उपत्यकामा फैलदै हैजा, संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं । पछिल्लो केही दिन यता काठमाडौं उपत्यकाभित्र हैजाका संक्रमितहरु बढ्न थालेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ उपत्यकाका १२ जनामा हैजा पुष्टि भएको छ । हालसम्म बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट र नैकपमा हैजा देखिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए । तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो । महाशाखाका अनुसार पछिल्लोपटक थपिएका हैजाका दुई बिरामीको पाटन अस्पताल र एक जनाको स्टार अस्पतालमा उपचार भइरहेको छ भने अन्य बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ । यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो । उनीहरु कामपा–२८ बागबजारमा बस्दै आएका थिए । काठमाडौंमा भित्रभित्रै हैजा फैलिएको विज्ञहरूको दाबी छ । विज्ञहरुले काठमाडौं उपत्यकामा हैजा फैलनुको प्रमुख कारण नै खानेपानी रहेको बताउँदै आएका छन् । हैजाको मुख्य स्रोत नै खानेपानी भएको भन्दै ललितपुर महानगरपालिकाले २९ वटै वडामा पानीपुरी तथा चटपटे बिक्रीवितरणमा रोक लगाएको छ । महानगरले आइतबारदेखि नै बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताए । कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ । हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताए । एक सातामा रोग नियन्त्रणमा नआए पानीपुरी विक्रिवितरणमा थप कडाइ गरिने हाछेँथुले जानकारी दिए ।

‘मस्तिष्कघात भएको २४ घण्टासम्ममा उपचार पाए पहिलाकै अवस्थामा फर्किन सकिन्छ’

काठमाडौं । मस्तिष्कघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् । बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा (जनशक्ति तथा उपकरण) प्रदान गर्दै आएको जनाउँदै उनीहरुले अगामी दिनमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखा पर्दै गएको मस्तिष्क र नसा रोग न्यूनीकरण गर्न सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे । हस्पिटलद्वारा निरन्तर चिकित्सा शिक्षा शृङ्खलाअन्तर्गत ‘बृहत्तर मस्तिष्क शिक्षा’ विषयक आयोजित प्रवचन कार्यक्रममा सहभागी वरिष्ठ भारतीय नसारोग विशेषज्ञले गुणस्तरीय मस्तिष्क उपचार सेवा विस्तार गर्न तथा यसका बारेमा समुदायलाई जानकारी गराउन सरकारलाई सुझाव दिए । उनीहरुले मस्तिष्कघात हुनेबित्तिकै जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्न सकिएमा पूर्ववत् अवस्थामा फर्किने सम्भावना उच्च हुने र ‘प्यारालाइसिल’ हुनबाट जोगिन सकिने औंल्याए । कार्यक्रममा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीका डा शैलेश गैकवडा, मेदान्तका न्युरो इन्टरभेन्सन विशेषज्ञ डा गौरव गोयल, एपोलो हस्पिटलका न्युरो इन्टरभेन्सन विशेषज्ञ डा निश्चिट जैनले अलग अलग कार्यपत्र प्रस्तुत गर्दै मस्तिष्कघातका समयमा उपचारमा ल्याउन सकिएमा अपाङ्ग हुनबाट जोगाउन सकिने जनाउँदै यस्ता उपचार सेवा विस्तार गर्न आवश्यक रहेकामा जोड दिए । उनीहरुले भने, ‘उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा उपलब्ध सेवा र प्रविधि विश्वगुणस्तरका छन् । मस्तिष्क र नसाको उपचार गर्ने चिकित्सकीय विधि प्रायः समान छन् ।’ कार्यक्रममा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा सुबास फुयालले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा सुरुआत गरेको जानकारी दिए । यसैगरी नसारोग विशेषज्ञ डा एञ्जिलमणि सिंह महर्जनले मस्तिष्काघात हुने समस्या दिनानुदिन वृद्धि हुँदै गएको जनाउँदै यसको न्यूनीकरणका लागि उपचार सेवा विस्तार र जनचेतना जगाउन आवश्यक भएकामा जोड दिए । यसैगरी हस्पिटलका नसारोग विशेष डा शिखर श्रेष्ठले पक्षघातजस्तो आपत्कालीन स्वास्थ्य समस्यालाई सम्बोधन गर्न विशेष प्रविधि र जनशक्तिमा राज्यले लगानी बढाउन पर्ने बताए । कार्यक्रममा हस्पिटलका वरिष्ठ नसारोग विशेषज्ञ डा सौरव लामिछानेले मस्तिष्काघातको नेपालको अवस्थाका बारेमा जानकारी दिएका थिए । हस्पिटलका कार्यकारी अध्यक्ष प्राडा मधुदीक्षित देवकोटाले आगामी दिनमा निरन्तर चिकित्सा शिक्षा शृङ्खला जारी रहने जानकारी दिए । ‘बाइ प्लेन क्याथल्याब’ : ‘न्युरो इन्टरभेन्सन’ मा वरदान नेपालमा पहिलोपटक उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले सुरआत गरेको ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा बिरामीका लागि वरदान सावित भएको छ । अत्याधुनिक तथा विश्वस्तरीय सो उपकरणसहित विशेषज्ञ चिकित्सकको सेवाबाट धेरैले अकालमा ज्यान जोगाएका छन् । इन्टरभेन्सनल रेडियोलोजिष्ट डा फुयालका अनुसार इन्डोभास्कुलर वा न्युरो इन्टरर्भेन्सन भनेको बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट बन्द भएको मस्तिष्कको नसा खोल्ने वा फुटेको मस्तिष्कको नसालाई ‘रिपेयर’ गर्ने पद्धति हो । यस प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको नसाभित्र जमेको रगत थेग्लो निकालिन्छ । टाउको नखोलिकन नै मस्तिष्कभित्र गहिराईमा रहेको रक्तनलीभित्र शल्यक्रिया गरिन्छ र बिरामीलाई सञ्चो बनाइन्छ । उनी अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीबाट न्युरो इन्टरभेन्सनमा डीएम उपाधि हासिल गर्ने पहिलो नेपाली चिकित्सक हुन् । उनले भने, ‘यस पद्धतिमा शल्यक्रियाका लागि टाउको नखोलिने भएकाले बिरामीलाई छिट्टै घर पठाउन सकिन्छ । उपचारमा जोखिमसमेत धेरै कम हुन्छ । मस्तिष्कको समस्याजस्तै, मस्तिष्कघात, एन्युरिजम (रक्तनलीको फोको), घाँटीको नसा सुक्ने, मेरुदण्डको नसासम्बन्धि समस्यामा न्युरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न सकिन्छ ।’ नसारोग विशेष डा श्रेष्ठका अनुसार उच्च रक्तचापका कारण मस्तिष्कको नसा कमजोर भई ‘ब्रेन हेमोरेज’ पनि हुनसक्छ । यसो हुँदा विगतमा टाउको खोलेर फुटेको नसा सिलाइन्थ्यो । यसरी टाउको खोलेर शल्यक्रिया गर्दा जटिलताका साथ-साथै अस्पतालको बसाई पनि लम्बिन्थ्यो । तर अहिले एन्युरिज्मका कारण हुने ‘ब्रेन हेमोरेज’ भएका व्यक्तिलाई तारको माध्यमबाट खुट्टाको नसा हुँदै च्यातिएको नसा भित्रभित्रै सिलाइन्छ । यसलाई ‘क्वाइलिङ’ भनिन्छ । यस्ता बिरामीलाई साधारणतया पाँच-सात दिनभित्र घर पठाउन सकिन्छ । उनले भने, ‘तार (क्याथेटर) को माध्यमबाट शल्यक्रिया गर्दा इन्फेक्सन हुने, लामो समयसम्म सघन उपचार कक्ष (आइसियु)मा बस्नुपर्नेलगायतका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।’ हालसम्म चार सयभन्दा वढी बिरामीले ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा लिइसकेका छन् । क्याथल्याबमार्फत मस्तिष्कभित्रको रक्तनलीसम्बन्धी रोगजस्तै नसा बन्द हुनु, रगतको नसाको फुकुण्डो फुट्नु र रगतको गुच्छाको सफल उपचार भएको छ । यी सेवा प्रदान गर्न प्राविधिकरुपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ । हस्पिटलका कार्यकारी अध्यक्ष प्रा डा. देवकोटाले भने, ‘जीवनशैली, तथा खानपानमा आएको परिवर्तन, हिँडडुल र शारीरिक व्यायामको कमी, मद्यपान र धूमपानको बानीले गर्दा रगतमा तैलीय पदार्थको मात्रा बढी हुँदा यसले रक्तनलीको रोग निम्त्याउँछ । यसले उच्च रक्तचाप, मस्तिष्कघात र मुटुको समस्यामा वृद्धि भएको छ ।’ अस्पतालले दुई वर्ष अगाडि नै मस्तिष्काघात उपचार सेवाका लागि नै पहिलोपटक विश्वस्तरीय आइसियु सञ्चालनमा ल्याएको थियो । नसारोग विशेषज्ञ डा महर्जनका अनुसार मस्तिष्कमा अर्बौं कोशिका हुन्छन् । मस्तिष्कघात भई रक्तनली बन्द भएर उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख मस्तिष्कका कोषिका मर्दछन् । यसैले मस्तिष्कघातलाई आपतकालीन स्वास्थ्य समस्या भनिन्छ । मस्तिष्कघात भएका बिरामीको उपचार विगतमा ‘थ्रोम्बोलाइसिस’मा सीमित थियो । उनले भने ‘न्युरो इन्टरभेन्सन पद्धतिमा औषधिको प्रयोगबाट रगतको थेग्लो पगाल्ने गरिन्छ । यसका लागि मस्तिष्कघात भएको साढे चार घण्टाभित्र बिरामीलाई अस्पताल पुर्याएमा उपचार सेवा बढी प्रभावकारी हुन्छ तर अहिले सो पद्धतिबाट २४ घण्टासम्म पनि यस्ता बिरामीलाई अस्पताल पुर्याउन सकेमा बन्द भएको ठूलो रगतको नसाबाट थेग्लो निकालेर बिरामीलाई पूर्ववत् अवस्थामा ल्याउन सकिन्छ ।’ के हो मस्तिष्कघात ? मस्तिष्क शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । यसलाई निरन्तर पोषण र अक्सिजन आवश्यक पर्दछ । यो रक्त नलीको माध्यमबाट मस्तिष्कमा पुग्दछ । मस्तिष्कको रक्तनलीमा अवरोध भए वा फुट्न गएमा मस्तिष्कमा रगत आपूर्ति कम भई स्नायु कोषिकामा तत्काल क्षति पुग्छ । यसरी उत्पन्न हुने समस्यालाई मस्तिष्काघात भनिन्छ । यसले स्नायु र स्नायुतन्तुमा स्थायी क्षति पुर्याईं अकालमा ज्यानसमेत जान सक्छ र बाँच पनि विकलाङ भई परनिर्भर हुनुपर्ने बाध्यता आउन सक्छ । पछिल्लो समय नेपालमा मृत्युको तेस्रो कारण मस्तिष्काघात रहेको जनाइएको छ । सन् २००९ देखि २०१९ का बीचमा मस्तिष्काघात हुने समस्या ४० प्रतिशतले वृद्धि भएको एक अध्ययनले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मस्तिष्काघातबाट बर्सेनि कति जनाले अकालमा मृत्यु गर्दछन् भन्ने तथ्याङ्क नै छैन । मस्तिष्काघातका लक्षण चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ । ती लक्षण पहिचान गर्न चिकित्सकले छोटकरीमा ‘वि फास्ट’ अर्थात् (सन्तुलन नहुन, रिङ्गटा लाग्नु, आँखा धमिलो देख्नु, अनुहार बाङ्गिनु, हातखुट्टा लुलो हुनु, बोली लर्बराउनु, बोल्न नसक्नु, समय खेर नफाली अस्पताल पुर्याउनु) नामकरण गरेका छन् । मस्तिष्काघात कसलाई हुनसक्छ ? ५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप भएका, धूमपान र मद्यपान सेवन गर्ने व्यक्ति, मधुमेह, उच्च कोलस्टोर भएका, तनावपूर्ण जीवनशैली जिउने व्यक्ति, मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या भएका, परिवारमा मस्तिष्कघातको इतिहास भएका तथा हालसालै अथवा पुरानो मस्तिष्क सङ्क्रमणले ग्रस्त बिरामीलाई यसको जोखिम हुनसक्ने जनाइएको छ । चिकित्सकका अनुसार मस्तिष्कघात दुई किसिमले हुनसक्छ । एक मस्तिष्कभित्रको रक्तनलीमा रगतको थेग्लो जमेर र अर्को मस्तिष्कमा रगत आपूर्ति गर्ने धमनी फुटेर । मस्तिष्काघात भएका अवस्थामा बन्द भएको नली खुलाउन औषधि र रक्तनलीभित्र शल्यक्रिया गरी दुई किसिमबाट उपचार हुने जनाइएको छ । रासस

गैरनाफामुखी व्यवस्थापनको एउटा नमूना ‘तिलगंगा आँखा अस्पताल’

काठमाडौं । विश्व व्यवस्थामा यतिबेला उदारवादी पुँजीवादी अर्थराजनीतिले बाहुल्यता पाएको छ । समाजवादी आन्दोलन विश्वव्यापी रुपमा नै भएतापनि त्यसले आफुलाई प्रभावकारी रुपमा उभ्याउन सफल भएको छैन । कम्युनिष्टहरुले आन्दोलनको समयमा निर्माण गरेका कम्युनहरु पनि लगभग अस्तित्वमा छैनन् । सहकारी प्रणालीले पनि मुलुकको अर्थतन्त्रमा प्रभावकारी उपस्थिति जनाउन सकेको छैन भने विश्व अर्थव्यवस्थामा पनि तुलनात्मक रुपमा सहकारीको बलियो उपस्थिति देखिएको छैन । तर, २८ वर्ष अगाडि प्राध्यापक डा. सन्दुक रोइत र डा रिता गुरुङले निर्माण गरेको गैरनाफामुलक तिलगंगा आँखा अस्पताल अहिले मुलुककै नमूना अस्पतालको रुपमा परिचित बनेको छ । सरकारी अस्पतालहरुमा राज्यको ठूलो लगानीको बाबजुद व्यवस्थापनमा प्रश्न उठिरहेको छ । त्यस्तै निजी क्षेत्रको लगानीमा सञ्चालित अस्पतालहरुमा महँगीको कारण आम सर्वसाधारणको सहज पहुँच हुन सकिरहेको छैन । तर, राज्यको अनुदान र निजी क्षेत्रको लगानीको बाबजुद पनि तिलगंगा आँखा अस्पतालले आफुलाई नमूना अस्पतालको रुपमा उभ्याउन सफल भएको छ । नाफाले मानिसलाई थप काम वा सिर्जनशिल व्यवस्थापनको निमित्त उत्प्रेरित गर्दछ भन्ने पुँजीवादी अर्थशास्त्रीय मान्यता छ र सोही मान्यता वा अर्थशास्त्रीय दर्शन बमोजिम आज निजी क्षेत्रको लगानीले हाम्रो मुलुकमा पनि फड्को मारेको छ । तर, अपवादको रुपमा तिलगंगा आँखा अस्पतालले आफुलाई आलोचनामुक्त नाफारहित प्रतिष्ठित संस्थाको रुपमा निरन्तर अगाडि बढाएको छ । तिलगंगाले प्रतिष्ठा कमाउने मात्रै होइन्, आँखाका रोगीहरुको भरोसाको केन्द्र समेत बनेको देखिन्छ । यस्ताे छ व्यवस्थापन  तिलगंगा आँखा अस्पताल सुरिद घिमिरेको नेतृत्वमा रहेको ६ सदस्यीय बोर्डले गरेको छ । जसको सदस्य सचिवमा प्रा.डा सन्दुक रोइत, कोशाध्यक्षमा सम्भु तामाङ र निर्देशकहरुमा हरिवंश आचार्य, रवी केसी, गोविन्द पोखरेल, सन्जय थापा र सिद्धिलाल श्रेष्ठ रहेका छन् । बोर्डमा रहेकाहरु फरक–फरक पेशागत पृष्ठभूमिका व्यक्तिहरु हुन् । यद्यपी उनीहरुमा अस्पताल सञ्चालनको लागि समान धारणा रहेको छ । अस्पतालको नियमित सञ्चालनको लागि कार्यकारी संरचना अलग्गै छ । कार्यकारी टिममा रहेका व्यक्तिहरुले अस्पतालको नियमित कामको सञ्चालन गर्ने गर्छन् । तिलगंगाले इमर्जेन्सी, साधारण, एक्सटेन्डेड र प्रिमियम गरी चारवटा तरिकाबाट आँखाका बिमारीहरुलाई सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा उपचारको अलावा अरु धेरै विभाग तथा कार्यक्रमरु समेत छन् । जसमा आँखा बैंक, इन्ट्रयाकुलर ल्याब, रिसर्च डिपार्टमेन्ट, एकेडेमिक एण्ड ट्रेनिङ डिपार्टमेन्ट, एक्सपोजर ट्रेनिङ, आँखा शिविर र काठमाडौं आँखा अध्ययन लगायतका कार्यक्रमहरु छन् । अस्पतालले विभिन्न कार्यक्रमहरुलाई फरक–फरक ढंगले सञ्चालन गर्ने गरेको छ । सेवाग्राही अनुरूपको उपचार व्यवस्थापन तिलगंगाले बिमारीहरूलाई अन्य अस्पतालले जस्तै इमर्जेन्सी र साधारण तरिकाबाट उपचार सेवा उपलब्ध गराउँदै आएकाे छ । तर, बिमारीहरुलाई उपचार सेवा उपलब्ध गराउने विषयमा भने विशिष्ट तरिकाको अबलम्बन गरिएको छ । अस्पतालमा चिकित्सकहरुले २ सिफ्टमा काम गर्ने गर्दछन् । पहिलो सिफ्टमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म र दोस्रो सिफ्टमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म काम चिकित्सकहरुले सेवा उपलब्ध गराउने गर्दछन् । दिउसो काममा व्यस्त हुनेहरुलाई अस्पतालले बिहान ८ बजे नै सेवा उपलब्ध गराउने काम गर्छ । जसलाई एक्सटेन्डेड सेवा भनिन्छ । सो सेवा लिने सेवाग्राहीले दर्ता र उपचारमा अन्यको तुलनामा केही बढी शुल्क तिर्नुपर्ने हुन्छ । त्यस्तै आफुसँग कम समय भएका बिमारीहरुलाई लक्षित गरेर अस्पतालले प्रिमियम सेवा सञ्चालन गरेको छ । प्रिमियम सेवा लिने सेवाग्राहीलाई एउटै कक्षमा चेकजाँच तथा उपचार सेवा उपलब्ध गराउने गरिन्छ । त्यस्तै आँखाको उपचार गर्न आउने बिमारीहरुले अप्रेसन पश्चात आराम गर्नको लागि साधारण र क्याविन बेडको व्यवस्था गरिएको छ । साधारण प्रयोग गर्नेहरुलाई पैसा लाग्दैन भने क्याबिन प्रयोग गर्नेहरुले भने पैसा तिर्नु पर्ने हुन्छ । तिलगंगामा जलविन्दु, आँखाको क्यान्सर, आँखाको नशा, बाल आँखा, रिफ्लायक्टिभ सर्जरी, आँखाको नानी, आँखाको रेटिना र आँखाको प्लाष्टिक सम्बन्धी लगायत उपचार हुने गर्छ । अस्पतालका कार्यक्रम तिलगंगाले बिमारीहरुको उपचार गर्नुको अलावा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गर्दछ । जुन कार्यक्रमहरु आँखा रोग र उपचारसँग नै सम्बन्धित छन् । केही कार्यक्रम विदेशी दातृ निकायसँग सहकार्य गरेर र केही कार्यक्रम अस्पतालको आफ्नै व्यवस्थापन गर्ने गर्दछ । नेपाल आँखा बैंक यो अस्पतालले सञ्चालन गर्दै आएको नेपालकै एउटा त्यस्तो कार्यक्रम हो जो अन्य अस्पतालहरुले सञ्चालन गर्दैनन् । आँखा बैंकको लागि अस्पतालले वीर अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताल, गंगालाल अस्पताल, पशुपति आर्यघाट र विद्युतीय सवदाहमा आँखा बैंकका केन्द्रहरु सञ्चालन गरेको छ । त्यस्तै अस्पतालले सञ्चालन गर्ने गरेको अर्को महत्वपूर्ण कार्यक्रम इन्ट्रयाकुलर ल्याब हो । जसले इन्ट्र्याकुलर ल्याबबाट इन्ट्रयाकुलर लेन्सको उत्पादन गर्ने गरिन्छ । अस्पतालले उत्पादन गर्ने इन्ट्रयाकुलर लेन्सको बिक्री ७० वटा भन्दा धेरै मुलुकमा हुने गरेको छ । अस्पतालले अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यमा आँखा शिविर, अस्पतालहरुको सञ्चालन, सामुदायिक आँखा केन्द्र, एकेडेमिक एण्ड ट्रेनिङ विभाग, रिसर्च विभाग, एक्सपोजर ट्रेनिङ र हिमालयन क्याटर्याक्ट प्रोजेक्ट सञ्चालन गर्ने गरेको छ । साथै यतिबेला अस्पतालले काठमाडौं आँखा अध्ययन भन्ने सर्वेक्षण पनि गरिरहेको छ । सो अध्ययनमार्फत काठमाडौंबासीको आँखाको अवस्था थाहा हुने बताइएको छ । आम्दानी तथा खर्च व्यवस्थापन गौशालामा रहेको तिलगंगा केन्द्रीय आँखा अस्पतालमा ३६ जना डाक्टर सहित २ सय भन्दा धेरै कर्मचारीले काम गर्छन् । त्यस्तै अस्पतालको लगानी तथा व्यवस्थापनमा सञ्चालनमा रहेका अन्य ठाउँका अस्पताल, सामुदायिक आँखा केन्द्र र आँखा बैंक युनिटमा २ सय भन्दा धेरै कर्मचारीहरुले काम गर्छन् । अस्पतालका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीका अनुसार अस्पताल आफ्नै आम्दानीबाट पूर्ण रुपमा आत्मनिर्भर भएर सञ्चालन भइरहेको छ । उनका अनुसार अस्पतालले उपचार लगायत धेरै शिर्षकबाट आम्दानी गर्ने गर्छ । अस्पतालमा दैनिक एक हजार भन्दा धेरै आँखाका बिमारीहरु उपचार गर्न आउने गर्दछन् । अस्पतालले दैनिक ८० भन्दा धेरै बिमारीलाई सर्जरीको सुविधा प्रदान गर्ने गर्छ । यो अस्पतालको नियमित आम्दानीको स्रोत हो । त्यस्तै अस्पतालले लेन्सको उत्पादन गरेर ७० वटा भन्दा धेरै देशमा बिक्री गर्ने गर्दछ । अस्पतालले बिक्री गर्ने लेन्स अन्य मुलुकमा उत्पादन भएर आउने भन्दा धेरै सस्तो छ । तिलगंगाले विदेशी अनुसन्धान तथा तालिमको लागि विदेशी संस्थाहरुसँग साभेदारी गरेर कतिपय काम गरेको छ । जसको माध्यमबाट पनि सो अस्पतालमा स्कलरसिप लगायत विभिन्न माध्यमबाट अनुसन्धान तथा अध्ययन गर्न आउने गर्दछन्, यसरी सो शिर्षकबाट पनि अस्पतालले नियमित रुपमा राम्रो आम्दानी गर्ने गर्दछ । अस्पतालले बिमारीहरुलाई अन्य अस्पतालहरुको तुलनामा सस्तो र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । ‘हामीले गरिबहरुलाई निःशुल्क र अन्यलाई सस्तोमा उपचार गरिरहेका छौं तर, हामीले घाटामा रहेर बिमारीको उपचार गरिरहेका छैनौं बरु अस्पताल निरन्तर ग्रोथको दिशामा नै छ, यहाँ गुणस्तरीय प्रविधिको पनि व्यवस्था रहेको छ,’ अस्पतालका प्रमुख सञ्चालन अधिकृत अधीकारीले भने । अस्पतालमा काम गर्ने डाक्टर तथा कर्मचारीहरुले पनि देशमा नै सबैभन्दा राम्रो सेवा सुविधा लिएको उनको भनाइ छ । अस्पतालले सञ्चालन गर्ने शिविर र तालिमहरु विदेशी संस्थाहरुसँग साझेदारी गरेर गर्ने हुँदा ती कार्यक्रमहरुमा अस्पतालले खासै खर्च गर्नु पर्दैन् । अस्पताललाई विदेशी संस्था र नेपाल सरकारले सहयोग गरेतापनि नियमित सञ्चालनको लागि सहयोग गरेका छैनन् । अस्पताललमा कसैको सेयर नभएको र नाफाबापत कसैले पैसा दिनुनपर्ने हुँदा बचेको पैसाले अस्पतालको विभिन्न पक्षमा थप विकास र कर्मचारीहरुको सेवा सुविधामा खर्च गर्न सकिने अवस्था रहेको सञ्चालन प्रमुख अधिकारी बताउँछन् ।