झापामा क्यान्सर रोगीको सङ्ख्या बढ्दो
झापा । झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए । विसं २०७८ साउन ११ गदेखि २०७९ भदौ ११ गतेसम्म २८ जना क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उनले जानकारी दिए । अघिल्लो वर्ष १२ क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उनले बताए । ‘पहिला वर्षको पाँच–छ जनाले सिफारिस लिने गरेका थिए’, उनले भने, ‘पछिल्लो समय क्यान्सर रोगीको सङ्ख्या बढ्दै गएको छ ।’ ‘अस्वस्थ्य खानपान र जीवनशैली नै क्यान्सरको मुख्य कुरा हो’, स्वास्थ्य शाखा प्रमुख यादवले भने, ‘सीमामा क्वारेन्टाइन राख्न जरुरी छ ।’ कचनकवल भारतसँग सीमा जोडिएको गाउँपालिका हो । यहाँका मानिस स–साना खाद्य सामग्रीसमेत लिन सीमावर्ती भारतीय बजार जाने गर्दछन् । सीमामा क्वारेन्टाइन नहुँदा बिना परीक्षण खाद्य सामग्री भित्रिने गरेको छ । बिर्तामोडस्थित कृषथोक बजारमा भारतबाट आयात हुने सागसब्जीमा विषादीको मात्रा धेरै पाइएपछि आयातमा कडाइ गरिएको थियो । तर यहाँका सीमावर्ती बजारबाट सागसब्जीदेखि अन्य घरायसी उपभोग्य वस्तु बिनापरीक्षण सोझै भित्रिने गरेको छ । त्यस्तै गाउँपालिकाबाट ११ मिर्गौला रोगी र सात मुटुसम्बन्धी रोगीले उपचार सहुलित र डायलायसिसका लागि सिफारिस लिएका छन् । क्यान्सर रोगीलाई उपचार सहुलितका लागि भरतपुर क्यान्सर अस्पताल, भक्तपुर, धरान, पूर्वाञ्चल क्यान्सर अस्पतला बिर्तामोडलगायतका अस्पतालमा सिफारिस दिने गरेको छ । उक्त सिफारिसका आधारमा बिरामीले एक लाख रुपैयाँ बराबरको उपचारमा सहुलियत पाउने गरेका छन् । गाउँपालिकाले समेत क्यान्सर रोगीलाई उपचारका लागि १० हजार रुपैयाँ देखि २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने गरेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । ‘उपचारमा सहयोग मिलोस् भनेर यातायात खर्चका रूपमा केही रकम सहयोग गर्ने गरेका छौँ’, उनले भने । त्यस्तै गाउँपालिकाले सुत्केरी महिलालाई पोषण खर्चवापत घरमै पुगेर तीन हजार रुपैयाँ र मृत्यु संस्कारमा पाँच हजार रुपैयाँ गाउँपालिकावासीलाई दिने गरेको छ । सङ्घीय सरकारको लगानीमा गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणाधीन छ भने एकवटा प्राथमिक स्वास्थ्य केन्द्र, नौवटा स्वास्थ्यचौकी र दुई आधारभूत स्वास्थ्य केन्द्रबाट गाउँपालिकावासीले स्वास्थ्य सेवा लिँदै आएका छन् । रासस
भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. गौतम, बेवारिसेको उपचार निःशुल्क गरिदिने
भक्तपुर । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. सुमित्रा गौतमलाई नियुक्त गरेको छ । बुधबार दोस्रोपटक सो पदमा पदबहाली गर्दै उनले बालबालिकाको ‘ओपिडी सेवा’ निःशुल्क गर्ने जानकारी दिइन् । त्यस्तै अस्पतालमा आउने बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने र बेवारिसे शवको व्यवस्थापनसमेत निःशुल्क गर्ने उनले बताइन् । यसअघि अस्पताल प्रशासनले बेवारिसे बिरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यवस्थापनसमेत रोकेको थियो । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले समिति र अस्पताल व्यवस्थापन पक्षको संयुक्त प्रयासले अस्पताललाई उत्कृष्ट बनाइने बताए । कोरोमा महामारीको जटिल अवस्थामा मेसु डा. गौतमले पहिलोपटक पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन, कोरोना उपचार सेवा एवं भेन्टिलेटरसहितको कोरोना आइसीयू, बच्चाका लागि एनआइसीयू, एचडीयूलगायत अन्य विभिन्न सेवा विस्तार गरेकी थिइन् । साथै अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी विसं २०७७ मा प्रदेश अस्पतालमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भई पुरस्कार प्राप्त गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा विस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक आठ सयदेखि एक हजारसम्म बिरामीको चाप बढेको थियो । मेसु डा गौतमले भक्तपुर अस्पताललाई उत्कृष्ट बनाउने, बन्द भएका सेवा तत्कालै सञ्चालन गर्ने, बेतिथिलाई रोक्ने, भक्तपुर र पूर्वका विभिन्न जिल्लाबाट आउने बिरामीलाई उपचारका लागि सिफारिस भएर जानु नपर्ने गरी सेवा सञ्चालन गरिने जानकारी दिइन् ।
डेङ्गुबाट बच्न सतर्कता अपनाउन राज्यमन्त्री केसीकाे आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताए । ‘डेङ्गु सङ्क्रमण देखिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल गरेर स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको छ । जनप्रतिनिधिसँगसँगै स्थानीय सरोकारवाला, स्वास्थ्य स्वयंसेविका मिलेर डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने, त्यसलाई नष्ट गर्ने, चेतना फैलाउनेलगायत काम भइरहेको छ’, राज्यमन्त्री केसीद्वारा जारी अपिलमा भनिएको छ । डेङ्गुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउनसमेत उनले अनुरोध गरेका छन् । ‘डेङ्गुको प्रकोपलाई ध्यानमा राख्दै मन्त्रालयले प्रतिकार्य योजना बनाएर काम गरिरहेको छ’, अपिलमा उल्लेख छ । मन्त्रालयले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । नेपालमा हालसम्म ११ हजार ६५ जनामा डेङ्गु देखिएको छ । रासस