बाढी पहिरो प्रभावितलाई युएनएफपिएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं । सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपिएले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक स्वास्थ्य सामग्री, ‘डिग्निटी किट’ र किशोरी किट वितरण गरेको छ । गत हप्ता अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट सो प्रदेशका विशेष गरी महिला तथा किशोरी वढी प्रभावित भएका जनाइएको छ । दार्चुला जिल्ला अस्पताललाई पाँच र महाकाली नगरपालिका–२ स्थित स्वास्थ्यचौकीलाई दुई स्थान प्रजनन स्वास्थ्य सामग्री आरएच किट्स प्रदान गरेको युएनएफपिएद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । प्रजनन स्वास्थ्य सामग्रीमा यौनजन्य सङ्क्रमणको उपचार गर्न, सुत्केरी गराउन र प्रसूतिसम्बन्धी जटिलताको व्यवस्थापन गर्न र बलात्कार भएको अवस्थामा उपचारका लागि आवश्यक औषधि तथा सामग्री समावेश गरिएको जनाइएको छ । राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी एजेन्सीका रुपमा कार्यरत युएनएफपिएले सुदूरपश्चिम प्रदेशका दार्चुला, अछाम र कैलाली जिल्लामा विपत्का प्रभावित महिला तथा किशोरीहका लागि चार सय ६२ डिग्निटी किट्स र दुई सय ७० किशोरी किट्स वितरण गरेको विज्ञप्तिमा उल्लेख छ । गर्भवती र सुत्केरीसहित महिला तथा किशोरीहरुको महिनावारीलगायत आधारभूत स्वच्छता तथा सुरक्षाको सुनिश्चतताका लागि डिग्निटी किट्स र किशोरी किट्स वितरण गरिएको हो । उक्त किट्सहरुमा विपत्का बेला महिला तथा किशोरीका लागि चाहिने अत्यावश्यक सामग्रीहरु राखिएका छन् । उक्त सामग्रीहरु वितरणसँगै युएनएफपिएले यौन तथा अन्य हिंसाको जोखिम सम्बोधन गर्न हिंसा रोकथामसम्बन्धी सन्देश तथा त्यससम्बन्धि सेवा प्रवाह गर्ने निकायहरुको नाम, टेलिफोन नम्बर तथा जानकारीसमेत प्रदान गरेको जारी विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य सामग्रीमा परिवार नियोजनका साधनसमेत समेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाका मेडिकल सुपरिटेन्डेन्ट डा आदर्श लिम्बूले सामग्री ग्रहण गर्दै विपत्का बेला महिला तथा किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवालाई निरन्तरताका दिन युएनएफपिएको सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सो अवसरमा युएनएफपिएका नेपाल प्रतिनिधि योङ होङले भने, ‘मानवीय विपत्का बेला विद्यमान लैङ्गिक विभेद तथा यौन तथा प्रजनन स्वास्थ्यमा गरिने बेवास्ताका कारण महिला तथा किशोरी सबैभन्दा बढी प्रभावित हुन्छन् । अझ प्रभावितका लागि व्यवस्था गरिएका अस्थायी टहरा तथा आश्रयस्थलमा लैङ्गिक हिंसाको जोखिम बढी हुन्छ । सुदूरपश्चिममा मात्र होइन मुलुकका अन्य भागमा समेत मानवीय विपत्का बेला महिला तथा किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यकतालाई प्रभावकारीरुपमा सम्बोधन गर्नका लागि सरकार तथा प्रमुख सरोकारवालाहरुलाई तयारी अवस्थामा रहून् भनेर सुनिश्चित गर्न युएनएफपिए प्रतिबद्ध छ ।’ विज्ञप्तिमा मानवीय विपत्का बेला महिला तथा किशोरीहरुले यौन तथा प्रजनन स्वास्थ्य तथा लैङ्गिक हिंसा सम्बोधन गर्ने सेवा निरन्तर रुपमा पाइरहून् भनेर सुनिश्चितता गर्न यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी मध्य तथा दीर्घकालीन आवश्यकताहरु पहिचानगर्नका लागि सरकारलाई सहयोग पु¥याउन युएनएफपिए साझेदार संस्थाहरुसँग कार्य गरिरहेको जनाइएको छ । युएनएफपिएले मानवीय विपत्लाई प्रभावकारी रुपमा सम्बोधन गर्न अष्टेलिया र बेलायत सरकार तथा युरोपियन युनियनको सहयोगमा विभिन्न किसिमका ७० सेट यौन तथा प्रजनन स्वास्थ्य सामग्री आर एच किट्स् एवं १० हजारभन्दा बढी डिग्निटी र किशोरी किट्सहरु तयारी अवस्थामा राखेको छ । रासस
मुटुरोगीको सङ्ख्या बढ्दै
चितवन । जिल्लाका ठूला अस्पतालका मुटुरोग विशेषज्ञले एउटै मञ्चबाट उच्च रक्तचाप, मधुमेह, तनाव, मदिरा, सुर्तीजन्य पदार्थ, मोटोपन जस्ता कारणले दिनानुदिन मुटुरोगीको सङ्ख्या बढ्दै गएको बताएका छन् । मुटुरोगको उपचार गर्ने चिकित्सकको संस्था ‘नेशनल हर्ट एण्ड लङ्ग सोसाईटी’ नेपाल र कान्तिपुर हेल्थले आज यहाँ आयोजना गरेको चिकित्सक–पत्रकार अन्तक्रिया कार्यक्रममा उनीहरुले आम नागरिकमा रोगबाट बच्नका लागि आवश्यक जनचेतना जगाउन नसकिएकामा चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणिप्रसाद गौतमले मुटु रोग तनाव, मधुमेह, धूमपान, व्यायामको अभाव, मदिरा, सुर्तीजन्य पदार्थको बढी उपभोगका कारण हुने गरेको बताए । उनले भने, ‘नेपालमा २८ देखि ३० प्रतिशत धूमपान गर्दछन् त्योभन्दा बढी सुर्ती खाने गर्दछन् ।’ वर्ष दिनमा एक पटक ७२ दशमलव आठ प्रतिशत नेपालीले मदिरा सेवन गर्ने गरेको अध्ययनले देखाएको भन्दै उनले ४८ दशमलव आठ प्रतिशतले नियमित मदिरा सेवन गर्ने गरेको जानकारी दिए । पन्ध्र वर्षदेखि ६९ वर्ष उमेरसम्मका समूहमा सन् २०१९ मा गरिएको सर्वेक्षणले यो तथ्य दिएको भन्दै उनले समयमा नियन्त्रण गर्न नसकेमा भविष्यमा समस्या जटिल बन्दै जाने बताए । नौ दशमलव एक प्रतिशत नेपालीमा मधुमेह रहेको भन्दै उनले थप १० प्रतिशत मधुमेहको जोखिममा रहेको बताए । उनले भने, ‘मधुमेहका बिरामीलाई मुटु रोग हुने उच्च सम्भावना हुन्छ ।’ विश्वका १७ प्रतिशत मधुमेयी भारतमा रहेको चर्चा गर्दै नेपाल र भारतको खानपान र जीवनशैली एउटै खालको भएकाले नेपाल पनि उच्च जोखिममा रहेको डा गौतमले बताए । मुटु रोगका लागि बलियो कारक उच्च रक्तचाप बन्दै गएको उनको भनाइ छ । उनले थपे, ‘वयस्कमा २४ दशमलव पाँच प्रतिशत उच्च रक्तचाप रहेको छ ।’ नेपालमा मोटोपन र मोटोपन नभए पनि पेट ठूलो हुने हुँदा यो मुटुरोगका लागि जोखिम हुने चिकित्सकले बताएका थिए । सो अवसरमा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीले खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको समस्या बढ्दै गएको बताए । समयमा उपचार गर्न सकेमा जीवन बचाउन सकिने उल्लेख गर्दै उनले भने, ‘विश्वस्तर र काठमाडौँमा रहेका मुटुरोगमा उपयोग हुने प्रविधि अहिले चितवनमा नै छ ।’ काठमाडाैको गङ्गालाल हृदयरोग केन्द्रमा १० वर्ष अनुभव हासिल गरेर विगत १० वर्षदेखि चितवनमा उपचारमा सक्रिय डा रेग्मीले उपचारका सबै सुविधा यहाँ भए पनि आम नागरिकलाई विश्वास दिलाउन अझै नसकिएको बताए । उनले भने, ‘काठमाडौका सरकारी अस्पतालको शुल्क र यहाँका निजी अस्पतालको शुल्क एउटै छ, प्रविधि उही छ, तर मोफसलको मानसिकताले बिरामी यहाँ उपचार गराउन हिच्किचाउँछन् ।’ हृदयघात भएका बिरामीलाई ३० देखि ९० मिनेटभित्र भल्व खोल्नुपर्ने भन्दै उहाँले यहाँ आधा घण्टाभित्रमा नशा खोल्न सकिने बताए । मुटुको उपचारको सेवा राजधानी बाहिर सुरु गरेसँगै धेरैको जीवन बचेको छ । डा रेग्मीका अनुसार कृत्रिम मुटु प्रत्यारोपण जस्ता प्रविधि विकास भएको भए पनि नेपालमा त्यो आइनसकेको बताए । चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीले मृत्यु भएका चार जना नेपालीमध्ये एक जनाको कारक मुटुरोग हुने गरेको भन्दै खानामा चिल्लो र गुलियो बस्तु घटाउन आग्रह गरे । पछिल्लो समय प्रदूषण पनि मुटुरोगको कारण बन्ने गरेको चर्चा गर्दै डा लौडारीले भने, ‘हावा प्रदूषणले २५ देखि २७ प्रतिशत मुटुका रोग निम्ताउँछन् ।’ प्रदूषणले मुटुदेखि क्यान्सरसम्मका रोग निम्त्याउने उनको भनाइ थियो । तनाव मुटुरोगको अर्को कारण रहेको भन्दै उनले तनाव व्यवस्थापनमा लाग्न सुझाव दिए । जनचेतना जागृत गराउन विश्वभर मुटु दिवस मनाउने गरेको भन्दै उनले सबै मिलेर जनचेतना जगाउनुपर्नेमा जोड दिए । नारायणी सामुदायिक अस्पतालका मुटुरोग विशेषज्ञ डा सुधीर रेग्मीले छाती दुख्नु, रिंगटा लाग्नु, बेहोस् हुनु जस्ता मुटुरोगका लक्षण भएको बताए । छाती दुख्यो भनेर आउनेको मोटोपन, तनाव, पेसा आदि बुझेर मुटुरोगको शङ्का लागेमा थप परीक्षण गरिने जनाउँदै उनले भने ‘मुटुरोगको शङ्का लागेमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।’ मुटुरोगको आशङ्कामा आउने बिरामीलाई गरिने उपचार पद्दतिका बारेमा बताउँदै उहाँले मुटु रोगको आशङ्का लागेमा हेलचक्र्याइ गर्न नहुने बताए । मुटुरोग जन्मजात पनि हुने भन्दै उनले ४० वर्षपछि मुटुरोग हुने जोखिम बढ्दै जाने बताए । सरकारले मुटुरोगका बिरामीलाई गर्ने सहयोग अपुग भएको भन्दै उपचारमा निःशुल्क गर्नुपर्ने बताए । उनले भने, ‘कम्तीमा मुटु रोगको आकस्मिक बिरामीलाई चाहिने औषधि र उपकरण निःशुल्क गर्नुपर्छ ।’ कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा मनोज श्रेष्ठले वंशाणुगत बाहेक मुटुरोगबाट बच्न सकिने बताए । उनले नेपालमा खानपान मुख्य समस्या रहेको भन्दै रातो मासु, चिल्लोयुक्त खाना, तेलमा भुटेको तारेका तयारी खाना खान नहुने बताए । उनले भने ‘खानामा फलफुलु र तरकारीको मात्रा बढाउनु पर्छ ।’ शारीरिक व्यायाम गर्न सुझाव दिँदै उनले हप्तामा पाँचदेखि छ दिन २० देखि ३० मिनेट हिँड्न सुझाव दिए । उनले भने, ‘दश मिनेट जति दौडिँदा मुटुलाई धेरै राम्रो हुन्छ ।’ उचाइका आधारमा तौल हुनुपर्ने भन्दै उनले धूमपान र मध्यपानबाट बच्नुपर्ने बताए । जिल्लामा मुटुरोग उपचारका लागि अत्याधुनिक उपकरणसहितका क्याथल्याब सञ्चालनमा छन् । यससँगै मुटुको शल्यक्रिया गरेर यही उपचार हुँदै आएको छ । उपस्थित चिकित्सकले मोफसलमा रहेर मुटुको राम्रो उपचार गर्न सकेकोमा खुसी व्यक्त गरेका छन् । रासस
पूर्वाञ्चल क्यान्सर अस्पतालले विपन्न क्यान्सर रोगीको निःशुल्क उपचार गर्ने
बनियानी । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र फाउण्डेशनबीच सम्झौता भएको हो । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अनुप्रस्था फाउण्डेशनका नीरन शाहीले अर्थाभावमा कोही पनि मर्नुपर्ने अवस्था नहोस् भन्ने उद्देश्यले अस्पतालसँग सम्झौता गरिएको बताए । ‘विपन्न नागरिकले उपचारको पहुँच नहुँदा अकालमै मर्नुपर्ने अवस्था छ’, उनले भने, ‘जो उपचारको पहुँचभन्दा टाढा छन्, उनीहरूको सेवा गर्नु हाम्रो मूल उद्देश्य हो ।’ अस्पतालका डा निराजन प्रसाईँले फाउण्डेशनमार्फत सिफारिस भएर आउने बिरामीको ७० लाख रुपैयाँ सम्म निःशुल्क उपचार गरिने जानकारी दिए । क्यान्सर रोगविरुद्ध लामो समयदेखि आफूहरूले काम गर्दै आएको र सामाजिक उत्तरदायित्वअन्तर्गत अनुप्रस्था फाण्डेशनसँग निःशुल्क उपचारको सम्झौता गरिएको उनले बताए । आफ्नै ब्याण्ड रहेको अनुप्रस्थाले राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा साङ्गीतिक प्रदर्शनीका क्रममा अस्पतालको प्रचार–प्रसार गर्ने र अस्पतालले एक वर्षमा अनुप्रस्थामार्फत सिफारिस भएर आएका विपन्न क्यान्सर रोगीको निःशुल्क उचपार गर्ने सम्झौतापत्रमा उल्लेख भएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । अस्पतालले हालसम्म एक हजार तीन सय नौ क्यान्सर रोगीको पहिचान गरी उपचार सहुलियतका लागि सिफारिससमेत गरेको उनले बताए ।