१० प्रतिशत व्यवसायीमा मनोरोगको समस्या, व्यवसायिक असफलता बन्दै मृत्युको बाटो

काठमाडौं । घटना १ : मंगलबार दिउसो बानेश्वर संसद भवन अगाडि इलामका प्रेम आचार्यले आफूमाथि पेट्रोल खन्याएर सडकमै आगो लगाए । नजिक रहेका सर्वसाधारण र प्रहरीले उनको शरिरमा लगाएको आगो निभाए । आफैमाथि आगो लगाएर आत्मदाहको प्रयास गरेका आचार्यलाई तुरुन्त किर्तिपुर अस्पताल पुर्याइयो । गम्भीर घाइते भएका आचार्यको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भयो । आचार्यले आत्मदाह गरेपछि उनको विषयमा मिडिया र सामाजिक सञ्जालमा निकै चर्चा भयो । उनले आत्मदाह गर्नुअगाडि सामाजिक सञ्जालमा स्टाटस लेखेर आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनको यथार्थ सार्वजनिक गरेका थिए । साथै उनले धेरै व्यक्ति तथा मिडियाहरुलाई पनि आफ्नो विषयमा जानकारी गराएका थिए । तर, आत्मदाह अगाडि उनको उद्दारको लागि कुनै पक्षबाट पनि निर्णायक पहल हुन सकेन । आचार्यले आफ्नो विषयमा सार्वजनिक गरेको प्रारम्भिक विवरणलाई हेर्दा उनी नेपालमा उद्यमको शुरुवात गरेर असफल भएपछि आत्मदाह गर्ने अवस्थामा पुगेका हुन् । घटना २ : काठमाडौंस्थित न्युरोडमा रहेको रञ्जना ट्रेड सेन्टरको चौथो तलामा सञ्चालनमा रहेको स्वेत बराह इन्टरप्राइजेजका सञ्चालक शुदर्शन घिमिरेले गत भदौको २१ गते आत्महत्या गरे । काभ्रेको काभ्रे नाला घर भएका घिमिरेले ०६६/६७ पछि काठमाडौंमा व्यवसाय गर्न शुरु गरेका थिए । ०७१ बाट उनले रञ्जना ट्रेड सेन्टरमा व्यवसाय शुरु गरेका थिए भने उनको श्रीमतीले पनि छुट्टै व्यवसाय सञ्चालन गरेकी थिइन् । कोरोना महामारीसँगै व्यवसायिक क्षेत्रमा परेको नकारात्मक प्रभाव घिमिरेको व्यवसायमा पनि परेको थियो । बैंक तथा वित्तीय संस्थाहरुलाई समयमा नै सावाँ ब्याज चुक्ता गर्न नसक्नु, चिनियाँ नाकामा भएको समस्याका कारण खरिद गरिएको लाखौंको सामान रोकिनु, व्यवसायमा मन्दी हुनु लगायत समस्याका कारण उनी आत्महत्याको अवस्थामा पुगेको हुनसक्ने अनुमान उनका निकट व्यवसायीहरुले विकासन्युजसमक्ष गरेका थिए । अध्ययन क्षेत्रमा स्नातकोत्तर तह पुरा गरेका घिमिरेले व्यवसायिक असफलताको कारण नै आत्महत्याको बाटो रोज्न विवश भए । घटना ३ : मोरङ विराटनगरको शनी रोडमा व्यवसाय गर्दै आएका विराटनगर, ३ पोखरियाका ५७ वर्षीय मोहन प्रसाद न्यौपानेले बुधबार आफ्नै घरमा आत्महत्या गरे । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपककुमार श्रेष्ठका अनुसार उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले बुवाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र ऋणका कारण आफूले मृत्युवरण गर्नुपरेको आत्महत्या अगाडि सुसाइड नोट लेखेका थिए । उनले बैंक र सहकारीलाई डेढ करोड भन्दा धेरै पैसा तिर्न बाँकी रहेको सुसाइड नोटमा उल्लेख छ । घटना ४ : सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक गत सोमबार आफ्नै घरको दक्षिण–पश्चिम दिशातर्फ ३ सय मिटर पर आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परे । मरिकको परिवारले घरायसी ऋणको तनावका उनले आत्महत्या गरेको हुनसक्ने प्रतिक्रिया सञ्चारमाध्यमलाई दिएका छन् । पारिवारिक खर्चको लागि मरिकको परिवारले सहकारीबाट १ लाख र लघुवित्तबाट १ लाख १५ हजार ऋण लिएको थियो । उनीहरुले किस्ता–किस्तामा आधा भन्दा धेरै ऋण तिरिसकेका थिए । बाँकी ऋणको पछिल्लो किस्ताको जोहो गर्न परिवारले सकिरहेको थिएन । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक नरेशकुमार सिंहले मरिक आत्महत्याको अवस्थामा फेला परेको भएपनि विस्तृत विवरण खुलिनसकेको बताएका छन् । घटना ५ : २०७८ को फागुन २५ मा काठमाडौंको नागार्जुन नगरपालिका–६स्थित रामकोट डाँडापौवामा भीममान प्रधानको परिवारले गरिबीकै कारण सामूहिक आत्महत्याको बाटो रोजे । काठमाडौं महानगरपालिका–१५ डल्लु स्थायी ठेगाना भएका प्रधानको परिवारका पाँचजना डाँडापौवामा डेरामा बस्न पुगेका थिए । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीका अनुसार गरिबीबाट पार लाग्ने उपाय फेला नपारेपछि उनीहरू सपरिवार आत्महत्या गर्ने निर्णयमा पुगेको तत्कालिन समयमा सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका थिए । प्रहरी नायब उपरीक्षक केसीका अनुसार भीममानको परिवारमा पत्नी ३३ वर्षीया मन्दिरा, ६३ वर्षीया आमा इन्द्रमाया, ११ वर्षीया छोरी सुब्रिना र २८ वर्षीय भतिजा सुवर्णमान छन् । उनीहरूमध्ये भीममान डिप्रेसन र इन्द्रमाया क्यान्सरपीडित रहेछन् । सुवर्णमान सुस्त मनस्थितिका रहेको प्रहरी नायब उपरीक्षक केसीले बताएका थिए । सुसाइड नोट लेखेर सामूहिक रुपमा विष सेवन गरेको प्रधान परिवारका एक सदस्यको तत्काल मृत्यु भएको थियो भने अरु चार जना गम्भीर अवस्थामा फेला परेका थिए । माथिका ५ वटा घटना बाहेक आर्थिक समस्या र गरिबीका कारण पछिल्लो समयमा मानिसको मानसिक समस्यामा असर पर्ने र त्यसले आत्महत्यासम्म डोर्याएका घट्नाहरु धेरै घट्ने गरेका छन् । पारिवारिक कलह र आपसी सम्बन्धमा आउने दरारका कारण हुने आत्महत्या सँगै पछिल्लो समयमा व्यवसायिक तथा उद्यम क्षेत्रमा देखिने समस्या र गरिबीको कारणले पनि मानिसहरुले आत्महत्याको बाटो रोज्ने गरेको धेरै घट्नाहरुले देखाएका छन् । के भन्छ सरकारी तथ्यांक ? नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६ हजार २५२ जना, आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार १४१ र आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ८३० जनाले आत्महत्या गरेका छन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार नेपालका झण्डै ८० प्रतिशत मानिसहरुलाई मानसिक स्वास्थ्य सहायताको आवश्यकता परेको तर त्यसको उपलब्धता नभएको उल्लेख गरिएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा आत्महत्या गर्नेको वार्षिक वृद्धिदर ५ प्रतिशत भन्दा बढीले बढीरहेको छ । प्रहरीका अनुसार आवेश, नैराश्यकतारमानसिकरदीर्घ रोग, प्रेममा धोका, व्यावसायिक तनाव, पारिवारिक बेमेलन, असफलता र गरिबी लगायतका कारणले मानिसहरुले आत्महत्या गर्ने गरेका छन् । के भन्छन मनोरोग चिकित्सक ? त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मानसिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक डा। सरोजप्रसाद ओझाले कोभिड महामारीपछि परामर्शमा आउने मनोरोगीको संख्यामा वृद्धि भएको बताएका छन् । उनका अनुसार पछिल्लो समयमा व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरुमा असफलतकाको कारण मनोरोग समस्यामा वृद्धि भएको छ । ‘व्यवसायिक व्यक्ति या उद्यमी मा एन्जाइटीको सिन्ड्रम बढेको देखिन्छ’, डा.ओझाले बताए । उनका अनुसार एन्जाइटीका कारण व्यवसायीहरुले अल्कोहल लिने क्रम पनि पछिल्लो समयमा बढ्न पुगेको छ । आर्थिक समस्याका कारण नकारात्मक संकेत देखिनेको संख्या बढेको उनले बताए ।‘१०/१५ प्रतिशत संख्या बढेको छ, उनीहरुको मुख्य समस्या भनेको आर्थिक समस्या देखिन्छ’, उनले भने । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दैनिक औसत रुपमा ८० देखि १ सय जना मनोरोग सम्बन्धी विमारीहरु उपचारको निम्ति आउने गर्छन त्यसमध्येमा १० प्रतिशत व्यवसाय तथा उद्यम क्षेत्रका विमारीहरु हुने गरेको प्रा।डा। ओझाले बताए । उनले अर्थतन्त्रमा देखिएको समस्याले मानसिक स्वास्थ्यमा समस्या बढेको समेत बताउँछन् । उपचारमा प्रारम्भिक चरणमा आएकाहरुलाई भने औषधि र परामर्शले ठिक हुने गरेको उनले बताए ।

यतीको दुर्घटनापछि खस्कियो हवाई व्यवसाय, ५० प्रतिशतले घटे यात्रु

फाइल फाेटाे काठमाडौं । पुस मसान्तसम्म निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले काठमाडौं–पोखरा रुटमा दैनिक १२ वटा उडान गर्दै आएको थियो । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्स दुर्घटनापछि पोखरा रुटमा उडानसँगै यात्रुको संख्यामा कमी आएको छ । दुर्घटना अघिसम्म दैनिक १२ उडान गरेको बुद्ध एयरले दुर्घटनाको ११ औँ दिन हुँदा हाल दैनिक ८ वटा उडान गर्दै आएको छ । बुद्धले पोखरा विमानस्थललाई आधार बनाएर भैरहवा, नेपालगञ्ज र भरतपुरमा नियमित उडान गर्ने गरेको थियो । उक्त रुटमा दुर्घटनापछि ५० प्रतिशत उडान कटौती भएको बुद्धले जनाएको छ । दुर्घटना अघिसम्म यती एयरलाइन्सले दैनिक ६ उडान गर्ने गरेकोमा हाल दैनिक ३ वटा मात्र उडान हुँदै आएको छ । पोखरा रुटमा उडान गर्ने बुद्ध र यती एयरलाइन्ससँगै श्रीएयरलाइन्स र गुण एयरले समेत हवाई यात्रुसँगै उडान संख्यामा कमी आएको बताएका छन् । माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि हवाई सेवा पुरानै लयमा फर्कन सकेको छैन । अफ सिजन हुँदा र दुर्घटनाका कारण हवाई यात्रुहरु न्यून भएको वायुसेवा कम्पनीहरुले बताएका छन् । यती एयरलाइन्सको पोखरा दुर्घटनापछि समग्र रुटमा ५० प्रतिशतभन्दा बढि उडान घटेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । पोखरा दुर्घटनापछि हवाई उडान घट्नु स्वभाविक भएको भन्दै विस्तारै बढ्दो क्रममा रहेको उनले बताए । ‘सिजनमा दैनिक २८ वटा उडान हुँदै आएकोमा अहिले दैनिक ८ वटा मात्र उडान भएको छ, दुर्घटनाका पछि उडान न्यून थियो अब विस्तारै बढ्न थालेको छ’, उनले भने । उनले मंगलबारसम्म दैनिक ८ वटा मात्र उडान हुने गरेकोमा बुधबार १२ वटा उडान भएको छ । विस्तारै उडानसंख्या सँगै यात्रुको संख्यामा समेत बृद्धि हुन थालेको उनले बताए । दुर्घटना अघिसम्म यतीले विभिन्न गन्तव्यमा ९अफि सिजन० दैनिक १८ वटा उडान गर्दै आएको थियो । ‘अहिले अफ सिजन हो, अन्य समयको तुलनामा अहिले न्यून उडान हुने गर्छ, तर दुर्घटनापछि न्यून भएको उडान विस्तारै बढ्न थालेको छ, अहिलो चिसो मौसमका कारण मानिसहरुको मुभमेन्ट पनि कम छ’, उनले भने । उनले मौसमका कारण समयमा नै विमानस्थल नखुल्दा हवाई यात्रुहरु बस मार्फत सम्बन्धित गन्तव्यमा जाने गरेको पाइएको बताए । ‘बिहान समयमा विमानस्थल नखुल्दा धेरै उडानहरु डिले हुने गरेका छन्, उडान डिलेहुँदा विमान कुरेर बस्नुभन्दा समय हुने मानिसहरु मिलेर बस रिजर्भ गरेर जाने गरेको पाइयो’, उनले भने । यस्तै, बुद्ध एयरले पछिल्ला केही दिन यता यात्रुको संख्यामा बृद्धि हुन थालेको जनाएको छ । केही दिनअघिसम्म न्यून यात्रु रहेकोमा विस्तारै यात्रुको संख्यामा बृद्धि हुन थालेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्ण बताउँछन् । उनका अनुसार दुई दिन अघिको तुलनामा बुधबार २५ प्रतिशतले उडानसँगै यात्रुको संख्यामा बृद्धि हुन थालेको छ । ‘जनवरी महिनामा अधिकांश विमानस्थल बिहान समयमानै खुल्दैनन्, विमानस्थल ढिला खुल्ला उडानसंख्यासँगै यात्रुको संख्यामा कमी आउने गरेको हो, पछिल्ला केही दिन यता यात्रुको संख्यामा बृद्धि हुन थालेको छ’, उनले भने । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनापछि यात्रुको संख्यामा अलि कमी आएतापनि अहिले पुरानै लयमा हवाई उडान सुरु भैसकेका उनले बताए । ‘यतीको दुर्घटना हुनु र हाम्रो बजारमा अफ सिजन एकैपटक भयो, यतीको दुर्घटनाले खासै असर परेन, अहिले पुरानै अवस्थामा फर्किसक्यौँ’, उनले भने ।

नबिल, ग्लोबल र एनआईएमबि बिच नम्बर वान बन्न कडा प्रतिस्पर्धा, कुमारी र प्रभु पछ्याउँदै

काठमाडौं । पछिल्लो समय बैंकहरु गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रियामा धमाधम जान थालेपछि बैंकहरुको संख्या २२ मा झरेको छ । कुनै समय ३० भन्दा बढी रहेको वाणिज्य बैंक मर्ज हुँदै २२ वटामा झरेको हो । २६ वटा बैंकमध्ये यसै साल मात्र मर्ज हुँदै २२ वटा बैंकमा झरेपछि ५ ठूला बैंकहरुबीच प्रतिस्पर्धा रोचक देखिएको छ । २०७९ सालको मर्जरपछि नबिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) एक अर्काका प्रतिस्पर्धी बैंकका रुपमा उदाएका हुन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण पनि २२ वटै बैंकले सार्वजनिक गरिसकेका छन् । जसमध्ये हालै मर्जर भएका ५ वटा वाणिज्य बैंकहरुले पनि आफ्नो वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् । आफूलाई नम्बर वान दावी गर्न प्रतिस्पर्धा गरिरहेका बैंकहरुमा कुन सूचकमा कुन बैंक बलियो होला भन्ने चासो सबैमा छ । विभिन्न सूचकहरुमा फरक फरक बैंकको अग्रस्थान छ । यी ५ बैंकलाई तुलना गरेर हेर्दा दोस्रो त्रैमासमा कस्तो देखिन्छ त ? दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच नम्बर वानको लागि कडा प्रतिस्पर्धा भएको देखिन्छ । यी ३ बैंकबीच विभिन्न सूचकमा रोचक प्रतिस्पर्धा भएको छ । केही सूचकमा नबिल अघि छ भने केही सूचकमा ग्लोबल आइएमई बैंक र एनआईएमबि बैंक अगाडि रहेका छन् । साथै यी तिनै बैंकलाई कुमारी बैंक र प्रभु बैंकले पछ्याएको देखिन्छ । चुक्ता पूँजीका आधारमा सबैभन्दा अब्बल ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३४ अर्ब १२ करोड, नबिल बैंकको २७ अर्ब ५ करोड रुपैयाँ, कुमारी बैंकको २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा नबिल बैंक अगाडि रहेको छ । नबिल बैंकको जगेडा कोषमा २५ अर्ब ६६ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २३ अर्ब ५५ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १८ अर्ब ३१ करोड रुपैयाँ, कुमारी बैंकको १२ अर्ब ५ करोड रुपैयाँ र प्रभु बैंकको ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । यस्तै, निक्षेप संकलन र कर्जा प्रवाहमा ग्लोबल आइएमई अब्बल रहेको छ । ग्लोबल आइएमईले ४ खर्ब ३ अर्ब निक्षेप संकलन र ३ खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगाले ३ खर्ब ५५ अर्ब निक्षेप संकलन र ३ खर्ब १७ अर्ब कर्जा प्रवाह, नबिलले ३ खर्ब ४७ अर्ब निक्षेप संकलन र ३ खर्ब १५ अर्ब कर्जा प्रवाह, कुमारीले २ खर्ब ९९ अर्ब निक्षेप संकलन र २ खर्ब ७५ अर्ब कर्जा प्रवाह र प्रभुले २ खर्ब ७० अर्ब निक्षेप संकलन र २ खर्ब ४५ अर्ब कर्जा प्रवाह गरेको छ । नाफा कमाउनेमा भने नबिल बैंक बैंकिङ्ग क्षेत्रकै नम्बर वान बनेको छ । नबिलले ३ अर्ब ४१ करोड रुपैयाँ, ग्लोबल आइएमईले २ अर्ब ७८ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ८ करोड रुपैयाँ, कुमारीले १ अर्ब ५३ करोड रुपैयाँ र प्रभुले १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । खराब कर्जामा भने प्रभु बैंक अगाडि रहेको छ । प्रभुको १.९८ प्रतिशत, ग्लोबल आइएमईको २.९२ प्रतिशत, नबिलको २.९८ प्रतिशत, कुमारीको ३.१५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगाको ३.७१ प्रतिशत खराब कर्जा रहेको छ ।