लाखको हाराहारीमा आकस्मिक कक्षमा बिरामी आउने गर्छन् । विसं २०१३ मा महेन्द्र आदर्श चिकित्सकलयको नामबाट स्थापना भएको अस्पताल हाल सङ्घीय अस्पतालका रूपमा छ ।