बागलुङमा स्वास्थ्यचौकी भवन पहिराको जोखिममा
बागलुङ । बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पु¥याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । दुई करोड तीन लाख रुपैयाँमा निर्माण भएको सो भवन पहिराको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ । बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि ६५ लाख रुपैयाँ विनियोजन भएको बताए । उनले बर्खा सकिएपछि पर्खाल लगाउने बताए । ‘बर्खा रोकिएपछि पर्खाल लगाएर संरक्षण गर्ने योजना छ’, थापाले भने । ठाउँ उपयुक्त नहुँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ । ‘यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती भवन निर्माण गर्ने काम भयो’, थापाले भने, ‘पानीको मूल फुटने ठाउँमै भवन निर्माण गरिएको छ ।’ भवनको जग नै कमजोर भएको पाइएको छ । उक्त भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा दान गरेका हुन् । रासस
धादिङमा डेङ्गु लागेर बिरामी हुने क्रम बढ्यो
धादिङ । जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् । लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए। ‘दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्’, उनले भने। बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेङ्गुका बिरामी भर्ना भएका छन् । सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको विकले जानकारी दिए। सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेङ्गु पुष्टि गरेको छ । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन । धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेङ्गुका बिरामी बहिरङ्ग कक्ष (ओपिडी) मा लाइन लाग्ने गरेका अस्पतालका आकस्मिक कक्ष प्रमुख डा दिनेश रेग्मीले बताए । ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लगायत लक्षण देखिएपछि सर्वसाधारण अस्पताल आउने गरेका छन् । अस्पतालमा शय्या अपुग हुने अवस्था आएको रेग्मी बताउँछन् ।
भिटामिन डीको कमीले मानिसको शरीरमा विभिन्न समस्या देखिन सक्छ
काठमाडौं । मानिसको शरीरमा भिटामिन डीको कमीले शारीरिक समस्या मात्र नभई मानसिक समस्या पनि निम्त्याउँछ । रोग प्रतिरोधी क्षमता बढाउन पनि भिटामिन डीले महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन डीले हड्डी र मांसपेशीलाई बलियो र स्वास्थ्य बनाउन सहयोग गर्छ । शरीरमा भिटामिन डीको कमी भएमा अत्याधिक थकान, हड्डी दुख्ने, ढाड दुख्ने, उदास महसुस, कपाल झर्ने, मांसपेशीहरुमा दुखाई, घाउ निको हुन ढिलाई, स्नायुहरुमा तनाव, रोग प्रतिरोधात्मक क्षमतामा कमी, निन्द्रा लाग्ने, बारम्बार सङ्क्रमण र सास फेर्न गार्हो हुने जस्ता समस्याहरु देखा पर्दछन् । यदी यस्ता समस्या देखा परेमा चिकित्सको सल्लाह लिनुपर्दछ । भिटामिन डी को कमी विभिन्न कारणले हुनसक्छ । पछिल्लो समयमा कोरोना संक्रमणपछि मानिसहरुमा भिटामिन डि को कमी हुन थाल्यो । घामबाट टाढा बस्ने मनिसहरुमा पनि यो भिटामिनको कमी हुन्छ । त्यस्तै, खानामा भिटामिन डी युक्त चीजहरु नलिनु पनि ठुलो कारण हो । हामीले भिटामिन डी सूर्यको प्रकाशबाट पाँउछौ । त्यसैले बिहानको समयमा हत्तामा २/३ पटक आधा घण्टा छालालाई घामको किरणमा बस्नु पर्छ । योबाहेक माछा, रातो मासु, च्याउ, अन्न, सुन्तलाको जुस, गहँुको पिठो, अण्डाको पहेँलो भाग र दुग्धजन्य पदार्थबाट भिटामिन डी प्राप्त हुन्छ ।