मुटुको कृत्रिम भल्व राख्न भारतभन्दा नेपालमा ४० लाख सस्ताे
काठमाडौं । नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ । यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे । उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्व नेपालमा नै राख्ने गरेका छन् । हृदय केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले अहिलेसम्म छ बिरामीको मुटुको कृत्रिम भल्व राखिएको जानकारी दिए । एक कृत्रिम भल्व ह्याम्स अस्पतालले पनि राखेको छ । उनले एक बिरामीको सफलतापूर्वक कृत्रिम भल्व राखेपछि आत्मविश्वासले अन्य बिरामीको पनि राख्न थालेको बताए । नेपालमा पहिलो पटक केन्द्रले नै गत वर्ष फागुनमा मानिसको मुटुको कृत्रिम भल्व राखेको हो । नेपालमा २५ देखि ३८ लाखसम्म र भारतमा ६० देखि ८० लाखसम्म खर्च हुने गरेको छ । उनका अनुसार एक हप्ताभित्र पुनः एक बिरामीको पनि मुटुको कृत्रिम भल्व राख्ने तयारी भइरहेको जानकारी दिए । ‘नेपालमा नै मुटुको भल्व राखिने भएपछि धेरै बिरामी हाम्रोमा नै आउने गरेका छन्’, उनले भने, ‘महिनामा एक–दुई जना कृत्रिम भल्व राख्न भारत जाने गर्दथ्ये, तर अहिले हामीले नै नेपालमा सुरु गरेदेखि बिरामी बाहिर गएका छैनन् ।’ उनका अनुसार मुटुको कृत्रिम भल्व राख्न वार्षिक करिब १२ बिरामी भारत जाने गरेका थिए । केन्द्रले नै मुटुको भल्व राख्न थालेपछि भने एक बिरामी मात्र भारत गएको आफूले जानकारी पाएको उनले बताए । मुटुको एओर्टिक भल्व साँघुरो र उमेरका कारणले छाती चिरेर शल्यक्रिया गर्न जोखिम भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राख्ने गरिन्छ । यस विधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमले निर्मित तार अर्थात् क्याथेटरद्वारा मानव निर्मित भल्व मुटुभित्र छिराएर एओर्टिक भल्वको स्थानमा प्रत्यारोपण गरिन्छ । प्रत्यारोपण भएको भल्वले तुरुन्तै काम सुरू गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने गर्दछ । मुटुको एओर्टिक भल्व साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिंगटा लाग्ने गर्दछ । उनका अनुसार उक्त एओर्टिक भल्वको वयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा शल्यक्रिया गर्न असहज हुने हुँदा भल्व नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ । मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्व साघुरिने रोगलाई ‘एओर्टिक स्टेनोसिस’ भनिन्छ । यस रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भल्व प्रत्यारोपण गरिने विधि हो । वृद्धावृद्धामा यस रोगका शल्यक्रिया गरेर उपचार गर्दा जोखिम हुने भएकाले ‘टाभी’ विधिबाट मात्र सम्भव हुने उनले बताए । केन्द्रले कृत्रिम मुटुको भल्व भारत, नेदरल्याण्डलगायत मुलुकबाट ल्याउने गरेको छ । बिरामीको मुटुमा २३ एमएम, २६ एमएम, २९ एमएम र ३१ एमएमका कृत्रिम भल्व राख्ने गरिन्छ । रासस
आइपीओ ल्याउने तयारीमा रहेको नर्भिकले घोषणा गर्यो ४० प्रतिशत लाभांश
काठमाडौं । साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) रहेको छ । हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । यो हिसाबले अस्पतालले ४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि आवश्यकसहित ४ करोड ५० लाख रुपैयाँ बराबरकै नगद लाभांश समेत बाँड्नेछ । घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्तापूँजी २७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरण सम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ । गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । नर्भिक इन्टरनेशनल हस्पिटल २ वर्षअघि पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ । आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने नर्भिक अस्पताल निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो अस्पताल पनि हो ।
‘सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन’
गोरखा । विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । स्वास्थ्य एकाइ नहुँदा स्थानीय बासिन्दा सिटामोल र जीवनजलका लागि समेत झण्डै पाँच घण्टाको बाटो धाउनुपर्ने बाध्यता रहँदै आएको थियो । एकाइ स्थापना भएसँगै न्याकवासीको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष लामाको भनाइ छ । ‘न्याकवासीलाई आधारभूत स्वास्थ्योपचारका कठिनाइ थियो’, उनले भने, ‘गाउँपालिकाले पालिकावासीमा आधारभूत स्वास्थ्योपचारको सहज पहुँच पुर्याउने लक्ष्यअनुसार एकाइ स्थापना गरिएको हो ।’ न्याकमा ४० घरपरिवारको बसोबास रहेको जनाइएको छ । ‘त्यहाँका बासिन्दा सामान्य स्वास्थ्योपचारका लागि समेत गाउँपालिकाको केन्द्र रहेको फिलिमसम्म आउनुपर्ने बाध्यता थियो’, उनले भने, ‘गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मीसमेतको व्यवस्था गरी न्याकमै औषधिसहित एकाइ स्थापना गरेपछि अब घरआँगनमा उपचार सेवा पाउने भएका छन् ।’ अध्यक्ष लामाले न्याकमा स्वास्थ्य एकाइ स्थापना हुनु स्थानीय बासिन्दाका लागि मात्र नभएर समग्र गाउँपालिका समेत खुसीको कुरा भएको बताए । गाउँपालिका तथा वडा कार्यालयबाट समेत भौगोलिक हिसाबले टाढा पर्ने स्थानीयवासीले लामो समयदेखि स्वास्थ्यचौकी स्थापना गर्न माग गर्दै आएका थिए ।