घरदैलोमै नगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा
कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ । ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस्, नगर माथि गाउँघरमा स्वास्थकर्मी साथी’ नाराका साथ नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो । नागरिकको घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवालगायत सेवा प्रदान गर्ने गरिएको छ । नगरपालिकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत पालिकाभित्रका गर्भवतीको निःशुल्क स्वाथ्य जाँच, गाउँघरमै पुगेर वृद्धाभत्ता, निःशुल्क स्वास्थ्य सेवा र ज्येष्ठ नागरिक तथा दम, मधुमेह, उच्च रक्तचापका बिरामीका लागि निःशुल्क औषधी दिँदै आएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए। ‘घरदैलामै पुगेर एकीकृत सेवा प्रवाह गर्दैआएका छौँ, पालिकाभित्रका सुत्केरी र गर्भवतीको मोबाइलमा एसएमएस एलर्ट सेवा प्रदान गर्ने गरिएको छ,’ उनले भने । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा गरिएको छ । नगरपालिकाले सबै नागरिकको स्वास्थ्य बीमा गरेको छ । ‘नगरपालिकाले नै विपन्न तथा आर्थिक अवस्था कमजोर भएका र ज्येष्ठ नागरिकको बीमा गरिदिएको छ’, शाहीले भने। नगरपालिकाकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत हालसम्म १० हजार नागरिकले स्वास्थ्य सेवा पाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले घुम्ती सेवामार्फत एकीकृत निःशुल्क शिविर सञ्चालन गर्ने गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले जानकारी दिए । ‘हामीले यो कार्यक्रमअन्तर्गत स्वास्थ्य, आयुर्वेद, पञ्जीकरणलगायतका अन्य काममा नागरिकको घरमा नै सेवा दिने गरेका छौँ, यो कार्यक्रम प्रत्येक महिनाको एक दिन नगरपालिकाका नौवटै वडामा सञ्चालन हुन्छ,’ उनले भने ।
पैसाको अभावले उपचार नपाएर मर्न पर्ने अवस्थाको निवारण गर्न चाहन्छौं – राज्यमन्त्री कार्की
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले अब मुलुकमा पैसाको अभावमा उपचार गर्न नपाएर मर्न पर्ने अवस्थाको निवारण गर्ने बताएकी छन् । आज मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री कार्कीले सो बताएकी हुन् । ‘देश, जनता र इश्वरलाई साक्षी राखेर हामी भन्न चाहन्छौं, हाम्रो देशमा अब चाहिँ पैसाको अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई हामी पूर्ण रुपले निवारण गर्न चाहन्छौं’, उनले भनिन् । मन्त्रालयमा आफ्नो पदभार ग्रहण गर्दै आँखाको स्वास्थ्य उपचारलाई विकेन्द्रीकरण गर्ने निर्णय गरेको उनले बताइन् । केन्द्र देखि आधारभूत तहसम्मको अस्पतालमा स्वास्थ्यको मापदण्डअनुसार काम भएको वा नभएकोे विषयमा आवश्यक नियमनको लागि मन्त्रीसमक्ष निर्णय गरेर फरवार्ड गरेको कार्कीले बताइन् ।
अस्पतालमा औषधि नपाउँदा बिरामी समस्यामा
जाजरकोट । जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेको छन् । विगत महिना दिनदेखि बिरामीले फार्मेसीबाट औषधि नपाएको गुनासो गर्दै आएका छन् । फार्मेसीमा औषधिका लागि पुुर्जा लिएर बिरामीका आफन्तहरू आउँछन्, तर यहाँ औषधि नपाएपछि गाली मात्र खानुपरेको फार्मेसीमा काम गर्ने स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य बीमा गरेका बिरामी घरबाट पैसा बोकेर नआउने भएकाले फार्मेसीमा औषधि नपाउँदा झगडा गर्न बसेझैँ हुने गरेको स्वास्थ्यकर्मीले बताउँछन् । चिकित्सकले लेखिदिएको औषधि नपाएर निजी मेडिकलमा किन्न बाध्य भएको भेरी नगरपालिका–१ की तली कामीले बताए । सामान्य ग्यास्ट्रिकको औषधिसमेत नपाएको उनले गुनासो गरे । त्यस्तै भेरी नगरपालिका–३ का चन्द्रबहादुर बुढाले पनि फार्मेसीबाट औषधि नपाएको बताए । ‘नाममात्रको फार्मेसी भएपछि के गर्नु, औषधि बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता छ’, उनले भने । सदरमुकामभन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्या पर्ने गरेको छ । फार्मेसीमा औषधि सकिएको जानकारी सम्बन्धीत निकायलाई गराए पनि औषधि जिल्लामा नआएको जनाइएको छ । स्वास्थ्यमा विद्युत् सेवा अवरुद्ध जिल्ला अस्पतालमा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । ओपिडी, शल्यक्रिया, एक्सरे सेवादेखि ल्याबसम्मका सबै सेवा विद्युत् नहुँदा ठप्प भएका छन् । जेनेरेटर सञ्चालन गरेर सबै उपकरण सञ्चालन गर्दा महँगो पर्ने भएकाले दैनिक अस्पतालमा काम गर्न मुस्किल भएको हो । विद्युत् प्राधिकरणले ट्रान्सर्फमर जडान गरे पनि वाइरिङ नगर्दा समस्या उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख अविशेकराज कलुवारले बताए । स्वास्थ्य सेवा कार्यालयले प्राधिकरणलाई रु दुई लाख तिर्नसमेत बाँकी छ । १७ लाख रकम खर्चेर अस्पतालमा काम गरे पनि स्वास्थ्यले आफैँले केही पनि काम नगर्दा विद्युत्मा समस्या हुँदै आएको छ । विद्युत्का सामग्री आउँदै गरेको स्वास्थ्यका कार्यालय प्रमुख नवराज कँडेलले दिए ।