दूधको मूल्य बढ्दा छुर्पी निर्यातमा समस्या, उद्योगी भन्छन् : उद्योग बन्द गर्ने अवस्था आयो
काठमाडौं । एकै वर्षमा दुई पटकसम्म दूधको मूल्य बढ्दा छुर्पी निर्यातमा समस्या भएको छ । दूधको उपभोक्ता मूल्य बढ्दा छुर्पीको लागत समेत बढ्न जादा निर्यात रोकिने अवस्थामा पुगेको छुर्पी उत्पादक उद्योगीहरु बताउँछन् । पछिल्लो समय एकै वर्षमा दुई पटकसम्म दूधको मूल्यमा बृृद्धि हुँदा नोक्सानीमा चलेको छुर्पी उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको हेडौँडा डेरी उद्योगका सञ्चालक निराजन कोइराला बताउँछन् । ‘दूधको मूल्य अप्राकृतिक रुपमा बढ्यो, २ वर्षमा मूल्य बढ्ने भनिएको थियो, तर एक वर्षमै दुई पटकसम्म बढ्यो, एक किलो छुर्पी बनाउन ३० लिटर दूध आवश्यक पर्छ, प्रतिलिटर ८ रुपैयाँले दूधको मूल्य बढ्दा लागत बढ्यो’, उनले भने, ‘आन्तरिक रुपमा उपभोक्ताले खाने दूधको मूल्य बढेपनि निर्यात हुने छुर्पीको मूल्य बढेको छैन, छुर्पी उत्पादनको लागत बढ्दा निर्यात नै रोकिने अवस्था आयो ।’ उनले विदेशी कम्पनीसँग दुई/दुई वर्षमा मात्र छुर्पीको मूल्य बढाउने सहमति भएको भन्दै ठूलो रकम नोक्सानी खानुभन्दा उद्योग नै बन्द गर्नुपर्ने अवस्था देखिएको बताए । ‘दूधको मूल्य बढेसँगै उपभोक्ता मूल्य बढ्यो, नेपाली बजारमा छुर्पी खासै खपत हुँदैन, हामीले उत्पादन गर्ने भनेको नै निर्यातका लागि हो, उनले भने ।’ दूधको मूल्य बढ्नुभन्दा अगाडि उनको उद्योगले मात्र मासिक रुपमा ३० हजार किलो छुर्पी अमेरिका र क्यानडामा निर्यात गर्ने गरेको थियो । तर, पछिल्लो समय मासिक रुपमा ८ हजार किलो मात्र छुर्पी निर्यात गर्ने गरिएको उनले बताए । ‘मासिक ३० हजार किलो छुर्पी निर्यात गर्ने सहमति भएको हो, ठूलो रकम नोक्सान सहज नसकेर थोरै मात्र निर्यात गर्ने गरेको छु, नोक्सानी मूल्य धेरै हुँदा अब निर्यात रोक्नुपर्ने देखियो’, उनले भने । डेरी उद्योगी कोइराला गार्मेट उद्योगको जस्तो अवस्था डेरी उद्योगमा देखिन सक्ने अनुमान गरिएको बताउँछन् । ‘निजी डेरी उद्योगले लिटरमा १४ रुपैयाँले दूधको मूल्य बढाएका छन्, महँगो दूध लिएर पुरानै रेटमा हामीले छुर्पी निर्यात गर्नुपरेको छ’, उनले भने, ‘दूधको मूल्य अनुसार छुर्पीको मूल्य राख्दा विदेशीले लैजादैंनन्, सस्तोमा बिक्री गरौँ उद्योग टिकाउनै नसक्ने अवस्था देखियो ।’ डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल दूधको मूल्य बढ्दा निर्यातजन्य वस्तुको प्रत्यक्ष असर देखिएको बताउँछन् । सरकारले चैत २० गतेदेखि लागू हुने गरी सरकारले दूधको मूल्य लिटरमा ९ रुपैयाँले (किसानले पाउने मूल्य) बढाएर ६५ रुपैयाँ बनाएको थियो । बजारमा दूधको मूल्य चर्काे भएतापनि किसानले पाउने रकम न्यून भएको गुनासोपछि सरकारले किसानका लागि लिटरमा ९ रुपैयाँले दूधको मूल्य बढाएको थियो । यस अघि किसाने विक्रि गर्ने मूल्य ५६ रुपैयाँ रहेको थियो । किसानले पाउने दूधको मूल्य बढेको भन्दै सरकारी तथा निजी क्षेत्रका डेरी उद्योगले लिटरमा १५ रुपैयाँले दूधको उपभोक्ता मूल्य बढाएका थिए । निजी डेरीहरूले फागुन २६ र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले चैत २ गतेदेखि नै स्ट्यान्डर्ड दूधमा प्रतिलिटर १५ रुपैयाँले बढाएका थिए । डीडीसी, नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले दूधको मूल्य फरक/फरक लिइरहेका छन् । डीडीसीले दही, पनिर, चिज, आइसक्रिम, मिठाईको मूल्य बढाएको छ भने घिउ र बटरको मूल्य वृद्धि गरेको छैन ।
नेताको पनि नेता बन्ने फर्मुला मैले गरेको काम नै हो : हेमराज ढकाल
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस्य, महासंघको स्वास्थ्य तथा सीप विकास समितिको सभापति र कृषि उद्यम केन्द्रको नेतत्व गरेर उद्योगी व्यवसायीले रुचाएका पात्र हुन् हेमराज ढकाल । हेरिटेज कार्पेट उद्योगबाट सफलता पाएपछि लगानीलाई विविधिकरण गर्दै चिया उद्योगमा लागेका ढकाललाई अहिले महासंघको चुनाव लागेको छ । सरल र अनुशासित उद्योगी व्यवसायीको छवि निर्माण गरेका ढकालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समूहबाट वस्तुगत उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । चैत २८ र २९ गते हुने महासंघको निर्वाचनका लागि तीन वटा प्यानल चुनावी प्रस्पिर्धामा छन् । वस्तुगत उपाध्यक्षका उम्मेदवार ढकालसँग हामीले महासंघको चुनाव र उनीको चुनावी रणनीतिका विषयमा कुराकानी गरेका छौं । तपाईंले वस्तुगत उपाधयक्षका लागि उम्मेदवारी दिनु भएको छ, तपाईंको उम्मेदवारी किन ? नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघहरुसँग म नजिकसँग जोडिएको छु । म आफै पनि उत्पादन, कृषि, व्यापार तथा उद्योग सेवा क्षेत्र लगायतका आवद्ध छु । नेपालको अर्थतन्त्रको आधार पनि त्यही हो । त्यस कारणले मैले जानेको, बुझेको र दुई वर्षदेखि वस्तुगत संघहरुसँग आवद्ध भएर उनीहरुका समस्या, चुनौति र सम्भावनाका विषयसँग विभिन्न कार्यक्रमहरुमा गएर वहस गरेको छु । समस्या समाधानका लागि सहयोग गरेको छु । उनीहरुले नै अब तपाईंले स्वास्थ्य तथा सीप विकास समिति, कृषि उद्यम केन्द्रमा बसेर नेतृत्व गर्नु भयो अब उपाध्यक्ष बन्नु पर्छ भनेर प्रस्ताव गरेपछि म अगाडि सरेको हुँ । .ती दुवै समिति मेरो नेतृत्वमा अब्बल ठहरिएका छन् । सबैले तारिफ गरेका छन् । यति काम गरेपछि र अनुभव सम्हालेपछि मैले किन दाबी नगर्ने भनेपछि अगाडि बढेको हुँ । मसँग क्षमता पनि छ र साथीहरुले चाहना देखाइसकेपछि उम्मेदवारी दिएको हुँ । मैले डेलिभर पनि गर्न सक्छु भन्नेमा विश्वस्त छु । अहिले एकातर्फ अर्थतन्त्र समस्यामा छ भनेर विभिन्न बहसहरु हुन थालेका छन् अर्कोतर्फ महासंघको चुनाव महँगो हुँदै गयो भन्ने गुनासो पनि सुनिन्छ, आकांक्षी पनि धेरै भए भन्ने कुरा छ, यस्तो किसिमको परिस्थिति किन आयो ? अहिले तीन वटा प्यानल भएका छन् । तर, केन्द्रिय सदस्यहरुमा धेरै आकांक्षी देखिएका छैनन् । आफ्नै व्यवसायमा समस्या भएपछि महासंघले खेल्नु पर्ने भूमीका खेलेन की भन्ने बुझाइ पनि धेरेको छ । सरकारले पनि महासंघको कुरा नसुनेको होकी भन्ने बुझाइ धेरैको हुन सक्छ । महासंघमा गएर पनि काम छैन की भन्ने धेरैको बुझाइ होला । हो, महासंघको धेरै ठूलो सञ्जाल छ । यसअघि एकवर्ष अघिदेखि नै चुनाव लाग्थ्यो । तर, अहिले एक महिनादेखि नै सुरु भएको छ । अहिले धेरै आर्थिक समस्यामा छन् । मलाई लाग्छ धेरै महँगो नहोला । तपाईंहरु नेताको पनि नेता हो, विभिन्न वस्तुगत संघका नेतृत्वहरुलाई कन्भिन्स गरेर मत बटुल्न सक्ने तपाईंको रणनीति के हो ? नेताहरुको पनि नेता बन्न गाह्रो नै छ । त्यो अनुभव मैले पनि गरेको छु । कन्भिन्स गर्ने विषयमा मैले सामान्य फर्मुला प्रयोग गरेको छु । आफुलाई महासंघले दिएको जिम्मेवारी अनुशासित ढंगबाट निभाउने, साथीहरुलाई परेका समस्याको समाधान गर्ने हो । मेरो काम गर्ने शैली, मेहेनती नेचर र अुनशासनले नै साथीहरुले मलाई विश्वास गर्नु हुन्छ । यो मान्छे हामीलाई चाहिन्छ भन्ने महसुस उहाँहरुले गर्नु भएको छ । मेरो स्ट्रेन्थ पनि यही हो । तीन जना प्रतिस्पर्धीहरुमध्ये मतदाताले तपाईंलाई नै किन मतदान गर्ने ? कृषि उद्यम केन्द्र महासंघकै ठूलो डिपार्टमेन्ट हो । यो एउटा ठूलो जिम्मेवारी पनि हो । त्यसमा पनि मैले राम्रो काम गरें । ७७ वटै जिल्लामा घुमेको छु । म कृषिमा पनि आवद्ध छु । कोरोनाको समयमा अस्पतालहरुको भौतिक पूर्वाधार निर्माणका लागि पनि सरकारसँग सम्वाद गरेर समस्याको समाधान गरेको छु । गगन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढेको थियो । त्यसमा थोरै प्रिमियम तिरेर सरकारले अनुदान गर्नु पर्ने कुरा थियो । त्यसमा केही समस्या थियो । त्यो समस्या समाधानका लागि मैले ठूलो भूमीका खेलें । त्यस्तै, ब्रिटिस काउन्सिल र यूरोपियन युनियनले इलम भन्ने कार्यक्रम सुरु गरेको थिए । त्यसअघि विभिन्न निकायले आ–आफ्नै किसिमले सीप दिने अभ्यास थियो । तर, पछि आधिकारिक सीप दिने किसिमले पेशागत मापदण्ड बनाएर काम गर्यौं । त्यसमा पनि ठूलो भूमीका निर्वाह गरेर काम गरियो । अहिले त्यो मापदण्ड पाठ्यक्रममै समावेश गरिएको छ । यी सबै कामहरुको बारेमा म अब्बल छु । मैले एक दशक भयो महासंघका विभिन्न समितिमा बसेको । तर, दुई कार्यकालमा समितिको नेतृत्व गर्ने अवसर पाएँ । तपाईंका मतदाताको अपेक्षा चाहिँ के रहेछ ? अहिले बैंकको ब्याज बढेको छ । लगानी गर्न पुँजी छैन । कच्चा पदार्थको मूल्य बढेको छ । ‘कष्ट अफ डुइङ बिजनेस’ बढेको छ । बैंकमा तरलता समस्या हुँदा कर्जा पाइएको छैन । यी विभिन्न समस्याहरु समाधान गर्नु पर्ने मतदाताको अपेक्षा हो । अहिले उत्पादन र बजारको पनि समस्या छ । मेरो व्यवसायिक जीवनमा अहिलेको जस्तो समस्या कहिल्यै थिएन । यो सबैको समस्या हो । म उमेशलाल श्रेष्ठको समूहबाट उम्मेदवार बनेको हुँ । उहाँ पनि स्पष्ट र निडर उम्मेदवार हो । उहाँ बोल्ड क्यारेक्टर भएकोले मैले पनि उहाँलाई रोजेको हुँ । सबैले उहाँसहित हाम्रो टीमलाई रोज्नु हुन्छ । आफ्नो उत्पादनले देशको माग धान्ने, आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्नु पर्ने, रेमिट्यान्सलाई विकास निर्माणमा लगाउने, निर्यात प्रवद्र्धन गर्ने विषयलाई हामीले प्राथमिकतामा राखेका छौं । हाम्रा मतदाताको अपेक्षा पनि यही हो । कर प्रणाली पनि पारदर्शी छैन । भ्याट प्रणालीलाई पनि पुनर्विचार गर्नु पर्छ । उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्छ । वस्तुगत संघहरुको क्षमता विकासका लागि के सोच्नु भएको छ ? वस्तुगत संघहरु अर्थतन्त्रको मेरुदण्ड नै हो । ती सबै हामीसँग सम्भावना भएका वस्तुहरुका संघहरु नै हुन् । ठूल्ठूला जलविद्युतका संघहरु पनि छन् । उनीहरुका समस्या पनि छन् । नीति नियमका समस्या पनि छन् । सरकारले समयमै पैसा निकासा नगर्ने समस्या पनि छ । अहिले धेरै वस्तुगत संघहरुले मौलिक उत्पादनरु उत्पादन गर्छन् । उहाँहरुको समस्या पनि मैले बुझेको छु । उहाँहरुलाई कसरी समावेश गराउने, कसरी अपनत्व महसुस गराउने भन्ने विषयमा पनि मैले बुझेको छु । उहाँहरुको संलग्नतामा हामी महासंघको समितिमा राख्छौं । र, समस्याहरुलाई सरकारलाई बुझाउँछौं । कार्यान्वयनका लागि लविङ गर्छौं । कतिपय वस्तुगत संघहरु महासंघमा आवद्ध हुन नसकेको गुनासो पनि सुनिन्छ, यस विषयमा तपाईंले के सोच्नु भएको छ ? हामीसँग सम्भावना भएका क्षेत्रहरु उजागर हुँदै गएका छन् । संगठन बन्ने क्रम पनि जारी छ । महासंघको पनि आफ्नै सीमाहरु छन् । त्यहाँ क्राइटेरियाहरु छन् । अहिले २० वटा बढी वस्तुगत संघहरु थपिएका छन् । महासंघको तदारुकता पनि नभएको हुन सक्छ । यी विविध छन् । अब अध्यक्ष हुँदै गरेका चन्द्र ढकालज्यूले पनि महासंघको पछाडि जग्गा छ । त्यो जग्गामा भवन बनाएर वस्तुगत संघहरुका कार्यालय राख्ने भन्ने विषय पनि उठेको छ । मेरो पनि त्यसमा सहयोग हुन्छ । अन्य संगठनहरुलाई पनि संलग्न गराउनेमा सक्रिय हुन्छु । अहिले तीन वटा प्यानल भएको कारण पनि महासंघको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्ने धेरैको बुझाइ छ, तपाईंको प्यानलले पहिलो चरणमै विजयी हुने सम्भावना कत्तिको देख्नु भएको छ, दोस्रो चरणमा प्रवेश गरेमा तपाईंको प्यानलको रणनीति कस्तो बन्छ ? स्वभाविक रुपमा विधानले दिएको व्यवस्था अनुसार ३/४ प्यानल हुन सक्छन् । हामीले उम्मेदवारी घोषणा गर्दा हाम्रो प्यानललाई ६ वटा उद्योग वाणिज्य संघले सर्पोट छ भनेको थियाे । अहिले सबै प्रदेशको साथ छ । जिल्लानगरको मतभार ५० प्रतिशत हुन्छ । लगभग जिल्लानगरका साथीहरु हामीसँग नै समाहित भएका छन् । हाम्रो प्यानल मात्रै एउटा प्यानल हो जसले जिल्ला नगर, वस्तुगत र एशोसिएटमा पुरै प्यानल नै घोषणा गरेको छ । अन्यको त्यो अवस्था देखिँदैन । मलाई लाग्छ, पहिलो चरणमै हामी ५१ प्रतिशत ल्याएर विजयी हुन्छौं, यदी त्यसो हुन नसकेमा टप टु ले वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन हुन्छ । पहिलो त हामी हुन्छौं नै । दोस्रो हुनेसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।
‘आकर्षक घर बनाउन चाइनिज इट्टा नै प्रयोग गरौं, भक्तपुरका उद्योग मर्ज गर्नु पर्छ’
काठमाडौं । ठूला–ठूला संरचना अथवा घर बनाउनका लागि आवश्यक निर्माण सामाग्रीको रूपमा लिइन्छ ‘इट्टा’ । गुणस्तर इट्टा अहिलेको आवश्यकता पनि हो । संरचना तयार गर्नका लागि पनि ठूलो संख्यामा इट्टाको आवश्यकता पर्छ । सो विषयलाई मध्यनजर गर्दै गोर्खा रेड ब्रिक्स कम्पनीले नयाँ र आधुनिक प्रविधिको प्रयोग गरी लामो समयदेखि चाइनिज इट्टाको उत्पादन गर्दै आइरहेको छ । आधुनिक प्रविधिकाबाट उत्पादित चाइनिज इट्टा ठूला–ठूला संरचनाका साथै उपत्यका भित्र निर्माण भएका धेरै घरहरूमा यसको प्रयोग भएको पाइन्छ । आकर्षक डिजाइनका यस्तो इट्टा वि.सं. २०७६ सालदेखि काभ्रेबाट उत्पादन सुरु भएको थियो । अहिले गोर्खा चाइनिज इट्टाको प्रयोग गरेर घर तथा संरचना बनाउनेका संख्या बढ्दो छ । गोर्खा चाइनिज इट्टाको बजार, यसको माग मूल्य र गुणस्तरीयता लगायको विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालसँग विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । सुरुमा गोर्खा चाइनिज इट्टाको विषयमा कुरा गरौं, चाइनिज इट्टाको उत्पादन कसरी सुरु गर्नु भयो ? म यही क्षेत्रमा लागेर काम गर्न थालेको दुई दशक बढी भइसक्यो । पहिला हामी परम्परागत तरिका भट्टाबाट इट्टाको उत्पादन गर्दै आएका थियौं । लामो समयसम्म स्थानीय इट्टा उत्पादन गर्ने उद्योग पनि सञ्चालन गर्यौं । तर, अब परम्परागत इट्टा उत्पादनले हुँदैन । अब हामीले यसको वैकल्पिक उपाय खोज्नु पर्छ भन्ने लाग्यो । । जुन उत्पादन वातावरणमैत्री तथा धुलोधुवाँ रहित उद्योग होस् भन्ने भयो । त्यही सिलसिलामा इट्टा उत्पादन गर्ने चाइनिज प्रविधि भेटायौं । जुन हाम्रो सोच अनुरूपको थियो । सो प्रविधिलाई हामीले आत्मसाथ गर्यौं । र, २०७४ सालदेखि काभ्रेमा इट्टा उत्पादन गर्ने कारखानाको बनाउनका काममा जुट्यौं । कारखाना निर्माणको काम सम्पन्न भएपछि २०७६ सालदेखि इट्टाको उत्पादन सुरु गरेका हौं । गोर्खा रेड ब्रिक्स कम्पनीबाट यसलाई सञ्चालन गर्यौं । चीनमा उत्पादन हुने जस्तै इट्टा हामीले नेपालमै उत्पादन गर्न थाल्यौं । चीनको प्रविधिबाट इट्टा उत्पादन भएकोले यसलाई चाइनिज इट्टाको नाम दिएका हौं । स्थानीय इट्टा भन्दा गुणस्तर इट्टा उत्पादनमा गर्दै आइरहेका छौं । तपाईंहरुको उद्योगबाट दैनिक कति इट्टा उत्पादन हुन्छ ? क्षमता कति हो ? हाम्रो इट्टा उद्योग दिनहुँ सञ्चालनमा हुन्छ । प्रतिदिन एक लाख ५० हजार इट्टा उत्पादन गर्न सक्ने क्षमता फ्याक्ट्रीमा छ । गत वर्षको तुलनामा अहिले इट्टाको उत्पादन घटाएका छौं । अहिले माग कम छ । अहिले हाम्रो क्षमताको ५० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छौं । माग आयो भने उत्पादन बढाउँछौं । तपाईंहरुले सुरुमा उत्पादन गरेको स्थानीय इट्टा र चाइनिज इट्टामा फरक के छ ? स्थानीय र चाइनिज इट्टामा धेरै फरक छ । स्थानीय र चाइनिजमा उत्पादनदेखि गुणस्तरसम्मको कुरामा फरक पाइन्छ । चाइनिज इट्टा वातावरणमैत्री छ । र, यो इट्टा उत्पादन सहजै तरिकाले गर्न सकिन्न । थोरै जनशक्तिले पनि धेरै इट्टाको उत्पादन गर्न सकिन्छ । हेर्दा आकर्षक देखिने यो इट्टा गुणस्तरका हिसाबले पनि नम्बर वान छ । चाइनिज इट्टा एउटै साइजमा उत्पादन हुन्छ । जसले गर्दा संरचना निर्माणमा सहज हुन्छ । र, हाम्रो इट्टाको साइज पनि ठूलो छ । स्थानीय इट्टा उत्पादन गर्न समय लाग्छ । एउटै भट्टाबाट २/३ वटा साइजको इट्टाको उत्पादन हुन्छ । स्थानीय इट्टामा लोगो देख्नु हुन्छ । तर, हाम्रो इट्टा प्लेन छ । जसले गर्दा सिमेन्ट कम लाग्छ । धेरै स्थानीय इट्टाको उद्योगहरू बर्खाको समयमा बन्द हुन्छ । तर, हाम्रो उद्योगबाट बाह्रै महिना इट्टाको उत्पादन गर्न सकिन्छ । त्यसैले गर्दा यसमा धेरै फरक पाइन्छ । बजारमा इट्टाको माग कम छ भन्नु भयो, माग कम किन भयो, मान्छेहरुले घर बनाउन छोडेका हुन् ? बजारमा इट्टाको माग छ । तर, गत वर्षको तुलनामा भन्दा अहिले कम छ । अहिलेको आर्थिक मन्दी तपाईँहरू सबैलाई थाहा भएको विषय हो । बैंकले ऋण दिँदैनन् । दिए पनि महँगो ब्याजमा मान्छेले ऋण लिन मान्दैन । प्रायः ठूलादेखि सानासम्मको आयोजना ऋण लिएर नै बन्छ । महँगो ब्याज ऋण लिएर मान्छे घर पनि बनाउन मान्दैन पनि सक्दैन । त्यसैले पनि इट्टाको माग कम भएको हो । हाम्रो उत्पादन धेरै जसो सरकारी संरचना बनाउन प्रयोग हुन्छ । सरकारी निकायले ठेकदारलाई पैसा पनि दिएको छैन । सरकारी निकायले ठेकदारलाई पैसा नदिएपछि पैसा हामीले पनि पाउने कुरा भएन । त्यसैले अहिले हामी पनि इट्टा कम पठाउने र रकम उठाउने तर्फ लागेका छौं । मान्छेले चाइनिज इट्टा किन प्रयोग गर्ने ? निर्माण छिटो र आकर्षक डिजाइनको घर बनाउनु छ भने यो इट्टाको प्रयोग गर्नु पर्छ । अहिले नेपाली बजारमा धेरै रुचाइएको इट्टा मध्येको चाइनिज इट्टा हो । स्थानीय इट्टा प्रयोग गरेर घर बनायौं भने हामीले घर बाहिर प्लास्टर गर्नु पर्छ । तर, हाम्रो इट्टा प्रयोग गरेर बनाइएका घरमा प्लास्टर गर्नु पर्दैन । तर, कोठामा चाहिँ गर्नुपर्छ । खर्च कम हुन्छ भने थोरै इट्टामा धेरै ठाउँमा प्रयोग गर्न सकिन्छ । यो हेर्दा पनि सफ्ट छ । घर बनाउँदा अहिले धेरै जसोले चाइनिज इट्टाको प्रयोग गर्छन् । यस इट्टाको प्रयोग गरेर बनाएको घरमा रङ लगाए पनि हुन्छ नलगाए पनि हुन्छ । स्थानीय इट्टाको तुलनामा यो इट्टा प्रयोग भएर बनेका संरचनाहरूको फिनिसिङ पनि राम्रो हुन्छ । रङ लगाउन नपर्ने भएपछि खर्च पनि कम हुने भयो । चाइनिज इट्टा प्रयोग गरेर घर बनाउँदा कति समय लाग्छ, एउटा घर बनाउन कति इट्टा आवश्यक पर्छ ? स्थानीय इट्टाको तुलनामा चाइनिज इट्टा प्रयोग गर्दा थोरै भए पनि इट्टा कम लाग्छ । यस विषयमा अध्ययन पनि गरेका थियौं । हाम्रो इन्जिनियरले निकालेको डाटा अनुसार एक वर्ग मिटरमा लोकल इट्टा भन्दा ४०÷५० वटा कम चाइनिज इट्टाको प्रयोग हुन्छ । यो इट्टाको प्रयोग गरी घर कति समयमा बनाउन सकिन्छ भनेर कुराको भर चाहिँ ठेकदारमा पर्छ । कस्तो अनि कत्रो घर बनाउने हो त्यो अनुसार इट्टाको खपत हुन्छ । यती नै लाग्छ भनेर चाहिँ भन्न सकिने अवस्था छैन । चाइनिज इट्टाको मूल्य कति पर्छ ? स्थानीय इट्टाको तुलनामा यो इट्टा महँगो भयो भन्ने गुनासो पनि छ नी ? लोकल इट्टाको तुलनामा हाम्रो इट्टाको मूल्य थोरै महँगो छ । अहिले हामीले काठमाडौंमा प्रति इट्टा २१ रुपैयाँमा उपलब्ध गराउँछौं । फ्याट्रीमै लिन आए १९ रुपैयाँमा दिन्छौं । तपाईंले अहिले कति वटा प्रोजेक्ट लिएर काम गरिराख्नु भएको छ ? हाम्रो इट्टा सरकारी निकायका भवन बनाउँनमा प्रयोग हुन्छ । अहिलेसम्म धेरै सरकारी प्रोजेक्ट लिएर काम गरिसकेका छौं । गर्ने क्रम पनि जारी छ । हाम्रो इट्टाको प्रयोग भएर अहिलेसम्म लगभग ८० वटा प्रोजेक्ट तयार भइसकेका छन् । सिंहदरबार भित्र निर्माण हुँदै गरेका भवनमा पनि चाइनिज इट्टाको प्रयोग भइरहेको छ । तपाईंले उत्पादन गरेका इट्टाहरू कुन–कुन ठाउँमा पुग्छ ? हामीले उत्पादन गरेको इट्टा प्रायः उपत्यकामा नै खपत हुन्छ । कहिले काहीँ पोखरा इटहरी लगायत ठाउँमा पनि पुग्छ । पछिल्लो समय उपत्यका बाहिरबाट माग आइरहेको छ । अहिले हामी उपत्यकामा नै लक्षित छौं । यस्तो किसिमको उद्योग अन्य ठाउँमा पनि खोल्ने योजना बनाउनु भएको छ कि छैन ? हामीले अहिले यस्तो योजना बनाएको छैनौं । हामीले अझै पनि आवश्यक ग्राहक पाइरहेका छैनौं । अहिले हामीले यही उद्योगबाट उत्पादित इट्टाले माग धान्न सक्छौं । देश भरको माग यही उद्योगले धान्न सक्छ । नेपालमा यस्ता इट्टाका ठूला उद्योग खोली सञ्चालनमा ल्याउने सम्भावना कतिको छ ? सम्भावना छ । अहिले भक्तपुरमा साना ठूला गरी करिब ५०/६० वटा इट्टा भट्टा छन् । तिनीहरू सबैलाई समेटेर मर्ज गरी ४÷५ वटा इट्टाका ठूलो उद्योग सञ्चालन गर्यो भने राम्रो हुन्छ । किनभने म्यानपावर पनि कम लाग्छ । उत्पादन पनि बढी हुन्छ । नयाँ तथा ठूला उद्योग इट्टाका अवश्य खोली सञ्चालनमा ल्याउन सकिन्छ । र, इट्टाका व्यवस्थित उद्योग सञ्चालन गरी ल्याउन सके इट्टा उत्पादन बाह्रै महिना सञ्चालनमा पनि ल्याउन सकिन्छ । अहिले नेपाल इट्टाको उत्पादनमा आत्मनिर्भर पनि छ । अहिले इट्टा उत्पादनमा तपाईंहरुले भोग्नु परेका समस्याहरु के–के हुन् ? सरकारले स्थानीय इट्टा उद्योगलाई टनेलमा जानु पर्छ भन्ने नीति ल्याएको छ । सरकारले निति दिन्छ तर कार्यान्वयन गर्न गाह्रो छ । सरकारी कर्मचारीहरूमा यो क्षेत्रको विज्ञता कम छ । यो एउटा दुःखको कुरा हो । हामीले कम्पनी दर्ता गरेर सरकारी निकायबाट निरीक्षण तथा अनुगमन गर्न आउँदा उनीहरुले हामीलाई यो के कस्तो हो भनेर सोध्छन् । हामीलाई चाहिँ उनीहरूले सिकाउनु पर्ने हो । सरकारी निकायका कर्मचारीहरुलाई पनि इट्टाको विषयमा ज्ञान हुन जरुरी छ ।