चिसोमा यसरी स्वास्थ्यको ख्याल गरौं

काठमाडौं । देशभर तापक्रम घट्दै गएको छ । घट्दो तापक्रम र आद्रतामा छाला, स्वासप्रश्वास, झाडापखालादगायतले स्वास्थ्यमा समस्या देखिन्छ । डा अभिजित अधिकारीका अनुसार जाडोयाममा स्वासप्रश्वास र नाकबाट रगत बग्ने समस्या देखिन्छ । उनका अनुसार सुख्खा हावाका कारण आखाँ, छाला र नाकमा समस्या देखिन सक्छ । जाडोयाममा शरीरलाई चिसोबाट बचाउनु नै रोगबाट टाढा राख्ने पहिलो उपाय भएको अधिकारीको भनाइ छ । ‘अधिकांश समय कोठाको तापक्रम २६ डिग्री राख्न उपयुक्त हुन्छ । तापक्रमसँगै हावाको आद्रताको पनि विशेष ख्याल राख्नुपर्छ,’ उनी भन्छन्, ‘नाक, कान, औँलाको चुच्चो संवेदेनशिल हुन्छन् त्यसैले चिसो पानी प्रयोग कमै गर्नुपर्छ, भिडभाडमा हिँड्दा माक्सको प्रयोग गरे यस्ता समस्याबाट बच्न सकिन्छ ।’ चिकित्सकका अनुसार चिसोमा छालासम्बन्धी समस्याबाट बच्न मोस्चराइजर र जेलयुक्त क्रिमको प्रयोग गर्न सकिन्छ । यस्तै, नाक सुख्खा हुने समस्या भएमा कोठामा खाली भाँडोमा पानी राख्दा आद्रता सन्तुलन हुने गर्छ । बालबालिका र दीर्घरोगीको ख्याल राख्नपर्छ चिकित्सका अनुसार जाडोयाममा बालबालिकामा रोटा भाइरसको जोखिम हुन्छ । डा अधिकारी भन्छन्, ‘रोटा भाइरसले विशेषतः बालबालिकामा झाडापखाला र वान्ताको समस्या धेरै देखिन्छ । स्कुले बालबालिकामा यो भाइरस छिटो सर्न सक्छ ।’ स्वच्छ खानेपानीको प्रयोग नै यस भाइरसबाट बच्ने मुख्य उपाय हो । यस्तै बालबालिकालाई मौसमी फलफुल दिँदा सफा पानीले पखालेर मात्र दिनुपर्छ । स्वस्थ्यकर खानपानमा ध्यान दिनुपर्छ । जाडो महिनामा मधुमेह र दम जस्ता दीर्घरोगीको विशेष ख्याल राख्नुपर्ने चिकित्सक बताउँछन् । डा दिपक मल्ल चिसोयाममा मधुमेहका बिरामीलाई विशेष सचेत हुन आग्रह गर्छन् । ‘मधुमेहका बिरामीले हिटर र आगो ताप्नु हुँदैन् । उहाँहरुको छाला पातलो हुन्छ । धेरै तापक्रमले छाला पोल्ने र घाउ बनाउने जोखिम धेरै हुन्छ ।’ जाडोयाममा ‘मर्निङवाक’ घातक डा मल्ल मधुमेहका बिरामीलाई चिसोमा घाम झुल्किनु अघि मर्निङवाकमा नजान सुझाव दिन्छन् । ‘बिहान तापक्रम एकदमै कम हुन्छ, त्यसमाथि खाली पेटमा हिँड्नु घातक साबित हुन सक्छ ।’ डा अधिकारी पनि मर्निङवाक गर्दा चिसोमा सुख्खा हावाका कारण स्वासप्रश्वासको समस्या बढन् सक्ने बताउँछन् । ‘नाकमुख ढप्प पारेर हिँड्दा वरपर ध्यान नपुग्न सक्छ । यसबाट दुर्घटनाको जोखिम समते बढ्छ,’ उनले भने । यसको विकल्पमा घरभित्रै शारिरीक व्यायाम गर्ने वा घाम लागेपछि बाहिर निस्किन डा अधिकारी सुझाव दिन्छन् । चिसोमा न्यानो कपडा र खानाको प्रयोग गर्नुपर्छ । एउटा मात्र बाक्लो लुगाको सट्टा पातला लुगा एकमाथि अर्को लगाउँदा हावा छेक्न सक्छ । फलफूलले चिसो लाग्छ भन्नु खानाप्रतिको भ्रम जाडोयाममा शरीरको तापक्रम मिलाउन खानाको विशेष भूमिका हुन्छ । पोषणविद् डा उमा निरौला भन्छिन्, ‘जाडोयाममा शरीरको काम बढ्छ, त्यसैले बाहिरको तापक्रम चिसो हुँदा शरीरले बढी ताप निकाल्नुपर्ने हुन्छ, ताप निकाल्नका लागि खानाको आवश्यकता पर्छ, जाडोयाममा प्रशोधन नगरिएका खाना खानुपर्छ, पोसिलो र उच्च गुणस्तरको कार्बोहाइडेट, फाइबर र प्रोटिनयुक्त खाना खानुपर्छ,’ डा निरौलाले भनिन्, ‘फापर, मकै, कोदो, गेडागुडी, सखरखण्ड, आलु, पिँडालु, गहत, सिमी, भट्मासलगायत खानुपर्छ ।’ जाडोमा मौसमी फलफुल खाँदा रुघाखोकी लाग्छ भन्ने कुरा खानाप्रतिको भ्रम हो । मौसमी फलफुल त्यसमा पनि अमिलो फलफुल बढी मात्रामा खानुपर्छ । यी खानाले भाइरसँग लड्न सजिलो हुन्छ । चिया कफीको लत नबनाउन डा निरौलाको सुझाव छ । शारीरिक परिश्रम कम गर्ने ३० वर्ष माथिका उमेर समूहका व्यक्तिले चिनीको प्रयोग गर्न नहुने उनको सुझाव छ । खानामा चिल्लो पदार्थ पनि उत्तिकै आवश्यक हुन्छ । हिमाली र उच्च पहाडी भूभागमा तापक्रम बढी दिने खानाको प्रयोग गर्नुपर्छ । हिमाली भेगमा चियामा घिउ हालेर खाने चलन छ । घिउलगायत चिल्लो पदार्थले तापक्रम बढाउन मद्दत गर्ने चिकित्सक बताउँछन् । रासस

आफूखुसी औषधिको प्रयोगले प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो

रुपन्देही । कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ । तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा झनै बढी बेफाइदा गर्छ । त्यसैले कुनै पनि औषधिको प्रयोग चिकित्सकको सिफारिसमा मात्र गर्नुपर्ने हो । तर हामीकहाँ जथाभावी एन्टिमाइक्रोबियल अर्थात् प्रतिजैविक औषधिको प्रयोग गर्ने प्रवृत्ति छ । यसले जनस्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । साधारण औषधिको तुलनामा एन्टिबायोटिक र एन्टिमाइक्रोबियलजस्ता औषधिको जथाभावी प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर गर्छ । चिकित्सकले सिफारिस गरेको औषधिको पूरा डोज नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा मात्रा मिलाएर औषधि दिन नसक्ने, कतिपय चिकित्सकले किटाणुको जाँच नगरीकनै यस्ता औषधि दिँदा समस्या हुने गरेको हो । चिकित्सकका अनुसार जीवाणु, भाइरस, परजिवी र फङ्गीजस्ता किटाणुबाट मानवलाई हुने सङ्क्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिमाइक्रोबियल भनिन्छ । यस्ता औषधिको अवाञ्छित प्रयोग हुँदा लक्षित सुक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने र तिनले गराउने रोग निको नहुने तथा बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले यसलाई गम्भीररूपमा लिनुपर्ने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा बताउछन् । उनका अनुसार विश्वमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स अर्थात् प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्यको मात्र नभई चिकित्सा विज्ञानको पनि प्रमुख चुनौतीका रूपमा देखापरेको छ । यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टिबायोटिक्सलगायत एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता कम हुँदै गएको छ । ‘सकेसम्म यस्ता औषधिको प्रयोग कम गर्नुपर्छ, कहिलेकाहीँ गर्नैपरे चिकित्सकको सल्लाहबमोजिम कति दिन खाने, कति पटक खाने मात्रा मिलाएर खानुपर्छ’, सचिव देवकोटा भन्छन्, ‘मात्रा मिलाएर औषधि सेवन गरिएन भने अर्कोपटक यही औषधिले काम नगर्न सक्छ ।’ मानिस, पशुपक्षी तथा वनस्पतिका सङ्क्रामक तथा सरुवा रोगका जीवाणुविरुद्ध प्रयोग हुने यी औषधिको सही तरिकाले प्रयोग नहुनाले प्रतिरोध विकास भई सङ्क्रामक रोगको उपचारमा बाधा उत्पन्न हुनजाने देवकोटा बताउछन् । विज्ञका अनुसार पछिल्लो १६ वर्षदेखि ब्याक्टेरिया मार्ने नयाँ औषधि (एन्टिबायोटिक)को खोज हुनसकेको छैन । त्यसअघि बनाइएका एन्टिबायोटिकलाई ब्याक्टेरियाले पचाउँदै गएका छन्, जसलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) भनिन्छ । यही क्रम जारी रह्यो भने सन् २०५० मा बिरामीलाई एन्टिबायोटिकले काम नगरेर मृत्यु हुनेको सङ्ख्या प्रतिवर्ष एक करोड हुने अनुमान विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । जसलाई महामारीकै सङ्ज्ञा दिइएको छ । यसको चपेटामा नेपालजस्ता विकासशील देश बढी पर्ने देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा बर्सेनि एक अर्ब अमेरिकी डलर बराबरको एन्टिबायोटिक्स आयात हुन्छ जुन कूल औषधि आयातको ३० प्रतिशत हो । नेपाली बजारमा करिब तीन सय ६५ ब्राण्डका एन्टिबायोटिक औषधि उपलब्ध छन् र देशभित्रै लगभग ५० कम्पनीले एन्टिबायोटिक औषधि उत्पादन गर्छन् । पशुपक्षीपालनबाट छिट्टै लाभ लिने उद्देश्यले एन्टिबायोटिकको गलत प्रयोग गर्ने र यस्ता मासु र दूधजन्य पदार्थको उपभोगले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने गर्छ । यस्ता मासु र दूधबाट प्रतिरोधी जिवाणु सिर्जना गर्ने सम्भावना हुन्छ, जुन मानिसमा समेत सर्न सक्ने भएकाले यस्तो औषधिको गलत प्रयोगलाई रोक्नुपर्छ भन्छन् पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा परवेज आलम । एन्टिमाइक्रोबियल औषधि रेजिस्टेन्सले गर्दा मानव स्वास्थ्यमा देखिने प्रतिकूल असर न्यूनीकरणका लागि सबै क्षेत्र र समुदायले समयमा नै प्रभावकारी कदम चाल्न आवश्यक रहेको उनको भनाइ छ । निर्देशक आलमका अनुसार एन्टिमाइक्रोबियल अन्तर्गत एन्टिबायोटिक्सर, एन्टिब्याक्टेरियल, एन्टिप्यारासाइटिक, एन्टिभाइरल र एन्टिफङ्गलजस्ता औषधि पर्दछन् । विभिन्न कारणले किटाणु बलियो भई एन्टिमाइक्रोबियल औषधिले शरीरमा काम गर्न छाडेको अवस्था अर्थात् किटाणुलाई औषधिले जित्न नसकेको अवस्थालाई एन्टिमाइक्रोबियल रेजिस्टेन्स वा प्रतिजैविक प्रतिरोध भनिन्छ । जुनसुकै उमेर समूहका र जुन कुनै ठाउँमा बसोबास गर्ने व्यक्तिलाई एन्टिमाइक्रोबियल रेजिस्टेन्स हुनसक्छ । हर्ड इन्टरनेशनलका कार्यकारी निर्देशक डा सुशील बरालका अनुसार एन्टिमाइक्रोबियलको जथाभावी प्रयोग, कमजोर स्वास्थ्य प्रणाली, कमजोर सङ्क्रमण नियन्त्रण तथा रोकथाम व्यवस्था, सबैको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचको अभाव, आफूखुसी औषधि प्रयोग गर्ने चलन र समुदायमा एन्टिमाइक्रोबियल रेजिस्टेन्सबारे उपयुक्त ज्ञान र सचेतनाको अभाव नै समुदायमा एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई बढाउने प्रमुख कारण हुन् । एन्टिमाइक्रोबियल प्रतिरोधी सुक्ष्म जीवाणु फैलिन नदिन चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक आदि औषधिको प्रयोग जथाभावी नगर्ने, असल कृषि र पशुपालन र उत्पादन अभ्यास गर्न उनको सुझाव छ । औषधिको जथाभावी प्रयोग र आफुखुसी औषधिको प्रयोगका कारण नै समस्या बढेको स्वास्थ्यकर्मीको भनाइ छ । ‘चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गरी कति दिन औषधि खाएपछि ब्याक्टेरिया मर्छ भन्ने भनेर हिसाब–किताब गरेर नै औषधिको सिफारिस गर्छन् । तर प्रायः बिरामीले पाँच दिन लेखेको औषधि सञ्चो भयो भने तीन दिनमात्रै खाएर छोड्छन्’, स्वास्थ्यकर्मी मैना सुवेदी भन्छन् । चिकित्सकले भनेअनुसार औषधि प्रयोग नगर्ने आमप्रवृत्ति भएकाले यसलाई बदल्नु जरुरी रहेको उनि बताउछन् । सकेसम्म एन्टिमाइक्रोबियल औषधिको प्रयोग नगर्ने र गर्नैपरे बीचमै छाड्न हुँदैन भन्ने कुराको सचेतना जगाउन आवश्यक रहेको उनको सुझाव छ । विश्व स्वास्थ्य सङ्गठनले एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई १० प्रमुख स्वास्थ्य खतराको सूचीमा राखेको छ । त्यसैले नेपालले पनि यस विषयमा चासो दिँदै सरकारका नीति र कार्यक्रममा यसलाई समावेश गरेको लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेलको भनाइ छ । नेपालमा बढ्दो जनस्वास्थ्य चुनौतीका रूपमा देखा परिसकेको एन्टिमाइक्रोबियल रेजिस्टेन्सको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न नीति–निर्माण गर्नुका साथै सप्ताहव्यापी कार्यक्रम गरेर जनचेतना जगाउने काम गरेको पौडेल बताउछन् । ‘नेपालले १९९० को दशकबाट एन्टिमाइक्रोबियल रेजिस्टेन्सबारे चासो दिँदै आएको हो, तर ठोस प्रगति अझै देखिएको छैन’, मन्त्रालयका प्रवक्ता पौडेल भन्छन् । यसको नियन्त्रणमा सरकारमात्र होइन स्वास्थ्यकर्मी, कृषक तथा पशुपालक तथा सबै सरोकारवाला जिम्मेवार रहेको उनि बताउछन् । ‘हामीले एन्टिमाइक्रोबियल रेजिस्टेन्सको रोकथामका लागि सचेतना अभियान चलाएका छौँ । सरोकारवालासँग यो विषयमा छलफल गरेका छौँ, अगामी दिनमा सबैसँग सहकार्य अघि बढ्छौँ’, प्रवक्ता पौडेल भन्छन् । रासस

चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन्। केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरे। तथ्याङ्क अनुसार आज विहान काठमाडौँ उपत्यकाको तापक्रम ७.६ डिग्रीमा झरेको छ। चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ। जाडो बढेसँगै तराईका कतिपय जिल्लामा हुस्सुसमेत लाग्न थालेको छ। यस्तै घरबाहिर खुला स्थानमा धेरै समय नबस्न, तातो खानेकुरा तातोपानी पिउन समेत आग्रह गरिएको छ। हिटर वा आगो ताप्दा गिजर प्रयोग गर्दा कोठामा राम्रोसँग हावा आवतजावतको व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ। ‘हावा आउजाउको व्यवस्था नहुँदा कतिपय अवस्थामा निस्सासिएर दुर्घटना हुनेपर्ने जस्ता घटना अवस्था आउने गरेको पाइन्छ,’ उनले भने, ‘त्यसैले हिटर गिजर प्रयोग गर्दा हावा आवतजावत हुने ठाउँ रहेको हुनुपर्दछ।’ चिसोले गर्दा मुटु रोग, हृदयघात, फोक्सोमा समस्या श्वासप्रश्वास, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, रुघाखोकी, ज्वरो जस्ता रोगका समस्या देखिन सक्दछ। त्यसैगरी दूषित खाना र पानीबाट अधिकांश रोग सर्ने भएकोले खानेकुरामा ध्यान दिनसमेत मन्त्रालयको आग्रह छ। खानेकुरा र खानेपानी सफा भाँडामा ढाकेर राख्न, खाना बनाउनुअघि र खानुअघि साबुन पानीले राम्रोसँग हात पनि मन्त्रालयले आग्रह गरेको छ।