नियमित व्यायाम गर्ने महिलाहरुमा स्तन क्यान्सरको जोखिम ४१ प्रतिशतले कमी हुने

एजेन्सी । नियमित रुपमा व्यायाम गर्ने र धेरै समय आराम नगर्दा स्वास्थ्यमा ठूलो फाइदा हुन्छ। बैज्ञानिकहरुको एक अध्ययनले मानिसहरुको व्यायामसँग क्यान्सरको सम्बन्ध पत्ता लगाएको छ । ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित यो अनुसन्धानले शारीरिक क्रियाकलाप नगर्ने मानिसलाई स्तन क्यान्सरको जोखिम अरुको तुलनामा बढी हुने गरेको देखाएको छ । यो स्तन क्यान्सर रोगको सबै चरणमा लागु हुने अनुसन्धानले दाबी गरेको छ । यस अनुसन्धानमा १,३०,९५७ महिलालाई समावेश गरिएको थियो । जसमध्ये ६९ हजार ३८३ महिलामा ट्युमर फैलिएको थियो भने ६ हजार ६६७ महिलामा ट्युमर थिएन । अनुसन्धानमा सहभागी गराइएका ५४,४५२ महिलाहरूमा स्तन क्यान्सर थिएन। बैज्ञानिकहरुले सहभागिहरुको बारेमा थप जानकारीको लागि युके बायो बैंकसँग सहकार्य गरेका थिए । अनुसन्धानमा महिलाहरुको उनीहरुको शारीरिक गतिविधि र बस्ने अवधिको तथ्यांक संकलन गरिएको थियो । अनुसन्धानकर्ताहरूले त्यसपछि महिनावारी बन्द भएको अवस्था, महिलाको उमेर, स्तन क्यान्सरको प्रकार, क्यान्सरको चरण र क्यान्सरको ग्रेड जाँच गर्ने काम गरे । अध्ययनले अनुसार धेरै शारीरिक गतिविधि गर्ने आनुवंशिक प्रवृति भएका मानिसहरूमा स्तन क्यान्सरको जोखिम ४१ प्रतिशत कम देखायो । यसमा उनीहरूको महिनावारीको बन्द, क्यान्सरको अवस्था र चरणसँग कुनै सरोकार देखिएको थिएन । साथै, हप्ताको ३÷४ दिन कडा व्यायाम गर्ने महलिाहरुमा क्यान्सरको जोखिम ३८.५ प्रतिशत जोखिम कम हुने अध्ययनले देखाएको थियो । धेरै समय बस्ने प्रवृति भएका महिलाहरुमा ट्रिपल नेगेटिभ स्तन क्यान्सरको जोखिम १०४ प्रतिशतले बढी हुने गरेको अनुसन्धानले देखाएको छ । यो स्तन क्यान्सरको सबैभन्दा खतरनाक र दुर्लभ प्रकार हो, जुन शरीरमा छिटो फैलिन्छ। धेरैजसो अवस्थामा, ट्युमर पत्ता लाग्नु अघि नै फैलिएको हुन्छ, यसको उपचार निकै कठिन रहेको बताइन्छ । सन् २०१९ मा गरेको मेटा एनलाइसिसमा स्तन क्यान्सरका बिमारीहरुले यदि नियमित रुपमा व्यायाम गर्छन भने उनीहरुलाई अन्यको तुलनामा ४० प्रतिशत जोखिम कम रहेको देखिएको थियो । प्रोस्टेट क्यान्सर र कोलोरेक्टल क्यान्सरको जोखिमको व्यायामसँग सम्बन्ध सोही प्रकारले हुने सो अध्ययनमा देखिएको थियो ।

काँकरभिट्टाका आँखा अस्पताल प्रायभारतीय नागरिका लागि भरपर्दो उपचार केन्द्र

झापा । सीमा नाका काँकरभिट्टा आसपास क्षेत्रमा रहेका आँखा अस्पताल भारतीय नागरिकका लागि भरपर्दो उपचार केन्द्र बनेका छन् । ती अस्पतालमा दैनिकजसो भारतीय आँखाका बिरामीले नै भरिने गरेका छन् । मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टामा मात्र रहेका तीनवटा आँखा अस्पतालको तथ्याङ्क केलाउँदा एक वर्षको अवधिमा सेवा लिने ६० हजारभन्दा बढी आँखाका रोगीमध्ये ८० प्रतिशत भारतीय रहेका पाइएको छ । भारतका बिहार, झारखण्ड, आसाम, सिक्किम, नागल्याण्ड, मेघालय, वेष्ट बङ्गाललगायत स्थानबाट आँखा उपचारका लागि नेपाल आउने गरेका अस्पतालका सञ्चालक बताउँछन् । सीमा क्षेत्रका अस्पतालमा आँखाका बिरामी नेपालीभन्दा बढी भारतीय हुने उनीहरुको भनाइ छ । अधिकांश मोतियाविन्दुका बिरामी उपचारका लागि भारतबाट धाएर आउने गरेको काँकरभिट्टास्थित दिव्यज्योति आँखा अस्पतालका प्रशासन प्रमुख सुरेश सापकोटा बताउँछन् । उनका अनुसार उक्त अस्पतालमा गत आर्थिक वर्षमा उपचार गराउने १४ हजार दुई सय ८३ मध्ये ८० प्रतिशत भारतीय नागरिक थिए । मेची अभियानका संयोजक विजय डालमिया नेपालमा आँखाको उपचार सस्तो र राम्रो भएको हुँदा भारतीय नागरिक बढी आउने गरेको बताउँछनु । ‘भारतमा आँखाका राम्रा राम्रा अस्पताल छन् तर सामान्य मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्दा भारतीय रु २० हजारसम्म तिर्नुपर्छ’, उनी भन्छन्, ‘नेपालमा सोको उपचार पाँच हजार रुपैयाँसम्ममै हुन्छ । भारतीय अस्पतालका तुलनामा उपचार नेपालमै सस्तो हुँदा उनीहरु यतै धाउँछन् ।’ संयोजक डालमिया अन्य रोगको उपचारका लागि भारत धाउने नेपाली धेरै भए पनि आँखाको उपचारमा भारतीय नागरिकलाई नेपालका अस्पतालले आकर्षण गर्न सकेकोमा खुशी व्यक्त गर्छन् । भारतसँगको खुल्ला सिमाना र आउतजावतमा समस्या नहुँदा पनि उपचार गर्न आउन उनीहरुलाई सजिलो भएको उनको भनाइ छ । अघिल्लो आवमा कोभिडका कारण भारतीय बिरामी नपाउँदा यी आँखा अस्पताल प्रायः सुनसान नै बनेका थिए । यसैगरी काँकरभिट्टास्थित बाहुनडाँगी रोडमा विगत १५ वर्षदेखि सञ्चालनमा रहेको मेची नेत्रालयमा पनि उपचार गराउन आउने आँखाका बिरामीमध्ये ७० प्रतिशत भारतीय हुने गरेको अस्पतालकी प्रशासन प्रमुख पुनम प्रधान बताउनुहुन्छ । उक्त अस्पतालमा गत आव ४४ हजार छ सय २२ आँखाका बिरामीको उपचार भएकामा दुई हजार आठ सय २८ जनाको मोतियाविन्दु, रेटिनालगायतको शल्यक्रिया भएको उनले जानकारी दिए । प्रशासन प्रमुख प्रधानका अनुसार भारतका विभिन्न स्थानबाट आउने आँखाका बिरामी बच्चादेखि वृद्धसम्म हुने गरेका छन् तर धेरैजसो बिरामी भने ४१ वर्षमाथिका थिए । यसैगरी विगतमा उक्त अस्पतालमा बङ्गलादेशी पनि उपचारका लागि आएका थिए कोरोनाको महामारी पछि उनीहरु उपचारका लागि नआएको उनको भनाइ थियो । प्रायः काँकरभिट्टा क्षेत्रमा दुई किलोमिटर क्षेत्रको अन्तरालमा तीन ठूला आँखा अस्पताल रहेका छन् । यी अस्पताल भारतीय नागरिकलाई नै लक्ष्य गरेर सञ्चालनमा ल्याइएको काँकरभिट्टावासीको भनाइ छ । उपचार गर्न आउने भारतीय नागरिकका कारण काँकरभिट्टा आसपासका होटललाई फाइदा पुगेको छ । झापाको ठूलो व्यापारिक सहरको रुपमा चिनिएको विर्तामोड क्षेत्रमा पनि तीन ठूला आँखा अस्पताल छन् । मेची आँखा अस्पताल, दृष्टि र विर्तामोड आँखा अस्पतालका सेवाग्राही आधा जति भारतीय नागरिक नै हुने गरेका छन् । जिल्लामा सबैभन्दा पुरानो र ठूलो मेची आँखा अस्पताल हो । यो अस्पतालले स्थापनाको २६ वर्ष पार गरिसकेको छ । सो अवधिमा यो अस्पतालले तीन लाख ५० हजारभन्दा बढीलाई सेवा दिइसकेको छ । तीमध्ये झण्डै ५० प्रतिशत विरामी भारतीय नागरिक नै रहेको अस्पताल प्रशासनको भनाइ छ । रासस

मिर्गौला रोग: डायलासिसभन्दा प्रत्यारोपण किफायती

कास्की । नेपालमा प्रत्येक वर्ष दुई सय जनाको मिर्गौला प्रत्यारोपण गरिएको र ९९ प्रतिशत पूर्ण सफल भएको बताइन्छ । सरकारले मिर्गौला प्रत्यारोपणलाई निःशुल्क गरेपछि मिर्गौला फेल भएर अब कुनै पनि नागरिक अकालमा मर्न नपर्ने र यसका लागि राज्यलाई भार परे पनि देशले स्वस्थ नागरिक पाएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ बताउँछन् । नेपालमा पाँच वर्षअघि सुरु गरिएको प्रत्यारोपण सेवामा हालसम्म एक हजार जनाको सफलरुपमा मिर्गौला प्रत्यारोपण गरिएको छ । काठमाडौँबाहेक पोखरामा समेत गत असारदेखि सो प्रत्यारोपण सेवा सुरु भएकामा हालसम्म तीन जनाको प्रत्यारोपण गरिएको र छिट्टै सुर्खेतमा पनि सेवा विस्तारको तयारी भएको प्रत्यारोपण केन्द्रले जनाएको छ । राष्ट्रिय प्रत्यारोपण केन्द्रले आइतबार साँझ पोखरामा आयोजना गरेको मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदान र प्रत्यारोपणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कार्यकारी निर्देशक एवं कलेजो र मिर्गौला प्रत्यारोपण विज्ञेषज्ञ डा श्रेष्ठले प्रत्यारोपणपछि बिरामी र परिवारले गुणस्तरीय जीवन जीउन पाउने भएकाले डायलासिसभन्दा प्रत्यारोपण बढी किफायती रहेको बताए । निःशुल्क डायलासिस सेवा उपलव्ध हुँदा बिरामीको झुकाव यसमा बढी पाइएकाले सरकारले विसं २०७४ वैशाख २ देखी राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पूर्णरुपमा निःशुल्क प्रत्यारोपण सेवा सुरु गरिएको डा श्रेष्ठले जानकारी दिए । उनले भने, ‘डायलासिसमा बस्दा बिरामी र बिरामीका परिवार सधँै अस्पताल आउने जाने गर्दा अत्यन्त कष्टकर जिन्दगी बिताउनुपर्ने हुन्छ । प्रत्यारोपणपछि राष्ट्रलाई उत्पादनशील नागरिक प्राप्त हुने, बिरामी दीर्घायु हुने र राष्ट्रलाई आर्थिक भार पनि कम पर्ने भएकाले प्रत्यारोपण कार्यलाई निःशुल्क गरिएको हो ।’ डायलासिस मेसिन तथा उपभोग्य सामान विदेशबाट आयात गर्नुपर्ने कारणले नियमित सञ्चालनका लागि राज्यलाई वार्षिक दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढी आर्थिक भार पर्ने गरेको बताइन्छ । नेपालमा मिर्गौला प्रत्यारोपण सेवा नहुँदा बर्सेनि छ अर्ब रुपैयाँ रकम देश बाहिर जाने गरेको थियो । स्वदेशमै सेवा सुरु भए पनि विदेश जाने प्रवृत्तिमा अझै कमी आउन नसकेको बताइन्छ । नेपालमै विश्वको उत्कृष्ट प्रत्यारोपण सेवा रहेको केन्द्रको भनाइ छ । केन्द्रबाट वर्षमा अधिकतम दुई सयसम्मको मिर्गौला प्रत्यारोपण गर्नसक्ने क्षमता रहेको र पाँच सयको प्रत्यारोपण माग हुने बताइन्छ । सरकारले पछिल्लो समय प्रत्यारोपण कानुनमा परिमार्जन गरेपछि अङ्गदानको दायरा फराकिलो भई नाता पर्ने जति सबैबाट अङ्गदान हुनसक्ने व्यवस्था गरेपछि मिर्गौला प्रत्यारोपण सेवाले थप गति लिएको र अङ्ग अभाव कम भएको केन्द्रका विशेषज्ञ डा निभाष श्रेष्ठले बताए । नेपालमा बर्सेनि एक हजारको सडक दुर्घटनाबाट मस्तिष्क मृत्यु हुने गरेका तथ्याङ्क छ । दुर्घटनाबाट भएको मानव मृत्युले प्रत्यारोपण गर्न सकिने अङ्ग खेर गएकाले यसको सदुपयोग गर्न अङ्गदान सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । मानिसको मृत्युपछि खेर जाने मिर्गौला, फोक्सो, मुटु, कलेजो, सानो आन्द्रा र प्याङ्क्रियाजको प्रत्यारोपण गर्न सकिने विशेषज्ञको भनाइ छ । एक जना व्यक्तिबाट खेर जाने अङ्गबाट आठ जनालाई नयाँ जीवन सम्भव भएको बताइन्छ । मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानले पूर्णरुपमा मृत घोषित गरे पनि यस्तो अवस्थामा मृत व्यक्तिको नातेदारको सहमतिमा अङ्ग निकालेर बिरामीमा प्रत्यारोपण गर्न सकिने कलेजो र मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा श्रेष्ठले बताए । मस्तिष्क मृत्युपछिको अङ्ग दान, कुनै पनि व्यक्तिको मृत्यु अस्पतालको आइसियुमा भई मस्तिष्क मृत्यु घोषणापछि मात्र सम्भव हुन्छ । घरमा मृत्यु भएको व्यक्तिको अङ्गदान मरणोपरान्त अङ्ग दान सम्भव नहुने बताइन्छ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले सरकारले आधारभूत स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पु¥याउने लक्ष्य राखे पनि देशभर अझै आधारभूत स्वास्थ्य सेवा विस्तारमा सफल हुन नसकेको बताए । उनले प्रत्यारोपण सेवा अत्यन्त महत्वपूर्ण रहेकाले राजधानी बाहिर विस्तारका लागि सरकारले प्राथमिकतामा राखेको बताए । रासस