
काठमाडौं । पछिल्लो समय बैंकहरु गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रियामा धमाधम जान थालेपछि बैंकहरुको संख्या २२ मा झरेको छ । कुनै समय ३० भन्दा बढी रहेको वाणिज्य बैंक मर्ज हुँदै २२ वटामा झरेको हो ।
२६ वटा बैंकमध्ये यसै साल मात्र मर्ज हुँदै २२ वटा बैंकमा झरेपछि ५ ठूला बैंकहरुबीच प्रतिस्पर्धा रोचक देखिएको छ । २०७९ सालको मर्जरपछि नबिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) एक अर्काका प्रतिस्पर्धी बैंकका रुपमा उदाएका हुन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण पनि २२ वटै बैंकले सार्वजनिक गरिसकेका छन् । जसमध्ये हालै मर्जर भएका ५ वटा वाणिज्य बैंकहरुले पनि आफ्नो वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् ।
आफूलाई नम्बर वान दावी गर्न प्रतिस्पर्धा गरिरहेका बैंकहरुमा कुन सूचकमा कुन बैंक बलियो होला भन्ने चासो सबैमा छ । विभिन्न सूचकहरुमा फरक फरक बैंकको अग्रस्थान छ ।
यी ५ बैंकलाई तुलना गरेर हेर्दा दोस्रो त्रैमासमा कस्तो देखिन्छ त ?
दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच नम्बर वानको लागि कडा प्रतिस्पर्धा भएको देखिन्छ । यी ३ बैंकबीच विभिन्न सूचकमा रोचक प्रतिस्पर्धा भएको छ । केही सूचकमा नबिल अघि छ भने केही सूचकमा ग्लोबल आइएमई बैंक र एनआईएमबि बैंक अगाडि रहेका छन् । साथै यी तिनै बैंकलाई कुमारी बैंक र प्रभु बैंकले पछ्याएको देखिन्छ ।
चुक्ता पूँजीका आधारमा सबैभन्दा अब्बल ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३४ अर्ब १२ करोड, नबिल बैंकको २७ अर्ब ५ करोड रुपैयाँ, कुमारी बैंकको २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।
यस्तै, जगेडा कोषमा नबिल बैंक अगाडि रहेको छ । नबिल बैंकको जगेडा कोषमा २५ अर्ब ६६ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २३ अर्ब ५५ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १८ अर्ब ३१ करोड रुपैयाँ, कुमारी बैंकको १२ अर्ब ५ करोड रुपैयाँ र प्रभु बैंकको ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
यस्तै, निक्षेप संकलन र कर्जा प्रवाहमा ग्लोबल आइएमई अब्बल रहेको छ । ग्लोबल आइएमईले ४ खर्ब ३ अर्ब निक्षेप संकलन र ३ खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगाले ३ खर्ब ५५ अर्ब निक्षेप संकलन र ३ खर्ब १७ अर्ब कर्जा प्रवाह, नबिलले ३ खर्ब ४७ अर्ब निक्षेप संकलन र ३ खर्ब १५ अर्ब कर्जा प्रवाह, कुमारीले २ खर्ब ९९ अर्ब निक्षेप संकलन र २ खर्ब ७५ अर्ब कर्जा प्रवाह र प्रभुले २ खर्ब ७० अर्ब निक्षेप संकलन र २ खर्ब ४५ अर्ब कर्जा प्रवाह गरेको छ ।
नाफा कमाउनेमा भने नबिल बैंक बैंकिङ्ग क्षेत्रकै नम्बर वान बनेको छ । नबिलले ३ अर्ब ४१ करोड रुपैयाँ, ग्लोबल आइएमईले २ अर्ब ७८ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ८ करोड रुपैयाँ, कुमारीले १ अर्ब ५३ करोड रुपैयाँ र प्रभुले १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
खराब कर्जामा भने प्रभु बैंक अगाडि रहेको छ । प्रभुको १.९८ प्रतिशत, ग्लोबल आइएमईको २.९२ प्रतिशत, नबिलको २.९८ प्रतिशत, कुमारीको ३.१५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगाको ३.७१ प्रतिशत खराब कर्जा रहेको छ ।