कान्ति बाल अस्पतालमा पुनः सञ्चालन आयो इन्डोस्कोपी सेवा

काठमाडौं । कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा सुरु गरेको छ । दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. युवानिधि बसौलाले एक महिनादेखि इन्डोस्कोपी सेवा प्रदान गर्न थालिएको जानकारी दिए। इन्डोस्कोपी मुखदेखि पेटसम्म समस्या पहिचान गर्नका लागि गरिन्छ । सरकारी अस्पताल कान्तिमा मात्र बालबालिकाको इन्डोस्कोपी सेवाको सुविधा रहेको छ । अस्पतालमा इन्डोस्कोपी नहुँदा बाहिर निजी अस्पतालमा बालबालिकालाई उपचारका लागि पठाउनुपर्ने बाध्यता रहेको थियो । ‘हप्ताको एक दिन मङ्गलबार मात्र इन्डोस्कोपी गर्ने गरिएको छ’, डा. बसौलाले भने। अस्पतालले कोलोनोस्कोपी सेवासमेत सुरु गरेको छ । कोलोनोस्कोपीमा दिसा आउने भाग वा मलद्वारबाट पाइप छिराएर मलद्वारको भित्री अवस्था र ठूलो आन्द्राको अवस्था परीक्षण गरिन्छ । यस्तै अस्पतालले कलेजोको बायोस्पी सेवासमेत एक महिनादेखि सञ्चालन छ । बालबालिकामा कलेजोको समस्या हुने भएकाले एक महिनादेखि सेवा सुरु गरिएको कार्यकारी निर्देशक डा. बसौलाले जानकारी दिए। कलेजको मासु बढेको, कलेजोमा केही रोग देखिएमा बालबालिकामा कलेजोको बायोस्पी गर्ने गरिन्छ । तीन सय ३० शय्याको अस्पतालमा दैनिक ६०० भन्दाबढी बालबालिका उपचारका लागि आउने गरेका छन् । एक हजार शय्याको अति विशिष्टीकृत बाल अस्पताल बनाउने योजना रहेको अस्पतालले जनाएको छ ।

तनहुँको भानु नगरपालिकामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

तनहुँ । तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने भएको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ । गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्सरे सेवा प्रदान गर्न लागिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । यो सेवाबाट गर्भवतीको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने, उनीहरूको अवस्थामा समस्या रहेमा नगरपालिकाकै स्वास्थ्य संस्था र जोखिम भए अन्यत्र रिफर गरिने उनले बताए। यो सेवाअन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र भानु नगरपालिका–१ सालबिस्नेमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको सुरुआत गरिएको छ । वडाध्यक्ष कान्छीमाया तामाङले भिडियो एक्सरे सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको बताए। उनले गर्भवतीलाई सरल र सहज तरिकाबाट अल्ट्रासाउण्ड सेवा पुर्याउनका लागि निःशुल्करुपमा ग्रामीण अल्ट्रासाउण्डको सुरुआत भएको र हरेक महिना सञ्चालन हुने जानकारी दिए । हालसम्म २३ जना गर्भवतीले उक्त सेवा लिएका छन् ।

नर्भिक अस्पतालका सेयरधनीले अब ४२ प्रतिशत लाभांश पाउने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले लाभांश बढाएर पारित गरेको छ । अस्पतालकाे साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश संसोधन गर्दै केही बढाएर पारित गरेको हो । साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअघि सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरणको निर्णय गर्दै सोही प्रस्ताव साधारणसभामा लगेको थियो । हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै अब चुक्तापूँजी बढेर २७ करोड रुपैयाँ पुगेको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गरेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने लगायतका एजेण्डाहरु पनि पारित गरेकाे छ ।