बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा आउने

काठमाडौं । कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा बुस्टर डोजका लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले एक महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको जानकारी दिए । यही पुस १४ गते सरकारले बुस्टर डोज खोपका लागि औपचारिक रुपमा ‘गाभी’लाई पत्र लेखेको थियो । कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो । उनका अनुसार अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बुस्टर डोज नलगाएका सबैलाई खोप लगाउन आग्रह गरेको छ । सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो । छिमेकीमूलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ । यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्न समेत आग्रह गरेको छ ।

नेपालगञ्जमा एकै घरका चार बालबालिकामा दादुरा देखियो

बाँके । बाँकेको नेपालगञ्जमा बालबालिकामा दादुरा रोग देखापरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रामा एकै घरका चार बालबालिकामा दादुरा देखिएको हो । पाँचदेखि १२ वर्ष उमेरका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको हो । त्यहाँ अरू १७ बालबालिकामा पनि दादुराको आशङ्का गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए । लामो समयपछि नेपालगञ्जमा दादुरा देखिएपछि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य कार्यालय बाँकेको टोली घटनास्थलमा खटिएको उनले बताए । नेपालले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ । दादुराको खोप नलगाएका या खोप पूरा नगरेका व्यक्तिमा दादुरा देखिने खोप सुपरभाइजर श्रेष्ठले बताए । सहजै फैलिने दादुराको पुष्टि भएका ती बालबालिका एउटै परिवारको भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले जानकारी दिए । उनका अनुसार ज्वरो आउने, जीउ दुख्ने, रुघाखोकी लाग्ने तथा मुखभित्र नीलो र सेतो रङ्गको दागलगायत लक्षण देखिएपछि उनीहरुलाई उपचारका लागि बालरोग विशेषज्ञ डा विनोद खेतानकहाँ लगिएको थियो । ‘दादुराको जस्तो लक्षण देखिएपछि विश्व स्वास्थ्य सङ्गठनसँगको सहकार्यमा पाँचजनाको रगत परीक्षणका लागि काठमाडौँ पठाएका थियौँ’, प्रमुख पौडेलले भने, ‘पाँचमध्ये चारजनामा दादुरा सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।’ रासस  

फोहरलाई पैसामा परिवर्तन गर्दै टीकापुर अस्पताल, एक महिनामा २८ हजार आम्दानी

टीकापुर । टीकापुर अस्पतालले फोहर प्रशोधन गरेर कमाइ गर्न थालेको छ । कैलालीमा प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा सबैलाई चुनौति बनिरहेका समयमा अस्पतालले एक महिनादेखि प्लाष्टिकजन्य फोहर प्रशोधन गरेर आम्दानी लिन थालेको हो । अस्पतालले एक महिनामा निर्मलीकरण गरिएको १३ क्विन्टल सामग्री बिक्री गरेर २८ हजार आम्दानी भएको जानकारी दिएको छ । अस्पतालमा जडान भएका दुई अटोक्लेभ मेसिनमा प्लाष्टिकजन्य फोहर प्रशोधन हुन एक घण्टा लाग्छ भने रगतजन्य पदार्थ लागेका सामग्री प्रशोधन हुन दुई घण्टा लाग्छ । अस्पतालमा एउटा अटोक्लेभ मेसिन १० वर्षअघि कोरियाली सहयोग नियोग (कोइका)ले दिएको थियो भने अर्को मेसिन विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको थियो । स्वास्थ्य सङ्गठनकै सहयोगमा मेसिन जडान भई सञ्चालनमा आएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए । ‘प्लाष्टिकजन्य फोहर व्यवस्थापन चुनौती रहेका बेला हामीलाई मेसिन जडानपछि सहज भएको छ’, उनले भने, ‘हामीले स्थानीय पालिकामा सङ्कलन भएको फोहर प्रशोधनमा पनि सघाउन सक्छौँ । हामीले आसपासका केही पालिकासँग कुरा पनि गरेका छौँ । पालिकाहरूले चाहेमा हामी प्रशोधनमा सघाउन सक्छौँ ।’ अस्पतालमा फोहर निर्मलीकरण हुन थालेपछि हरेक वार्डमा फरक–फरक रङका बाल्टिन राखिएका छन् । प्लाष्टिकजन्य र रगतजन्य फोहर राख्नका लागि हरेक वार्डमा रातो, निलो, हरियो रङका बाल्टिन राखिएका छन् । साथै सिसाजन्य फोहर राख्नका लागि साना बाल्टिन राखिएका छन् । फोहर छुट्याएर तोकिएको भाँडामा राख्नका लागि अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी र नर्सहरूले बिरामीलाई पटक–पटक आग्रह गर्ने गरेका छन् । यसरी अस्पतालमा सङ्कलन भएको फोहर दैनिक अस्पताल परिसरमै रहेको फोहर व्यवस्थापन केन्द्रमा लगेर निर्मलीकरण गरिन्छ । “निर्मलीकरण भएको फोहर बिक्रीका लागि राखिन्छ । बिक्रीका लागि खासै समस्या छैन”, अध्यक्ष सोडारी भन्छन्, ‘यसरी निर्मलीकरण गरेको रगतजन्य पदार्थ खाल्डोमा राखिने, प्याड सुकिसकेपछि आगोले जलाउन मिल्ने र अन्य सामग्री पुनःप्रयोगका लागि बिक्री गर्न थालेका छौँ ।’ अस्पतालजन्य फोहर अन्यत्र विसर्जन गर्न पनि मिल्दैन । विगतमा अस्पतालभित्रै जलाउँदा प्रदूषण पनि हुने समस्या थियो । अटोक्लेभ मेसिनको प्रयोगले प्रदूषणको समस्यासमेत समाधान भएको सोडारी बताउँछन् । ‘पोखरा अस्पतालको फोहर व्यवस्थापन गर्ने शैलीबाट सिकेका हौँ । दुई जनालाई तालिम दिएर प्रशोधनको काम सुरु गरेका हौँ । प्रशोधनमा लागेको लागत उठोस् भन्ने चाहना हो,’ उनी भन्छन्, ‘अस्पतालका दुई कर्मचारीले दैनिक छ घण्टा जति काम गर्नुहुन्छ । डेढ सय लिटर क्षमताका दुईवटा मेसिन छन् ।’ अस्पतालमा दुईवटा मेसिन भए पनि अस्पतालको फोहरमात्रै थोरै हुने हुँदा हाल एउटामात्र निर्मलीकरण मेसिन प्रयोगमा ल्याइएको सफाइकर्मी काशीराम रेग्मी बताउँछन् । ‘थप फोहर पनि प्रशोधन गर्न सकिन्छ, एकैसाथ दुईवटै मेसिन सञ्चालन गर्न सकिन्छ’, उनले भने, ‘हाल फोहर कम भएकाले एउटै मेसिन चलाउने गरेका छौँ ।’ फोहर वर्गीकरण गरेर ल्याउने र लागतमा सहभागिताका लागि अस्पतालले स्थानीय पालिकासँग छलफल गरिरहेकाले पालिकाले पनि सहकार्य गरेमा फोहर व्यवस्थापनमा सहजता हुने स्थानीय बताउँछन् । अस्पतालले निर्मलीकरण गरेको अस्पतालजन्य सामग्री लगेर चिप्स बनाई बुटवलका प्लाष्टिक कम्पनीलाई बेच्ने गरेको जय सियाराम होजियारी उद्योग जोशीपुरका सञ्चालक राजेश मण्डलले जानकारी दिए । यसैबीच अस्पतालमा एनेस्थेसिया चिकित्सक सेवा सञ्चालन भएको छ । गत साउनदेखि सहायक कर्मचारीका भरमा सेवा दिइँदै आएको अस्पतालले जटिल खालको शल्यक्रियाका लागि भने बाहिरबाट चिकित्सक ल्याउनुपर्ने बाध्यता थियो । गत असारसम्म भने जानकी गाउँपालिकाको आर्थिक सहयोगमा एनेस्थेसिया चिकित्सकको सेवा थियो । आइसीयू र जटिल खालका शल्यक्रियाका लागि मानिसलाई बेहोस बनाउन एनेस्थेसिया आवश्यक हुन्छ । व्यवस्थापन समितिका अध्यक्ष सोडारीले प्रदेश सरकारको सहयोगमा नवौँ तहका एनेस्थेसिया डा पूर्णराधा श्रेष्ठ टीकापुर अस्पतालमा आउनुभएको जानकारी दिनुभयो । एनेस्थेसिया चिकित्सक नियमित भएमा अस्पतालमा शल्यक्रिया सेवा नियमित र सहज हुने अस्पतालले जनाएको छ । रासस