अब पोलियो विरुद्धको खोप १४ हप्तामा र ९ महिनामा लगाइने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिए । उनका अनुसार एक वर्ष मुनिका बालबालिकाका लागि पहिले छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेकामा अब पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने छ । यस्तै एक वर्ष उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्रमा बालबालिकाले पनि लगाउन सकिने उनले बताए । उनका अनुसार पाँच वर्षभित्रमा बालबालिकाले चार महिनाको फरकमा दुई मात्रा खोप लगाउने छन् । रासस
मधेस प्रदेशका महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा
जनकपुरधाम । मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराएको हो । गत २०७९ असारमा बीमा भएका सबै महिला पत्रकारले २०७९ साउन १ गतेदेखि बिमा सुविधा लिन पाउने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए । हालसम्म एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराइसकिएको र चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरिका सबै सक्रिय पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउने योजना रहेको उनले बताए । जिटुजी फोलिसीअन्तर्गत पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउन राष्ट्रिय बिमा कम्पनी लिमेटडसँग सम्झौता भएको र बिमावापत लाग्ने प्रिमियम आमसञ्चार प्राधिकरणले जम्मा गरिदिने अध्यक्ष यादवको भनाइ छ । बिमावापत पत्रकारले वर्षमा एक लाखसम्मको औषधोउपचार खर्च र सात लाखसम्मको दुर्घटना बिमा सुविधा पाउने छन् । यस्तै आमसञ्चार प्राधिकरण मधेस प्रदेशले यही पुस महिनाको तेस्रो सातादेखि पर्साको वीरगञ्जबाट प्रेस प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिने जनाएको छ । प्रेस प्रतिनिधि परिचयपत्र प्राप्त गर्ने पत्रकारको स्वतः स्वास्थ्य तथा दुर्घटना बिमा हुने अध्यक्ष यादवले बताए । प्रेस प्रतिनिधि परिचयपत्र प्राप्त गर्न मधेस प्रदेशअन्तर्गतको जिल्लामा कम्तीमा दुई वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएको हुनुपर्ने प्रावधान राखिएको छ । यसका साथै प्रेस प्रतिनिधि परिचयपत्रका लागि पत्रकारले कार्यरत सञ्चारमाध्यमको नियुक्तिपत्र, सम्बन्धित सञ्चारमाध्यमको अद्यावधिक गराएको कागजात, नागरिकता प्रमाणपत्रलगायतको कागजात बुझाउनुपर्ने व्यवस्था गरिएको आमसञ्चार प्राधिकरणले जनाएको छ । रासस
बागलुङमा २३ हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिँदै
बागलुङ । अहिले पनि बागलुङको निसीखोलामा सुविधायुक्त स्वास्थ्य संस्था छैनन् । यहाँका नागरिकले उपचारका लागि बुर्तिबाङ झर्नुपर्छ । बुर्तिबाङ पनि उपचार हुनसकेन भने पाल्पा, पोखरा र काठमाडौं पुग्नुपर्ने बाध्यता छ । वर्षौँ अगाडिदेखि स्वास्थ्य बीमाका कार्यक्रम सञ्चालन भए पनि धेरैले त्यो सेवा लिएका छैनन् । निसीखोला गाउँपालिकाले अहिले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएका जनप्रतिनिधिले पालिकाभरका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेका थिए । सोहीअनुसार गाउँपालिकाले गाउँ–गाउँमा पुगेर निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको हो । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले पालिकाभर रहेका २३ हजार तीन सय बढी नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउन निःशुल्क स्वास्थ्य बीमा गर्न थालिएको बताए । उनले अशिक्षित तथा आर्थिक अभावका कारण नागरिकले सामान्य रोगको उपचार नपाएको भन्दै उनीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमलाई तीव्रता दिएको बताए । गरिबीका कारण कयौँ नागरिकले उपचार नपाए ज्यान गुमाउनु परेको भन्दै अब कोही पनि आर्थिक अभावमा रोग पालेर बस्न नपर्ने अध्यक्ष घर्ती मगरले बताए । उनले नेपाल सरकारले लिएको स्वास्थ्य बीमा अभियानमा गाउँपालिकाले हातेमालो गरी दूरदराजमा रहेका सबै नागरिकलाई यो अभियानमा सहभागी गराउने बताए । गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले पुस महिनाभर सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिसक्ने गरी अभियान चलाइएको बताए । उनले गाउँमै स्वास्थ्य बीमा गर्ने गरी सात वटै वडामा कर्मचारी खटाइने बताए । निःशुल्क स्वास्थ्य बीमाका लागि गाउँपालिकाले यस वर्ष दुई करोड बजेट विनियोजन गरेको छ । उपाध्यक्ष घर्ती मगरले भने, ‘स्वास्थ्य बीमा यो महिनाभरि गरी सक्छौँ, यो अभियानबाट कोही पनि नागरिक छुट्ने छैनन्, सबै वडामा स्वास्थ्यकर्मी तथा कर्मचारी खटिने छन्, त्यसका लागि सबै व्यवस्थापन पूरा भएको छ ।’ स्वास्थ्य बीमा गरेका नागरिकले एक वर्षसम्म एक लाख बराबरको निःशुल्क उपचार र औषधि प्राप्त गर्नेछन् ।