बुवाको उपचार खर्च जुटाउन सिटीसफारी कुदाउँदै राजीव
बेलबारी । राजीव साह भर्खर १५ वर्षमा हिँड्दै छन् । तर उनको काँधले भने तीन दशक पार गरेको जवान छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ । घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्यानरत साह बिहानभरि कलम समाउने कलिला हातले साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ । विद्यालयमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ । मोरङको बेलबारी–९ नलबारीमा घर भएका साहको अवस्था केही महिनाअघिसम्म यस्तो थिएन । परिवारको निम्न आर्थिक अवस्था भएका कारण उनका ४३ वर्षीय बुवा अशोक सिटी सफारी चलाउँथे । केही महिनाअघि बुबाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनुपरेको छ । बुवाको नियमितरूपमा हप्तामा दुईपटक डायलायसिस गर्नुपरेको राजीव बताउँछन् । ‘डायलायसिस निःशुल्क छ तर पनि एकपटकमा कम्तीमा तीनदेखि चार हजारसम्म खर्च हुनेगरेको उनी बताउँछन् । सफारी कुदाएर दैनिक चार/पाँच सय आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उनले गुनासो गर्छन् । सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उनको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने, आफू तथा कक्षा ८ मा पढ्ने भाइका लागि पढाइ खर्च जुटाउने र बुवाको उपचार खर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उनी लक्ष्मीमार्ग र डाँगीहाट बजार आसपासका ठाउँको चक्कर लगाउँछन् । ‘कति सानो बाबुले चलाएको जनाउँदै सफारीमा चढ्ने यात्रुहरूले पनि सहानुभूति व्यक्त गर्छन्’, उनी बताउँछन् । स्थानीय चक्र भण्डारीले साह परिवारको सिटी सफारीबाहेक आम्दानीको स्रोत नभएको जानकारी दिए । उनले आर्थिक अवस्था कमजोर रहेको साह परिवारलाई सहयोग गर्न आग्रह सबैसंग आग्रह गरे । रासस
दिनानुदिन बढ्दै डेङ्गुका बिरामी, परीक्षणका लागि किट अभाव
बागलुङ । बागलुङमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लामा डेङ्गुका लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पर्याप्तरूपमा डेङ्गु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शङ्कास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ । जिल्लामा हालसम्म यो वर्षमा ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा नौ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक तथा निमित्त कार्यालय प्रमुख लक्ष्मी शर्माले जानकारी दिए । ‘सुरुमा किट अभाव भएको थियो, अहिले केही मात्रमा किट आएको छ भने थप आउने क्रम जारी छ । तर डेङ्गुका बिरामी दिनानुदिन बढ्दै जाँदा पर्याप्त किट आवश्यक हुन्छ,’ उनले भने, ‘अहिले डेङ्गु लक्षण देखिएका बिरामीको रगत परीक्षण गर्ने र रगतमा शङ्कास्पद देखिएमा मात्रै किटको प्रयोगमार्फत परीक्षण गर्ने गरिएको छ ।’ स्वास्थ्य कार्यालयमा अहिले जम्मा ३० थानमात्रै किट रहेको छ भने थप दुई सय किट आउने क्रममा रहेको छ । जिल्लामा डेङ्गु रोगको लक्षणसहितका बिरामीको सङ्ख्या ह्वात्तै बढेको धवलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए । ‘अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ, तर सबैमा डेङ्गु सङ्क्रमण भने देखिएको छैन, हामीले रगतका माध्यमबाट र अत्यधिक शङ्कास्पदको किटको माध्यमबाट डेङ्गु परीक्षण गरेका छौं,’ उनले भने, ‘अस्पतालले पछिल्लो भदौ महिनासम्म डेङ्गुका जटिल प्रकारका नौ बिरामीको अस्पताल भर्ना गरेर उपचार गरिसकेको छ ।’ डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामखुट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान प्रभावित भए पनि घाम लागेपछि निरन्तरता दिने तयारीमा स्वास्थ्य कार्यालय रहेको छ । यस्तै पालिका स्तरबाट भने खोज र नष्ट गर अभियानलाई तीव्रता दिन थालिएको छ । डेङ्गु रोग रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ । अहिले सहरी क्षेत्रमा डेङ्गु सचेतनाका लागि माइकिङ गर्ने, पोष्टर तथा पम्पलेट टाँस्नेलगायतका काम गरिएको छ । रासस
चिया पारखीलाई खुसीको खबर : दैनिक ४ कप चिनी बिनाको चिया पिउँदा मधुमेहको जोखिम १७ प्रतिशतले कम हुने
एजेन्सी । यदि तपाई चिया वा कफी पिउन मन पराउनुहुन्छ भने तपाईको लागि यो निकै खुसीको विषय हो । वास्तवमा, दिनमा चार कपभन्दा बढी चिया पिउनाले टाइप२ मधुमेहको जोखिम कम हुन्छ। लगातार १० वर्षसम्म यसो गर्दा मधुमेहको जोखिम १७ प्रतिशतले कम हुन्छ । जसमा कालो, हरियो र अन्य प्रकारका चिया पर्दछन् । चिनी बिनाको चिया पिउनाले स्वास्थ्यलाई झनै फाइदा पुर्याउँछ । कालो चिया जस्तै दुधको चिया पनि फाइदाजनक हालै चीनको वुहान युनिभर्सिटीमा गरिएको एक अनुसन्धानमा यो खुलासा भएको हो । यसअघिका अन्य १९ अनुसन्धानलाई उद्धृत गर्दै वुहान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका शियिङ लीले चियामा दूध मिसाउँदा स्वास्थ्यलाई बेफाइदा हुने अनुमान पुरानो भएको भन्दै सो अनुसन्धानले दूधसँगको चिया पनि कालो चिया जत्तिकै फाइदाजनक रहेको बताएका छन् । अर्को, मेटा एनालाइसिसले पनि अमेरिका, एसिया र युरोपका आठ देशका करिब ११ लाख वयस्कहरूलाई समावेश गरेर अनुसन्धान गर्दा दिनमा एक, दुई वा तीन कप चिया पिउने मानिसहरूलाई चिया नपिउनेहरूको तुलनामा टाइप २ मधुमेहको जोखिम ४ प्रतिशत कम हुने कुरा पत्ता लगाएको छ । एकै दिनमा चार वा बढी कप पिउने व्यक्तिहरूमा मधुमेहको जोखिम १७ प्रतिशतले कमी देखिएको थियो । दक्षीण एसियाकै ठूलो मुलुक भारतमा हरेक ११ जना मध्ये एक जना मधुमेहबाट पीडित छन् । यीमध्ये ९० देखी ९५ प्रतिशतलाई टाइप–२ मधुमेह रोग लागेको छ । त्यस्तै बेलायतका ४० लाख मधुमेह रोगीमध्ये ९० प्रतिशतलाई टाइप २ मधुमेह रोग लागेको छ । कफी पिउनाले मृत्युको जोखिम १६ देखि २१ प्रतिशतले कमी हुने कफी पिउनाले मृत्युको जोखिम कम हुने अनुसन्धानले देखाएको छ। बेलायतका १.७ लाखभन्दा बढी मानिसमा गरिएको अनुसन्धानले यस्तो नतिजा देखाएको हो । ७ वर्षसम्म हरेक दिन १.५ देखि ३.५ कप चिनी नभएको कफी पिउनाले मृत्युको जोखिम १६ देखि २१ प्रतिशतले कम हुने अनुसन्धानले देखाएको छ ।