अघिल्लो वर्ष एक रुपैयाँ पनि भत्ता नबुझेका पिएमओका कर्मचारीले गत वर्ष कसरी बुझे १६ लाख ?

काठमाडौं । प्रधानमन्त्री कार्यालयको कर्मचारी बैठक भत्ता वितरणमा अनौठो अवस्था देखिएको छ । अघिल्लो आर्थिक वर्षमा साे कार्यालयका कर्मचारीहरुले बैठक भत्ता बापत एक रुपैयाँ पनि नलिएकाेमा गत आवमा भने १६ लाख रूपैयाँ बढी भत्ता  बुझेका हुन् । प्रधानमन्त्री कार्यालयबाट प्राप्त सूचनाअनुसार आव ०७८/०७९ मा सो कार्यालयले कर्मचारी भत्ताको लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, प्रधानमन्त्री कार्यालयले सो आवमा कर्मचारीलाई बैठक भत्ता वापत भने रकम खर्ज गरेकाे देखिँदैन । गत आव ०७९/८० मा सो कार्यालयले कर्मचारीको बैठक भत्ता शिर्षकमा ९ लाख बजेट विनियोजन गरेको थियो । कर्मचारीलाई भत्ता वापत १७ लाख ८० हजार ४५० रुपैयाँ वितरण गरेको थियाे । आव ०७७/७८ मा कर्मचारीको बैठक भत्ता शिर्षकमा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये सो आवमा जम्मा १ लाख ६५ हजार रुपैयाँ कर्मचारीको भत्ताका लागि खर्च गरेको थियो । कर्मचारी बैठक भत्ता बाहेक पनि प्रधानमन्त्री कार्यालयले अन्य भत्ता शिर्षक राखेर बजेटको व्यवस्था गर्ने र खर्च गर्ने गरेको छ । पछिल्लो तीन आर्थिक वर्षमा सो कार्यालयले अन्य भत्ता शिर्षकमा पनि तेब्बर बढी रकम खर्च गरेको सूचनामा उल्लेख छ । आव ०७७/७८ मा अन्य भत्ता शिर्षकमा जम्मा ७ लाख ७४ हजार ६७५ रुपैयाँ खर्च गरेको सो कार्यालयले गत आव ०७९/८० मा भने सोही शिर्षकमा २१ लाख ३४ हजार एक सय रुपैयाँ खर्च गरेको छ । जुन रकम झण्डै तीन गुणा बढी हुन जान्छ । त्यस्तै, सोही शिर्षकमा प्रधानमन्त्री कार्यालयले आव ०७८/७९ मा गत आवको भन्दा पनि धेरै २३ लाख २४ हजार ४६८ रुपैयाँ खर्च गरेको थियो । कर्मचारीको इन्धन खर्च पनि दोब्बर कायार्लयबाट प्राप्त सूचनाअनुसार ३ वर्ष अगाडि अर्थात् आव ०७७/७८ को तुलनामा आव ०७९/८० मा प्रधानमन्त्री कार्यालयका कर्मचारीले इन्धनमा ६० प्रतिशत भन्दा धेरै खर्च गरेका छन् । आव ०७७/०७८ मा सो कार्यालय प्रयोजनको लागि इन्धनमा एक करोड २१ लाख रुपैयाँ विनियोजन गरेको थियो, जसमध्ये ९२ लाख १७ हजार ३३३ रुपैयाँ खर्च गरेको थियो । प्रधानमन्त्री कार्यालयले आव ०७८/७९ मा कार्यालय प्रयोजन इन्धनको लागि १ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको थियो, जसमध्ये विनियोजन गरिएको भन्दा धेरै १ करोड ५२ लाख ७१ हजार छ सय ९७ रुपैयाँ खर्च भएको थियो । पछिल्लो गत आव ०७९/८० मा प्रधानमन्त्री कार्यालयले कार्यालय प्रयोजनको लागि इन्धन शिर्षकमा १ करोड २९ लाख रकम विनियोजन गरेको थियो । तर, सो शिर्षकमा सो आवमा २ करोड ३२ लाख १७ हजार ८७७ रुपैयाँ खर्च गरेको थियो । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री लगायत पदाधिकारीलाई इन्धन खर्चको लागि भिन्नै शिर्षकमा बजेटको व्यवस्था गरेर खर्च गर्ने गरेको छ । पछिल्लो तीन वर्षमा प्रधानमन्त्री लगायतका सचिवालयमा काम गर्ने सचिवालय लगायत अन्य पदाधिकारीहरुको इन्धनको लागि प्रधानमन्त्री कार्यालयले १ करोड ३६ लाख ४० हजार आठ सय ६३ रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री कार्यालयका लेखा प्रमुख सुर्यबहादुर भण्डारीले कुनै वर्ष गत आवमा निर्वाचन भएकाले सो सन्दर्भमा जोडिएर प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुले काम गर्दा इन्धनमा बढी खर्च भएको हुनसक्ने बताएका छन् । साथै उनले कुनै वर्षमा भत्ता लिने प्रकृतिका बैठक बढी भएको कारणले पनि गत आवमा भत्ता बढी भएको हुनसक्ने प्रतिक्रिया दिए । आर्थिक वर्ष ०७७/०७८ को खर्च विवरण आर्थिक वर्ष ०७८/०७९ को खर्च विवरण आर्थिक वर्ष ०७९/०८० को खर्च विवरण

४ बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएसँगै विभिन्न कम्पनीले लाभांश घोषणा गरिरहेका छन् । हालसम्म झण्डै डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमध्ये ४ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । लाभांश प्रस्ताव गर्ने बैंकहरुमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् । माछापुच्छ्रे बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, एभरेष्ट बैंकको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, सानिमा बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, एनआईसी एशिया बैंकको सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने छ । माछापुच्छ्रे बैंकले भने लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा समेत आह्वान गरिसकेको छ । बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले असोज १८ गते होटल पोखरा ग्राण्ड कास्कीमा बिहान ११ बजे बोलाएको छ ।

सानिमाका सेयरधनीको हात १५ वर्षदेखि खाली छैन, यस्तो छ लाभांश इतिहास

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गर्नेछ । यससँगै लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा सानिमा तेस्रो बैंक बनेको छ । बैंकले यसअघि अघिल्लो आर्थिक वर्ष २०७८/७९मा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद गरी कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ३.६ प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरि कूल २०.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १० प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७३/७४ मा १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यसैगरी बैंकले आर्थिक वर्ष २०७२/७३ मा १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश, आर्थिक वर्ष २०७१/७२ मा २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश र आर्थिक वर्ष २०७०/७१ मा १५ प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कूल १६.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यसैगरी आर्थिक वर्ष २०६९/७० मा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश, आर्थिक वर्ष २०६८/६९ मा ०.५५ प्रतिशत नगद लाभांश, आर्थिक वर्ष २०६७/६८ मा ६.५ प्रतिशत नगद लाभांश, आर्थिक वर्ष २०६६/६७ मा १० प्रतिशत बोनस र आर्थिक वर्ष २०६५/६६ मा ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।