विदेश भ्रमणमा स्वास्थ्य मन्त्रालयका उच्च तहका कर्मचारीको हालिमुहाली (नामावलीसहित)
काठमाडौं । चालू आर्थिक वर्षको ४ महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ सय २७ जना पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गरेका छन् । मन्त्रालयले सार्वजनिक गरेको वैदेशिक भ्रमण सम्बन्धी विवरण अनुसार चालू आवको साउन महिनादेखि कात्तिक तेस्रो सातासम्ममा ती पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गरेका हुन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै भ्रमण विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भएको छ । मन्त्रालयमार्फत् चालूआवको ४ महिनामा भएका ५२ वटा भ्रमण कार्यक्रम मध्ये सबैभन्दा ३१ वटा भ्रमण विश्व स्वास्थ्य संगठनको कार्यक्रम अन्तर्गत भएको छ । जसमा ७९ जना पदाधिकारी तथा कर्मचारी भ्रमणमा गएका थिए । स्वास्थ्य मन्त्रालयबाट हुने अधिकांश विदेश भ्रमणमा संघीय मन्त्रालयको मात्रै पहुँच रहने र प्रदेश तथा अन्य तहका कर्मचारीले अवसर नपाउने गरेको देखिएको छ । चालू आवको ४ महिनामा मन्त्रालयबाट १ सय २७ जना कर्मचारीले गरेको भ्रमणमा काठमाडौं उपत्यका बाहिरका जम्मा ८ जना कर्मचारीहरुले मात्रै अवसर पाएको विवरणमा उल्लेख गरिएको छ । काठमाडौं उपत्यका बाहिर रहेका प्रदेश सरकार अन्तगर्तका स्वास्थ्य कर्मचारी र अस्पतालका कर्मचारीहरुले एकपटक पनि अवसर नपाउने तर मन्त्रालय र विभागका कर्मचारीहरुले ४ महिनाकै अवधिमा पनि ३/४ पटक भ्रमण गरेको विवरणले देखाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुरले भने यस विषयमा आफुलाई खासै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । यी हुन् विदेश भ्रमणमा जाने कर्मचारी [pdf id=379659]
दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन ९ देखि १५ महिनासम्मका आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरे। दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाइ छ । मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगञ्ज उपमहानगरपालिकामा सङ्क्रमण फैलिएको छ । नेपालगञ्जमा ९० जनालाई दादुरा पुष्टि भइसकेको छ भने एक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान सुरु भएको ठाउँमा अहिलेसम्म तीन हजार बालबालिकालाई खोप लगाइएको छ ।
चिकित्सक संघले २ संस्थासँगको सहकार्यमा २ चिकित्सकलाई १ लाख नगद सहित अवार्ड प्रदान गर्ने
काठमाडौं । नेपाल चिकित्सक संघले रुपा फाउन्डेसन र सज्जन-श्याम ट्रस्टसँगको सहकार्यमा चिकित्सकलाई अवार्ड प्रदान गर्ने भएको छ । अपिल अनुसार संघले २ जना चिकित्सकलाई १/१ लाख नगद पुरस्कार सहित अवार्ड प्रदान गरिने जनाएको छ । चिकित्सक संघले प्रदान गर्ने पुरस्कार एक जना महिला र एक जना पुरुषले पाउने जनाइएको छ । अवार्डका लागि आगामी माघ २ गतेसम्म आवेदन दिन सकिने र संघको स्थापना दिवसको दिन अवार्ड प्रदान गरिने संघको अपिलमा उल्लेख गरिएको छ । स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको, चिकित्सक संघको आजीवन सदस्य रहेको, नयाँ सेवा स्थापनाको लागि रचनात्मक भूमिका निर्वाह गरेको, खोज अनुसन्धान कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको लगायतका मापदण्ड पुरा गरेको व्यक्तिले अवार्डका लागि आवदेन गर्न सक्ने जनाइएको छ । मापदण्डको बारेमा संघले अपिलमा विस्तृत विषय उल्लेख गरेको छ ।