विषाक्त खानाले एकैपटक ६५ बिरामी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले चितवनको भरतपुरमा विषाक्त खाना सेवनले ६५ मानिस एकैपटक बिरामी परेको जनाएको छ । मन्त्रालयले आज चितवनको भरतपुरका घटनाका सम्बन्धमा जानकारी गराउँदै प्रारम्भिक अनुसन्धानअनुसार विषाक्त खानाका कारणले एकै पटक ६५ मानिस बिरामी परेको बताएको हो । मन्त्रालयले घटनाबारे थप अनुसन्धान गर्न जाँचका लागि नमूना प्रयोगशालामा पठाएको छ । यही मङ्सिर २३ गते ६५ जनामा २४ घण्टा नबित्दै पखाला लाग्ने, वाकवाकी हुने, वान्ता आउने साथै ज्वरो आउने जस्ता लक्षण देखिएका थिए । बिरामी भएपछि उनीहरूले औषधि पसल गएर औषधि किनेर खाएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि मङ्सिर २६ गते भरतपुरस्थित नेशनल सिटी अस्पतालको आकस्मिक कक्ष तथा बहिरङ्ग विभागमा उपचारका लागि ३५ भर्ना भएको मन्त्रालयले जनाएको छ । अहिले उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कार्यक्रममा भोज खाएका थप १५ जना आजै उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । रासस
मध्यमवर्गको पहुँच भएको सस्तो अस्पताल हो ओम – डा.जोशी
काठमाडौं । नेपालमा निजी क्षेत्रबाट सञ्चालित अस्पतालमध्ये अन्यको तुलनामा सस्तो उपचार शुल्क लाग्ने अस्पतालको रुपमा अभ्यास भएको अस्पतालको दाबी रहेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा.हरिस जोशीले सो अस्पताल मध्यम वर्ग र उच्च मध्यम वर्गको लागि लक्षित गरेर सञ्चालन गरिएकोले सोही अनुसार शुल्क निर्धारण गरिएको बताए । ‘यो मध्यम वर्ग र उच्च मध्यम वर्गका लागि लक्षित गरेर सञ्चालन गरिएको अस्पताल हो, सोही अनुसार समय सापेक्ष रुपमा यसलाई सञ्चालन गर्ने कोशिष गरेका छौं’, उनले भने । अस्पतालले ओपीडीमा दर्ता देखि लिएर आइसियु सम्मको उपचारमा न्युनतम शुल्क लिने गरेको अस्पतालका बिजनेस डेभलपमेन्ट अफिसर बिनोद अधिकारीले बताए । उनका अनुसार अस्पतालले ओपीडीमा उपचार गर्न आउने बिमारीसँग दर्ता शुल्क बापत जम्मा ६ सय रुपैयाँ लिने गरेको छ, जुन अन्य निजी अस्पतालको तुलनामा निकै सस्तो हो ।सरकारले निजी क्षेत्रसँग पनि साझेदारी गरेको डाइलासिस र जोखिमयुक्त क्यान्सर रोगको सहुलियतपूर्ण उपचार अस्पतालले प्रदान गर्ने गरेको छ । राज्यले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्न नसकिरहेको अवस्थामा डाक्टरहरुको समूहले सञ्चालन प्रारम्भ गरेको अस्पताल हो ओम हस्पिटल एण्ड रिसर्च सेन्टर । पछिल्लो समयमा कुल अस्पतालको संख्यामा निजी क्षेत्रका अस्पतालको संख्या र क्षमता सरकारीको तुलनामा बढ्दै गएको देखिन्छ । अस्पतालमा अहिले पनि दैनिक रुपमा ५ सय देखि ७ सय सम्म बिमारीहरु उपचारको लागि आउने गर्छन् । अस्पतालले दैनिक रुपमा १२ जना सम्म विमारीको सल्यक्रिया गर्ने गर्छ । प्राविधिक रुपमा एमआरआई, सिटीस्क्यान, डेस्क स्क्यान र ल्याब लगायतका सेवाहरुमा उच्च स्तरको प्रविधिको प्रयोग गर्दै आएको अस्पतालका विजनेस डेभलपमेन्ट अफिसर बिनोद अधिकारी बताउँछन् । उनका अनुसार केही अति विशिष्ट सेवा बाहेक अस्पताल प्रवेश गरेपछि बिमारी अनुसन्धानको लागि बाहिर जानुपर्दैन । त्यस्तै, अस्पतालले इमर्जेन्सी रेस्क्यु र उपचार पनि उपलब्ध गराउँदै आएको र त्यसको लागि अलर्ट अवस्थामा चिकित्सकको समूह समेत रहने गरेको अधिकारीको भनाइ छ । अस्पतालले आफूलाई आइभिएफ सेन्टरको अग्रज संस्थाको रुपमा दाबी गर्ने गर्छ । साथै अस्पतालले स्त्रीरोग, हेमोडाइलोसिस, क्यान्सर, गहन उपचार र गम्भिर प्रकृतिका सर्जरीको विषयमा रिफरल सेन्टरको रुपमा विकास भएको बताउने गरेको छ । बिमारीहरुको आवश्यकतालाई पूर्ण रुपमा सम्बोधन गरेर उपचार गर्ने गरेको अस्पतालले दाबी गरेको छ । ‘यो अस्पताल स्त्रीरोग उपचारमा स्थापित अस्पताल हो, आधुनिक एनआइसियु सुविधा सहितका सेवालाई हामीले सञ्चालन गर्दै आएका छौं’, अस्पतालका मेडिकल डाइरेक्टर हरिस जोशीले भने । उनका अनुसार नेपालमा आइभिएफ प्रविधिको शुरुवात गर्ने पहिलो अस्पतालपनि ओम अस्पताल हो ।
दमक अस्पतालको प्रयोगशाला अवरुद्ध
दमक । दमक अस्पतालमा रगत परीक्षणका लागि प्रयोग गरिने उपकरणमा समस्या आएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । प्रयोगशालामा उपलब्ध रगत परीक्षणमा प्रयोग हुने एउटा उपकरणमा खराबी आएपछि यही मङ्सिर २२ देखि अस्पतालबाट नियमित रुपमा उपलब्ध हुने प्रयोगशालाको काम अबरुद्ध हुँदै आएको हो । नियमित सेवा उपलब्ध गराउन नसक्दा रक्त परीक्षणका लागि सेवा लिने आउने दैनिक तीन सयदेखि चार सय बिरामी मर्कामा परेका छन् ।अस्पतालका ल्याव टेक्निसियन निरीक्षक लोकनाथ पौडेलले उपकरणमा समस्या देखिएपछि काठमाडौँबाट प्राविधिक इन्जिनियर बोलाएर मर्मत गरिए पनि पूर्णरुपमा तयार नहुँदा समस्या देखिएको बताए । ‘मर्मतको काम भइरहेकाले अब एक–दुई दिनभित्रमै सेवा उपलब्ध हुनेछ’, उनले भने । चाप थेग्न थप उपकरण आवश्यक पौडेलका अनुसार ल्यावमा दैनिक तीन सयदेखि चार सयसम्म रगतको नमुना परीक्षण गर्नुपर्छ । ल्यावमा एक पटकमा ४० नमुना परीक्षण गर्न सकिन्छ भने परीक्षणका लागि दुई घण्टा लाग्छ । उनले नमुना परीक्षण गर्नेको सङ्ख्या बढेकाले उपकरणको सङ्ख्या बढाएर तीनवटासम्म पुर्याउन सके मात्रै चाप व्यवस्थापन गर्न सकिने बताए । बनेन सञ्चालक समिति अस्पताल रेखदेख तथा व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति नबन्दा काम गर्न समस्या भएको कार्यपालिकाका एक सदस्यले बताए । नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको सात महिना बित्नै लाग्दासमेत समिति गठन हुन नसकेको हो । कार्यपालिका बैठकमा नगरप्रमुखले प्रस्ताव ल्याउने अभ्यास रहे पनि नगरप्रमुखले हालसम्म अस्पताल सञ्चालक समिति गठनको प्रस्ताव नल्याएको ती सदस्यको दाबी छ । रासस