६ महिनामै जगदम्बा मोटर्सको आम्दानी ९ अर्ब बढी, स्मार्टफोन थपिएपछि ४३.१६ प्रतिशत बढ्यो
काठमाडौं । जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा ९ अर्ब ६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । चारपाङ्ग्रे विद्युतीय सवारीको व्यापार विस्तार तथा जेडटीई स्मार्टफोन वितरण व्यवसाय थपिएपछि कम्पनीको आम्दानीमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । शंकर ग्रुपअन्तर्गत सञ्चालनमा रहेको जगदम्बा मोटर्सले गत आर्थिक वर्ष २०८१/८२ मा १२ अर्ब ५५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.१६ प्रतिशत अर्थात् ३ अर्ब ७८ करोड ६० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको थियो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ८१ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा १३ अर्ब ६१ करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा १३ अर्ब १३ करोड ५० लाख रुपैयाँ तथा आव २०७६/७७ मा ६ अर्ब ६५ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०१० डिसेम्बर २७ मा एसजी ग्लोबल प्राइभेट लिमिटेडको रूपमा स्थापना भएको कम्पनीलाई सन् २०१५ जुनमा पुनः नामकरण गरी जगदम्बा मोटर्स प्राइभेट लिमिटेड राखिएको हो । हाल कम्पनीको नेतृत्व शाहिल अग्रवालले गर्दै आएका छन् । जगदम्बा मोटर्स नेपालमा टीभीएस मोटर कम्पनीका उत्पादनहरूको आधिकारिक तथा एकमात्र वितरक हो । कम्पनीले प्रोटोन कारहरूको समेत नेपालमा प्रतिनिधित्व तथा वितरण गर्दै आएको छ । पछिल्ला वर्षहरूमा कम्पनीले विद्युतीय चारपाङ्ग्रे सवारी क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गरेको छ । यसअन्तर्गत कम्पनीले जेएमईभी र चेरी ब्रान्डका ईभी सवारी साधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार यसले टीभीएसका दुई तथा तीनपाङ्ग्रे सवारी, गीली समूहअन्तर्गतको प्रोटोन होल्डिङ्सका कार, जेएमईभी तथा चेरी ब्रान्डका ईभी सवारी बिक्री वितरण गर्दै आएको छ । देशभरका प्रमुख सहरमा फैलिएको करिब १३४ डिलर सञ्जालमार्फत कम्पनीले आफ्नो सेवा विस्तार गरेको जनाएको छ । यद्यपि, नेपालको दुईपाङ्ग्रे सवारी बजार अत्यन्त प्रतिस्पर्धात्मक रहेको कम्पनीको भनाइ छ । बजारमा बजाज, होन्डा र यामाहा जस्ता स्थापित ब्रान्डहरूको बलियो उपस्थिति रहेको छ । ती कम्पनीहरूले स्थानीय एसेम्बली सञ्चालन सुरु गरेपछि प्रतिस्पर्धा अझ तीव्र बनेको कम्पनीले जनाएको छ । आगामी दिनमा आम्दानी वृद्धि कायम राख्दै नाफा स्थिर राख्नु, कार्यशील पुँजी व्यवस्थापन सन्तुलनमा राख्नु तथा लाभांश र पुँजी संरचनाबीच उचित सन्तुलन कायम गर्नु कम्पनीका प्रमुख चुनौतीका रूपमा रहेको बताइएको छ । कम्पनीको आम्दानीमा सुधार देखिए पनि सञ्चालन नाफा मार्जिन भने घट्दो क्रममा रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा १०.०२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन गत वर्ष घटेर ७.०९ प्रतिशतमा झरेको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यो थप घट्दै ६.१० प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ५ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ अर्ब ४९ करोड ३७ लाख रुपैयाँ दीर्घकालीन तथा ४ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीको तथ्यांकमा उल्लेख छ ।
रैथाने परिकारलाई विश्वस्तरमा पुर्याउँदै नेपाली सेफ
काठमाडौं । झापाको दमकमा आयोजना गरेको कुलिनरी प्रतियोगिता तथा फुड फेस्टिभलमा नेपाली खानाको मौलिकता, संरक्षण र अन्तर्राष्ट्रिय ब्रान्डिङबारे छलफल भएको छ । कार्यक्रममा सहभागी विभिन्न स्वदेशी तथा विदेशी सेफहरूले नेपाली खानाको विविधता, स्वास्थ्यवर्धक गुण र विश्व बजारमा यसको सम्भावनाबारे जोड दिएका छन् । नेपाल सेफ सोसाइटीका अध्यक्ष एलवि कौशलले नेपाली खानाको मौलिकता जोगाउन र त्यसलाई आधुनिक प्रस्तुतिकरणसहित विश्व बजारमा लैजान सेफहरू एकजुट भएर काम गरिरहेको बताए । उनका अनुसार गाउँघरका अर्गानिक तथा प्राकृतिक जडिबुटी, स्थानीय सामग्री र परम्परागत स्वादलाई अनुसन्धानमार्फत आधुनिक मेनुमा उतार्ने प्रयास भइरहेको छ । अध्यक्ष कौशलले नेपाली खाना दालभात र मःममा मात्रै सीमित नभएको उल्लेख गर्दै नेवारी, थकाली, राई, थारु, राजवंशी लगायत समुदायका हजारौं परिकार नेपाली खानाको वास्तविक पहिचान भएको जानकारा दिए । ‘यी खानाहरू स्वाद मात्रै नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण छन्,’ उनले भने । उनका अनुसार नेपाली खाना अन्तर्राष्ट्रिय ब्रान्ड बन्न सरकार, निजी क्षेत्र र सेफ समुदायबीच समन्वय आवश्यक छ । उनले नेपाली खानाको गुणस्तर, पोषण मूल्य, टेक्स्चर र रेसिपीलाई लिखित तथा प्रमाणित स्वरूपमा ल्याउनुपर्ने बताए । विदेशमा काम गरिरहेका नेपाली सेफहरू अझै शीर्ष तहसम्म पुग्न नसकेको उल्लेख गर्दै अध्यक्ष कौशलले भने, ‘जबसम्म हाम्रो खानाको स्पष्ट मापदण्ड र डकुमेन्टेसन हुँदैन, विश्वव्यापी विस्तार कठिन हुन्छ ।’ यसैगरी, विद्यार्थी सेफ सन्दीप मगरले नेपाली खानालाई आधुनिक अन्तर्राष्ट्रिय प्रस्तुतीकरणमा पस्किने अभ्यास भइरहेको बताए । उनले गुन्द्रुक, भटमास, गिठा, भ्याकुर, तरुल, पिँडालुजस्ता रैथाने परिकारलाई विश्वस्तरमा ब्रान्ड गर्न सकिने धारणा राखे । उनका अनुसार विदेशी खानाको प्रभावले नेपाली सेफहरूलाई नयाँ प्रस्तुतीकरण सिकाएको छ । ‘फ्रेन्च र इटालियन क्युजिनजस्तै नेपाली क्युजिन पनि विश्वस्तरमा पुग्न सक्छ,’ उनले भने। यस्तै, नेपाली पाककलाको क्षेत्रमा पाँच दशक बिताइसकेका वरिष्ठ सेफ गोविन्द नरसिंह केसीले नेपाली खानाको मौलिकता हराउने खतरा रहेको बताए । केसीले सोल्टी, याक एन्ड यति, अन्नपूर्ण, चन्द्रागिरि रिसोर्ट, एभरेस्ट होटललगायतमा काम गरिसकेका छन् । उनी नेपालको पहिलो सेफ पनि हुन् । उनका अनुसार अहिले ‘फ्युजन क्युजिन’ को नाममा परम्परागत स्वाद बिग्रिने जोखिम बढेको छ । वरिष्ठ सेफ गोविन्द नरसिंह केसी । उनले गुन्द्रुक, तामा, कोदो, फापर, ढिँडो, मगज करी लगायत परिकारहरूको ऐतिहासिक महत्व रहेको उल्लेख गर्दै पुराना परिकारहरूको अनुसन्धान र दस्तावेजीकरण आवश्यक रहेको बताए । ‘कोदो कुनै बेला गरिबको खाना मानिन्थ्यो, आज स्वास्थ्यका लागि धनीहरूले खोजिरहेका छन्,’ उनले भने । नेपाली खानाको स्वादले खुसी विदेशी केसीले पहिले नेपाल आउने विदेशी पर्यटकलाई नेपाली खानाको मौलिक स्वाद अत्यन्त मन पर्ने बताए । उनी भन्छन्, ‘पहिले विदेशीहरूले हामीलाई खुब सोध्थे– तिम्रो देशको मौलिक खाना के हो ? त्यसपछि हामी कुखुराको मासुमा गान्टे मुला, कालो दाल, गाउँघरका तरकारी, सिलौटामा पिसेको मसला, तोरीको तेल र घिउ प्रयोग गरेर खाना बनाउँथ्यौं, त्यसको सुगन्ध र स्वादले विदेशीहरू खुसी हुन्थे ।’ उनका अनुसार होटलहरूमा एक मिल चाइनिज, एक मिल कन्टिनेन्टल, एक मिल इन्डियन र अनिवार्य रूपमा एक मिल नेपाली खाना राख्ने अभ्यास थियो । यसले विदेशी पर्यटकलाई नेपाली स्वादसँग परिचित गराउँथ्यो । ‘पर्यटक खुसी भए भने उनीहरूले आफ्नो देशमा गएर नेपालका खानाको प्रचार गर्छन् । पर्यटन नै नेपालको सबैभन्दा ठूलो स्रोत हो,’ उनले भने । अहिले नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने प्रयास भइरहेको भन्दै केसी त्यसलाई सकारात्मक मान्छन् । तर, अत्यधिक ‘फ्युजन क्युजिन’ का कारण नेपाली खानाको मौलिकता हराउने खतरा रहेको उनको चिन्ता छ । ‘नेपाली खानाको एथेन्टिसिटी जोगाउनुपर्छ । आवश्यक मसला, सही स्वाद र मौलिक तरिका हरायो भने त्यो नेपाली खाना रहँदैन,’ उनले भने । उनका अनुसार गुन्द्रुक, तामा, याक चिजजस्ता नेपाली परिकार विदेशीलाई सुरुमा निकै कडा स्वाद र गन्धयुक्त लाग्छ । तर सही तरिकाले पकाएर पस्कँदा उनीहरूलाई पनि स्वादिष्ट लाग्ने गरेको छ । केसीले नेपाली खानाको इतिहास निकै समृद्ध रहेको बताए । उनका अनुसार अहिलेका युवापुस्ताले पुराना परिकार खोजी गरेर पुनः बजारमा ल्याउने प्रयास गरिरहेका छन् । उनले ‘मगज करी’ अर्थात् बाख्राको गिदीबाट बनाइने परिकारको रोचक इतिहास पनि सुनाए । उनका अनुसार जंगबहादुर राणाको लखनउ अभियानताका सैनिकहरूले हाम्रो मगज खायो भन्ने प्रसंगबाट ‘मगज करी’ को कथा जोडिएको जनविश्वास छ । त्यसपछि गिदीको तरकारी रोटी, ढिँडो र अन्य परिकारसँग खान थालिएको कथन उनले सुनाए । उनले भने, ‘हाम्रो खानाको इतिहास धेरै लामो छ । ८४ व्यञ्जन भन्ने कुरा त्यसै आएको होइन । नेपालका परिकारमा संस्कृति, इतिहास र समाज जोडिएको छ ।’ जंगलदेखि गाउँसम्मका खानाको खोजी वरिष्ठ सेफ केसीले नेपाली खानाको विविधता गाउँघर र जंगलसम्म फैलिएको औंलाउँछन् । उनले भुआले, जलुको, ट्युसा, लुँडे, बेथे, कान्छी साग, खोले सागजस्ता परम्परागत खानेकुराको चर्चा गर्दै अहिलेका युवापुस्ताले तिनको खोज अनुसन्धान गरिरहेको जानकारी दिए । ‘सिकाइ कहिल्यै सकिँदैन । हामी पुराना पुस्तालाई केही अनुभव छ, युवाहरूले त्यसलाई खोज्दै अघि बढिरहेका छन्,’ उनले भने । अहिलेका युवामा पिज्जा, बर्गर र जंक फुडप्रतिको आकर्षण बढेको भन्दै केसीले परम्परागत नेपाली खानाको महत्त्व सम्झाए । उनले भने, ‘कोदो, फापर, मकैका ढिँडो कुनै बेला गरिबले खाने खाना भनेर हेपिन्थ्यो । तर अहिले धनीहरू त्यही खोज्दै हिँडिरहेका छन् । वैज्ञानिक हिसाबले पनि यी अन्न स्वास्थ्यका लागि धेरै राम्रो छन् । ’ केसीले नेपाली खानालाई व्यवस्थित रूपमा दस्तावेजीकरण गर्न सरकार र निजी क्षेत्रलाई आग्रह गरे । उनका अनुसार नेपाली खाना विश्वभर लोकप्रिय बन्दै गए पनि यसको लिखित इतिहास र आधिकारिक अभिलेख अझै कमजोर छ । ‘सरकारले पर्यटन र नेपाली खानालाई जोडेर सही नीति बनायो भने धेरै नेपाली विदेशिनु पर्दैन । एउटा विदेशी पर्यटक १० दिन बस्दा दुई जनाले रोजगारी पाउन सक्छन्,’ उनले भने । ४५ देशमा नेपाली सेफहरूको सञ्जाल अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अहिले ४५ देशमा सक्रिय रहेको छ । सोसाइटीका अध्यक्ष अरुण अधिकारीले संस्थाको मुख्य उद्देश्य विश्वभर रहेका नेपाली सेफहरूलाई एकीकृत गर्दै नेपाली खानाको स्तर उकास्नु र अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्नु रहेको जानकारी दिए । उनले सातै प्रदेशका रैथाने तथा लोपोन्मुख खानाहरूको सूची तयार गरी तिनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने काम भइरहेको बताए । ‘नेपाल भनेर खोज्दा नेपाली खानाको पहिचान विश्वले देख्नुपर्छ,’ उनले भने । सरकारसँग नीति र तालिमको माग सेफ सोसाइटीले सरकारसँग नेपाली खानाका रेसिपी, पोषणमूल्य र बनाउने तरिकाको आधिकारिक दस्ताबेजीकरण हुनुपर्ने, खाद्य सुरक्षा, हाइजिन, पोषण तथा कुलिनरी तालिमलाई व्यवस्थित गर्न आग्रह गरेको छ। होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गर्ने सेफहरूलाई नियमित तालिम आवश्यक रहेको सोसाइटीको भनाइ छ । यस्तै, सेफहरुको एलर्जीजस्ता विषयमा सरकारी स्तरबाटै तालिमको व्यवस्था हुनुपर्ने माग राखेका छन् । सरकारले पर्यटन प्रवर्द्धनसँगै नेपाली खानाको प्रवर्द्धनलाई पनि नीतिगत रूपमै अगाडि बढाउनुपर्ने सेफहरुको भनाइ छ । सोसाइटीले आगामी दिनमा सातै प्रदेशमा कार्यक्रम विस्तार गर्ने, कुलिनरी कलेज स्थापना गर्ने तथा नेपाली खानालाई विश्वस्तरमा स्थापित गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ । युवालाई उद्यमशीलतामा जोड्दै कोशी प्रदेश कोशी प्रदेशका पर्यटनमन्त्री भीम पराजुली नेपाली खानालाई विश्वस्तरमा ब्रान्डिङ गर्न सरकार, होटल उद्योग, शैक्षिक संस्था र विदेशमा रहेका नेपाली सेफहरूबीच सहकार्य आवश्यक रहेको बताउँछन् । उनी ४५ देशबाट आएका नेपाली सेफहरूमा स्वदेशप्रति निकै माया र ऊर्जा देखिएको बताए । दुई दशकभन्दा बढी समयदेखि विदेशमा काम गरिरहेका धेरै नेपाली सेफहरू स्वदेश फर्किएर उद्यम गर्न इच्छुक रहेको उल्लेख गर्दै उनले राज्यले उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले कोशी प्रदेश सरकारले युवालाई उद्यमशीलतामा जोड्न स्टार्टअप कर्जा, बिना धितो ऋण र ब्याज अनुदानजस्ता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । ‘अब संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेशमै लगानी, उद्यम र रोजगारी सिर्जनाका लागि आकर्षित गर्न मिलेर काम गर्नुपर्छ,’ उनले भने । मन्त्री पराजुलीले नेपालको अर्थतन्त्र रेमिटेन्सले धानेको उल्लेख गर्दै अब विदेशमा कमाएको अनुभव, सीप र पुँजी आफ्नै देशको विकासमा प्रयोग गर्ने समय आएको बताए । ‘स्वदेश फर्केर आफ्नै माटोमा उद्यम गर्ने सोचलाई म सलाम गर्छु, ’ उनले भने, ‘कोशी प्रदेश सरकार विदेशमा रहेका नेपालीलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्न तयार छ ।’ उनले होटल, पर्यटन र शैक्षिक क्षेत्रमा अनुभवी नेपाली सेफहरूको ज्ञान र सीप उपयोग गर्न कानुनी तथा आर्थिक वातावरण निर्माण गरिने पनि बताए । मन्त्री पराजुलीले नेपाली खाना आफैंमा विश्वस्तरीय पहिचान बोकेको उल्लेख गर्दै दाल–भात, ढिँडो, गुन्द्रुक, अचारलगायतका परिकार विदेशीमाझ पनि लोकप्रिय बन्दै गएको बताए । अमेरिकाको वासिङ्टन डिसीमा विदेशीहरूले नेपाली थकाली खाना रुचिपूर्वक खाएको अनुभव सुनाउँदै उनले नेपाली खानामा विश्व बजार जित्ने क्षमता रहेको धारणा राखे । उनका अनुसार नेपालका नेवारी, थारु, राई–लिम्बु, मैथिली तथा खस–आर्य समुदायका परिकारले नेपाली भोजन संस्कृतिलाई अझ समृद्ध बनाएका छन् । ‘८४ व्यञ्जनको संस्कृति बोकेको नेपाली भोजन विश्वकै आकर्षण बन्न सक्छ,’ उनले भने ।
अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार
काठमाडौं । विगत एक दशकमा भियतनामी विद्युतीय सवारीसाधन (ईभी) निर्माता विनफास्ट अटोले आक्रामक विस्तारका लागि अरबौं डलर खर्च गरिसकेको छ । अहिले आफ्ना दुईवटा मुख्य कारखानाहरू बिक्री गर्ने र आफ्नो बहीखाताबाट ७ अर्ब डलर बराबरको ऋण हटाउने योजनाले अर्बपति फाम न्हात वुओङको भिनग्रुप व्यापारिक घरानाको सुशासनमाथि चिन्ता उब्जाइदिएको छ । सन् १९९० को दशकमा युक्रेनमा तयारी चाउचाउ बेचेर व्यवसाय सुरु गरेका वुओङले भिनग्रुपलाई भियतनामकै सबैभन्दा ठूलो कम्पनीका रूपमा स्थापित गरेका छन् । यसैमार्फत उनी होटल, मनोरञ्जन पार्क र नास्डाकमा सूचीकृत विनफास्टका मालिक हुन् । उनी समूहभित्रै गरिने जटिल लेनदेनहरूका लागि पनि चिनिन्छन् । रोयटर्सले यसअघि नै विनफास्टको बिक्री र वित्तीय व्यवस्थाका लागि भिनग्रुपसँग सम्बद्ध कम्पनीहरूमाथिको निर्भरतालाई सविस्तार प्रस्तुत गरिसकेको छ । फाम न्हात वुओङ । गत हप्ता सार्वजनिक गरिएको एक बहुपक्षीय सम्झौताअनुसार विनफास्टले आफ्नो भियतनामी उत्पादन व्यवसायलाई १३.३ ट्रिलियन डङ (५० करोड ६० लाख डलर) मा लगानीकर्ताहरूको एक समूहलाई बिक्री गर्नेछ, जसले झन्डै ६.९ अर्ब डलरको ऋणको भार पनि आफै लिनेछन् । एउटा नियामक फाइलिङमा कम्पनीले यो कदमले आफूलाई उत्पादनमा भन्दा पनि अनुसन्धान र उत्पादन विकासमा केन्द्रित हुने ‘एसेट–लाइट’ (भौतिक सम्पत्ति कम भएको) मोडेल अपनाउन मद्दत पुग्ने बताएको छ । उत्पादन एकाइलाई आफ्नो बहीखाताबाट हटाएपछि विनफास्ट ठुलो मात्रामा ऋणमुक्त हुने भिनग्रुपले रोयटर्सलाई दिएको एक बयानमा बताएको छ । गत वर्ष यस इभी निर्माता कम्पनीले बेहोरेको ३.९ अर्ब डलरको घाटाको मुख्य कारण उत्पादन लागत नै थियो र सन् २०१७ मा स्थापना भएदेखि विनफास्टले अझैसम्म नाफा कमाउन सकेको छैन । तर, यो सम्झौताको जटिलता र यसमा संस्थापक वुओङ तथा भिनग्रुपसँग सम्बन्ध भएका लगानीकर्ताहरूको संलग्नताका कारण केही विश्लेषकहरू र सर्वसाधारण सेयरधनीहरू माझ यसले आशंका पैदा गरेको छ । सिंगापुरस्थित परामर्शदाता कम्पनी वाईसीपीका अटो उद्योग विश्लेषक तथा साझेदार मेहदी जाउदीले भने, ‘रणनीतिक र वित्तीय दृष्टिकोणबाट यो कदम जायज देखिन्छ र यसले विनफास्टलाई अघि बढ्न ठोस आधार प्रदान गर्दछ। यद्यपि, सुशासनको दृष्टिकोणबाट हेर्दा यो रणनीतिक निर्णयले केही खतराका घण्टीहरू र प्रश्नचिन्हहरू खडा गर्छ ।’ यसमा एउटा मुख्य विषय घरजग्गा व्यवसायी न्गुएन होआई नामको संलग्नता हो, जसले यसै महिना मात्र उत्पादन व्यवसायको ९५ प्रतिशतभन्दा बढी हिस्सा खरिद गर्ने कम्पनीको नियन्त्रण लिएका छन् । नाम, भिनग्रुपको पहिलेको सपिङ मल शाखा रहेको भिनकम रिटेलका सञ्चालक समिति सदस्य हुन् । कारखाना सम्झौता सार्वजनिक हुनुभन्दा केही दिनअघि उनले फ्युचर इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ डेभलपमेन्ट (एफआईआरडी) को बहुमत नियन्त्रण प्राप्त गरे । यो कम्पनी विनफास्टबाटै अलग गरेर बनाइएको थियो र गत जनवरीसम्म यसको स्वामित्व भिनग्रुप र वुओङसँग थियो । एफआईआरडीसँग विनफास्टको पहिलो पुस्ताका इभीहरूको पेटेन्ट (पेटेन्ट अधिकार) छ र यसको दर्ता पुँजी ४.६ अर्ब डलर छ, जसमा झन्डै ९२ प्रतिशत हिस्सा नामको रहेको छ । ‘यी स्वामित्व परिवर्तनहरू भएको यति चाँडै एफआईआरडी कसरी मुख्य खरिदकर्ता बन्यो भन्ने कुरा प्रष्ट छैन,’ जाउदीले भने । यस विषयमा भिनकमले टिप्पणी गर्न अस्वीकार गरेको छ । एक बयानमा भिनफास्टले आफू ‘यी लेनदेनहरूमा कुनै पक्ष नरहेको र त्यसैले यसमा टिप्पणी गर्ने कुनै आधार वा अधिकार नभएको’ बताएको छ । विनफास्टले इन्डोनेसिया र भारतमा रहेका आफ्ना एसेम्बली प्लान्टहरू र आफ्नो सबैभन्दा नयाँ पुस्ताका इभीहरूको पेटेन्टहरू भने आफैसँग राख्नेछ । मे १२ मा यो सम्झौता सार्वजनिक भएदेखि विनफास्टको सेयर करिब १२ प्रतिशतले घटेको छ । भिनग्रुप वुओङद्वारा नियन्त्रित छ र यस कम्पनीमा कुनै ठूला संस्थागत लगानीकर्ताहरू छैनन्। हो चि मिन्ह सहरमा आधारित भियतनाम केन्द्रित र विदेशी स्वामित्वमा रहेको कोष ड्रेगन क्यापिटल जुन भिनग्रुपका थोरै विदेशी लगानीकर्ताहरूमध्ये एक हो, उसले भने यो लेनदेनलाई ऋण र खर्च कटौती गर्ने भएकाले ‘एक सकारात्मक संरचनात्मक विकास’ भएको बताएको छ । सन् २०२१ मा फक्सकनको चासो अनुभवी अटो उद्योग विश्लेषक फेलिप मुनोजका अनुसार आफ्नो उत्पादन कार्य अरूलाई सुम्पेर भिविनफास्ट जस्तो सानो ईभी निर्माताले आफ्ना बहुमूल्य स्रोतहरू अझ राम्रो सफ्टवेयर विकास गर्ने जस्ता बढी महत्त्वपूर्ण क्षेत्रहरूमा केन्द्रित गर्न सक्छ । सम्झौताको एक हिस्साको रूपमा नयाँ मालिकहरूले तेस्रो पक्षका लागि कार र ब्याट्रीहरू उत्पादन गर्न भिनफास्टका प्लान्टहरू प्रयोग गर्न सक्छन् । यस विषयको संवेदनशीलताका कारण नाम गोप्य राख्न चाहने भियतनामका एक वित्तीय विश्लेषकले नयाँ लगानीकर्ताहरूसँग साझेदारी गर्न अर्को कुनै ठूलो निर्माता तयारी अवस्थामा पर्खेर बसेको हुन सक्ने सम्भावना रहेको बताए । सन् २०२१ मा भिनग्रुपले ताइवानी कन्ट्याक्ट म्यानुफ्याक्चरर फक्सकनले भिनफास्टको उत्पादन लाइनका लागि आफूसँग सम्पर्क गरेको बताएको थियो, तर त्यतिबेला कुनै सम्झौता हुन सकेन । ‘हाम्रो भियतनाममा रहेका भिनफास्टका उत्पादन सुविधाहरू फक्सकन वा अन्य कुनै मूल उपकरण निर्मातालाई बेच्ने कुनै योजना छैन,’ सम्भावित नयाँ कुराकानीबारे सोधिएको प्रश्नमा भिनग्रुपले भन्यो । इभी क्षेत्रमा आफ्नो विस्तार गर्न खोजिरहेको फक्सकनले भने यसबारे टिप्पणीको अनुरोधलाई कुनै जवाफ दिएन । (रोयटर्सबाट अनुदित तथा सम्पादित) कमजोर हुँदै भारतीय रुपैयाँ नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति