घट्न थाले डेंगुका बिरामी

काठमाडौं । जाडो याम शुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीहरु कम हुँदै गएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैँ शुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो । डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । दशैँ अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम शुरु भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरु पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए । उनका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन भने एक जना आईसीयूमा उपचाररत छन् । त्यस्तै इमर्जेन्सीमा करिव ७० जना दैनिकजसो उपचारका लागि आइरहेको उनले बताए । सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवारोगका बिरामीहरु भने यस वर्ष विगतको तुलनामा कम रहेको बताए । उनले दशैँको बेलामा अस्पतालले डेंगु बढ्ने भन्ने अनुमान गरेर आवश्यक तयारी गरेपनि बिरामीहरु कम भएको बताए । सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा डेंगीबाट बच्न सक्ने बताए । उनले डेंगुको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे । उनले भने, ‘अहिले हामीले डेंगीको प्रकोप झेलिरहेका छौँ । अस्पतालमा साधारण बेडमा ११ जना भर्ना भएर उपचाररत हुनुहुन्छ । आइसीयूमा एकजना हुनुहुन्छ । इमर्जेन्सीमा करिव ७० जना दैनिकजसो आइराख्नुभएको छ । अरु सरुवा रोगहरु कम नै छ । असोजको मध्यतिर पनि सर्पदंशका बिरामीको संख्या बढी छ, कम भएको छैन । ५ जना भर्ना भएर उपचाररत हुनुहुन्छ । डेंगीका बिरामीको संख्या भने पहिलाको भन्दा केही घटेको छ । दशैँमा हामीले जसरी डेंगु बढ्छ भनेर अनुमान गरी तयारी गरेका थियौँ । त्यो अनुसार भने बिरामी बढ्नुभएन । त्यसलाई राम्रो नै मान्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा हामी डेंगीबाट बच्न सक्छौँ । नेपाल सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आवश्यक छ ।’ सूचना अधिकारी गौतमले विगतको वर्षमा भन्दा यस वर्ष सर्पदंशका बिरामीहरु भने बढीरहेको बताए । गत वर्षहरुमा असोज महिनाबाट सर्पदंशका बिरामीहरु धेरै नआएको तर यस वर्ष भने हाल पनि ५ जना सर्पदंशका बिरामीहरु अस्पतालमा उपचाररत रहेको बताउनु भयो । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने देशभर भएको केही दिनको निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढेकाले सतर्क रहन आग्रह गरेको छ ।

आमाबाबुमा स्मार्टफोनको प्रभाव : धेरै मोबाइल चलाउने अभिभावक रिसाउने र बालबालिकालाई हप्काउने

एजेन्सी । दिनको चार घण्टा मोबाइल फोन र अन्य डिजिटल उपकरणहरू प्रयोग गर्ने अभिभावकहरूले आफ्ना बच्चाहरूप्रतिको व्यवहार परिवर्तन गर्ने गरेको पाइएको छ । वाटरलू विश्वविद्यालयका अनुसन्धान विद्वानहरूले ५ देखि १८ वर्षका दुई बच्चा भएका ५४९ अभिभावकहरूको सर्वेक्षण गरेका थिए। यो अनुसन्धानले फुर्सदको समयमा वा आरामको समयमा फोन वा अन्य डिजिटल माध्यमको सम्पर्कमा रहेका अभिभावकहरू आफ्ना बालबालिकाप्रति चिडचिडा हुने गरेको पाइएको छ । उनीहरू आफ्ना छोराछोरीलाई हप्काइरहेका छन् र झन् चिच्याइरहेका छन्। मोबाइल फोन र अन्य डिजिटल उपकरणहरू प्रयोग गर्ने आमाबाबुहरू मध्ये ७५ प्रतिशतमा डिप्रेसन पनि देखिएको थियो। कोरोनामा डिजिटल उपकरणको प्रयोग बढेको छ अनुसन्धान कोरोना अवधिमा भएको थियो। स्क्रिन टाइम र डिजिटल मिडियाको प्रयोगमा उल्लेख्य वृद्धि भएको पाइएको छ । औसतमा अभिभावकहरूले दिनको ३ देखि ४ घण्टासम्म डिजिटल मिडिया प्रयोग गर्छन्। वाटरलू विश्वविद्यालयका क्लिनिकल मनोविज्ञानका विद्वान र यस अनुसन्धानको प्रमुख लेखक जस्मिन झाङले भनिन् कि परिवारको रूपमा आमाबाबु र बच्चा दुवैको व्यवहार महत्त्वपूर्ण छ, त्यसैले हामीले अभिभावकको व्यवहारले पनि नकारात्मक प्रभाव पारेको पायौं। डिजिटल उपकरणहरूको बढेको स्क्रिन समय र बढेको व्यवहार बीचको जडान फेला पर्यो। अनुसन्धान टोलीले यो पनि पत्ता लगायो कि जब परिवारका सदस्यहरू बीचको अन्तरक्रिया घट्यो, आमाबाबुहरुमा खराब बानीको विकास हुन थाल्यो । सामाजिक रुपमा अधिक सक्रिय हुनुपर्ने अनुसन्धान प्रमुख प्रा. जस्मिन झाङले दिनमा एक वा दुई घण्टा सामाजिक सञ्जालमा बिताउने अभिभावकको व्यवहार बालबालिकाप्रति बढी सकारात्मक हुने बताइन् । अभिभावकहरु सामाजिक रुपमा सक्रिय हुनुपर्ने उनको भनाइ छ ।

चितवनमा एक हजार बढीमा डेङ्गु सङ्क्रमण

चितवन । जिल्लामा एक हजार २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो । ती मध्ये ६ सय ९३ जना चितवनका रहेका छन् । दुई सय १७ जना बाहिरी जिल्लाका र एक सय १६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार डेङ्गुका कारण जिल्लामा दुईजनाको मृत्यु भइसकेको छ । जिल्लाभित्र भेटिएका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकामा चार सय ४९, रत्ननगर नगरपालिकामा एक सय तीन, खैरहनी नगरपालिकामा ६३ जनामा डेङ्गु सङ्क्रमण देखिएको कार्यालयलको तथ्याङ्कले देखाएको छ । यस्तै राप्ती नगरपालिकामा ३६, माडी नगरपालिकामा १९, कालिका नगरपालिकामा १८ र इच्छाकामना गाउँपालिकामा पाँचजनामा डेङ्गु देखिएको हो । सङ्क्रमितमध्ये सबैभन्दा बढी पुरुष रहेका छन् । चार सय ६ पुरुष र दुई सय ८७ महिलामा डेङ्गु देखिएको कार्यालयले जनाएको छ । रासस