तारकेश्वर नगरपालिकाका बासिन्दाले अब निःशुल्क रक्त सेवा पाउने

काठमाडौं । तारकेश्वर नगरपालिकाका बासिन्दाले रगतको परीक्षण तथा रक्तथैली शुल्क तिर्न नपर्ने भएको छ । काठमाडौँ उपत्यकामा स्थानीय बासिन्दालाई निःशुल्क रगत सेवा उपलब्ध गराउने नगरपालिकाको अभियानमा तारकेश्वर अर्को पालिका भएको छ । यही पुस ८ गतेदेखि लागू हुनेगरी तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवा निर्देशक दिव्यराज पौडेलले तारकेश्वर नगरपालिका कार्यालय धर्मस्थलीमा आयोजित कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा तारकेश्वर नगरपालिकाको तर्फबाट जनस्वास्थ्य अधिकृत विनोदकुमार शाह र शम्भु पौडेल, नेपाल रेडक्रस सोसाइटीका जनसम्पर्क अधिकृत रामबहादुर श्रेष्ठ र लेखा अधिकृत शम्भु निरौलाले पनि हस्ताक्षर गरेका छन् । नगरपालिका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने र नगरपालिकाबाट केन्द्रीय रक्त सञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गर्ने उद्देश्यले सो सम्झौता गरिएको तारकेश्वर नगर पालिकाका प्रमुख महर्जनले जानकारी दिए । सम्झौता कार्यक्रममा नगरपालिकाका स्वास्थ्य सेवा समितिका डा. लक्ष्मी घिमिरेले तारकेश्वर क्षेत्रमा केन्द्रीय रक्तसञ्चार सेवाको सहकार्यमा रक्तसङ्कलन अभियान सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाको तर्फबाट विभिन्न वडाका वडाध्यक्षलगायत स्वास्थ्य सेवा सम्बन्धित स्वयंसेवक र कर्मचारीको उपस्थिति थियो । सो अवसरमा स्थानीय बासिन्दालाई सुलभ र निःशुल्क रगत उपलब्ध गराउन यो सम्झौता एउटा अर्को महत्वपूर्ण पहल भएको निर्देशक पौडेलले बताए । उनले भने, ‘अन्य स्थानीय निकायसँग पनि सहकार्य बढाउँदै लगिने छ ।’ रगतको आपूर्तिबमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई नगद शोधभर्ना दिइने सम्झौतामा उल्लेख छ । त्यस्तै नगरपालिकका हरेक वडाले वर्षको कम्तीमा दुईपटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन् । नगरपालिकाको स्थायी बासिन्दा भएको वा नगरपालिकामा कार्यरत कर्मचारी भएको प्रमाणित हुने कुनै किसिमको सरकारी कागजात (नागरिकता, मतदाता परिचयपत्र) को प्रतिलिपिको आधारमा केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट निःशुल्क रगतको सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ । साथै दुर्घटनाजन्य अवस्थामा अत्यावश्यक भएमा नगरपालिकाको सिफारिसमा उनीहरुले सेवा पाउने छन् । सम्झौतापूर्व रक्तदानको महत्व र अवस्थाका बारेमा नेरेसोका जनसम्पर्क अधिकृत रामबहादुर श्रेष्ठ र निर्देशक पौडेलले अभिमुखीकरण गरेका थिए । रासस

‘कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पुष्टि भएको छैन’ – स्वास्थ्य मन्त्रालय

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । छिमेकी राष्ट्रहरुमा उक्त भेरियन्टको सङ्क्रमण दर दिनानुदिन वृद्धि हँुदै गएको र प्रारम्भिक प्रतिवेदनअनुसार यस भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई सङ्क्रमण गर्ने देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले रोकथाम एवम् नियन्त्रणका लागि सबै सजग एवम् सचेत हुन जरुरी छ । इसाई धर्मावलम्बीको महान् पर्व क्रिस्मस तथा अङ्ग्रेजी नयाँ वर्ष, २०२३ नजिकिँदै गरेको अवस्थालाई दृष्टिगत गर्दै कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर नियमित प्रयोग गर्नेलगायत जनस्वास्थ्यका मापदण्ड नियमित पालना गर्न/गराउन साथै कोभिड–१९ को अतिरिक्त मात्रा ९बुस्टर डोज० लगाउन बाँकी रहेकाहरुले स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन मन्त्रालयले अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयको सूचना

स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक्ता छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताएका छन् । शनिवार ललितपुरको बाँडेगाउँस्थित पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभुति दिलाउन सरकारले काम गरिरहेको बताए । उनले ज्येष्ठ नागरिको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक्ता रहेको पनि बताए । उनले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उल्लेख गरे । उनले भने, ‘आज किसुनजीको नाममा किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान शुरु भएको कुरा सुन्दा अत्यन्त खुशी लागेको छ । यो अभियानले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभुति दिलाउन मद्दत पुग्नेछ । सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीलाई सुधारको प्रयास गरिरहेको छ । ज्येष्ठ नागरिको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक्ता छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा सबैतिर पुगोस् भनेर सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको छ ।’ प्रधानमन्त्री देउवाले सन्त नेता भट्टराई जस्ता प्रेरणादायी व्यक्तिहरुसँग काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको शुभारम्भ समेत गरेका थिए ।