राष्ट्रिय ट्रमा सेन्टर र हेटौंडा अस्पतालमा मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा
काठमाडौं । मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउँन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्य क्षेत्र अन्तर्गतमा मिदास टेक्नोलोजी सफ्टवेर मार्फत सुरु गरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा यस सेवाले अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने मिदासले जनाएको छ । यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानसँगै अन्य सरकारी तथा निजी अस्पतालहरुमा समेत उपलब्ध रहेको छ ।
अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे
क्यानबेरा । मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २००० मा ११ हजार सात सयले मिर्गौला प्रतिस्थापन थेरापी लिएकामा सन् २०२० मा त्यो सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएर २७ हजार सात सय पुगेको थियो । अस्पताल भर्ना भएका मध्ये ५३ प्रतिशत डायलासिस (मिर्गौलाले राम्रोसँग काम गर्न छोडेपछि रगतबाट फोहोर हटाउने यान्त्रिक प्रक्रिया)मा थिए र बाँकी मिर्गौला प्रत्यारोपण गराउनेहरू थिए । सन् २०१९/२० मा अस्ट्रेलियामा अस्पताल भर्ना हुने सबैभन्दा धेरै मिर्गौलाका बिरामी रहेका तथा ती मध्ये १४ प्रतिशतले डायलासिस गराएका थिए । एआईएचडब्यूका प्रवक्ता मिरियम लुम ओन तीन महिना वा सोभन्दा बढी समयसम्म रगतबाट फोहोर हटाउन नसक्ने मिर्गौलाको अवस्थालाई ‘क्रोनिक’ मिर्गौला रोग हो भन्दै उनले १७ लाख अष्ट्रेलियालीमा मिर्गौला रोगको प्रारम्भिक लक्षण भएको अनुमान सुनाइन् । उनले धेरै अष्ट्रेलियालीहरू रोगबारे अनजान रहेका पनि बताइन् । मिर्गौला रोगको सबैभन्दा गम्भीर रूप मिर्गौला फेल हुनु हो । मिर्गौलाले काम गर्न नसकेपछि बाँच्नको लागि डायलासिस वा प्रत्यारोपण एकमात्र विकल्प भएको वास्तविकता पनि उनले सुनाइन् । सन् २०२० मा प्रमुख शहरहरूमा बस्नेहरूभन्दासबैभन्दा कम सामाजिक आर्थिक गतिविधि हुने तथा दुर्गम र अति दुर्गम क्षेत्रका मानिसले मिर्गौला प्रतिस्थापन थेरापी गराएका थिए ।
उपत्यका बाहिर ७ वटा विशिष्टीकृत अस्पताल बन्ने, सरकारले छुट्टायो बजेट
दाङ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार सय श्यया बनाउन बजेट विनियोजन भएको र अर्थ मन्त्रालयबाट पत्र आइसकेको बताएका छन् । रिपोर्टस् क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले उपत्यकाभन्दा बाहिर सात वटा विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार प्रतिष्ठानलाई पनि त्यसमा जोड्न सफल भएको बताए । निकट भविष्यमा प्रतिष्ठानलाई छ सय श्ययाको बनाउने गरी योजना अघि बढेको उनको भनाइ छ । दाङमा १८ वटा डायलासिस मेसिन ल्याउन सकिएको भन्दै यसको तत्काल जडानको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । राज्यमन्त्री केसीले टरिगाउँ विमानस्थलको विकल्प खोज्ने विषय तत्काल आवश्यक नभएको बताए । ‘अहिले विकल्प कहाँ खोज्ने,’ उनले भने, ‘बरु भएकैलाई स्तरवृद्धि गरौँ, यसमा म प्रतिबद्ध छन् ।’ यो विमानस्थलमा ७२ सिटे वा ४२ सिटे जहाज अवतरण गराउन सकिएमा ठूलो राहत हुने उनको भनाइ छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका राज्यमन्त्री केसीले दाङ क्षेत्र नं ३ मा उम्मेदवारका लागि आफ्नो दाबी रहनेसमेत बताए । यसअघि आफू यही क्षेत्रबाट निर्वाचित भएकाले अहिले पनि स्वभाविकरुपमा दाबी रहने उनको भनाइ छ । रासस