कृषि विकास बैंकका अध्यक्ष दुवाडीको राजीनामा माग, अटेर गरेपछि रोकियो सीईओ छनोटको प्रक्रिया
काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष रमेश दुवाडीको राजीनामा माग गरिएको छ । बैंकको अध्यक्ष हुनका लागि योग्यता र अनुभव नपुगेपछि उनको राजीनामा माग गरिएको हो । गत मंसिर २९ गते बैंकका अध्यक्षमा नियुक्त भएका उनको बोर्डकै अन्य सदस्य र अर्थमन्त्रालयले समेत राजीनामा माग गरेको स्रोतको भनाइ छ । बुधबार बसेको कृषि विकास बैंकको सञ्चालक समितिको बैठकले पनि उनको राजीनामा माग गरेको बताइएको छ । यसअघि बैंकको सञ्चालक समिति सदस्य रहेका उनलाई गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो । तर, अहिले उनको शैक्षिक योग्यता र कार्यानुभवको विषयमा प्रश्न उठेपछि उनको राजीनामा माग गरिएको हो । ‘पहिले सदस्य भएर काम गरिसक्नु भएको थियो, त्यतिबेला कुनै वास्ता नगरेर उनलाई बैंकको अध्यक्षमा नियुक्त गरियो, अहिले बोर्ड सञ्चालकहरुबाटै उनको शैक्षिक योग्यता र कार्यानुभवको विषयमा प्रश्न उठेको छ, राजीनामा पनि माग भएको छ तर उहाँले राजीनामा दिन मान्नु भएको छैन,’ स्रोतले भन्यो । बैंक तथा वित्तीय संस्था ऐन २०७३ (बाफिया) ले तोकेको भन्दा उनको शैक्षिक योग्यता न्यून रहेको स्रोतको दाबी छ । बाफियाका अनुसार बैंकको अध्यक्ष बन्नका लागि स्नातकोत्तर पास र कार्यकारी तहमा रहेर पाँच वर्ष काम गरेको हुुनु पर्छ । अर्थात् नेपाल सरकारको अधिकृत स्तरमा तीन वर्ष काम गरेको अनुभव हुनु पर्ने उल्लेख छ । दुवाडीले भने स्नातक तह मात्रै पास गरेका छन् । अध्यक्ष दुवाडीले भने आफुलाई सरकारले नै नियुक्त गरेको हुनाले त्यही नै आधिकारिक भएको बताए । सीईओको छनोट प्रक्रिया नै रोकियो अध्यक्ष दुवाडीको विषयले नै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को छनोट प्रक्रिया रोकिएको छ । बोर्डका अधिकांश सदस्यहरुले राजीनामा माग गरेपछि सीईओको छनोट प्रक्रिया रोकिएको हो । उनकाे राजीनामापछि मात्रै सीईओको छनोट प्रक्रिया अघि बढ्ने स्रोतको भनाइ छ । कृषि विकास बैंकका निवर्तमान सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएपछि बैंकले पुस २५ गते सीईओका लागि विज्ञापन आह्वान गरेको थियो । उक्त पदका लागि माघ १५ गतेसम्म आवेदन खुला थियो । माघ २२ गतेभित्र सबै प्रक्रिया टुङ्गयाएर सीईओ नियुक्त गर्ने बैंकको योजना थियो । तर, सो योजना अध्यक्षको कारणले रोकिएको बैंक स्रोतको भनाइ छ । बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका छन् । ती २२ जनाको शैक्षिक योग्यता तथा कार्याअनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनोट गरिनेछ । ५ जनाबाट पुनः तीन जनालाई सीईओका लागि सिफारिस गरेर माघ २२ गतेसम्म सबै प्रक्रिया सक्ने योजना भएपनि अध्यक्षकै कारणले सबै काम रोकिएको स्रोतको भनाइ छ । ‘अहिले सबैले अयोग्य अध्यक्षले छनोट गरेको सीईओ मान्य हुँदैन भनेर बोर्ड बैठकमै कुरा हुन्छ, अर्थमन्त्रालयबाट समेत राजीनामा माग हुँदा उहाँले राजीनामा दिन मान्नु भएको छैन, यो विषयको टुङ्गो लागेपछि सीईओ छनोटको प्रक्रिया अगाडि बढ्नेछ,’ स्रोतले भन्यो । अध्यक्ष दुवाडीले भने २२ जना उम्मेदवारको सबै कागजात हेर्नु पर्ने भएकोले समय लागेको बताए । उनले अब चाँडै नै सीईओको छनोट हुने बताए । राष्ट्र बैंक भन्छ : हामीले सपथ खुबाउने काम हो बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंक हो । बैंक तथा वित्तीय संस्थाले गर्ने कमि कमजोरी तथा गल्तिलाई राष्ट्र बैंकले तत्काल सच्याउन लगाउँछ । अध्यक्ष वा सञ्चालकका लागि बोर्ड नै सकारात्मक भएपनि कुनै समस्या देखिएमा राष्ट्र बैंकले कैफियत जनाउँछ । तर, यो विषयमा भने राष्ट्र बैंक अनविज्ञ छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नै दुवाडीलाई अध्यक्षको सपथ खुवाएका थिए । अध्यक्षको योग्यताको विषयमा बाफियामा स्पष्ट व्यवस्था गरेको भएपनि यस विषयमा राष्ट्र बैंकले कुनै चासो देखाएको छैन । नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर बम बहादुर मिश्रले यस विषयमा राष्ट्र बैंकलाई कुनै जानकारी नभएको बताए । ‘हामीले नियुक्ती भएपछि सपथ खुवाउने काम हो, यस विषयमा हामीलाई कुनै जानकारी छैन,’ विकासन्युजसँग भने । क–कसले दिए आवदेन ? कृषि विकास बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका छन् । सीईओका लागि सिभिल बैंकका पूर्व सीईओ गोविन्द गुरुङ, राष्ट्रिय सहकारी बैंकका सीईओ बद्रि कुमार गुरागाईं, सिडिएस एण्ड क्लियरिङ्गका सीईओ पूर्ण प्रसाद आचार्य र राष्ट्रिय वाणिज्य बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) कविराज अधिकारीले आवेदन दिएका छन् । यस्तै, कृषि विकास बैंकका निमित्त सीईओ समेत रहेका वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी र चिफ सर्भिस अफिसर यज्ञ प्रकाश न्यौपानेले पनि सीईओका लागि आवेदन दिएका छन् । बैंकको सीईओका लागि विष्णुदेव यादव, भानु कँडेल, ताराखर अधिकारी, प्रमेश कायस्थ, नरेश कुमार रोका, विश्व प्रकाश सुवेदी, कुमार केसी, रामराज उपाध्याय, अशोक कुमार पौडेल, रमेशराज जोशी,सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईँ, अरुण कुमार ढुंगाना र प्रमोद वावु तिवारीले पनि आवेदन दिएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले एनआईसी र नबिललाई पनि टप्यो, ७ महिनामा कुन बैंकको बिजनेश कति ?
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुमा झण्डे २ खर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले गत असारदेखि माघसम्म १ खर्ब ९९ अर्ब ६६ करोड रुपैयाँ निक्षेप भित्र्याएका हुन् । गत असार मसान्तसम्म बैंकहरुमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप थियो । माघसम्म आइपुग्दा बैंकहरुमा ४७ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप पुगेको हो । समीक्षा अवधिमा १९ वटा बैंकको निक्षेप बढेको छ भने ३ वटा बैंकको निक्षेप घटेको छ । ७ महिनाको अवधिमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै निक्षेप संकलन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको माघसम्म ३६ अर्ब रुपैयाँ बढेर २ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । यस्तै, दोस्रोमा नबिल बैंकको ३० अर्ब ८८ करोड रुपैयाँ बढेर ३ खर्ब ६० अर्ब रुपैयाँ, तेस्रोमा एनआईसी एशिया बैंकको २६ अर्ब ५२ करोड रुपैयाँ बढेर ३ खर्ब २१ अर्ब रुपैयाँ, चौंथोमा नेपाल बैंकको २१ अर्ब ७३ करोड बढेर २ खर्ब १८ अर्ब रुपैयाँ र पाँचौंमा ग्लोबल आइएमई बैंकको १८ अर्ब ९ करोड बढेर ४ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा सबैभन्दा धेरै कुमारी बैंकको निक्षेप १८ अर्ब ७० करोड रुपैयाँ घटेर ३ खर्ब ५ अर्ब रुपैयाँमा सिमित भएको छ । यस्तै, प्रभु बैंकको ९ अर्ब ५० करोड रुपैयाँ घटेर २ खर्ब ७४ अर्ब रुपैयाँ र सिभिल बैंकको २ खर्ब ४६ अर्ब रुपैयाँ घटेर ९३ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका हुन् । यस्तै, ७ महिनाको अवधिमा १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुले गत असारसम्म ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । माघ मसान्तसम्म आइपुग्दा १ खर्ब १५ अर्ब १६ करोड रुपैयाँ बढाएर ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । समीक्षा अवधिमा कर्जा प्रवाहमा नबिल बैंकले सबैभन्दा धेरै गरेको छ । माघ मसान्तसम्म नबिल बैंकको १४ अर्ब ६५ करोड रुपैयाँ बढेर ३ खर्ब २३ अर्ब रुपैयाँ, दोस्रोमा एनआईसी एशिया बैंकको १३ अर्ब ९४ करोड रुपैयाँ बढेर २ खर्ब ८२ अर्ब रुपैयाँ, तेस्रोमा नेपाल एसबिआई बैंकको १२ अर्ब ९५ करोड रुपैयाँ बढेर १ खर्ब २३ अर्ब रुपैयाँ, चौथौंमा नेपाल इन्भेष्टमेन्ट बैंकको १० अर्ब ८८ करोड रुपैयाँ बढेर ३ खर्ब २९ अर्ब रुपैयाँ र पाँचौंमा एनएमबि बैंकको ९ अर्ब ५३ करोड रुपैयाँ बढेर १ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यस्तै, ७ महिनाको अवधिमा विभिन्न ४ वटा बैंकको कर्जा भने घटेको छ । सबैभन्दा धेरै नेपाल बैंकको २ अर्ब ४ करोड रुपैयाँ घटेर १ खर्ब ७८ अर्ब रुपैयाँ, सनराइज बैंकको १ अर्ब ७४ करोड रुपैयाँ घटेर १ खर्ब २२ अर्ब रुपैयाँ, कुमारी बैंकको १ अर्ब ६५ करोड रुपैयाँ घटेर २ खर्ब ८४ अर्ब रुपैयाँ र ग्लोबल आइएमई बैंकको ४३ करोड रुपैयाँ घटेर ३ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
‘बैंकरलाई आइडीकार्ड झुण्ड्याएर बजारमा जान डर लाग्न थाल्यो, सबैले हामीलाई नै पेले’
पछिल्लो समय बैंकिङ क्षेत्रले अरब कमायो भनेर चर्चा हुन्छ । त्यसको लागि लगानी हेर्नु पर्छ । बैंकिङ क्षेत्र भोलि नोक्सानमा गयो भने निक्षेपकर्ताले पैसा राख्न आउँदैनन् । साँच्चै भन्ने हो बैंकिङ क्षेत्रका लगानीकर्ता घाटामा छन् । उनीहरुलाई प्रमोटर सेयर बेच्न पनि सकस छ । बरु त्यो सेयर बेचेर मुद्दति निक्षेपमै राख्न सक्यो भने लगानीकर्तालाई फाइदा हुन्छ होला । अहिले बैंकहरुको रिटर्न पनि एकदमै न्यून छ । अरब आफैमा ठूलो होइन । बैंकिङ क्षेत्रको अरुले भने जस्तो कमाइ छैन । कुल पुँजीमा १० प्रतिशतभन्दा बढी रिटर्न छैन । विगतको तुलना बैंकको आरओई घट्दै गइरहेको छ । कोभिडको समयमा आर्थिक गतिविधिहरु सुस्त भए । रेमिट्यान्स आइरह्यो । तरलताको समस्या भएन । त्यतिखेर लगानीको अवसर नभएर ऋणीलाई आधार दरमा ०.२५ प्रतिशत ब्याजमा कर्जा दिइएकै हो । अहिले कोभिड सकियो । निक्षेप बढेन । आर्थिक गतिविध चलायमान हुन थाले । निक्षेपको ब्याजदर बढ्दै गयो । सोही अनुसार बैंकहरुले प्रिमियम पनि बढाए । प्रिमियम भनेको सबै नाफा होइन । आधारदरमा सबै कष्ट जोडिएको हुँदैन । १.३ प्रतिशत हामीले प्रोभिजन गर्नु पर्छ । १ प्रतिशतभन्दा कम प्रिमियम भनेको हामी नोक्सानमै हो । अलिकति बढाउँदा सबैले फिर्ता गर्नु पर्यो । ग्राहकहरुले बैंकहरुले दिने ब्याजदरको रेट भन्दा कममा निक्षेप जिम्मा गरेका छन् । त्यस्तो हुँदा राम्रो निक्षेपकर्ता पनि बैंकहरुबाट पलायन हुनसक्ने अवस्था देखिएको छ । बैंकको लगानी, लागत खर्च हेर्दा व्यवसायीहरु र बाहिर आए जस्तो बैंकहरुले नाफा छैन । बैंकको न्युनतम नाफा हुनैपर्छ किनकी निक्षेपकर्ताको रकम सुरक्षा गर्न बसेका छौं । ५ प्रतिशत प्रिमियममा कर्जा दिनु भनेको पनि बैंकहरुलाई नोक्सान नै हो । अब प्रिमियम घटाइसकेपछि बढाउन पाइँदैन । बैंकिङ धेरै रेगुलेडेट क्षेत्र हो । अझै पनि हामी स्ट्रङ्ग नै छौं । खराब कर्जा डरलाग्दो किसिमले बढ्दै गइरहेको छ । कोभिडको इफेक्ट अब देखिँदैछ । संसाभर मूल्यवृद्धि कन्ट्रोल गर्ने विषय उठिरहेको छ । त्यो समस्या समाधानका लागि पहल भइरहेको छ । ब्याजदर बढाउँदा केही सीमित लगानीकर्तालाई मात्रै असर गर्छ । त्यसबाट नेपाल अछुतो हुन सक्दैन । तत्कालै सिंगल डिजिटमा ब्याजदर आउने देखिँदैन । सरकारको बजेट खर्च नै कम छ । त्यसमा पनि विकास खर्च कम भयो भने निक्षेप संकलनमा असर गर्छ । विकास खर्च नै कम गर्नु भनेको समस्या सिर्जना हुनु हो । हामीले आँकलन गरेको निक्षेप वृद्धि पनि कम हुन सक्छ । यही बेला बजारबाट उश्रृङ्खल गतिबिधि भइरहेका छन् । निक्षेप सेभिङ्गबाट मुद्दतिमा रुपान्तरण हुँदै गएको छ । त्यसले गर्दा हाम्रो कष्ट बढिरहेको छ । बैंकहरुले खासै बढी मािर्जन राखेका छैनन् । कोभिडको जस्तो कम ब्याज हुन सक्दैन । अहिले लघुवित्तमा पनि एक किसिमको समस्या आइरहेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तमा १५ प्रतिशतको सीमा तोकेको छ । पछिल्लो समय गाउँघरमा एक/दुई वटा घटनालाई लिएर विरोध भइरहेको छ । लघुवित्तहरुले वाणिज्य बैंकबाट १२ प्रतिशतमा लिएर १५ प्रतिशतमा लगानी गर्दा सस्टेन नै हुन सक्दैनन् । असनबाट साग ल्याएर टुडिखेलमा बेच्दा पनि ५० प्रतिशत नाफा हुन्छ । १० रुपैयाँको साग १५ रुपैयाँमा बेचिन्छ । लघुवित्तमा रिटर्न उच्च हुने एजम्सन हुन्छ । तर, यसरी बैंक तथा वित्तीय संस्थाहरुले बढी नाफा गरे, लुटे भन्नु गलत हो । कति लगानीमा कति नाफा गरे भनेर बुझ्नु पर्छ । वित्तीय क्षेत्रमा खराब कर्जा बढ्दै गयो भने भोलि अर्को समस्या सिर्जना हुन सक्छ । हामी दक्षिण एसियामा राम्रो खराब कर्जा (एनपिएल)मा छौं भन्छौं तर म त्यसलाई मान्दिन । एनपिएलमा नन बैंकिङ एसेट (एनबीए)लाई पनि हेर्नु पर्छ । एनबिए बिक्री नै हुँदैन । त्यो पनि जोड्ने हो हामी अहिले नै ४ प्रतिशत खराब कर्जामा छौं । एकातर्फ त्यो नगर भनेर राष्ट्र बैंकले भन्ने, मिडियाले पनि त्यस्तै लेख्ने र ऋणाीले पनि भन्ने नै भए । अब हामी जाने कहाँ ? अब फोटो निकाल्न पनि मनाही छ । हामी सबैतिरबाट च्यापिँदै गएका छौं । अहिले हाम्रा साथीहरु बजारमा टाइ लगाएर जान पनि डर लाग्न थाल्यो भनिरहनु भएको छ । यो अवस्थाको सबै मिलेर अन्त्य गर्नु पर्छ । अहिले देखिएको परिस्थितिको सामना गर्नको लागि हामी सबैले सहकार्य गरेर अगाडि बढ्नु पर्छ । (नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले बुधबार पत्रकार सम्मेलनमा राखेको विचार ।)