डाक्टरको ‘प्रेस्क्रिप्सन’बिना औषधि बेच्ने पक्राउ

काठमाडौं । लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिलाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा धादिङ गङ्गाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गङ्गाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका–१ का २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडाैं तारकेश्वर–५ गोलढुगा बस्ने २४ वर्षीय सञ्जय पुतुवार रहेका छन् । गङ्गाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधि बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानका क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै फार्मेसीबाट स्पास्पेन ४५० ट्याब्लेट, ट्रमा २४० ट्याब्लेट र ट्रमाडोल ५०० क्याप्सुल प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘५ वर्षपछि सबै अस्पताल बन्द हुन्छन्, स्वास्थ्य बीमा नगर्नु’

काठमाडौं । बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले स्वास्थ्य बीमा नगर्न सुझाव दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले स्वास्थ्य बीमा नगर्न सुझाव दिएका हुन् । ‘मेरो सुझाव बीमा नगर्नुस्, रुवाएर छोड्छ,’ उनले भने । अहिले अप्रत्यक्ष रुपमा बीमितले दुःख पाउने गरेको भन्दै उनले स्वास्थ्य बीमाबाट कुनै फाइदा नहुने बताएका हुन् । बीमा गरेपछि जुन हस्पिटलमा भनिएको छ त्यसमा प्रत्यक्ष गर्न पाउनुपर्नेमा पहिला सरकारी अस्पतालमा गएर, त्यहाँबाट रिफर गरेर मात्रै निजी हस्पिटलमा रिफर हुने गरेको छ । जसले गर्दा बीमितले दोहोरो दुःख पाउने गरेको प्रसाईं बताउँछन् । ‘यसको मतलब जुन हस्पिटललाई दिने हो उसलाई डाइरेक्ट देऊ, बीएण्डसी देखाएर बीमा गरेको छ भने डाइरेक्ट देऊ, नोबेल देखाएर गरेको छ भने डाइरेक्ट देउ, बीमित बिहानै आओस्, लाइन बस्नु परेपनि बसोस्, तर, एउटामा ३/४ घण्टा लाइन बसेर झमेला खेपिसकेकोलाई पछि अर्कोमा रिफर गरिदिन्छ, त्यहाँ पनि त्यस्तै झमेला खेप्नुपर्छ, यसको मतलब यो बीमा गरेको हो की सजाय दिएको हो सरकारले ?, प्रसाईंले प्रष्टाउँदै भने । साथै, नेपालमा उद्योगधन्दा गर्नु तथा कलकारखाना खोल्नु भनेको जेलमाभन्दा सजाय भोगेर बस्नु जस्तै रहेको उनको गुनासो छ । नेपालमा १४० वटा नर्सिङ कलेज बन्द भएको जानकारी गराउँदै अब दुई तीन वर्षपछि फिलिपिन्सबाट बिएण्डसी मेडिकल कलेजले नर्स ल्याउने उनले बताए । विभिन्न कलेजहरु बन्द भएपछि नर्सिङ म्यानपावर नपाउने भएकाले फिलिपिन्सबाट नर्स ल्याउनु पर्ने बाध्यता आउने भएकाले त्यसको तयारी समेत थालिसकेको उनले बताए । भिडियो हेर्न यसमा क्लिक गर्नुहोस् साथै, प्रसाईंले अबको ५ वर्षभित्र नेपालका सबै हस्पिटल बन्द हुने बताएका छन् । ‘अबको ५ वर्षपछि नेपालमा भएका सबै हस्पिटल बन्द हुँदैछन्, किनभने डा. गोबिन्द केसी अनसन बसेपछि जुन चिकित्सा शिक्षा ऐन आयो, त्यो एउटा मिसनका साथ आएको थियो, त्यसले देशमा भएका १५० वटामध्ये १३७ वटा नर्सिङ कलेज बन्द गर्यो, कलेज बन्दपछि नर्सिङ नेपालमा पढ्न नपाउने, नेपालका नर्सहरु विदेश जाने, केही नर्स काम गर्न नसक्ने अवस्थाका हुने जस्ता समस्या आउँछन्, र प्रडक्ट नभएपछि नेपालका नर्सहरु ५/७ वर्षभित्रमा सकिन्छन्,’ उनले थप प्रष्ट पार्दै भने । प्रसाईंका अनुसार बि एण्ड सी मेडिकल कलेजले नर्स नपुगेर फिलिपिन्सबाट नर्स ल्याउन शुरुवात गरिसकेको छ । नेपालमा प्रडक्ट नभएपछि नेपालले इन्डिया, फिलिपिन्सबाट नर्स ल्याउनु पर्ने बाध्यता आउने बताउँदै उनले आफुले अहिले नै फिलिपिन्सबाट नर्स ल्याउने प्रकृया अघि बढाएको जानकारी गराए । ‘मैले यहाँ एउटा नर्सलाई २/३ लाख दिएर उपचार गर्ने, डक्टरलाई ५/१० लाख दिएर उपचार गर्ने, बैंकको व्याज १८ प्रतिशत तिरेर हामीले कस्तो खालको सुविधा दिन्छौं,’ उनले भने- ‘हामीले एमबीबीएस पढ्न बाहिर पठायौं, नर्स पढ्न बाहिर पठायौं, प्लस टुदेखि बाहिर पठायौं, अब बिरामी पनि बाहिर पठाउँदै छौं, त्यसैले यी भएका हस्पिटल पनि बन्द हुँदै छ, नेपाल यो वातावरण तिर जाँदै छ, यसमा मनन् गर्न जरुरी छ,’ उनले भने । सम्बन्धित समाचार दुई मेडिकल कलेजले पाएनन् एक अर्ब बढी बीमा भुक्तानी, सेवा रोक्ने घोषणा

दाङमा पहिलोपटक आँखाको क्यान्सरको सफल शल्यक्रिया

तुलसीपुर । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ । शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो । आखाँमा ट्युमर पलाई लामो समयदेखि पीडित रहनुभएका तुलसीपुर उपमहानगरपालिका–१४ निवासी प्रेमबहादुर वलीको शल्यक्रिया गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार साबिक राप्तीमै पहिलो पटक प्रतिष्ठानमा यो शल्यक्रिया सफल भएको हो । वलीले अर्को आँखा पहिलेदेखि नै नदेख्ने थिए । त्यसपछि उनले भरतपुर क्यान्सर अस्पतालसहितका अस्पतालमा उपचार गराउँदा पनि सम्भव हुन सकेको थिए । त्यसपछि वली राप्ती आँखा अस्पताल रक्षाचौर आएपछि त्यहा कार्यरत आँखा क्यान्सर विशेषज्ञ तथा अकु प्लाष्टिक सर्जन डा सुरेश रसाइली नेतृत्वको नेत्र चिकित्सक, असिस्टेन्ट शान्ता रेग्मी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एनेस्थेसियेलोजिष्ट डा कुन्दन घिमिरेको टोलीले प्रतिष्ठानमा बिरामीको आँखाको गेडीलगायत सबै क्यान्सर निकालेर शल्यक्रिया गरेको हो । उच्च जोखिम लिएर आफूहरुले प्रतिष्ठानमा सफल शल्यक्रिया गरेको शल्यक्रियामा संलग्न आँखा रोग विशेषज्ञ चिकित्सक रसाइलीले बताए । आँखा अस्पताल रक्षाचौरमा सामान्य शल्यक्रिया हुने गरेको भए पनि पूरै बेहोस बनाएर शल्यक्रिया हुँदैन । प्रतिष्ठानमा एनेस्थेसियासहितका चिकित्सक र पूरै अत्याधुनिक शल्यक्रिया कक्ष भएकाले पनि शल्यक्रिया गर्न सहज भएको डा रसाइलीले बताए । आँखाको क्यान्सर फैलिएपश्चात् बिरामीको दिमागमा र अन्य शरीरका भागमा असर गर्ने भएकाले बिरामीको जीवन बचाउन शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । रासस