स्वास्थ्य परीक्षण गर्ने संस्था काठमाडौंमै राखिरहने कसरत, व्यवसायीको हितमा मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय विदेश जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुलाई संघीयता बमोजिम विकेन्द्रिकरण गर्न अनिच्छुक देखिएको छ । कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको ठूलो हिस्सालाई काठमाडौं उपत्यकामा नै केन्द्रित राख्नेगरी नवीकरणको प्रकृया अगाडि बढाएसँगै मन्त्रालयले स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु काठमाडौं उपत्यकामा नै राख्न चाहेको छ भन्ने देखाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार गत असारको १२ गतेसम्म विदेशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको संख्या २ सय १६ वटा रहेको छ । जसमध्ये १ सय ७९ वटा स्वास्थ्य संस्था काठमाडौं उपत्यकाभित्र मात्रै रहेका छन् भने बाँकी ३७ वटा मात्रै उपत्यका बाहिर छन् । मन्त्रालयले मंसिरको १५ गते एक सूचना जारी गर्दै विगतदेखि नै सञ्चालनको अवस्थामा रहेका स्वास्थ्य संस्थाहरुलाई नै निरन्तरता दिनेगरी नवीकरणको सूचना प्रकाशन गरेको छ । मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४, को दफा २७ तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ क को उपनियम ९५० बमोजिम मन्त्रालयमा सूचिकृत भएका संस्थाहरुलाई नवीकरणको लागि सूचित गरेको छ । मन्त्रालयको सूचनाअनुसार ती संस्थाहरुले आगामी पुस मसान्तभित्र कानूनी प्रकृयाअनुरुप आफ्नो संस्थाको नवीकरण गरिसक्नुपर्नेछ । मुलकमा नयाँ संविधान बनेर पहिलो निर्वाचित सरकारको कार्यकाल सकिएर नयाँ सरकार निर्माण हुने समय प्रारम्भ भइसकेको छ । राज्यका धेरै निकायका अधिकार र दायित्वहरु संवैधानिक नयाँ व्यवस्था अनुरुप स्थानीय र प्रदेश तहमा बाँडफाँड भइसकेका छन् । तर, लाखौं नेपालीको रोजीरोटीसँग जोडिदै आएको वैदेशिक रोजगार क्षेत्रलाई भने जनताको पहुँचमा पुर्याउन राज्यको सम्बन्धित केन्द्रीय तहले नै रुची नदेखाएको देखिन्छ । आर्थिक वर्ष ०७८र७९ मा नेपालबाट व्यक्तिगत र संस्थागत रुपमा ६ लाख ३० हजार ९० जना नेपालीहरु काम गर्नको लागि विदेश गएका थिए । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा काठमाडौं, भक्तपुर र ललितपुर स्थायी ठेगाना भएका जम्मा ११ हजार ९ सय ९० जना व्यक्तिहरु मात्रै वैदेशिक रोजगारको लागि गएका थिए । विभागकै तथ्यांकअनुसार गत आर्थिक वर्षमा सुदुरपश्चिम प्रदेशको मुकाम रहेको कैलाली जिल्लाबाट वैदेशिक रोजगारको लागि ४ हजार ४ सय २९ जना विदेश गएका थिए । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अहिलेसम्म सुदुरपश्चिम प्रदेशमा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने एउटा संस्था पनि छैन । प्रदेश तह र जिल्लास्तरको तथ्यांकबाट हेर्दा केही हिमाली जिल्लाबाहेक भौगोलिक रुपमा विदेश जाने कामदारको संख्याको अनुपातमा धेरै भिन्नता देखिँदैन । तर, वैदेशिक रोजगारमा जाने नेपाली कामदारको कुल संख्यामा १ दशमलब ९० प्रतिशत मात्रै रहेको काठमाडौं उपत्यकामा कामदारको स्वास्थ्य परीक्षण गर्ने कुल संख्याको ८२ दशमलब ८७ प्रतिशत रहेको छ । काठमाडौं र ललितपुर जिल्लामा मात्रै केन्द्रित रहेका स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुलाई नै पुनः कायम राख्ने र आम जनताको पहुँचमा ती संस्थाहरुलाई नपुर्याउने ढंगले मन्त्रालयले कामलाई अगाडि बढाएको छ । अहिलेसम्म श्रम मन्त्रालयले देशका मुख्य सहरमा श्रम कार्यालयको विस्तार गरेको छ । तर, ती कार्यालयहरुसँग स्वास्थ्य परीक्षणलाई नजोड्दा विदेश जाने श्रमिकहरु काठमाडौं नै आउनुपर्ने अवस्था कायमै रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले भने मन्त्रालयले सेवाको विकेन्द्रीकरण गर्ने विषयमा सोचेको बताउँछन् । तर, विगत ५ वर्षदेखि सो विषयमा मन्त्रालयले यथेस्ट रुपमा कामलाई अगाडि बढाउन नसकेको सन्दर्भलाई स्वीकार गर्दै उनले सेवाको बिकेन्द्रीकरण गर्ने विषयमा धेरै काम बाँकी रहेको बताए । ‘अहिले नवीकरणको लागि निकालिएको सूचना नियमित अन्तर्गतको पाटो हो तर मन्त्रालय सेवालाई विस्तार गर्ने विषयमा गम्भीर छ’, उनले भने । संविधानअनुसार सेवालाई बिकेन्द्रीकरण गर्ने विषयमा मन्त्रालय प्रो–एक्टिभ भएर लाग्नुपर्नेमा त्यसो हुन नसकेको घिमिरेले बताए । ‘काठमाडौं केन्द्रित भएर दर्ता गरी सञ्चालन हुँदै आएका संस्थाहरुलाई बाहिर जाउ भन्ने अवस्था पनि छैन्, उनीहरुले पनि आफ्नो व्यवसायिकता अनुरुप यहीँ रहन खोज्लान् तर सेवा विस्तारको लागि प्रो–एक्टिभ भएर लाग्नुपर्ने हामी हो, त्यसो हुन सकिरहेको छैन ।’

चितवन प्रहरी शिक्षालयमा एकदिने योग विज्ञान शिविर

भरतपुर । चितवनमा प्रशिक्षणमा रहेका प्रहरीका लागि एकदिने योग विज्ञान शिविर गरिएको छ । आइतबार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो । पतञ्जली योग समितिको सहकार्यमा गरिएको शिविरमा प्रहरी जवानदेखि नायब प्रहरी महानिरीक्षक उपस्थिति रहेको थियो । कार्यक्रममा पतञ्जली योग समिति केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण गराएका थिए । योगले मानिसलाई तन्दरुस्त बनाउनका साथै सकारात्मक सोँच दिने भएकाले प्रहरीलाई योग प्रशिक्षण दिइएको हो । योग शिविर तीन घण्टासम्म चलेको थियो । पतञ्जलीका संरक्षक पूर्व नायब प्रहरी महानिरीक्षक ज्ञानेन्द्रबहादुर महतले बर्सेनि देशभरका प्रहरीलाई यस्तो शिविरमा सहभागि गराउने लक्ष्य लिइएको बताए । कार्यक्रममा पतञ्जली योग समिति चितवनका संरक्षक टङ्कनाथ पौडेल, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

बारामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरियो

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजनामा कलेज अफ मेडिकल साइन्स भरतपुरका चिकित्सकहरुद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारी, उनीहरुका आश्रित परिवारजन लगायत स्थानीय सर्वसाधारणकोे लागि यही मंसीर २४ गते बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडा परिषरमा र २५ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ गण पिलुवा बारामा उक्त स्वास्थ्य शिविर संचालन गरिएको हो । सो स्वास्थ्य शिविरमा नेपाल प्रहरीका ७२ जना तथा सशस्त्र प्रहरी बल नेपालका १३२ जना र स्थानीय सर्वसाधारण ११६ जना गरी कुल ३२० जनाको स्वास्थ्य परिक्षण गर्नुकासाथै निःशुल्क रुपमा औषधी वितरण समेत गरिएको थियो । सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुशुमलता सिंहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले मायाको चिनो प्रदान गरेका थिए । त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललाई बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले निःशुल्क स्वास्थ्य शिविर संचालनबाट प्रदेश स्थित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुको मात्र नभई स्थानीय सर्वसाधारणहरुको समेत स्वास्थ्य परिक्षण गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरे । कार्यक्रमा प्रदेश स्थित नेपाल प्रहरी श्रीमती संघ तथा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत स्थानीय भद्रभलाद्मी र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।