ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अध्यक्षमा पुनः दीपक कुँवर

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर पुनः निर्वाचित भएका छन् । ग्राण्डी अस्पतालको १० औं साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले कुँवरलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो । इञ्जिनियर कुँवर स्थापनाकालदेखि नै ग्राण्डीको अध्यक्ष हुन् । यस्तै ग्राण्डीको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर विजयराज भण्डारी, सुनिलराम वैद्य, मीरा अधिकारी, पङ्कज बास्कोटा र फुर्पा दोर्जे लामा निर्वाचित भएकाे निर्वाचन समितिले जनाएको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०६९ मा टोखा नगरपालिका वडा नं ८ धापासीमा स्थापना भएको ग्राण्डीले दुई सय नौ शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अठ्ठाइस रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा झण्डै एक हजार डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन् ।

उच्च रक्तचापका बिरामी दिनप्रतिदिन बढ्दै

काठमाडौं । यहाँ नसर्ने रोगमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्लामा पछिल्लो एक वर्षको अवधिमा नसर्ने रोगमध्ये पहिलो सूचीमा रहेका उच्च रक्तचापका १४ हजार चार सय २० बिरामीको उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अस्वस्थकर खानपान, सहरीकरण, गरिबी, शारीरिक निष्क्रियता, सूर्तिजन्य तथा मरिदाजन्य पदार्थको सेवनका कारण नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या बढी रहेको कार्यालयका प्रमुख डा पुरुषोत्तमराज सेढाईँले बताए । उनका अनुसार जिल्लास्थित स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट तथ्याङ्कानुसार जिल्लामा नसर्ने रोगमध्ये उच्च रक्तचापका बिरामीको सङ्ख्या अधिक रहेको पाइएको हो । यस्तै दोस्रो सूचीमा दीर्घ श्वासप्रश्वासका बिरामी रहेका छन् । पछिल्लो एक वर्षमा दीर्घ श्वासप्रश्वासका छ हजार सात सय ९१ बिरामीको उपचार भएको छ । यसैगरी नसर्ने रोगअन्र्तगतको अन्य मुटुरोगसँग सम्बन्धितका पाँच हजार ८०, मधुमेहका दुई हजार छ सय ५९, एन्जाइटी चिन्ता÷डरका एक हजार दुई सय २२, डिप्रेशन दिक्दारीका सात सय ९६, दीर्घ मादक पदार्थ तथा ड्रग्स सेवनका पाँच सय ७३ बिरामीको उपचार भएको जनाइएको छ । यसैगरी जिल्लामा मुटुको बाथ रोगका चार सय १०, मानसिक रोगसँग सम्बन्धित न्यूरोसिसका दुई सय ७७, मानसिक असन्तुलनका दुई ६६, कडा खालको मानसिक रोगका दुई सय १३ जनाको उपचार गरिएको हो । यस्तै एक वर्षको अवधिमा जिल्लामा मुटुसम्बन्धीका विभिन्न रोगका २६ हजार दुई सय ५७ र मानसिक रोगसँग सम्बन्धित विभिन्न रोगका तीन हजार नौ सय ८३ बिरामीको उपचार भएको जनाइएको छ । सहरीकरणका कारण मानिसको खानपान, रहनसहनमा परिवर्तन आएसँगै शारीरिक व्यायाम नगर्दा पछिल्लो समय नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको अनुसन्धानले देखाएको सेढाईँले बताए । ‘नसर्ने रोगका बिरामीअन्तर्गत पनि मुटुरोगसँगै पछिल्लो समय जिल्लामा मानसिक रोगीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको पाइयो’, उनले भने । सेढाईँका अनुसार जिल्लाका विभिन्न अस्पताल तथा निजी स्वास्थ्य संस्थामा उपचार गरेका सबै बिरामीको तथ्याङ्क सूचना प्रणालीमा प्रविष्ट नभएको हुनसक्ने भएकाले जिल्ला बाहिर तथा जिल्लामा रहेका विभिन्न अस्पतालमा उपचार गराउने बिरामीको सङ्ख्या क्रमशः उक्त प्रणालीमा ल्याइने बताए । यसैबीच कार्यालयले जिल्लाका सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि नसर्ने रोगको चरणबद्धरूपमा आधारभूत तालिम सञ्चालन गरेको छ । यससम्बन्धी हालसम्म करिब एक सय स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकेको तथा बाँकीलाई पनि दिइने कार्यालयले जनाएको छ । तालिमका लागि विश्व स्वास्थ्य सङ्गठन, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायतले सहयोग गरिरहेका छन् । कार्यालयले जिल्लास्थित स्वास्थ्य संस्थामा स्तरअनुसारका नसर्ने रोगको औषधिको उपलब्धता, रगत जाँच, पिसाब परीक्षण, मधुमेह, प्रोटिन जाँच गराउने उपकरण उपलब्ध गराउँदै आएको छ । रासस

मल्ल ग्रुपले नर्भिक अस्पतालमा छालाको उपचारको लागि भित्र्यायो नयाँ प्रविधि

काठमाडौं । मल्ल ग्रुप अफ कम्पनिजले नेपालमा पहिलो पटक डर्मा क्लियर नामक उपचार सुरु गरेको छ । कम्पनीले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा यसको उपचार सुरु गरेको हो । डर्माक्लियर धरती मेडिटेकले नर्भिक अस्पतालमा लन्च गरेकाे हो । कम्पनीले २९ वर्षदेखि सबै प्रकारका गुणस्तरीय लेजर मेसिन, न्युरो सर्जरी उपकरण र उच्च गुणस्तरको अस्पतालका फर्निचरहरु भित्राउँदै आएको छ । धरती मेडिटेक र मल्ल ग्रुप अफ कम्पनीज स्वास्थ्य सेवा क्षेत्रमा विश्वका उत्कृष्ट कम्पनीहरूका लागि आयातकर्ता र वितरक हुन् । ‘यस डर्मा क्लियर उपचार प्रक्रिया पीडादायी हुँदैन । उपचार पछि तुरुन्तै आफ्नो नियमित गतिविधिमा फर्कन सक्छ,’ मल्ल ग्रुप अफ कम्पनिजका अध्यक्ष राम शरण मल्लले भने, ‘पहिलो उपचार पछि नै राम्रो परिणाम देख्न सकिन्छ । छाला ताजा र सफा देखिन्छ। यस उपचारले रक्त प्रवाह र नयाँ कोशिकाहरूको पुनरुत्थानलाई पनि मद्दत गर्दछ र छालाको नवीकरण प्रक्रियालाई गति दिन्छ ।’ यस उपचारमा तीन चरणहरु पर्दछन् । पहिलो चरणमा मरिसकेको छालाका कोशिकाहरूलाई छालाको बाहिरी तहबाट बिस्तारै र कुशलतापूर्वक हटाइन्छ जसले छालालाई सफा र ताजा बनाउँदछ र स्वस्थ छालाको सतहलाई उजागर गर्दछ । अर्को चरणमा छालाबाट फोहोर, सूक्ष्म प्रदूषक र अशुद्ध तत्वहरुलाई सक्शन उपकरण प्रयोग गरि हटाईन्छ र अन्तमा एक उपकरणले एन्टिअक्सिडेन्ट र एन्टी–एजिंग सीरमलाई छालामा हालिन्छ । यसो गर्नाले छाला चम्किलो र स्वस्थ हुन्छ । डर्मा क्लियर छाला सम्बन्धि अन्य विविध उपचारहरुभन्दा अघि हुने पूर्व–उपचारको रूपमा पनि प्रयोग गर्न सकिने मल्लले बताए । डर्मा क्लियर उपचार सबै उमेर समूह र छालाका प्रकारका लागि डिजाइन गरिएको मल्लले बताए ।  ‘डर्मा क्लियर उपचार सेवा सुरु गरेकोमा हामी नर्भिक इन्टरनेशनल अस्पताल तथा विशेष गरी छाला रोग विभागको टोलीलाई बधाई दिन चाहन्छौं,’ मल्लले भने ।