‘पाँच वर्षमा पर्वतका सबै पालिकामा सुविधासम्पन्न अस्पताल बन्छ’
पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत गएका पदम गिरीले अबको पाँच वर्षभित्र सातवटै पालिकामा सुविधासम्पन्न अस्पताल बनाइने बताएका छन् । जन्मगाउँ पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरीले सो बताएका हुन् । ‘अबको पाँच वर्षभित्र सातवटै पालिकामा सुविधासम्पन्न अस्पताल बनाइने छ सबै पालिकामा आवश्यकताअनुसार डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहितको न्यूनतम सेवा अनिवार्य उपलब्ध हुनेछ ।’ उनले केपी शर्मा ओली सरकारका पालामा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै लग्ने स्पष्ट गरे । उनले भने, ‘अब कोही पनि मानिस औषधि नपाएर, उपचार नपाएर मर्ने स्थिति हुनु हुँदैन, स्वास्थ्य बीमा थप प्रभावकारी बनाउँदै सबै घरमा पुर्याउनुपर्छ ।’ त्यो स्थितिको अन्त्य गर्न स्वास्थ्यजस्तो संवेदनशील मन्त्रालयको जिम्मा लिएको उनको भनाइ छ । मन्त्री गिरीले पर्वत अस्पतालको अनुरोधमा पहिलोपटक जिल्ला आउँदा एक करोड ४० लाख पर्ने स्वास्थ्य उपकरण लिएर आएको सुनाउँदै भने, ‘म धेरै बोल्दिनँ, हामीले सुरुआत मात्र गरेका छौं, स्वास्थ्य क्षेत्रका समस्या बुझ्दैछौं, स्वास्थ्य क्षेत्रभित्रका समस्या पहिचान गरी गरिब र विपन्नको पहुँचमा स्वास्थ्य सेवा ल्याउने कुरा रिजल्टद्वारा देखाउने काम गर्नेछौँ ।’ उनले चुनावअघि र चुनावपछि बोल्ने कुरा फरक हुन सक्छन् भन्दै आफू चुनाव जितेर मन्त्री बनेपछि जिम्मेवार भएर बोलेको तर्फ सङ्केत गर्दै भने, ‘हामी अहिले अरुको आलोचना गरेर समय खेर फाल्ने पक्षमा छैनौँ, जति सकिन्छ काम गरेर रिजल्ट दिने ध्याउन्नमा छौं ।’ उनले जिल्लाको खानेपानी, सडक, बाटोघाटो, सिँचाइ, भूकम्पले क्षति भएका घरहरूका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको दोहोर्याए । रासस
सबैको स्वास्थ्य बीमा गर्दै बागलुङको बडिगाड गाउँपालिका
बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले पाँच प्रकारका लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बीमा सेवा दिन थालेको छ । गाउँपालिकाले जारी गरेको पाँच वर्षे स्वास्थ्य रणनीतिअनुसार एकल महिला तथा एकल पुरुषलाई स्वास्थ्यको निःशुल्क पहुँचमा ल्याउन थालिएको हो । गाउँपालिकाले पाँच वर्षभित्र पालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने लक्ष्यअनुसार कार्यक्रम ल्याउन थालेका गाउँपालिकाले जनाएको छ । बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीका अनुसार ‘ख’ वर्गको अपाङ्गता, स्वास्थ्य स्वयंसेविका, कुपोषित बालबालिका र सुकुम्वासीलाई निःशुल्क बीमा गर्न थालिएको छ । लक्षित वर्गले स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुँदा लाग्ने प्रिमियम शुल्क गाउँपालिकाले भुक्तानी गर्नेछ । गाउँपालिकाको स्वास्थ्य शाखामार्फत सञ्चालित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा २० लाख लागतमा लक्षित वर्गको निःशुल्क बीमा थालिएको छ । ‘जनतासँग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत यो वर्ष २० लाखको स्वास्थ्य बीमा गर्ने लक्ष्य छ, नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भरपर्दो माध्यम नै स्वास्थ्य बीमा हो’, गाउँपालिका अध्यक्ष अधिकारीले भने, ‘अहिलेसम्म सात सय जनाको निःशुल्क बीमा गरिएको छ, जसमध्ये बीमा गर्नेमा एकल महिला, एकल पुरुषको सङ्ख्या अधिक रहेको छ, पाँच वर्षमा सबै नागरिकलाई निःशुल्क बीमा गर्ने योजना छ ।’ बडिगाड गाउँपालिकाले अहिलेसम्म गाउँपालिकाको वडा नम्बर २, ७ र ९ मा ‘जनतासँग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’ लागू गरेको छ भने अन्य वडामासमेत उक्त कार्यक्रम थाल्ने बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक विपेन्द्र केसीले बताए । केसीका अनुसार पालिकाले स्वास्थ्य बीमाको प्रिमियम शुल्क तिर्ने गरी नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना छ । ‘पालिकाले ल्याएको योजना हामीले कार्यानवयन गर्ने हो, स्वास्थ्य बीमा बोर्डअन्तर्गत वडा–वडामा दर्ता सहयोगी छन्, उनीहरुले लक्षित वर्गको बीमा गरेर पालिकामा एकमुष्ट बील भरपाईसहित भुक्तानी माग्नेछन्, हामीले नियम अनुसार भुक्तानी गर्नेछौँ’, केसीले भने, ‘स्वास्थ्य बीमा गरेबापत एक परिवारले एक लाखसम्मको एक वर्षमा निःशुल्क औषधि र उपचार पाउनेछ ग्रामीण भेगका नागरिकलाई राहत मिल्नेछ ।’ एकल महिला र एकल पुरुष, कुपोषित बालवालिका र सुकुम्बासीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले राहत भएको गाउँपालिकाको भनाइ छ । हालसम्म सात सय जनाको स्वास्थ्य बीमा गरिसकेको पालिकाले तीस हजार नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ । बडिगाड गाउँपालिका भौगोलिक हिसाबले अत्यन्तै विकट रहेकाले अझै घर–घरमा स्वास्थ्यको पहुँच पुग्न नसकेको भन्दै पालिकाले ग्रामीण मोबाइल स्वास्थ्य कार्यक्रमअन्तर्गत पायकपर्ने स्थानमा स्वास्थ्य शिविरसमेत गर्दै आएको छ । गाउँपालिकाको १० वटै वडामा पुगेर गर्भवतीको भिडियो एक्सरे, रगत परीक्षण, दुई वर्ष मुनिका बालबालिकाको तौल अनुगमन, परिवार नियोजनको सेवा, शङ्कास्पद बिरामीको खकार नमुना सङ्कलन, सुगर परीक्षण र स्वास्थ्य परीक्षण तथा परामर्श गर्न थालिएको छ । गाउँपालिकाको नयाँ नेतृत्व आयसँगै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्न थालेपछि स्थानीयवासीले स्वास्थ्य क्षेत्रमा राहत पाएका हुन् । यस्तै बागलुङको निसीखोला गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउनका लागि सबै नागरिकको स्वास्थ्य बीमाबापतको रकम गाउँपालिकाले भुक्तानी गर्ने नीति लिएको छ । रासस
पर्वत अस्पताललाई डेढ करोडको डिजिटल एक्सरे मेसिन
पर्वत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पर्वत जिल्ला अस्पताललाई झण्डै डेढ करोड मूल्य बराबरको डिजिटल एक्सरे मेसिन हस्तान्तरण गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक गृहजिल्ला आएका उनले स्वास्थ्य मन्त्रालय, आपूर्ति महाशाखामार्फत उपलब्ध आधुनिक मेसिन हस्तान्तरण गरे । पर्वत् अस्पतालमा स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै मन्त्री गिरीले पिछडिएको क्षेत्रमासमेत गुणस्तरीय स्वास्थ्य सेवाको पुर्याउन सरकार प्रतिबद्ध रहेको बताए । आफू अहिले स्वास्थ्य क्षेत्रका समस्या पहिचानमा लागेको बताउँदै उनले ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘गुणस्तरीय स्वास्थ्यको पहुँच सबै जनतामा पुर्याउने जिम्मा सरकारको हो । उपचार नपाएर अकालमा मर्नुपर्दैन भन्ने प्रत्याभूति जनतालाई दिलाउने गरी काम गर्छौँ’, उनले भने, ‘यसका लागि सबै स्वास्थ्य संस्थामा आधारभूत सुविधा र जनशक्तिको व्यवस्थापन गर्नेछौँ ।’ स्वास्थ्यमन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याको समाधान सहज भने नरहेको स्वीकार गर्दै न्यूनतम स्वास्थ्य सेवाको मापदण्ड देशेभर पु¥याउने विश्वास दिलाए । उनले भने, ‘अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरोगरी अध्ययन गर्दैछु । ती समस्या पहिचान गरेर जनतालाई सेवा दिने बाचा गर्दछु ।’ उनले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य बीमालाई दिगो र भरपर्दो बनाउँदै गरीब जनताले स्वास्थ्य बीमामार्फत नै सेवा लिनसक्ने आवस्था सिर्जना गर्ने प्रतिबद्धता पनि जनाए । अर्को प्रसङ्गमा पर्वतका सातवटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा गरे । ‘यहाँको जिल्ला अस्पतालमा अत्यावश्यक उपकरणको कमी रहेछ । आगामी पाँच वर्षभित्र सातवटै पालिकामा अस्पताल हुनेछन्, डाक्टर, नर्स र ल्याब हुनेछ । कोही पनि उपचार नपाएर मर्ने अवस्था रहँदैन’, उनले भने । पर्वत अस्पतालमा ५० शय्या अनुसार जनशक्ति व्यवस्थापन गर्ने र आवश्यक उपकरण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता जनाए । मन्त्री गिरीले पर्वत अस्पतालको निरीक्षणसमेत गरे । रासस