विषादी खेती प्रणालीले जनस्वास्थ्यमा असर पारेकाले प्राङ्गारिक खेतीमा विज्ञको जोड

काठमाडौं । विद्यमान विषादी खेती प्रणालीले जनस्वास्थ्यका साथै माटो, पानीलगायत पर्यावरणीय क्षेत्रमा प्रतिकूल असर पारेकाले प्राङगारिक खेतीमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए । विश्व खाद्य दिवसको अवसरमा खाद्यका लाागि कृषि अभियान, राष्ट्रिय किसान समूह, अनाजलगायतका संस्थामा आबद्ध कृषि विज्ञहरुले राजधानीमा आज आयोजना गरेको ‘जैविक खेतीः खाद्य प्रणालीको पुनरजीवन’ विषयक अन्तक्र्रिया कार्यक्रममा सो धारणा व्यक्त गरेका थिए । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले खेतीमा विषादीको प्रयोगबाट आम मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढ्दै गएकाले प्राङ्गारिक खेती प्रणालीको विकास अपरिहार्य रहेको बताए । सरकार सम्बद्ध अधिकारीले द्धैध चरित्र देखाएका कारण नेपालमा प्राङ्गारिक खेती हुन नसकेको उनको आरोप थियो । नेपाल कृषि अनुसन्धान परिषद् नार्कका वरिष्ठ वैज्ञानिक बालकृष्ण जोशीले तुलनात्मकरुपमा आधुनिक खाद्यन्नबाली भन्दा रैथाने सन्तुलित तथा स्वस्थकर हुने बताए । खाद्यका लागि कृषि अभियानकर्मी प्रमोद दाहालले अहिलको खेती प्रणालीमा रासायनिक विषादीको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमासमेत प्रभाव बढ्दै गएको जानकारी दिए । कृषि विभागका उपमहानिर्देक डा हरिबहादुर केसीले पूर्ण प्राङ्गारिक खेती प्रणालीले खाद्य सुरक्षा र खाद्य सम्प्रभुत्ता कायम हुन नसक्ने भन्दै दुवै खेती प्रणालीलाई अगाडि लैजानुपर्ने बताए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव सवनम सिवाकोटीले उत्पादन बढाउनुपर्ने चुनौती रहेकाले रासायनिक मल र विषादी प्रयोग पूर्ण प्रतिबन्धभन्दा पनि क्रमिक रुपमा घटाउँदै लैजानुपर्ने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले संविधानले खाद्य अधिकारलाई मौलिक हकका रुपमा सुनिश्चित गरे पनि उत्पादन प्रणालीबिना कार्यान्वयन सम्भव नहुने भन्दै उत्पादनमा जोड दिनुपर्ने बताए । किसान प्रतिनिधि माधव ढङ्गेलले पढेलेखेकाले नै नेपालको कृषि क्षेत्र ध्वस्त पारेको भन्दै नीति निर्माण तहमा बसेर उनीहरुले द्धैध चरित्र देखाएको आरोप लगाए । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले उन्नत खेती प्रणाली र जलवायु परिवर्तनको असर न्यूनीकरणबीच तालमेल सम्भव नहुने भन्दै प्राङ्गारिक कृषि प्रणालीबाट मात्रै जलवायु परिवर्तनको असर न्यूनीकरण हुनसक्ने जिकिर गरे । रासस

हेटौडा मोडेल अस्पतालमा प्रशासनले गर्यो सिलबन्दी

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौडाको एक अस्पतालमा सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौडा उपमहानगरपालिका–१ मा रहेको हेटाैडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो । सो अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको तथा अनुमतिबिना फार्मेर्सी तथा ल्याब सञ्चालन गरेकाले सिलबन्दी गरिएको कार्यालयले जनाएको छ । साथै अस्पतालले एनएसथेसियोलोजिष्ट डाक्टर नराखी एनएसथेसिया सहायकबाट बिरामीलाई बेहोस बनाएर मेजर शल्यक्र्रिया गर्दै आएकाले शल्यक्र्रिया नगर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिए । त्यस्तै अस्पतालमा मापदण्डअनुसार कर्मचारी नभेटिएको, फोहरमैला व्यवस्थापन नगरेको पाइएको सम्बन्धमा प्रशासनले सचेतसमेत गराएको जानकारी दिइएको छ । अधिकृत न्यौपानेको नेतृत्वमा खटिएको सो अनुगमन टोलीमा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाँइ तथा जिल्ला जनस्वास्थ्य कार्यालयका ठाकुर पौडेललगायत सरोकारवाला संस्थाको सहभागिता रहको थियो । अस्पताल सञ्चालकलार्ई आवश्यक कागजातसहित १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । रासस

चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता

चितवन । चितवन मेडिकल कलेज सिएमसी शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी ए क्याटागोरीको मान्यता प्राप्त गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेशनल पब्लिक हेल्थ ल्याब्रोटरीले उक्त मान्यता प्रदान गरेको हो । राजधानी बाहिर यो मान्यता प्राप्त गर्ने सिएमसी पहिलो हो । चितवन मेडिकल कलेज सिएमसी शिक्षण अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी राजधानी बाहिर र मेडिकल कलेजमध्ये आफू पहिलो रहेको दाबी गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार ‘ए’ ग्रेडको प्रयोगशालाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मान्यता पाएको बताए । प्रयोगशालाले विशिष्ट श्रेणीको पूर्ण सुरक्षित भवन र त्यसभित्र आवश्यक पर्ने नमूना सङ्कलन, प्रतीक्षालय, बैठक कक्ष, कार्यालय क्षेत्र, भण्डार, शौचालयलगायतको व्यवस्था गरेको छ । न्यूनतम ३० मध्ये ५० प्रतिशत जनशक्ति स्नातक अथवा सोभन्दा माथिको योग्यताको हुनुपर्ने प्रावधान रहेको भए पनि सिएमसी प्रयोगशालामा तोकिएभन्दा बढी दक्ष जनशक्ति रहेको उनले बताए । सो मेडिकल कलेजले यसअघि नै आइएसओ १५१८९ः२०१२ प्राप्त गरिसकेको छ । देवकोटाले उच्च गुणस्तरको प्रयोगशालाका लागि चितवन तथा छिमेकी जिल्लाबाट राजधानी र विदेश जान नपर्ने गरी व्यवस्थापन गरिएको बताए । उनका अनुसार नेपालमा हुने सबै खालका परीक्षण यहाँ गर्न सम्भव छ । विशिष्ट श्रेणीको प्रयोगशालाको हैसियतले सिएमसी प्रयोगशालाले अन्य प्रयोगशालामा नहुने विशिष्ट जाँच पनि यसअघिदेखि नै गर्दै आएको छ । अब यहाँ परीक्षण हुन नसकेर नमूना विदेश नमूना पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । सिएमसी प्रयोगशालामा यसअघि नै हरेक परीक्षण स्टान्डर्ड ओपरेटिङ सिस्टम एसओपी अनुसार र गुणस्तर म्यानुअलअनुसार परीक्षण गर्ने भएकाले यसलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रयोगशाला प्रमुख सञ्जयराय यादवले बताए । उनले भने, ‘प्रयोगशाला स्वाथ्य सेवाको अभिन्न अङ्ग हो । प्रयोगशालाको नतिजाका आधारमा नै रोगको पहिचान र उपचार सहज हुन्छ ।’ अस्पतालका निर्देशक डा दयाराम लम्सालले प्रयोगशाला उच्च गुणस्तरको नहुँदा बिरामीलाई उपचारमा कठिनाइ हुने भएकाले ठूलो लगानीमा विशिष्ट किसिमको प्रयोगशाला आफैँले बनाएको बताए । उनले भने, ‘राजधानी बाहिर यस्तो प्रयोगशाला अन्यत्र छैन, राजधानीमा हुने सबैखाले परीक्षण हामी गर्छौँ ।’ अन्य अस्पताल र प्रयोगशालालाई पनि यो प्रयोगशाला उपयोगी हुने उनको भनाइ छ । देशभरकै मेडिकल कलेजमा धेरै बिरामी उपचार गर्ने अस्पतालका रूपमा चितवन मेडिकल कलेजलाई चिन्ने गरिन्छ । रासस