बैतडीका बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’ दिइने
बैतडी । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप अभियान सञ्चालनको तयारी गरिएको हो । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार यही भदौ ५ देखि ९ गतेसम्म उक्त खोप अभियान सुरु हुनेछ । यसका लागि पाँच सय ६८ खोप कार्यकर्ता र एक हजार एक सय ३६ स्वयंसेवक परिचालन गरिने जनाइएको छ । यहाँका सात स्थानीय तहमा यही भदौ ८ सम्म र बाँकी तीन पालिकामा ९ गतेसम्म अभियान सञ्चालन हुने भएको छ । जिल्लाको मेलौली नगरपालिकासहित सुर्नया, शिवनाथ, पञ्चेश्वर, डिलाशैनी, सिगास र दोगडाकेदार गाउँपालिका ८ गतेसम्म सञ्चालन हुने र पाटन, पुर्चौडी, दशरथचन्द नगरपालिकामा भने ९ गतेसम्म अभियान सञ्चालन हुने जनाइएको छ । जिल्लामा उक्त उमेर समूहका ३८ हजार पाँच बालबालिका रहेका र उनीहरूलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन भइरहेको हो । जिल्लाभरि पाँच सय ६२ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको पहिलो मात्रा दिएको २१ दिनपछि दोस्रो मात्रा दिइनेछ । जिल्लामा हालसम्म एक लाख ७८ हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् भने ९७ हजार छ सय १९ जनाले ‘बुस्टर डोज’ लगाएका छन् । कोरोनाकै कारण यहाँ १९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए। सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ । बैतडीमा हालसम्म एक लाख ७८ हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् भने ९७ हजार छ सय १९ ले ‘बुस्टर डोज’ लगाएका छन् । भारतसँग सीमा जोडिएको यस जिल्लामा हालसम्म तीन हजार चार सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
मेची प्रादेशिक अस्पताललाई ‘हेमोडायलायसिस सेवा’ सञ्चालन गर्न निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई ‘हेमोडायलायसिस’ सेवा आफै सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको गत साउन १६ गते बसेको बैठकले अस्पताललाई तीन महिनाभित्रमा सो सेवा आफैँ सञ्चालन गर्न निर्देशन दिने निर्णय गर्दै पत्र समेत पठाएको हो । पत्रमा साझेदार संस्थासँगको सहकार्यमा सञ्चालन भइरहेको भएमा तीन महिनाको समायावधिभित्र मन्त्रालयअन्तर्गतका सबै तहका अस्पताल, स्वास्थ्य संस्था स्वयंले सञ्चालन गर्न आवश्यक व्यवस्थापन गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ । मेची प्रादेशिक अस्पतालका प्रशासन प्रमुख रेखनाथ दाहालले पत्रका बारेमा अस्पताल व्यवस्थापन समितिलाई समेत जानकारी गराइसकिएको बताउनुभयो । अस्पतालले विसंं २०७४ भदौ ९ गतेदेखि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रु ५० लाखको लागतमा निःशुल्क होमोडायलायसिस सेवा सञ्चालनमा ल्याएको थियो । सुरुमा चार मेसिनबाट विपन्न मिर्गौला रोगीका लागि सहजरूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सो सेवा सञ्चालनमा ल्याइएको हो । तर अस्पतालले विसं २०७७ पुस १ गतेदेखि काठमाडौंको विराङ्ग हेल्थ केयरलाई हेमोडायलायसिस सेवा सञ्चालन गर्ने जिम्मा दिएको थियो । उक्त कम्पनीसँग पाँच वर्षका लागि सम्झौता गरिए पनि महाशाखाको पत्रलाई आधार मानेर सोबारे कम्पनीलाई जानकारी गराइसकिएको उनको भनाइ छ । उनले हाल कम्पनीले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन नसकेको, कर्मचारीलाई समयमै तलब नदिएको लगायतका गुनासो आइरहेकै समयमा महाशाखाको पत्र अस्पताललाई समेत आएको जानकारी दिए। विराङ्ग हेल्थ केयर शाखाका व्यवस्थापक शेरबहादुर चौधरीले मौखिक रूपमा अस्पतालबाट जानकारी आए पनि लिखितरूपमा अझै पत्र नआएको बताए । उनले अस्पतालसँगको सम्झौताअनुसार नै हाल १३ डायलायसिस मेसिनबाट सेवाग्राहीलाई सेवा दिँदै आएको जानकारी दिए। उनले हाल संस्थाले भवनसमेत बनाएर प्रभावकारी र आकस्मिक सेवा सञ्चालन गर्दै आएको दाबी गरे। उनका अनुसार हाल सो संस्थाबाट नियमित ६० मिर्गौलारोगीले सेवा लिइरहेका छन् । हेमोडाइलासिस सेवा सञ्चालन गर्न निजी साझेदार अवधारणालाई हटाउँदै मन्त्रालयले आफू मातहतका अस्पतालबाट सेवा सञ्चालन गर्ने नीति लिएको छ । निःशुल्क सेवा प्रदान गरे वापत मन्त्रालयले सेवा प्रदायक अस्पताललाई एक बिरामी वापत दुई हजार ५०० अनुदान उपलब्ध गराउँदै आएको थियो ।
एचआइभी सङ्क्रमितलाई रामपुर अस्पतालबाटै औषधि
पाल्पा । एचआइभी सङ्क्रमितहरुलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि सहज भएको छ । सङ्क्रमितलाई नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो । हाल यस अस्पतालबाट नियमित औषधि उपलब्ध, परामर्श र परीक्षण पनि गर्न थालिएको छ । यसभन्दा अघि सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट मात्रै नियमित औषधि उपलब्ध हुँदै आएको थियो । बिरामीलाई सहज सेवा दिने उद्देश्यले २०७८ फागुनदेखि उक्त अस्पतालले सङ्क्रमितलाई औषधि वितरण पनि सुरु गरेको हो । अहिले अस्पताललाई कार्यक्षेत्र बनाएर करिब एक सय २० सङ्क्रमित सम्पर्कमा आएको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताउँछन् । रामपुरकी ३२ वर्षीया एक युवती रामपुर अस्पतालबाटै एचआइभी एड्सको नियमित औषधि तथा परामर्श सुविधा पाएपछि सदरमुकाम तानसेन धाउनुपर्ने समस्या टरेको बताउँछिन् । दुई वर्षअघिदेखि उनले युनाइटेड मिसन अस्पतालबाट नियमित रुपमा औषधि सेवन तथा परामर्श सेवा लिँदै आएकी थिइन् । ती युवतीसहित परिवारका चार सदस्य एचआइभी सङ्क्रमित छन् । नियमित खाने औषधि र परामर्श सेवाका लागि तानसेन आवतजावत गर्न खर्चिलो तथा झमेला हुन्थ्यो । अहिले भने गाउँमै रहेको यस अस्पतालबाट सेवा दिन थालेपछि सहज भएको उनीहरु बताउँछन् । एचआइभी सङ्क्रमण भयो भन्दैमा आत्तिनुपर्ने अवस्था नरहेको र नियमित औषधि सेवन, स्वास्थ्यकर्मीसँग परामर्श सेवा लिँदै आत्मबल बलियो बनाइयो भने अरू व्यक्ति सरह नै बाँच्न सकिने सङ्क्रमितहरु आफ्नो अनुभव बताउँछन् । यस क्षेत्रमा एचआइभी सङ्क्रमितका लागि नियमित खाने औषधिको सेवा नहुँदा युनाइटेड मिसन अस्पताल, पोखरालगायत क्षेत्रमा पुगेर बिरामीले सेवा लिँदै आएको अवस्थामा उनीहरुलाई स्थानीयस्तरमा नै रहेको अस्पतालबाट सेवा दिने मनसायले पहल थालिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल बताउँछन् । पछिल्लो समय नियमित औषधि सेवन, स्वास्थ्यकर्मीको सम्पर्कमा रही परामर्श सेवा लिने बिस्तारै बढ्दैछन् । नियमित औषधि सेवन गरी निर्धक्कसाथ आत्मबल बलियो बनाएर अन्य व्यक्ति सरह नै जीवन जिउन सकिने हुँदा केही व्यक्ति समाजमा खुलेरै हिँड्ने पनि गरेको पाइन्छ । समाज र आफन्तको डर, लाजका कारण अन्य सङ्क्रमित अझै पनि खुल्न सकिरहेका छैनन् । गाउँमा औषधि सेवा वितरण भइरहे पनि अझै पनि यहाँका केही बिरामी भने डर र लाजका कारण अन्यत्र नै सेवा लिन जाने गरेको पाइएको छ । रासस